विचार/दृष्टिकोण |

सन्ततिलाई संस्कार कि सम्पत्ति

गीता श्रेष्ठ

कस्तो जीवनलाई सफल मान्ने र कस्तोलाई असफल ? यसको एउटै उत्तर आउँदैन । कतिपयलाई धन–सम्पत्ति प्रशस्त कमाउन सक्नुलाई सफल भएको लाग्छ भने कतिपयलाई असल संस्कारसहितको जीवन अर्थात् मानवीय गुणले भरिएको जीवनलाई सफल मान्छन् । हाम्रा शास्त्रले पनि धन र गुणमा गुणलाई उच्च प्राथमिकता दिएको छ । मानिसको गुणका अगाडि धन, वर्ग, वर्ण, जातको कुनै स्थान छैन । यस्ता अनेक दृष्टान्त शास्त्रमा वर्णन गरिएको छ र आधुनिक कालमै पनि यो देखिएको छ । पुराणमा वर्णित अष्टवक्रको सन्दर्भ होस् वा केही वर्षअघि मात्र दिवङ्गत हुनुभएका डा. स्वामी प्रपन्नाचार्य हुन्, यी दुवै रूप, वर्ण, जातले हैन गुणले महान् भएका हुन् ।

तसर्थ भन्न के सकिन्छ भने सफल जीवनको परिभाषा अथाह धनसम्पत्ति हुनु मात्र हैन कि सकारात्मक चर्चाको पात्र बन्नु हो । हाम्रो समाज, संस्कृति र चलनले प्रशंसायोग्य पात्र बन्न केही आधारभूत मान्यता स्थापित गरिदिएका छन्, जन्मदेखि नै व्यक्तिलाई असल बनाउने संस्कार स्थापित गरिएका छन् । त्यसका लागि शिक्षा, व्यवहार र ज्ञान प्रदान गर्ने परिपाटी विकास गरिएका छन् ।

हिजोआज संस्कारको साटो सम्पत्तिले उच्च प्राथमिकता पाएको पनि देखिन्छ । यस्तो अवस्थामा हाम्रा भविष्यका कर्णाधार बालबालिका सुखको हैन, दुःखको बाटोतर्फ लम्किरहेका छन् । आज हामी धेरैजसोले आफ्ना सन्ततिका लागि चाहिनेभन्दा बढी माया र मोह देखाएर उनीहरूका लागि भनेर सम्पत्ति जोहो गर्दै कतै भविष्य नै अन्धकार बनाइरहेका छैनौँ ? मानिसमा लोभ बढी र सेवाभाव कम भयो भने त्यो मानिस ‘घाँस नखाने पशु’ समान हुन्छ । हाम्रो गलत सोचाइका कारण आफ्ना सन्तानलाई गलत बाटोमा हिँडाइरहेको पत्तै पाइरहेका हुँदैनौँ ।

हामी आफ्ना छोराछोरीलाई आफैँ गरिखान सक्ने बनाउनभन्दा दुःखै नगरी खान पाओस् भनेर सम्पत्ति जोड्नतिर लाग्छौँ; जसको परिणाम सन्तान भविष्यमा पूर्णतः परनिर्भर जीवन बिताउन बाध्य हुन्छ । उसमा न केही गर्ने क्षमता हुन्छ न त बाबुआमाले छाडिदिएको सम्पत्तिको सदुपयोग गर्ने ज्ञान नै हुन्छ । अरूले थुपारिदिएको वा छाडेर गएको सम्पत्ति सकिन कत्ति बेर लाग्दैन । जब त्यो सम्पत्ति सकिन्छ तब उनीहरूको जीवन समस्यामा पर्छ ।


हरेक बाबुआमाले आफ्ना छोराछोरीले दुःख नपाऊन् भन्ने सोच्नु स्वाभाविक हो तर त्यो दुःख भौतिक प्राप्तिमा मात्र जोडेर हेरियो भने सुख दिन्छुभन्दा थामिनसक्नुको दुःखको भारी बोकाउन पुगिरहेका हुनेछौँ । हामीले सन्तानलाई असल संस्कारसहित गरिखान सक्ने क्षमतावान् र मानवतावादी बनाउन सक्यौँ भने उसले जीवनमा कहिल्यै दुःख पाउँदैन । धन–सम्पत्तिबाट मात्र मानिस सुखी हुँदैन, उसलाई सामाजिक बनाउन सक्नुपर्छ ।


