विचार/दृष्टिकोण |

कार्टुनिस्टको स्वतन्त्रता र सीमा

डा. कुन्दन अर्याल

भर्खरै नेपालको एक आमसञ्चार माध्यममा कार्टुनका नाममा छापिएको एउटा सामग्रीका विषयमा निकै आलोचना भयो । महिला शरीर र हाउभाउलाई चित्रमा उतारेर नेपाली राजनीतिको वर्तमान घटनाक्रम दर्शाउन खोज्नु असंवेदनशील व्यवहार नै थियो । त्यस्तो सामग्री तयार गरिनुको कारण पत्रकारमा युगचेतनाको अभाव नै हुनुपर्छ । तत्कालै सम्पादकले असावधानीवश भएको गल्ती मानेर क्षमायाचना गरेपछि आलोचनाको लहर थामियो । तर कार्टुन, क्यारिकेचर वा रेखाचित्रहरूको प्रस्तुतिका सन्दर्भमा आमसञ्चारका माध्यमहरूले बोध गर्नैपर्ने नैतिक दायित्वको विषय भने झन् टड्कारो भएर सतहमा आएको छ । कार्टुन वा क्यारिकेचरको सिर्जना र प्रकाशनका सन्दर्भमा एउटा कार्टुनिस्ट र सम्पादकले सजग हुनै पर्ने नैतिक प्रश्नहरू के–के हुन सक्छन् ? समय–समयका घटनाक्रमले आमसञ्चार माध्यम र यसका उपभोक्ताहरूलाई यस विषयमा सोच्न अभिप्रेरित गर्दै आएका छन् ।

गल्ती गर्नु मानवीय गुण, गल्ती स्वीकारेर सच्याउनु दैवी गुण भनेजस्तै आफूले गरेको त्रुटि र कमजोरी सच्याउने तत्परतालाई पत्रकारितामा एउटा आधारभूत गुण मानिन्छ । तर सधैँजसो उही गल्ती नदोहोरियोस् भन्ने हो भने आमसञ्चार माध्यमका लोकप्रिय सामग्रीका रूपमा रही आएका कार्टुन र रेखाचित्रका सन्दर्भमा पनि नैतिक पक्ष र स्वच्छ व्यवहारको विषयमा पर्याप्त विमर्श भइरहनु पर्छ । सामान्यतः राजनीतिक कार्टुन र क्यारिकेचर व्यङ्ग्यको मौलिक चरित्र, ख्यालठट्टा र हास्यका कारण पत्रकारिताका अन्य विधाभन्दा फरक छन् भन्ने लोकप्रिय मत छ । सामान्यतः नैतिक पक्षका कारणले कुनै कार्टुनमाथि प्रश्न उठाउने गरिंँदैन थियो । किनकि, आम रूपमा कार्टुन र क्यारिकेचरलाई गम्भीर आक्षेपका अर्थमा बुझ्ने गरिँदैन, हल्का ठट्टाका रूपमा ग्रहण गर्ने गरिन्छ । तर पत्रकारिताको विकाससँगै कार्टुन, क्यारिकेचर वा रेखाचित्र अभिन्न पाठ्य वा दृश्य सामग्रीका रूपमा स्थापित भइसकेका छन् ।
लेख वा ओपेडमा व्यक्तिको दृष्टिकोण अभिव्यक्त भएझैँ कार्टुनमा पनि कुनै खास घटना वा सार्वजनिक व्यक्तित्वप्रति व्यक्तिको धारणा वा दृष्टिकोण अभिव्यक्त हुन्छ । त्यसैले कुनै लेखको प्राथमिक उद्देश्य सूचना र तथ्य प्रस्तुत गर्नेभन्दा पनि विश्लेषण वा धारणा पस्किने भएजस्तै कार्टुनलाई समाचारका लागि पढिंँदैन वा हेरिँदैन । अक्षरमा दृष्टिकोट अभिव्यक्त भएको हुन्छ । लेख वा धारणामा तथ्यपरक विश्लेषण वा स्वच्छ र मर्यादित बहसको अपेक्षा गर्नै पर्छ । कार्टुनमा पनि गलत तथ्यमा आधारित धारणा प्रस्तुत गरिनु हुँदैन । लेखमा अक्षर र कार्टुनमा चित्रका माध्यमले सञ्चार गरिन्छ ।

