गाईजात्रा औपचारिकतामा सीमित
विश्वनाथ खरेल
विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर यस वर्षका चाडपर्व औपचारिकतामा सीमित रहेर मनाउनुपर्ने बाध्यता रहेको छ । यद्यपि नेपाल सरकारले भने बिदा कटौतीमा परेका केही पर्वमा पुनः बिदा दिने निर्णय गरेअनुरूप नेवार समुदायमा विशेष रूपमा मनाइने गाईजात्रा पर्वका दिन यो समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सरकारले घर–घरमा बसेर जात्रापर्व मनाउनसमेत अनुरोध गर्दै आएको छ । नेपाल विश्वमै धार्मिक एवं सांस्कृतिक विविधता रहेको देशको रूपमा चिनिन्छ । विभिन्न धर्म मान्ने जाति–समुदायका सामूहिक तथा भिन्न–भिन्न चाडपर्व मनाइन्छन् । त्यसैमध्ये गाईजात्रा पनि एक हो । यो चाड विशेषगरी काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा बसोबास गर्ने नेवार समुदायले मनाउने गर्छन् ।
प्रत्येक जात्रा तथा मेलाको आफ्नै विशेषता र महìव हुन्छ । गाईजात्रा निकाल्ने चलन कहिलेदेखि चलेको हो भन्ने निश्चित तिथिमिति नभए पनि एउटा भनाइअनुसार ने.सं. ५७५ देखि प्रचलनमा आएको मानिएको छ । तत्कालीन राजा प्रताप मल्लका कान्छा छोरा चक्रवतीन्द्र मल्ल दादुरा आएर मरेछन् । यसरी आफ्नो प्यारो छोरा मरेकाले रानी राजमतीले गरेको शोकलाई राजाले रोक्न जति प्रयास गरे पनि सकेनन् । अपितु, रानीको शोक शान्त पार्न राजा प्रताप मल्लले जसको घरमा त्यस वर्ष मानिस मरेको छ, त्यसको नाममा गाईलाई सिँगारेर निकाली हनुमानढोका राजदरबारमा हाजिरी जनाउनुपर्ने उर्दी दिएछन् ।
त्यस समयमा काठमाडौँ उपत्यका नेवारहरूको राज्य थियो । उनले छोराको मृत्युमा शोक मनाइराखेकी रानीलाई अरूका पनि छोराछोरी मरेका छन् भन्ने देखाएर सान्त्वना दिन गाईजात्राको सुरुवात गरेका हुन् भनिन्छ । हाम्रो छोरो मात्रै मरेका होइन, अरूको घरमा पनि मरेका छन् भन्ने सन्देश रानीलाई दिएका थिए ।
यसरी गाईजात्राले प्रचलनकै रूप लिएको पाइन्छ । यस दिन वर्षभरिमा मरेका आफन्तका नाममा गाई वा मरेका मानिसको तस्बिर लिएर टोल–सहर घुम्ने चलन छ । यसलाई अत्यन्त महìवपूर्ण जात्राका रूपमा लिने गरिन्छ । किनभने यस दिन आफन्त र परिवारका सदस्य गुमाएकाहरूले पनि दुःख प्रकट गर्ने अवसर पाउँछन् । त्यसैगरी मृत्यु भएका आफन्तको सम्झनामा दीनदुःखीलाई दान दिने चलन छ । गाईजात्राको अवसर पारेर थुप्रै कलाकारले विभिन्न हास्यव्यङ्ग्य कार्यक्रम प्रस्तुत गर्दछन् । देशका विभिन्न क्षेत्रमा रहेका विकृति र विसङ्गतिमाथि व्यङ्ग्य गर्दै मनोरञ्जन प्रदान गर्ने प्रचलन पनि लामै समयदेखि चलिआएको छ ।
हाम्रा पुर्खाले गाईजात्रालगायतका अन्य थुप्रै संस्कृति र चाडपर्वको सुरुवात गरेर तिनको निरन्तरता एवं संरक्षण गर्न पछिल्लो पुस्तामा सुम्पिएका छन् । गाईजात्रा नेवार समुदायमा मनाइने ठूलो पर्व हो । यो पर्व जहाँ–जहाँ नेवार समुदायको बसोबास छ, त्यहाँ विशेष रूपमा मनाइएको पाइन्छ । यस दिन गाईलाई घुमाउनुको अर्थ हो, मरेका व्यक्तिले गाईको पुच्छर समातेर वैतरणी पार गर्न सजिलो होस् । यसरी परिक्रमा गर्दा यमराजले पनि स्वर्गको ढोका खोलिदिन्छन् भन्ने मान्यता रहिआएको छ । यस दिन गाई निकाल्ने घरमा आफ्नो छोरीबेटी, इष्टमित्र, गाउँटोलका सम्पूर्ण मानिसलाई बोलाई भोज खुवाउने गरिन्छ । काठमाडौँका टोलटोलमा पु¥याएर नाच्दै, घुमाउँदै आफ्नो घरमा फर्कने चलन छ । गाईलाई यसरी घुमाउनाले मृतकको सहज मुक्ति हुने मान्यता रहिआएको छ ।
