लोकसांस्कृतिक पर्व गौरा
मञ्जु भट्ट
‘झुलाघाट बजारमा घिउ तोलन्या पसेरी
घर छोडी विराना देश रहन्छै कसरी ।’
गौरा सुदूरपश्चिमवासीले मनाउने महत्त्वपूर्ण पर्व हो । गौरा पर्वको रौनक सुरु भइसकेको भए पनि मुख्य पूजा भने यस पटक श्रीकृष्ण जन्माष्टमीकै दिन परेको छ । भाद्र शुक्ल षष्ठीदेखि अष्टमी तिथिसम्म गौरा पर्व मनाउने गरिन्छ । यद्यपि, गाउँका छोरीचेली भने साउन महिनामा पर्ने गौरा एकादशीदेखि नै गौरा आगमनको स्वागतमा देउडा खेल्ने गर्दछन् । बेलुकीको खाना खाएर सबै साथीसङ्गी गोराखलो (गौरा खेल्ने आँगन)मा जम्मा भएर देउडा गाउँदछन् । स्कुल जान नपाएको, दिनभरि गाईभैँसीलाई घाँस काट्दै दिन बिताउनेदेखि एकसरो लुगामा जीउन बाध्य मनका विरहव्यथा देउडाको माध्यमबाट निकाल्ने गर्छन् । विवाहित छोरीचेली माइती आउने र उनीहरूमा छुट्टै देउडा गीत गाउने होड हुने गर्दछ । भर्खरै बिहे गरेका श्रीमान् नयाँ दुलहीलाई छोडेर जागिर खान गएपछि श्रीमतीले विरह भाकामा देउडा गीत गाउँछन् :
ऐरीको जङ्गल जेल्यो काँकडी झुलले
जाने बेला बस भनेन पदमका फूलले ।
भाद्रकृष्ण पञ्चमीका दिनमा भने गाउँभरिका विवाहित महिलाले व्रत बसी नाउलो (कुवा)बाट तामाको भाँडोमा पानी ल्याएर तामाकै भाँडामा पञ्चविरुडा (पाँच अन्न– गहत, गहुँ, गँुरुस, मास र सानो केराउ मिसाएर बनाएको) घरको कुनामा सफासुग्घर पारी भिजाएर राख्ने गरिन्छ । षष्ठीको दिनमा ती विरुडालाई उनीहरूले नै न्वाउलोमा गएर गीत, फाग, सगुन गाउँदै, रमाउँदै सबै मिलेर धोएर ल्याउँछन् र धामी बस्ने घरमा बनाइएको भण्डार कोठामा लगेर राख्छन् । अर्कोतिर त्यही दिन बेलुकी गाउँका कन्याकुमारीहरू खेतमा गएर धानसँगै उम्रेका सावाघाँस, कुश, ऐँसेलु, बेलपत्र, बलजस्ता घाँसबाट देवी गौरीको मूर्ति बनाउँछन् । मूर्तिलाई नयाँ रातो झिलिमिली लुगा ओढाएर, चुरा, पोते लगाइदिएर बेहुलीजस्तै बनाइन्छ । माइतीमा बिताएका दिनमध्ये सबैभन्दा रमाइलो पल छोरीचेलीका लागि यो पनि हो । कन्याकुमारीहरूले बनाएको गौरीको मूर्तिलाई सबैले पूजा आराधना गर्दछन् । यसरी खेतमा बनाएको मूर्तिलाई एकएक गरी टाउकोमा राख्दै गीत गाउँदै नाच्दै आउँछन् ।
काँ है आइन् लोली गामरा देवी ?
