विचार/दृष्टिकोण |

‘कृष्णस्तु भगवान्’ र गीताज्ञान

अच्युतप्रसाद पौडेल ‘चिन्तन’
कोरोनाको त्रासदीय चिन्ता घटेको छैन । युगयुगसम्म सम्झनलायक दिन श्रीकृष्णाष्टमी व्रत तथा श्रीकृष्ण रथयात्रा आज र भोलि परेको छ । देश–विदेशको विद्यमान विषम परिवेशका कारण जात्रा, पर्वमा सङ्कुचन छ, भीडभाड गर्नु नहुने भएको छ । गत वर्षको पीडा पनि यस्तै थियो । श्रीमद्भागवत र अन्य पुराणहरूले श्रीकृष्णलाई कृष्णस्तु भगवान् स्वयं अर्थात् श्रीकृष्ण स्वयं सम्पूर्ण लोकका भगवान् हुनुहुन्छ भनेका छन् । मोहरात्रिका नामले वर्षभरिकै उत्कृष्ट दिनका रूपमा चिनिएको भाद्रकृष्ण अष्टमीको दिनलाई श्रीकृष्ण जन्माष्टमीका रूपमा भव्य रूपमा मान्ने चलन प्राचीन समयदेखि चल्दै आएको हो ।

सोह्र कलाले पूर्ण चन्द्रवंशमा पूर्ण अवतारका रूपमा परमेश्वरले मानव रूपमा मथुरामा वसुदेव देवकीका आठौंँ गर्भमा प्रवेश गरी धर्तीमा अवतरित परमात्मा श्रीकृष्णलाई मुख्य दस अवतारमध्ये आठाँैं अवतारका रूपमा लिइन्छ । यद्यपि युग भने परिवर्तन भइरहन्छ । अहिले हामी कलियुगमा छौँ । अन्य युगमा झैँ कलियुगमा पनि मानव निर्मित र आफैँ सिर्जित, उत्पात, महामारी, प्रकृतिको ताण्डव नृत्य पनि धेरै भइरहने कुरा हो । कलियुगको आयु चार लाख ३२ हजार वर्षको मानिएको छ । वि.सं. २०७८ सँगै यसको आयु पाँच हजार १२२ वर्ष पूरा भएको छ । हाल देखिएको विषम परिवेश हाम्रा लागि समस्या आरम्भको सङ्केत हो । यसअघि पनि विषम महामारीहरू धेरै आएका हुन् । यो युग मात्रै होइन, युग–युगपिच्छे नै खराबी, ईष्र्या, छल प्रवृत्तिहरू त भई नै रहन्छन् । सत्यको पुनस्र्थापन गर्न अदृश्य नै भए पनि कुनै शक्तिले काम गरिरहेको हुन्छ । हालको कलियुग सुरु हुनु अगाडिको द्वापरयुगमा धर्तीमा देखिएको अन्याय, अत्याचार, कुसंस्कार र दुष्ट, क्रूर, तानासाह, बादसाहहरूलाई निर्मूल पारी सत्य धर्मको संस्थापनका लागि ब्रह्मा आदि देवताको पुकारलाई र यसअघि नै दिइएको वरदान सिद्ध गर्न क्षीरसागरवासी लक्ष्मीका पति शेषशायी श्रीविष्णुले गोरूपी पृथ्वीको आर्त पुकारपछि यादव कुलका शुरसेनपुत्र वसुदेवका पुत्रका रूपमा जन्म लिने आश्वासन दिए मुताविक कंसद्वारा बन्दी बनाइएका कारागारमा मध्यरात्रि, मोहरात्रिमा सबैलाई मोहित पारी पूर्वयोजनाअनुसार यसअघि नै योगमायालाई पठाई आपूmले जन्म लिनुभएको थियो ।

अवतारको प्रसङ्गमा ‘एते चांशकला पुंसः कृष्णस्तु भगवान् स्वयम्’ भनेर भागवतले अन्य अवतारलाई अंश अवतार र श्रीकृष्ण अवतारलाई पूर्ण अवतार मानेको छ । सात्विक भावका मथुरा नरेश उग्रसेन राज्य सञ्चालनमा व्यस्त हुँदा वनविहार गर्ने इच्छा राख्ने उनकी रानीको कोखमा द्रुमिल दैत्यको कालो छायाँ पर्न गई कुसंस्कार र छलको प्रतीकका रूपमा जन्मिएको कंसले धर्तीदेखि सारा ब्रह्माण्ड तहसनहस पार्न खोज्दा प्रताडित बनेकी धर्ती एवं सम्पूर्ण देवताको प्रार्थना सुनेर मानव स्वरूपमा जन्मी धर्म र न्यायको उपदेश दिने द्वापरयुगीन परमेश्वर श्रीकृष्णको स्वधामगमन समय यसै वर्ष पाँच हजार १२२ वर्ष पूरा भइसकेको छ । उनका पावनलीला, अवतार प्रसङ्गले मथुरा क्षेत्रदेखि वृन्दावन र अवतार प्रसङ्ग चर्चा हुने सम्पूर्ण क्षेत्र हालसम्म दिव्यधामकै रूपमा रहेको छ । राजा उग्रसेनका भाइ देवककी पुत्री देवकीलाई अति माया गर्ने कंसले बहिनी देवकीको बिहे यादवकुलका वसुदेवसँग हुँदा दाइजोसहित पु-याउन जाँदा बाटामा ‘देवकीकै आठौँ गर्भबाट तेरो मृत्यु हुन्छ’ भन्ने आकाशवाणी भएको सुनी रिसले चूर भई बाटैमा खड्ग प्रहार गरी बहिनीलाई मार्ने प्रयत्न गरेपछि वसुदेवको अनुनय, प्रार्थना र जन्मेको बच्चा सबै बुझाउँछु भन्ने प्रतिज्ञाअनुसार देवकीको ज्यान बचेको थियो ।

