विचार/दृष्टिकोण |

नेपालमा तान्त्रिक परम्परा

शीतल गिरी

नेपाल शैवधर्मका प्रमुख केन्द्रहरूमध्ये एक मानिएको छ । लिच्छविकालमा राजा, राजपरिवार, प्रजा सबै शिवलिङ्गको प्रतिष्ठा गरी पूजा गर्दथे । शिवमूर्ति बनाउँथे । त्यसबेला ‘पशुपति’ लेखिएका मुद्रा प्रचलित थिए । मल्लकालमा पनि कतिपय राजा र प्रजाहरू शिवका अनन्य भक्त थिए । नेपालमा पाशुपत सम्प्रदाय फैलिएको थियो । यसको साथसाथै सोमसिद्धान्त र मिश्र–शैवधर्मको पनि यहाँ कम प्रचार थिएन । मिश्र–शैवधर्म शब्दको अभिप्राय यहाँ त्रिदेव, शैव+सौर, शैव+शाक्त, शैव+बौद्ध आदि संयुक्त उपासना प्रणाली हो । नेपालमा कतिपय शैव–आचार्यहरू भए । धर्मको मूल आधार दर्शन रहेको हुन्छ, यसैले यो शैवागमका मुख्य केन्द्रमध्ये एक गनिएको छ । नाथसम्प्रदाय पनि शैवमार्गमध्ये योगप्रधान भएको एक मार्ग हो । नेपाल नाथसम्प्रदायको प्रधान केन्द्र रहेको छ । नेपालमा प्रसिद्ध देउता मानिएका मत्स्येन्द्रनाथ जात्रा आजसम्म पनि प्रचलित छ । यसले नाथसम्प्रदायको प्रभाव सिद्ध गर्छ । शैवधर्मको साथसाथमा नेपालमा शाक्त–धर्मको पनि प्रचार प्रचुर मात्रामा भएको पाइन्छ । यद्यपि, शैवतन्त्रअन्तर्गत शाक्ततन्त्रलाई राख्ने व्यवस्था छ तापनि शाक्ततन्त्रको परम्परा विशिष्ट रूपमा अलग्गै विकसित हुने भएकोले यसलाई पृथक रूपले हेर्नु आवश्यक छ । नेपालमा लिच्छविकालमा मानदेवले नै शक्तिलाई आफ्नो इष्टदेउता मान्ने, उनका प्रसादले सम्पूर्ण कार्य गर्ने, शक्तिको मूर्ति प्रतिष्ठित गर्ने परम्परा रहेको पाइन्छ । तन्त्रहरूमा पनि नेपाललाई महामायानगरी भनिन्छ । यहाँका मल्लराजाहरू तन्त्रानुसार दीक्षित भएर स्वयं शक्तिको पूजा गर्दथे । आद्यशङ्कराचार्यले पशुपतिनाथको शिवलिङ्गको मस्तकमा श्रीचक्रको पूजन गर्ने प्रथा चलाए भन्ने जनश्रुति छ ।
आजसम्म पनि नेपालमा शक्ति दीक्षा लिने, शक्तिको उपासना गर्ने, दशैँ, तिहारजस्ता पर्वलाई शक्ति पूजाको प्रमुख अवसरको रूपमा मनाउने प्रचलन छ ।