तीस वर्षभन्दा अघि नेपालमा गाईजात्राका बेला कार्टुनका रूपमा छापिने रेखाचित्र आम रूपमा अश्लील, असंवेदनशील र सोचका दृष्टिले अपरिष्कृत समेत हुन्थे । त्यसबेलाको समाजमा पितृसत्तात्मक चिन्तनको बलियो पकडकै महिलाको शरीर र हाउभाउलाई हास्य उत्सर्जन गर्ने विम्बका रूपमा प्रयोग गर्न पूरै छुट थियो । तर केही दशकयता नेपाली समाजमा आधुनिक चेतना र सुझबुझको विकास भएसँगै मिडियाका सामग्रीमा व्यापक परिष्कार देखिएका छन् । यसबीच सुशिक्षित, सचेत, आधुनिक सभ्य समाजका मूल्य र मान्यताबारे थाहा पाएका व्यावसायिक र सिद्धहस्त कार्टुनिस्टहरूको उदय भइसककेको छ । आजका सचेत र साक्षर आमसञ्चार प्रयोगकर्ताले कार्टुनमा यदाकदा जानअञ्जानमा अभिव्यक्त हुने गरेका पुरातन वा महिलाप्रतिको गलत दृष्टिकोणका सम्बन्धमा आलोचना गर्न थालेका छन् ।

सुविख्यात सञ्चारविद् मार्सल मक्लुहानले कार्टुनलाई सन्देश प्रवाहित गर्ने चिसो माध्यम ठह-याएका छन् । तस्बिरमा उहाँको धारणा छ, ‘‘कार्टुनमा ज्यादै कम दृश्य सूचना प्रस्तुत गरिएको हुन्छ । तस्बिरमा पाठकले परिपूर्ण दृश्य सूचना पाउँछन्, आफैँले खाली ठाउँ भरेर बुझ्नु पर्ने केही हुँदैन । तर कार्टुनमा आफैँले खाली ठाउँ भर्दै बुझ्नु पर्ने हुँदा पाठकको सहभागिता बढी हुन्छ । ’’
कार्टुनको स्वभाव पढ्ने सामग्रीभन्दा मात्र होइन, तस्बिरभन्दा पनि फरक छ । रूपको तोडमोड, अतिरञ्जना अनि छानिएका सीमित वस्तु वा व्यक्तिको चित्रणका कारण क्यारिकेचर वा कार्टुन विधा फोटोग्राफीभन्दा पृथक हुन्छ । सामान्यतः आमजनताको सामान्यज्ञानका रूपमा स्थापित वा जनसरोकारको विषय बनेको कुनै प्रसङ्गमा केही अतिरञ्जनालाई अन्यथा मानिँदैन ।

लोकतन्त्रमा विश्वास गर्ने राजनीतिककर्मीहरू आफ्ना गतिविधिका सम्बन्धमा कार्टुनिस्टले हास्यरस उत्र्सजन गर्दै केही व्यङ्ग्यवाण चलाएको विषयमा गुनासो पनि गर्दैनन् । भारतमा तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूले प्रसिद्ध कार्टुनिस्ट शङ्करलाई कुनै सार्वजनिक समारोहमा मेरो अनुहार राम्रोसँग हेर, कार्टुन बनाउन सजिलो हुन्छ भनेको प्रसङ्ग त्यसैले चर्चामा आएको हो । तर महिला वा पुरुषका रूपमा कसैको व्यक्तिगत टिकाटिप्पणी, शारीरिक बनोट वा जातजाति वा सम्प्रदायसँग जोडिएका विषयमा सबै लेखक, पत्रकारझैँ कार्टुनिस्टले पनि सधैँ सजग हुनै पर्छ । प्रष्ट बोलेर वा लेखेर होइन, रेखाचित्र, विम्ब र सन्दर्भका आधारमा सन्देश प्रवाहित गर्नुपर्ने भएकोले कार्टुननिस्टहरूका सामु सधैँ पाठक–दर्शकमा आफूले सोचभन्दा फरक सन्देश जाने हो कि वा अर्कै अर्थ ग्रहण गरिने हो कि भन्ने जोखिम रहन्छ । महिलामक्लुहानले कार्टुनलाई त्यसै चिसो वर्गमा राखेका होइनन् ।