गह्रा है, खेत है आइन् लोली गामरा देवी
रोडी खोली भयो उज्यालो
रोडी है खोली चलिन् गामरा देवी
कालापाट भयो उज्यालो ।
यसरी कन्याकुमारीहरूले उत्साहसाथ देउडा गाउँदै–खेल्दै गौरीको मूर्तिलाई भण्डार घरमा लगेर स्थापित गर्छन् । रातिसम्म विवाहित महिलाले सगुन, फाग, गीत, देउडा गाउँदै नाकको टुप्पोदेखि सिउँदोसम्म लामो अविरको टीका लगाएर महादेव तथा गौरीको पूजा गरेर जाग्राम बस्ने प्रचलन चलिआएको छ । गौराको मुख्य दिन अठ्यावली (अष्टमी)का लागि भनेर अगाडि नै घाँस दाउराको जोहो गर्ने गरिन्छ । भोलिपल्ट नुहाइधोई गरेर, खाना खाई सिँगारिएर गौरा हेर्न, देउडा खेल्न जम्मा हुने प्रचलन छ । विवाहित महिलाले गौरामाताको मूर्तिलाई भण्डार घरबाट निगालोको डालोमा हालेर टाउकोमा राखेर गीत गाउँदै, कम्मर मर्काउँदै, नाच्दै गोराखलो (मेला लाग्ने ठूलो चौतारी)मा राखेर महेश्वरसँग बिहे भएको कुरालाई फाग, सगुनमार्फत गाउँदै पञ्च विरुडाले पूजा गरिन्छ । यसलाई अठेवाली पार्ने भनिन्छ । मूर्तिमा बाँधेको सगुनको आ–आफ्नो दुवधागो लिएर विवाहित महिलाले मात्र गर्वसाथ घाँटीमा पहिरिन्छन् । मन्त्र, जलले अभिषेक गरेको धागो लगाउनु भनेको आफू विवाहित हो भन्ने जनाउ दिनु पनि हो । पूजा गर्दा जम्मा भएका फलफूल ‘फलफटकाउने’ भन्दै पुरुषले आकाशतिर फाल्ने गर्दछन् । माथिबाट झरेको फल समाउन सफल हुनेको फलिफाप हुन्छ भन्ने विश्वास गरिन्छ । भर्खरै बिहे गरेका र गौरा मनाउन टाढाबाट घर आएका, गर्भवती महिलाका श्रीमान्हरूबीच तँछाड–मछाड चल्छ । फल समाउन सक्नेको छोरा जन्मिने मान्यताले उनीहरू उत्साहित भएर फल समाउने प्रयत्न गर्दछन् । यो काम सकिएपछि पुरुषले देउडा खेल्न गोराखलो ओगट्छन् ।
बैतडीको त्रिपुरासुन्दरी मन्दिरनजिकै गौरा खेल्ने ठूलो गोराखलो (चौर) छ । धेरै मान्छे जम्मा भएको बेला गोराखलोमा नअटाएपछि टाढासम्म हेर्नेको घुइँचो लाग्दछ । रातिसम्म पुरुष एकातिर र महिला अर्कोतिर रहेर जुवाडी देउडा चल्छ । अरू दिन खेल्न नपाएकाहरूले त्यो दिन धित मर्ने गरी देउडा खेल्छन् ।
देउडा खेल्दै गर्दा विवाहित महिलाले पञ्चविरुडाले पहिला श्रीमान्, त्यसपछि ब्राह्मण, धामी, छोराछोरीलाई आशीर्वाद दिँदै उनीहरूको टाउको पुज्ने तथा टीका लगाइदिने गर्दछन् । यसरी पञ्चविरुडाले पूजा गर्दा सुस्वास्थ तथा दीर्घायु रहने विश्वास गरिन्छ । यी विरुडालाई आफन्तका लागि देश–विदेशमा समेत पठाउने गरिन्छ । बेलुकीपख धामीसहित देउडा गीत गाउँदै, खेल्दै लोग्नेमानिसले गौरीमाताको मूर्तिलाई नजिकैको उपयुक्त ठाउँमा खिर्राको बोटमुनि लगेर विर्सजित गर्दछन् । जाति विशेषमा भेदभाव नगरी विरुडा बाँडेर सबैले आफन्तको पूजा गर्ने तथा टीकाको प्रचलन विकास भएको छ । नवमीको दिन बिहानै पञ्चविरुडाको रस तागतिलो हुने मान्यतासहित नहुनेहरूले पनि हुनेहरूसँग मागेर खाने चलन छ ।
सुदूरपश्चिममा दशैँ–तिहारभन्दा ठूलो चाडका रूपमा गौरा पर्व मनाउने गरिन्छ । दुई÷तीन गाउँका मानिस एकै ठाउँमा जम्मा भएर गौरा, चेतेली मनाउँदाको मज्जा अलग्गै हुन्छ । गौरा पर्व ठाउँअनुसार केही फरक हुने गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले गौराका लागि प्रदेशभरि बिदा दिने गरेको छ । अचेल त यस क्षेत्रमा मात्रै नभएर अन्यत्र पनि गौरा पर्व मनाउन थालिएको छ । काठमाडौँमा रहेका सुदूरपश्चिमेलीहरूले टुँडिखेलमा गौरा मनाउन थालेका छन् । अघिल्लो वर्षदेखि नै कोरोना सङ्क्रमणको कारणले धेरैजसो पर्व मनाउन पाइएको छैन । अहिले बाँचे चाडपर्व त अर्को वर्ष मनाइएला । यस्तो समयमा सबैले सजग हुनु जरुरी भएको छ ।
अचेल घरबाट टाढा बस्ने धेरैजसोलाई आफ्नो रीतिरिवाज, संस्कृति कसरी जोगाउने भन्ने साझा समस्या भएको छ । सहरमा जन्मेका सन्तानले आफ्नो गाउँको भाषा, रीतिरिवाज, संस्कृति, वेशभूषा बिर्सिंदै गएको देखिन थालेको छ । आमाबुवाले आफ्ना सन्तानलाई आफ्नो संस्कृतिको जगेर्ना गर्न जति सिकाउन खोजे पनि कहिलेकाहीँ समय तथा परिस्थितिले अप्ठेरो बनाउँदो रहेछ । जीवनमा खुसी रहने, बाँच्न सिकाउने, आफन्त चिनाउने, आफ्ना रीतिरिवाज, चाडपर्व जोगाउनेजस्ता कार्यमा अघिल्लो पुस्ताले अग्रसरता देखाउन आवश्यक छ ।