निष्पक्षताको असफल अभ्यास
पुरु रिसाल
नेपाल कम्युनिस्ट पार्टी एमालेलाई फुट्नबाट जोगाउन दोस्रो तहका एकथरि नेताले पुरानो संलग्नता छाडेर निष्पक्षताको भूमिका निर्वाह गरे । तर उनीहरूको प्रयासले सफलता पाउन सकेन । ओलीपक्षका दोस्रो तहका नेताले ‘जसोजसो पुरेतबाजे, उसैउसै स्वाहाः’ गर्दै अध्यक्षलाई सल्लाह दिनुको साटो उहाँले जे गर्नुभएको छ, ठिकै गर्नुभएको छ भनेर मौन बसे । पार्टी फुट्न दिनु हुँदैन भनेर जति पनि निष्पक्ष बसे, सबै माधव पक्षका थिए । उनीहरूको निष्पक्षताले परिणाम निकाल्न सकेन । आखिरमा उनीहरू निष्पक्षता अर्थात् तेस्रो धारबाट पहिलो धारमा नै समाहित भए । अर्कोतर्फ ओली पक्षका दोस्रो तहका नेतालाई महाभारतका भीष्म पितामहसँग दाज्न सकिन्छ– जो कौरव पक्षमा पूरै लागेका थिए ।
भीष्म पितामहलाई सबैले मान्दथे, उनी अधर्म गर्दैनन्, आफ्नो वचनमा अडिग छन् भन्ने गरिन्थ्यो । तर पाण्डव–कौरवको विषय आउँदा उनी कौरवको पक्ष लिने गर्दथे– निष्पक्षसमेत बस्न सकेनथे । निष्पक्षता अति कठोर व्रत हो, विश्वमा कसैको पक्ष नलिई राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्नेहरूको सङ्ख्या नगण्य छ । त्यसैले उनीहरूको बोलीको कुनै अर्थ रहँदैन । मान्छेमा यो स्वभाव कसरी विकसित भयो होला ? राजनीतिक परिवेशमा निष्पक्षताको विश्लेषण गरौँ– तपार्इं कम्युनिस्टको सदस्य हुनुहुन्छ, कतिपय कुरा नेपाली काँग्रेसको पनि राम्रो लाग्ला । यद्यपि, कुनै अर्थमा पनि काँग्रेसका पक्षमा बोल्न सक्नुहुन्न । तपाईंको वामपन्थी सिद्धान्तले गर्दा दक्षिणपन्थी पक्ष लिनै सकिँदैन । यो मानवताको कमजोरी हो वा मानवतामाथिको प्रहार । नेपालको सन्दर्भमा मात्र लागू हुने मान्यता होइन । अहिले एमाले एउटा उदाहरण मात्र हो ।
संसारका सबै राष्ट्र एकदमै खराब पनि छैनन्, एकदमै असल पनि छैनन् । निष्पक्ष सोचाई राख्नेका लागि यस्ता कुरा स्पष्ट परिलक्षित हुन्छन् । तर निष्पक्ष सोचाइ राख्नेको सङ्ख्या खोजेर पाइँदैन । विवेकले एकथोक भनिरहेको हुन्छ, व्यवहारमा अर्कै कुरा हुन्छ । प्रत्येक मान्छेमा विद्यमान कमजोरी ‘राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो’ भन्ने आँट हुँदैन । राष्ट्रपति मदुरो कम्रेड प्रचण्डको दृष्टिमा अर्जेन्टिनाका वैध राष्ट्रपति हुन्, तर अमेरिकी राष्ट्रपतिको दृष्टिमा मदुरो अवैध राष्ट्रपति हुन् । वास्तवमा हो के
त ? अनि आ–आफ्नो विवेक बन्धक राखेर एकथरि मदुरको पक्षमा र अर्काथरि विपक्षमा राय दिन्छन् । रङ्गशालामा फुटबल खेल पूरै प्रतिस्पर्धामा चलिरहेको हुन्छ । दर्शकमध्ये एकथरिले रातो जर्सी र अर्कोथरिले नीलो जर्सीलाई समर्थन गरिरहेका हुन्छन् । आफूले पक्ष लिएको टिमको विरुद्धमा अर्कोले केही भन्यो भने झम्टन पुग्छन् । त्यसमा दर्शकलाई लिनुदिनु केही छैन, केवल पक्ष लिनुबाहेक । यो नतिजा हो, दर्शकले आफूलाई निष्पक्ष राख्न नसक्नुको । निष्पक्ष आँखाले हेर्दा दुवैको समान मूल्याङ्कन हुनुपर्ने हो ।
कतै राम्रो कामका लागि पुरस्कार पाउने उम्मेदवारको चयन गर्नुछ । छनोट टोली बस्छ, अनि एउटाले एउटाको नाम लिदाँ अर्कोले अर्कैको नाम लिन्छ । यदि निस्पक्षतामा अडेर नाम छान्ने हो भने एउटैको नाममा सर्वसम्मत हुनुपर्ने हो, तर त्यहाँ पनि ‘क’ ले एउटाको नाम लिन्छ भने ‘ख’ ले अर्कैको । यहाँ निष्पक्ष परीक्षण नै हँुदैन । नेपालमा कतिपय संवैधानिक निकाय छन्, ती निकायका प्रमुखदेखि सदस्यसम्मको मनोनयनमा तत्कालीन सत्तामा रहेको सरकारको विशेष भूमिका रहन्छ र आफ्नो पक्षका मानिसलाई नियुक्त गरिन्छ । नियुक्तिमा निष्पक्षता नभएझैँ नियुक्त हुने व्यक्ति पनि निष्पक्ष रहन सक्दैन । किनकि ऊ कसैद्वारा नियुक्त