मेरुतन्त्रले ५१ शक्तिपीठहरूको वर्णन गर्ने सन्दर्भमा नेपाललाई ज्यादै गुह्य (गोप्य) वाममार्गको मूलस्थान मानेको छ । यसैगरी, कुब्जिकातन्त्र, तन्त्र चूडामणि, शाक्तानन्द तरङ्गिणी, बृहन्नीलतन्त्र, महापीठ निरूपण आदि तन्त्र–ग्रन्थहरूमा पनि नेपाललाई शक्तिपीठका रूपमा गणना गरिएको छ । नेपालमा माघ माहात्म्यको रूपमा घर–घरै बडो श्रद्धा र भक्तिका साथ भन्ने र सुन्ने गरिएको ‘स्वस्थानी व्रतकथा’ मा त नेपालमा सतीदेवीको गुह्यस्थान पतन भएकोले गुह्येश्वरी पीठ रहेको छ भनी लेखिएको छ । तर यहाँनेर एउटा विशेष कुरो के छ भने ‘पीठनिर्णय’ (महापीठ निरूपण) भन्ने ग्रन्थमा ५१ पीठहरूको वर्णन गर्दा नेपालमा देवीको घुँडा पतन भएको छ र त्यहाँ कपाली भैरव एवं महामाया भगवती छन् भनिएको छ । शक्ति–उपासनाको केन्द्रलाई पीठ र महापीठ भन्दछन् । दक्षप्रजापतिको यज्ञ विध्वंश भएपछि महादेवले सतीदेवीको शरीर बोकेर पृथ्वीको भ्रमण गर्दा विष्णुका मायाले सतीदेवीको शरीरमा माखो उत्पन्न भएर त्यसले उनको शरीरलाई गलाउन र पतन गराउन थाल्यो अथवा मतान्तरमा विष्णुले चक्रले काटेर वा ब्रह्मा, विष्णु र शनिले शरीरभित्र पसी यसलाई काट्दै अङ्ग–प्रत्यङ्ग खसाल्न थाले । उनको अङ्ग जहाँ खस्यो त्यहाँ एउटी शक्ति उत्पन्न भइन् र एउटा भैरव पनि प्रकट भए । त्यो शक्ति उपासनाको एउटा केन्द्र बन्यो र ईश्वरीको कृपाले त्यहाँ उपासना गर्ने भक्तले सिद्धि प्राप्त गरेको हुँदा त्यो सिद्धपीठ वा महापीठका रूपमा प्रसिद्ध पनि भयो । पीठहरूको सङ्ख्या कहीँ आठ लिइएको छ भने कहीँ अठार भनिएको छ । 

कतै पचास, एकाउन्न, चउन्न, एक सय आठ आदि भिन्न भिन्न सङ्ख्यामा पीठहरूको निर्देश पुराण र तन्त्र–ग्रन्थहरूमा गरिएको छ । पीठहरूको मान्यताबारे अर्को एउटा प्रक्रिया पनि छ । संसारमा जति पनि पीठहरू छन् ती सबैको परिकल्पना मानव शरीरभित्रै गरिएको छ । रुद्रयामल ग्रन्थअनुसार शक्ति पूजाको अङ्गका रूपमा उपासक आफ्ना शरीरका विभिन्न अङ्गहरूमा वीज मन्त्रहरूको उच्चारण गर्दै मूलाधारमा कामरूप, हृदयमा जालन्धर, निधारमा पूर्णगिरी, त्यसभन्दा तल तालुमा उड्डीयाण, आँखी भौँका बीच वाराणसी, तीन आँखा (दायाँ, बायाँ र निधार) मा ज्वलन्ती, मुखमा मायावती, घाँटीमा मधुपुरी, नाइटोमा अयोध्या र कम्मरमा काञ्चीपीठको भावना गरिन्छ र शरीरलाई शक्ति उपासनाको केन्द्रको रूपमा मानिन्छ । शरीरलाई शक्ति उपासनाको केन्द्रको रूपमा वर्णन पाइन्छ, यो पनि आम्नाय देउता, मन्त्रका भेदले भिन्न भिन्न हुन सक्छन् । नेपालकी गुह्येश्वरी वास्तवमा उत्तराम्नायकी अधिष्ठात्री नायिका भगवती गुह्यकाली हुन् । ‘गोरक्ष संहिता’ मा गुह्येश्वरी र गुह्यकाली एउटै हुन् फरक छैन भनी लेखिएको छ । यिनको मन्त्र, वाहन आदि भने बेग्लाबेग्लै छन् । ब्रह्मा, वशिष्ठ, हिरण्यकशिपु, कुबेर, यमराज, भरत, रावण, बलि, इन्द्र, विष्णु आदि जसले जुन मन्त्रद्वारा जुन स्वरूपको ध्यान गरी यिनको उपासना ग-यो र सिद्धि प्राप्त ग-यो, त्यही मन्त्र, त्यही ध्यान लोकमा प्रसिद्ध पनि भयो । यिनका एक, दुई, तीन, पाँच, दश, तेह्र, चौध, बीस, छत्तीस, साठी, असी, सय आदि मुख भएका स्वरूपहरूको ध्यान गरिन्छ । तापनि भरतले उपासना गरेको दश मुख भएको स्वरूपकी ध्यान चाहिँ प्रधान र शीघ्र सिद्धिदायक मानिन्छ । देउता, मानव, पशुपंक्षी सबैका स्वरूपलाई यिनीभित्र अन्तर्भूत गरेर यिनको उपासना गर्ने साधकले संसारैलाई यिनीभित्र र यिनैलाई संसारको प्रत्येक वस्तुमा देख्दछ । तान्त्रिक संस्कृतिमा बज्रयोगिनीको उपासनाले ज्यादै महìवपूर्ण स्थान लिएको छ ।

