विचार/दृष्टिकोण |

भास्कराचार्यका पर्याय :नयराज पन्त

श्याम खनाल
भास्कराचार्यले गणितज्योतिषजस्तो कठिन विषय पनि साह्रै मीठो काव्यात्मक शैलीमा सबैले सम्झने गरी लेख्नुभयो । आफ्नो जीवनकालमा जति पुस्तक लेख्नुभयो, ती पुस्तकहरू अहिले आएर पनि उत्तिकै महìवपूर्ण छन् । कुनै पनि विषयवस्तुलाई त्यसको उपपत्ति दिएर तथ्य र प्रमाणसहित सजिलो र रसिलो पाराले सबैले बुझ्ने गरी लेख्नुभयो ।
विसं ११७१ मा भारतको महाराष्ट्रमा जन्मिनुभएका भास्कराचार्यसँग सम्बन्धित एउटा जनश्रुति छ । भास्कराचार्य रात–दिन ज्योतिषीय अनुसन्धानमा व्यस्त हुनुहुन्थ्यो । एक दिन राति बाहिर आगो बालेर आकाशमा हेर्दै अनुसन्धान गरिरहेको बेलामा पत्नीले आफूलाई समय नदिई–नदिई खाली लेख्ने पढ्ने मात्र गरेको भनेर उहाँले लेखेका तमाम् पुस्तक त्यही आगोमा हालिदिइन् । यसरी भास्कराचार्यले लेखेका धेरै पुस्तक नष्ट भए । त्यो जे हो दैवले नै जानून् तर पनि उहाँले लेखेकामध्ये अहिले प्राप्य लीलावती, बीजगणित, सिद्धान्तशिरोमणि–गणिताध्याय, सिद्धान्तशिरोमणि–गोलाध्याय र करणकुतूहल नामका पुस्तकहरू विद्वान्हरूका माझ सधँै पूजित र व्यवहारयोग्य नै छन् । लीलावतीलाई सिद्धान्तशिरोमणिकै प्रथम भाग, बीजगणितलाई दोस्रो भाग, गणिताध्यायलाई तेस्रो भाग र गोलाध्यायलाई चतुर्थ भागका रूपमा पनि लिने गरिन्छ । उनले सिद्धान्तशिरोमणिको गणिताध्यायमा ‘आफूले लेखेका गहिरा कुरा राम्रोसँग बुझेर विद्वान्हरू सन्तुष्ट हुनेछन् भने मूर्खहरू उनले भनेका गहिरा कुरा नबुझेर उनलाई हाँसोमा उडाउँदै सन्तुष्ट हुनेछन्’ भनेर आफ्नो ग्रन्थको महत्ता दर्शाएका छन् । अहिले परिस्थिति पनि त्यस्तै देखिएको छ । नयराज पन्त आदि विद्वान् उनले भनेका कुरा बुझेर सन्तुष्ट हुन पुगे तर केही मानिसले यो ग्रन्थ त अन्यत्र परदेशीबाट सिकेको विद्या हो भन्नसम्म भ्याएका छन् । भास्कराचार्यले लेखेका गुरुìवाकर्षणसम्बन्धी कुरा, लीलावती र बीजगणितमा परेका गणितसम्बन्धी कुरा न्युटन आदि पश्चिमी विद्वान्हरूले धेरै पछि मात्र थाहा पाए । यसैले आफूभन्दा पहिलेका पौरस्त्य विद्वान्हरूका ग्रन्थ आदिको अध्ययन र अनुसन्धानबाट लेखिएका भास्कराचार्यका ग्रन्थ अहिले पनि त्यत्तिकै महìवपूर्ण छन् ।

त्यस्तै ज्योतिर्विद् नयराज पन्तको जन्म विसं १९७० श्रावण २६ गते आजैका दिन काठमाडौँको महाबौद्धमा भएको थियो । उहाँ ज्योतिर्विद् मात्र नभएर इतिहासविद्, वैयाकरण, कवि, यी सबै विशेषणले युक्त हुनुहुन्थ्यो । भास्कराचार्यलाई उहाँले अत्यन्तै आदरका साथ लिनुभएको कुरा प्रस्तुत पद्य एवं उहाँका अनुसन्धानमूलक लेख रचनाबाट स्पष्ट हुन्छ ।

बोल्ने जे हो विषय, उसको भावलाई लिएर
भित्री भित्री तहतक पुगी धीरताले गुनेर ।
बोल्नू, शङ्का यदि हुन गए चूप लाग्नू भनेर
शिक्षा दिन्छन् निज चरितले भास्कराचार्य हेर ।।
जसरी भास्कराचार्यले आफ्नो जीवन अत्यन्तै ऊर्जाशील भएर अध्ययन अनुसन्धानमा बिताउनुभयो, त्यसरी नै आजीवन अन्वेषक भएर जीवनको अलिकति समयलाई पनि बर्बाद नपारी इतिहासको खोज एवं ज्योतिषको अनुसन्धानमा नयराज पन्तले जीवन बिताउनुभयो । त्यसैले पनि नयराज पन्तले ईश्वरसँग धन, दौलत माग्नुभन्दा एउटा आलस्यरहित गतिशील जीवन माग्नु श्रेयष्कर सम्झनुभएको देखिन्छ । उहाँ भन्नुहुन्छ–