पत्रकारितामा धारणा अभिव्यक्त गर्न जो कोही स्वतन्त्र छ, तर तथ्यहरू पूज्य हुन्छन् । सत्य–तथ्यलाई तोडमोड गरिनु हुँदैन । चित्रात्मक टिप्पणी वा धारणाका सन्दर्भमा पनि यही कुरा लागू हुन्छ । समसामयिक वा जल्दोबल्दो विषयमा बनाइने कार्टुनलाई त्यसैकारण सम्पादकीय कार्टुन भन्ने गरिएको हो । व्यङ्ग्य वस्तुगत अवस्थामा आधारित हुनुपर्छ अर्थात् भनाइ र गराईबीचको खाड्लतर्फ सङ्केत गरिएको हुनुपर्छ । समाजको प्रवृत्ति वा विसङ्गतिप्रतिको प्रतिक्रिया हास्यमा व्यक्त गर्ने क्रममा अतिरञ्जना स्वाभाविक मानवीय गुण अनुकूल नै ठहरिन्छ ।
समसामयिक घटनाक्रम र घटना वा प्रतिक्रिया प्रधान समाचारमा असङ्गतिको उजागर गरेर जनतालाई सूसुचित गर्नु पत्रकारिताको धर्म नै हो । त्यसरी उजागर भएको प्रवृत्तिको आलोचना गर्दै लेख, टिप्पणी वा धारणा प्रकाशित हुन सक्छन् र कार्टुनसमेत बन्न सक्दछन् । तर कतिपय बेला सूचना प्रसार गर्ने घटनाप्रधान समाचार नै कमजोर धरातलमा बनेका हुन सक्दछन् । अथवा समाचार भनेर प्रस्तुत गरिएको सामग्रीको सत्यतामै प्रश्न उठेका हुन सक्दछन् । जसरी त्यस्तो सामग्रीलाई आधार मानेर लेखिएको लेख वा सम्पादकीय कमजोर हुन्छ । त्यसैगरी त्यस्तो सामग्रीमा आधारित कार्टुन पनि स्वच्छ हुन सक्दैन ।

समाचारका नाममा प्रकाशित वा प्रसारित सामाग्रीको सत्यतामै प्रश्न उठेको वा त्यस्तो सामग्रीको प्रेरणाको स्रोत वा नैतिक पक्ष नै कमजोर भएको अवस्थामा त्यही शृङ्खलामा तयार गरिने अन्य सबै सामग्री स्वच्छताविहीन नै पुग्दछन् । पितृसत्ताको विचारधाराबाट ग्रस्त भएर कार्टुन बनाउँदा हुँदा महिलाको चित्रण सोहीबमोजिम हुन पुग्छ । त्यसैले कार्टुनिस्टहरूले सूचनाको जग वा अभिप्रेरणाको स्रोतको आफैँ पनि जाँच पडताल वा समीक्षा गर्नुपर्छ ।
कार्टुन पहिलो सूचना होइन, कार्टुन तथा घटना परिघटनाउपरको प्रतिक्रिया हो । तर सत्य–तथ्य सूचनासँगसँगै अफवाह र भ्रमको समेत भेल बगिरहेको आजको समयमा कार्टुनिस्टहरू पनि सचेत हुनै पर्छ । कार्टुनमा स्वच्छता त्यसबेला विलुप्त हुन पुग्छ, जुनबेला समाचारका नाममा प्रकाशन वा प्रसारण गरिएको झुठो विवरणयुक्त सामग्री कार्टुनको प्रेरणाको स्रोत बन्न पुग्छ । त्यसैगरी सत्यापन नभएको वा आममानिसको सामान्य ज्ञानका रूपमा स्थापित नभएको विषयमा बनाइएको कार्टुनको नैतिक धरातल कमजोर हुन्छ । तथ्यपरक सामग्री वा सत्यापनको अभाव, पक्षधरता, बनावटी प्रस्तुति, अस्वाभाविक तोडमोड र महिलाप्रतिको असंवेदनशीलता जस्ता गल्तीबाट कार्टुनिस्ट विशेष सजग हुनै पर्छ ।
खास समुदायप्रति वा नश्ल र धर्मका आधारमा आक्रामक वा पूर्वाग्रही वा, खास समुदायप्रति घृणा जगाउने खालका कार्टुन विश्वव्यापी रूपमै कार्टुनसँग सम्बन्धित विवादको केन्द्रमा रहँदै आएका छन् । यस्ता विषय कार्टुनका सन्दर्भमा सबैभन्दा संवेदनशील मानिंँदै आएको छ । सञ्चारकर्मीहरूमा समाजका सबै समुदाय र तप्काका जनताप्रतिको उच्चस्तरको संवेदनशीलता हुनुपर्छ ।