भक्तपुरका मल्ल राजा जगतप्रकाश मल्लले यो पर्वलाई विशेष रूपमा अघि बढाएको इतिहासमा उल्लेख छ । तत्कालीन मल्ल राजाले जनताको अभिव्यक्ति के कस्तो किसिमको छ भन्ने कुरा जान्नका लागि यो चलन चलाएका हुन् भनिन्छ । गाईजात्रा महोत्सव चलाई जनतालाई चित्त नबुझेका कुरा राजा, राज्य, शासन, समाज आदिका समसामयिक विषयमा निर्धक्कसाथ बोल्न र हिँड्न पाउने अधिकार दिएको दिनका रूपमा यो दिनलाई लिइन्छ । प्रजातन्त्रको आभाष दिने खालको चलन मल्ल राजाहरूले सुरुवात गरे ।
गाईजात्रामा जनताले गरेका आलोचना राजाका गुप्तचरले बटुली राजासमक्ष पेस गर्दथे । त्यसबेलाका शासकलाई आफूले गल्ती गरेको, गलत कानुन र शासन व्यवस्थालाई सुधार गर्दै लग्ने अवसर गाईजात्रामार्फत प्राप्त हुने गरेको थियो । पछि गएर राजा र जनताका बीच छलफलका लागि एक सन्देशमूलक रूपमा गाईजात्राको परम्परा विकसित भयो । फलतः नेवारहरूको यो परम्परा नेवार समुदायमा मात्र सीमित नभई व्यङ्ग्यात्मक हास्यव्यङ्ग्य, प्रहसन, नाटक मञ्चनका साथै गाईजात्रे पत्रपत्रिका प्रकाशित गर्ने अनि सञ्चारमाध्यमबाट पनि विभिन्न कार्यक्रम प्रस्तुत गरेर चाडपर्वका रूपमा मनाउँदै आएको देखिन्छ । समग्रमा भन्नुपर्दा नेवारी समुदायमा अहिलेसम्म पनि एउटा लोकप्रिय जात्राका रूपमा गाईजात्रा मनाइँदै आएको छ । गाईजात्रा पर्व मनाउने क्रममा केही वर्षयता केही नयाँ चलन पनि थपिँदै आएका छन् । घरमा कोही पनि नमरेका परिवारले पनि विशुद्ध मनोरञ्जनका लागि भए पनि यो चाड मनाउन थालेका छन् । अनुहारमा मुखुन्डो लगाएर वा मुखमा अनेकौँ चित्र कोरेर अथवा जोगीको भेषमा थोत्रो लुगा लगाएर मानिस सडकमा निस्केको देखेर त्यसलाई हेर्ने जो कोहीलाई हाँसो उठ्नु स्वाभाविक हो ।
देशमा विदेशी भाषा, शैली र परम्परा भित्रियो भन्दैमा आफ्नो देशको धर्म, संस्कृति, भाषा र शैलीलाई चटक्क बिर्सिन हुँदैन । गाईजात्रा त हाम्रो संस्कृतिको एक नमुना मात्र हो । यस्ता जात्रा हाम्रो देशमा थुप्रै छन् र तिनको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो । यस पर्वमा सामाजिक एवं राजनीतिक विकृतिलाई व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरिन्छ । हाम्रो देशमा पञ्चायती व्यवस्था अन्त्य गर्न र लोकतान्त्रिक व्यवस्था स्थापना गराउन गाईजात्रा महोत्सवले पनि महìवपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ । आज आएर गाईजात्रा समसामयिक विसङ्गतिलाई अभिव्यक्त गर्ने एक सशक्त माध्यम पनि बनेको छ ।
गाईजात्रा प्रारम्भ हुने केही दिन अघिदेखि नै विभिन्न पत्रपत्रिकामा गाईजात्रे विशेषाङ्क प्रकाशन गरेर राजनीतिक, सामाजिक, प्रशासनिक र पारिवारिक विकृतिमाथि तिखो प्रहार गरिन्छ । कहिलेकाहीँ यस्ता व्यङ्ग्यात्मक प्रस्तुतिमा निकै नराम्रा शब्द पनि प्रयोग गरिएका पाइन्छन् । त्यसैले यस्तो क्रम रोकेर गाईजात्रालाई आफ्नो धार्मिक संस्कृति अनुकूलको मौलिकता र स्वच्छ मनोरञ्जन दिने चाडका रूपमा मात्र मनाउनु उपयुक्त हुन्छ ।