आलस्यको दास भएर जीवन,
त्यसै नजाओस् जिउँदै मरीकन ।
यो यत्तिमै नाथ दया गर्यौ, भने,
यो दास तिम्रो छ कृतार्थ नै हुने ।।

उहाँले गर्नुभएको अध्ययन–अनुसन्धानलाई हेर्दा लाग्छ, उहाँ आफ्नो जीवनकालमा राम्रासँग सुत्नु भएन, सुतैकै भए पनि त्यो बेलामा पनि सधैँ अध्ययन अनुसन्धानमै रम्नुभयो । शारदा, पुरुषार्थ, जयतु संस्कृतम्, सिंहनाद, पूर्णिमा, प्रज्ञा, मर्यादा आदि पत्रपत्रिकामा इतिहास, काव्य र ज्योतिषसम्बन्धी अनुसन्धानमूलक लेख–रचनाहरू प्रकाशित गर्नुभयो । आफ्नो बिहान बेलुकाको दैनिक जीवनको अभावमा समेत पूर्णिमा, विद्या–रक्षा आदि महìवपूर्ण पत्रिका आफैँ खर्च गरी प्रकाशन गर्नुभयो । जुन पत्रपत्रिकाहरू ज्योतिषीय एवं अरू क्षेत्रका अनुसन्धाताहरूलाई महìवपूर्ण मार्गदर्शकका रूपमा रहेका छन् । उहाँले लेख्नुभएका हिन्दु सिद्धान्तज्योतिष र ग्रिक सिद्धान्तज्योतिषको तुलना, प्राचीन गणित र नवीन गणितको तुलना, गोलबोध, लिच्छवि संवत्को निर्णय, पण्डित गोपाल पाण्डे र उनको घनमूल ल्याउने रीति, त्रिकोणमिति (ज्योत्पत्ति) आदि ग्रन्थहरू हेर्दा उहाँले एक विषयमा हैन, १२ भन्दा बढी विषयमा महाविद्यावारिधि गर्नुभएको छ । रत्नदीप, सुमतितन्त्र, वृत्तशतकम्जस्ता ज्योतिषका महìवपूर्ण पुस्तकहरूको सम्पादन र संशोधन गरी तिनीहरूको प्रतिसंस्कृत रूप तयार गर्नुभएको छ । लेखकको नाम थाहा नभएको सुमतितन्त्रजस्तो महìवपूर्ण ग्रन्थको नेपाली–भूमिसँग सम्बन्धित भएको कुरा, लक्ष्मीपतिको रत्नदीप र उनका धूपघटीका आदि यन्त्र, पण्डित गोपाल पाण्डेको गणितीय नौलो खोज आदि कुरा पत्ता लगाई तिनीहरूलाई जनमानसमा ल्याउने काम पनि नयराज पन्तले नै गर्नुभयो । त्यस्तै सिद्धान्तशिरोमणि एवं सर्वानन्दकरणजस्ता ज्योतिषीय ग्रन्थहरूका विभिन्न ठाउँमा गणितीय संशोधनको थालनी पनि नयराज पन्तबाटै भयो । आकाशमा रहेका ग्रह, नक्षत्र, ताराहरूको अवस्थिति जनाउने प्राचीन गोलयन्त्रहरूको निर्माण गराई तिनीहरूका माध्यमले सिद्धान्तज्योतिषको अध्ययन–अध्यापन गराउने पहिलो श्रेय पनि नेपालको परिप्रेक्ष्यमा नयराज पन्तलाई नै जान्छ । पुस्तकाकारमै उहाँले लेख्नुभएका सूर्यग्रहणका कारिका, चलनकलनस्य कश्चनांशा, शुल्बसूत्रानुगत रेखागणित आदि लेखहरूमा प्रयोग भएको संस्कृत काव्यशैली त भास्कराचार्यकै बराबरमा छ । 