पत्रकारिता अध्ययनको पाठ्यक्रममा त्यही कारण अन्तरसांस्कृतिक सम्बन्धको चेतनाका विषय पनि समावेश गरिएको हो । तर यदाकदा विकसित देशमा पनि समस्या देखा पर्छन् । कोभिड १९ को सुरुवाततिरै सन् २०२० को मार्च महिनाको छैटौँ दिन अमेरिकाको एक अखबार दैनिक क्यालिफोर्नियाले आप्रवासीलाई मात्र कोरोना भाइरस सङ्क्रमण हुने धारणा चित्रण गर्दै घातक ‘स्टेरियोटाइप’ ग्रस्त रेखाचित्र छाप्यो । व्यापक विरोध भएपछि मात्र त्यस अखबारले दुई दिनपछि क्षमायाचना ग¥यो ।
नेपालको वर्तमान संविधानको प्रस्तावनामै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सदभावलाई संरक्षण एवं प्रवद्र्धन गर्ने परिकल्पना गरिएको छ । संविधानले मौलिक हक र कर्तव्यअन्तर्गत जात, जाति, धर्म वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पार्ने जातीय भेदभाव वा छुवाछूतलाई दुरुत्साहन गर्ने, श्रमप्रति अपहेलना गर्ने, गाली बेइज्जती, अदालतको अवहेलना वा अपराध गर्न दुरुत्साहित गर्ने सामाजिक शिष्टाचार, नैतिकताको प्रतिकूल काममा कानुनबमोजिम मनासिव प्रतिबन्ध लगाउन अनुमति प्रदान गरेको छ । नेपालका कार्टुनिस्टहरूले संविधानका शब्दहरूको स्मरण गरेको खण्डमा स्वतन्त्रता र जिम्मेवारी घृणा फैलाउने वा तिरस्कारको भावनालाई उकास्ने खालका कार्टुन स्वतः अझै कम हुने छन् ।

विश्वभर नै कडा विरोधको तरङ्ग सिर्जना गर्ने विवादास्पद कार्टुनको मूल जरो अभिव्यक्ति स्वतन्त्रता पक्षधर र जातीय, नश्लीय एवं धार्मिक व्यङ्ग्य सन्दर्भमा जिम्मेवारीयुक्त स्वतन्त्रताका पक्षधरबीचको विवाद नै हो । त्यसैले हास्य र व्यङ्ग्यउपरको नैतिक सीमाको प्रश्न महìवपूर्ण छ । जसका आधारमा कार्टुनसम्बन्धी नैतिक जिम्मेवारीको विषयमा अलमलको अन्त्य गर्न सकिन्छ । कुनै कार्टुनमा नेपालको संविधानको मौलिक हक र कर्तव्यसम्बन्धी धारामा उल्लेखित विषयहरूमा प्रहार गरिएको छ ? कुनै कार्टुनमा गरिएको चित्रण व्यक्तिगत आक्षेप हो ? यो विषयमा आमजनताको अभिमत वा सामान्य बुझाइको अवस्था के छ ? यो समसामयिक गतिविधिको प्रतिकात्मक अभिव्यक्ति हो कि होइन ? यो कार्टुनमा मौलिक हक र कर्तव्यसम्बन्धी धारमा उल्लेखित विषयहरूमा प्रहार गरिएको छ ? यसमा गरिएको चित्रण व्यक्तिगत आक्षेप हो ? यसमा चित्रण गरिएको विषयका वस्तुगत आधार छैन ? यो समसामयिक गतिविधिको प्रतिकात्मक अभिव्यक्ति हो कि होइन ? यसलाई धार्मिक भावनामा ठेस पु-याएको भन्न सकिने आधार छ ? उल्लेखित कार्टुनमा हास्यको पक्ष छ कि छैन ? वीभत्स छ कि छैन ? यस्ता प्रश्नहरूका आधारमा कुनै पनि कार्टुनको नैतिक स्तरको मूल्याङ्कन गर्न सकिन्छ ।

नेपालमा अहिले संविधानको पालन गर्नुपर्ने दायित्वभन्दा माथि कोही छैन । कार्टुनिस्टको दृष्टिबाट ओझेलमा परेको पनि कोही छैन । राजकीय निकायमा रहेका जोकसैको बारेमा लेखिन्छ, समाचार बन्छ भने कार्टुन पनि जोकसैका बारेमा बन्न सक्छ । तर व्यक्तिगत आक्षेप वा लैङ्गिक, जातिगतलगायतका विषयमा अस्वस्थ्य चित्रण एउटा कार्टुनिस्टको नैतिकताको परिधिभन्दा बाहिर हुन्छ । केही दशकयता छापा वा डिजिटल नेपाली अखबार वा मिडियामा व्यङ्ग्य चेत, रेखाचित्र, सन्दर्भ र नैतिक पक्षका दृष्टिले पनि उत्कृष्ट राजनीतिक वा सम्पादकीय कार्टुन आइरहेका छन् । यससँगै नेपालका कार्टुनिस्टहरू यदाकदा उत्पन्न हुने गरेका असहज अवस्थाबीच नै नैतिक अन्योललाई पन्छाउँदै अघि बढ्दै जाने छन् भन्ने विश्वास गर्नै पर्छ ।