खासगरी बौद्ध तान्त्रिक संस्कृतिअनुसार बज्रयोगिनी, खड्गयोगिनी, आकाशयोगिनी र नैराम्ययोगिनीलाई बज्रयानी तान्त्रिक उपासनाका दृष्टिले विशेष महìवपूर्ण मानिएको छ । बज्रयोगिनीलाई त शैव र शक्ति तन्त्रहरूले पनि आत्मसात् गरी आफ्ना उपासनामा विशेष स्थान दिएका छन् । ने मुनि जसको नामबाट यो देश ‘नेपाल’ भनियो, यिनलाई बज्रयोगिनी भगवतीले वरदान दिएको प्रसङ्ग वंशावलीमा पाइन्छ । काठमाडाँैको पूर्वोत्तर कोणमा रहेको प्राचीन सहर साँखुमा रहेको एक हातमा खड्ग लिएकी यिनलाई वंशावली र अरू अभिलेखअनुसार बज्रयोगिनी मानिएको छ । यिनको मन्दिरको एक भागमा एउटा कराही घोप्ट्याइएको छ र एउटा शिर पनि त्यहाँ राखिएको छ । जसलाई विक्रमादित्यको टाउको मानिन्छ । यिनीसँग सम्बन्धित एउटा चाखलाग्दो किंवदन्ती भनौँ वा कथा भनौँ वंशावलीमा पाइन्छ । बज्रयोगिनीबाट पारसमणिसहित आशीर्वाद प्राप्त गरेको, राजप्रासादको दक्षिणतर्फ (हालको नारायणहिटी) चर्तुमुख नारायण स्थापनागरी जोडीधारा बनाई तीर्थसमेत चलाएको र विक्रमसम्बत् चलाएको किंवदन्ती प्रचलित छ । लिच्छवि वंशको पहिला राजा धर्मपाल, दोस्रो भूमिवर्मा र तेस्रो विक्रमादित्य हुन् । किराँत राजालाई जिती लिच्छवि वंश सुरु गर्ने लिच्छवि सूर्यवंशी पराक्रमी चक्रवर्ती राजाले विशालनगर र बत्तीसपुतलीमा राजधानी स्थापना गरेर शासन गरेका थिए । 
राजा विक्रमादित्यले चलाएको विक्रम सम्बत्को बारेमा थाहा पाउन खोज्नेले सबभन्दा पहिले बज्जि गणराज्यको बारेमा थाहा पाउनुपर्छ । बज्जिहरूको वैशाली अजातशत्रुले ध्वस्त बनाएको इतिहास पनि हेर्नुपर्छ । भागेका बज्जि गणका लिच्छवि नेपाल उपत्यकामा आएको खोजी गरिनुपर्छ । किराँत सङ्घलाई लिच्छविहरूले कहिले आफ्नो अधीनमा पारे त्यो खुट्याउनु पर्छ । तब बल्ल विक्रमादित्यको नजिक पुग्न सकिन्छ ।