छोराछोरीले सुख पाऊन् भनेर कुकर्म गरेरै भए पनि धन–सम्पत्ति जोड्नुको साटो उनीहरूलाई समाजमा घुलमिल हुने, अरूको दुःख महसुस गर्नसक्ने, आफ्नो धर्म, संस्कृति र परम्परामा रमाउने अनि आफ्ना लागि केही न केही आफँंै गर्नुपर्छ भन्ने सोच विकास गर्न सकियो भने उनीहरू भविष्यमा दुःखी हुँदैनन् । छोराछोरीको सुखका लागि भनेर संस्कारको साटो सम्पत्ति मात्र थुपार्दा त्यही सम्पत्तिको सदुपयोग गर्ने क्षमता नभएर सन्तानले उल्टै दुःख मात्रै पाउने छन् ।


हामीले देखेका छौँ, समाजमा धन भएकाहरूको तुलनामा मन भएका, संस्कार भएका, धर्म भएका, इमान भएकाहरूको मान–सम्मान बढी छ । धनीहरूले देखाउने खोक्रो अहङ्कारभन्दा मन, धर्म, इमान भएकाहरूको सादा जीवनशैली नै धेरैले रुचाउँछन् । जसले धर्मको पालना गर्छ, जसले संस्कृतिको रक्षा गर्दै आफ्नो संस्कृतिमा रमाउँछ, इमानमा बाँच्छ र नैतिकता गुमाउँदैन त्यही मानिसले मात्र वास्तविक मानव सुख प्राप्त गरेको हुन्छ । तसर्थ हामीले आफ्ना छोराछोरीलाई दुई छाक खानु मात्रै जीवन हैन भन्ने बुझाउन सक्यौँ भने उनीहरूलाई छाडेर जाने सबभन्दा ठूलो सम्पत्ति हुनेछ ।

समयको माग र यो पुस्ताले पाएको सुविधा भन्दै हामी आफ्ना छोराछोरीलाई सानैदेखि मेसिनमा अभ्यस्त गराइरहेका छौँ । शारीरिक तन्दुरुस्तीका लागि गर्नुपर्ने खेलकुद, मनोरञ्जनसमेत यन्त्रमा हुन थालेको छ । प्रविधिको विकासले मानिसलाई मेसिनको दास बनाइरहेको छ र हामी पनि त्यसैमा रमाएर केटाकेटीले सुख दिए भन्ने भ्रममा रमाउँछौँ तर यसबाट कति शारीरिक र मानसिक असर परिरहेको छ ? बौद्धिक विकासमा कस्तो समस्या उत्पन्न भइरहेको छ भन्ने सोचेका हुँदैनौँ । बाबुआमा एकातिर, छोराछोरी अर्कातिर उनीहरूको उज्ज्वल भविष्य भनेको मरेर गए पनि उनीहरूले बसीबसी खान पुग्ने गरी सम्पत्ति कमाइदिनु रहेको छ । यो नै हाम्रो सबैभन्दा ठूलो कमजोरी हो । यही कमजोरीले हामीले देशका होनहार भविष्यलाई कुँजो बनाइरहेका छौँ । उनीहरूको बौद्धिक क्षमता, श्रम, सीप र प्रतिभाको हत्या गरिरहेका छौँ । पैसामै प्रतिष्ठा र शक्ति छ भन्ने भ्रम सिर्जना गरिरहेका छौँ ।

संस्कार भएन भने भएको सम्पत्ति पनि सदुपयोग गर्न सकिन्न । यस्ता अनेक उदाहरण भेटिएका छन् । बाबुआमाले छाडेर गएको अथाह सम्पत्ति सदुपयोग गर्ने क्षमता नहुँदा केही वर्षमै छोराछोरी सडकमा आइपुगेका घटना प्रशस्तै छन् । यसर्थ हामीले हाम्रा सन्ततिलाई सम्पत्ति हैन, संस्कार छाडेर गयौँ भने जेजति छ त्यसबाटै उनीहरूले उन्नति–प्रगति गर्न सक्नेछन् । संस्कार भनेको शिक्षा हो, शिक्षाले व्यक्तिलाई सक्षम बनाउँछ । हामी सबैको लक्ष्य त्यही हुनुपर्छ । à