संस्कृत व्याकरण नपढीकन शास्त्रको अर्थ गर्न नसकिने भएकाले पहिले व्याकरण पढेर मात्र ज्योतिषीय ग्रन्थको अध्ययनमा लाग्नुपर्ने भास्कराचार्यको उपदेशलाई नयराज पन्तले पनि आफ्नो जीवनकालमा अत्यन्तै सदुपयोग गर्नुभएको देखिन्छ । प्रख्यात वैयाकरणहरूले गरेको गल्तीलाई समेत उहाँले व्याकरण–संशोधन नामको पत्रिकाको माध्यमले सच्याइदिने काम गर्नुभएको छ । त्यसैले ‘व्याकरणै नपढेर ज्योतिषी भएँ भन्ने ठुटे जैसी हुन्’ भन्ने कुरोलाई मनन गरी पहिले व्याकरण नपढीकन ज्योतिष पढ्नु निरर्थक नै देखिन्छ ।
प्राच्य र पाश्चात्य गणितज्योतिषको तुलनात्मक अध्ययन सजिलो होस् भन्ने उद्देश्यले रेखागणित, दीर्घवृत्तलक्षणम्, त्रिकोणमिति, चलनकलनम् आदि आधुनिक सिद्धान्तहरूको संस्कृत भाषामा पद्यात्मक अनुवाद गर्ने काम पनि नयराज पन्तले गर्नुभयो । नयराज पन्तबाट गरिएका यी कुराको अध्ययनले आधुनिक रेखागणित हाम्रै शुल्बसूत्रहरूको विस्तृत व्याख्या एवं त्रिकोणमिति ज्योत्पत्तिकै विस्तृत रूप रहेछ भने चलनकलनजस्तो विषयमा भास्कराचार्यकै देन रहेछ भन्ने कुराको अवगत अनुसन्धाताहरूमा भयो । 
त्यस्तै भारतमा सुधाकरजस्ता विद्वान् पनि थीबोको पछि लागेर ‘सिद्धान्तज्यौतिष त हिन्दुहरूले ग्रिकबाट सुटुक्क सारेर ल्याएका हुन् । जसलाई उनीहरूले ईश्वरको कृपाका रूपमा व्याख्या गर्छन् । यो सिद्धान्त उनीहरूको मौलिक सिद्धान्त होइन’ भनेका थिए । त्यस कुराको नयराज पन्तले सप्रमाण खण्डन गरी यस्तो आरोपबाट बचाउनुभएको थियो । नेपालमा उहाँ जीवित रहँदासम्म यो कुरा गर्ने कसैको आँट थिएन तर उहाँ स्वर्गीय भइसकेपछि सिद्धान्तज्यौतिष हामी हिन्दुहरूको सिद्धान्त होइन, हाम्रो त वेदाङ्गज्योतिष हो भनेर प्रचार–प्रसार गर्ने एउटा विद्वान्हरूको समूह नै छ । उहाँहरूको विद्वत्तामा केही प्रश्न उठाइएको पक्कै होइन । संस्कृत भाषा एवं सनातन वैदिक धर्म र संस्कृतिको रक्षार्थ उहाँहरू लागिपरिरहनुभएकै छ तर सिद्धान्तज्यौतिषसम्बन्धी उहाँहरूको धारणा गलत छ । 
भारतमा धेरै समयदेखि चलिरहेको सायनवादीहरूको कोलाहल नेपालमा पनि भित्रिएको थियो । त्यस समयमा ‘सायनको विरोधी निरयण नभएको र सायन र निरयण दुवै पद्धति हामीले अँगालेको’ कुराको सप्रमाण विभिन्न पत्रपत्रिकाहरूमा छपाउनुभएको थियो । यसले गर्दा विषयवस्तु नै नबुझी सायन–सायन भन्ने मानिसहरू त्यो समयमा पाखा लाग्न पुगेका थिए । अहिले पनि त्यस्ता खालका कुरा सञ्चारमाध्यममा सुनिँदै आएकाले ती विद्वान्हरूले पहिले संस्कृत व्याकरणको गहिरो अध्ययन गरी भास्कराचार्य एवं नयराज पन्तका कृतिहरूको अध्ययन गरून् अनि मात्र तिनीहरूको घैँटामा अवश्य घाम लाग्नेछ ।

यसरी जीवनपर्यन्त संस्कृत–भाषा, ज्योतिष, इतिहास आदि विषयको चिन्तनमा लाग्नुभएका नयराज पन्तलाई भास्कराचार्यकै पर्यायका रूपमा चित्रण गरिएको हो । भास्कराचार्यका ग्रन्थ ज्योतिषसम्बन्धित मात्रै देखिन्छन् तर नयराज पन्तका लेख एवं ग्रन्थ विभिन्न विषयका छन् । उहाँ प्रत्येक क्षेत्रमा सफल देखिनुभएको छ । त्यसैले उहाँलाई भास्कराचार्यका पर्यायका रूपमा मात्र चित्रण गर्नु कम होला बढी अवश्य हुन्न । 
संस्कृत वाङ्मयभित्र रहेका कुराको अध्ययन–अनुसन्धानका लागि खोलिएको नेपाल संस्कृत विश्वविद्यालयजस्तो संस्थाले पनि उहाँलाई चिनेको अवस्था छैन । पाठ्यक्रम परिमार्जनका नाममा रामप्रसादलाई प्रसादराम बनाएर आफ्नालाई भत्ता दिलाउनेभन्दा ज्यादा केही काम हुन सकेको छैन । त्यसैले उहाँका रेखागणित, त्रिकोणमिति, सूर्यग्रहण, चलनकलन आदि जस्ता रचनाहरूलाई समेटेर पाठ्यक्रमको निर्माण गर्ने पदाधिकारीलाई छिटोभन्दा छिटो सुमति आओस् । उहाँले लेखेका इतिहाससम्बन्धी लेख–रचना पनि सम्बन्धित विश्वविद्यालयहरूले आफ्ना पाठ्यक्रममा राखून् । यसो गरे मात्र नयराज पन्तको आज परेको १०९औँ जन्मजयन्तीका अवसरमा उहाँप्रति दिएको हार्दिक श्रद्धाञ्जलि सार्थक हुनेछ ।