हुन्छ, जसप्रति उसको झुकाव हुन्छ । त्यसैले महìवपूर्ण जिम्मेवारी बोकेका र प्रत्येक घटनामा निष्पक्ष भूमिका निर्वाह गर्नपर्नेहरू निष्पक्षताबाट टाढा हुन्छन् । जसबाट निष्पक्षताको अपेक्षा गरिन्छ, ऊ नै पक्षपाती भएपछि परिणाम सकारात्मक बन्न सक्दैन । नेपालमा कतिपय संवैधानिक निकाय छन्, उनीहरूले आफूलाई निर्धारित आचरणभित्र राखेर काम गर्ने हो भने राम्रै परिणाम निस्कन्थ्यो तर अलिकति ढल्किनाले परिणाम अर्कै निस्कन्छ । भनिन्छ– यस्तो बेला पनि थियो, न्यायालयमा वकिलहरूको बहस सुनेपछि यो मुद्दा फलानाले जित्दछ भनेर किटान गर्न सकिन्थ्यो, अहिले त्यो अवस्था छैन, कसले जित्दछ भन्न सकिँदैन । यो न्यायाधीशमाथिको निष्पक्षताको शङ्का हो । एउटा कथा छ– एउटा मुद्दामा वादीले न्यायाधीशलाई कोसेलीस्वरूप राम्रो राडी पठाएछ । प्रतिवादीले दुहुनो गाई नै दिएछ । मुद्दाको फैसला गर्ने बेलामा मैले राडी घुस दिएको छु भन्ने सङ्केत गर्न वादीले भनेछ– हाकिमसाप, राडीमा बसेर न्याय गर्नुहोला । कुरा बुझेको न्यायाधीशले जवाफ फर्काएछ– राडी त गाईले निल्यो नि । अनि केको निष्पक्षता ? निष्पक्षता भनेको अन्यायलाई टुलुटुलु हेरिराख्नु पनि त होइन । तटस्थ राष्ट्रहरूको सङ्गठन बन्यो, असंलग्न अभियान । यसको लक्ष्य थियो, पश्चिमी राष्ट्रहरूको सैनिक गठबन्धन ‘नेटो’ सँग आबद्ध नहुने, साम्यवादी राष्ट्रहरूको सैनिक गठबन्धन ‘वार्सा’सँग पनि मिल्न नजाने । तर असंलग्न आन्दोलन पनि शिथिल बन्दै गयो ।
वार्सा सङ्गठन तहसनहस भएर सकियो, ‘नाटो’ पनि कमजोर बन्दै गयो । यसरी नाटो र वार्सालाई तह लगाउने उद्देश्यले स्थापना भएको असंलग्न आन्दोलन अहिले नाम मात्रको बाँकी छ, गर्न केही सकेको छैन । त्यसैले निष्पक्षता केवल देखाउने दाँत बनेको छ । नेपालको राजनीतिमा पनि यस्तै छ । नेताहरू कुर्लीकुर्ली भाषण गर्छन्, हामी आफ्नो र पराई भनेर पक्षपात गर्दैनाँै, हामी निष्पक्ष रहन्छौँ । तर सत्तामा पुगेपछि आफ्ना मान्छेलाई खोजीखोजी नियुक्ति दिन्छन्, पहिले भएकालाई घोक्रेठ्याक लगाइदिन्छन् । हामीकहाँ यो निरन्तरको रोग हो । ‘राम्रो’ जतासुकै जाओस्, ‘हाम्रो’ भए भइहाल्यो । कम्युनिस्ट सरकार आयो, धेरैजसो पदमा कम्युनिस्ट नै नियुक्त भए । त्यो पनि जसले नियुक्ति दिने हो, उसैले नजिकको मात्रै । पार्टीपिच्छे गुट र उपगुटको प्रभाव छ । कार्यकर्तालाई निष्पक्षताका आधारमा काम दिइँदैन क्षमता हेरेर । क्षमता भएहोस्, न भए न होस् तर आफ्नो मान्छेको भागमा पर्नुपर्छ । पार्टी एकीकरणपछि नेकपाका पार्टी अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल बने पनि ओली कम्रेड प्रधानमन्त्री भएकाले निष्पक्ष बस्न सकेनन् । माधव नेपालका पक्षकाहरू बाहिरी पाटो लगाइए । नेपाली काँग्रेसमा पनि यही रोग सरिहाल्छ । अनि निष्पक्षता हात्तीको देखाउने दाँत मात्र बन्दछ ।
वर्तमान सरकारप्रति निष्पक्ष बस्न नसक्ने समूह जहिले पनि प्रधानमन्त्रीमाथि आरोप लगाइरहेको हुन्छ । ऊ भन्न सक्दैन, यो सरकारले यतियति काम बिराए पनि, यीयी काम जनताको पक्षमा गरेको छ । चुनाव आउँछ, कुनै पार्टीको सदस्य बनेको कार्यकर्ता अर्को पार्टीको जतिसुकै राम्रो काम गरेको उम्मेदवार उठे पनि उसलाई भोट हाल्न सक्दैन । उसको चिह्नमा छाप हान्न मनले मान्दैन । यदि निष्पक्ष भएको भए मनले खाएकोलाई भोट हाल्दथ्यो ।
अबको सन्दर्भमा आउँदा दिनमा कम्युनिस्टलाई धर्मसङ्कट पर्ने देखिन्छ । ओली कम्युनिस्टलाई भोट हाल्ने कि माधव कम्युनिस्टलाई ? अहिलेसम्म निष्पक्ष रहेको मतदाता त्यतिखेर निष्पक्ष रहन सक्दैन । तेस्रो धारका नेताहरू निष्पक्षता त्यागेर एकातिर लागे भने यसलाई असफल निष्पक्षता भन्नुपर्ने हुन्छ ।