राजा विक्रमादित्य बज्रयोगिनीको बडो भक्तिसाथ सेवा गर्दथे । विक्रमादित्यको प्रसङ्ग वेतालसँग छ, वेताल भनेको भूत हो महादेवको गण । भनाइअनुसार बज्रयोगिनीलाई रिजाएर सिद्धिप्राप्त गरी वेताललाई आफ्नो सेवक बनाएका ठूला तान्त्रिक थिए विक्रमादित्य । तान्त्रिक विधिले पूजा गरिने चाबहिल (चाबेल) को गणेश मन्दिर, मैतीदेवी, पचली भैरव, भद्रकाली आदि प्राचीन मन्दिरहरूमा वेताल देख्न सकिन्छ । तिनै वेताललाई जगाएर विक्रमादित्यले लोकको हित गर्ने गरेको प्रसङ्ग वेताल पच्चीसी, विक्रम र वेतालजस्ता धेरै कथामा उल्लेख गरिएको पाइन्छ । लिच्छवि सूर्यवंशी पराक्रमी चक्रवर्ती राजा विक्रामादित्यले विशालनगर र बत्तीसपुतलीमा राजधानी स्थापना गरेर शासन गरेका थिए । यिनको सिंहासनमा बत्तीसवटा पुलती रहेको र सोही नामबाट स्थानको नामकरण भएको हो भन्ने भनाइ रहेको छ । सो सिंहासन आजको राम मन्दिरमा अद्यावधि छ भन्ने गरिन्छ । सो सिंहासनमा बस्दा बस्नेसँग पुतलीले प्रश्न सोध्ने गथ्र्यो रे र सही जवाफ दिन नसक्नेको तत्काल मृत्यु हुने गरेको चर्चा छ । पुतलीका प्रश्नको सहज रूपमा विक्रमादित्यले जवाफ दिन्थे । त्यसो भएको हुँदा विक्रमादित्य जान चाहेको ठाउँमा सिंहासनसहित उडाएर पुतलीले पु-याइदिन्थे । सुन्नमा आएअनुसार उनी सोही सिंहासनमा बसेर प्रत्येक दिन बिहान साँखुको बज्रयोगिनीमा पुग्थे । महान् तान्त्रिक विक्रमादित्यले आफ्नो इष्ट देवी बज्रयोगिनीलाई प्रत्येक दिन एउटा ठूलो कराहीमा तेल तताएर आफ्नो शरीरलाई अनेकौँ मसलाहरूले पोती त्यसमा हामफाल्थे र आफ्नो शरीरको पकवान चढाउँथे । श्रद्धापूर्वक शरीरको मासुको पकवान चढाउने विक्रमादित्यलाई योगिनीले कञ्चन शरीर दिन्थे भन्ने चर्चा अहिलेसम्म चलेकै छ । बज्रयोगिनीबाट प्रशस्त धन–सम्पत्ति प्राप्त भएको हुँदा, राजाले त्यही धन आफ्ना प्रजाका कल्याणको निम्ति खर्च गरेर पालन–पोषण गर्दथे । अर्थात् विक्रमादित्यको अस्तित्व थियो, चमत्कार गरेर भए पनि लोकको हित गर्थे ।

यसकारण नै संयमपूर्वक बज्राचार्यहरूले विक्रमादित्यको टाउकाको पूजा अहिलेसम्म गर्दै आइरहेका छन् । तान्त्रिक मतका बज्राचार्यहरूले भयवश नभई श्रद्धावश पूजा गर्दै आएका हुन् । तन्त्रमा, नैवेद्यं स्वकलेवरम् अर्थात् ‘भगवतीलाई आफ्नै शरीर नैवेद्य चढाउनु पर्दछ’ भनिएको छ ।
सम्पूर्ण संसार नै भगवतीको विराट विग्रह हो । हाम्रो शरीर पनि त्यसैभित्रको एउटा अंशदेखि बाहेक केही होइन । त्यसैले आफ्नो शरीरलाई पृथक नमानी यसलाई परमेश्वरीका विराट् विग्रहमा विलीन गरिदिनु पर्छ । किनभने भेदभाव अज्ञानमूलक हुन्छ र परब्रह्मसँगको अभिन्नबोध नै वास्तविक ज्ञानको स्वरूप हो भन्ने यस वाक्यको अभिप्राय हो ।