वसुदेव दम्पतीबाट जन्मेका छ सन्तानसम्म निमिट्यान्न पारिसकेको अवस्थामा सातौँ गर्भमा शेषनागलाई पठाई योगबलद्वारा वसुदेवकी अर्की पत्नी रोहिणीमा त्यो गर्भ सारेर गोकुलमा बस्ने नन्दपत्नी यशोदाका गर्भमा योगमायालाई जन्म लिने प्रेरणा भएको र सबै परिवेश मिलाई देवकीको आठौँ गर्भमा भने आफू रहने अनि सम्पूर्ण देवतालाई गोपका रूपमा तथा देवीहरूलाई गोपीका रूपमा धर्तीमा अवतरित गराउने र स्वयं महालक्ष्मी भने रुक्मिणीका रूपमा धर्ती अवतरण हुने प्रसङ्ग पनि परमेश्वरबाट मिलाइएको थियो ।
देवकीकोे सातौंँ गर्भश्राव भएको हल्ला हुँदा कंसलाई गुप्त कुरा थाहा भएन । आठौंँ गर्भधारणा भएको खबरपछि कडा पहरा दिई कारागारमा सातवटा ताल्चाबन्दी गर्दा सम्पूर्ण लोकालोकमा रहेका देवताले संसारका नायक, अधिपतिले लोकरक्षाका लागि प्रदूषणयुक्त आमाको गर्भमा बास गर्नु परेकोमा अनेकाँैं स्तुति, पुकार, वन्दना गर्न लागे, भागवत महापुराणमा यसलाई गर्भस्तुति भनिन्छ ।

प्रकृति शान्त, उत्तम, ग्रह, नक्षत्र तारागण सबै अनुकूल, पृथ्वी, अप, तेज, वायु र आकाश नै पूरै स्वच्छ भएका बखत दिव्यतेजसहित भाद्रकृष्णका रात्रिमा कंसका कालकोठरीमा प्रसव पीडाबिना नै देवकीका गर्भबाट प्रकट हुनुभएका भगवान्को स्वरूप अद्भुत थियो । शङ्ख, चक्र, गदा, पद्म, किरीट, कुण्डल, मुकुट, मयुरपङ्खी शिर, पीताम्बरधारी, श्रीवत्स चिह्नको वक्षस्थल, घाँटीमा कौस्तुभमणि र कमलनेत्र परमेश्वरको दिव्य दर्शन पाएका वसुदेव र आमा देवकी दुवै मोहित भइरहे । अघि तपाईंहरूले कठिन तप गर्दा तीन जन्मसम्म तपाईंहरूको पुत्रका रूपमा प्रस्तुत हुने वचन दिएकोले सो पूरा गर्न अहिले आफू पुत्रका रूपमा आएको स्मरण गराउँदै कंसबाट भयभीत नहुन र तुरुन्तै टोकरीमा राखी यमुनापारि गोकुलमा लगी नन्द यशोदाबाट भरखरै जन्मिएकी पुत्री यस कारागारमा लिई आउन र त्यति कार्य पूर्ण हुन्जेल कारागार सबै खुल्ने, कसैले अत्तोपत्तो नपाउने र यी सबै कुरा गोप्य राख्नुपर्ने सङ्केत गरी भगवान् तत्कालै बालभावमा प्रस्तुत हुनुभयो ।

योगमायाद्वारा तयार भएको टोकरीमा बालकलाई राखी वसुदेव कारागार बाहिर निस्कँदा सबै ढोका खुलेका, सिपाहीहरू मस्त निद्रामा परेका, हतकडी आफैँ खुलेका, वरुणदेवले वर्षा गराएका, शेषले छहारी दिएका, यमुनाले भगवान्को पादस्पर्श गर्न क्षणिक उर्लिएर शान्त भएकी, गोकुल पूरै मस्त निद्रामा परेको, यशोदाबाट छोरी जन्मँदा उनलाई पत्तै नभएको, वसुदेवले आफूले लगेको बालकलाई त्यहाँ राखी बालिकालाई टोकरीमा बोकेर कारागार फर्कुञ्जेल कारागार खुलै रहेको र सबै निद्रामा परेका कुरा मार्मिक ढङ्गबाट शास्त्रमा वर्णित छन् । वसुदेव कारागारभित्र पस्नासाथ सबै ढोका, हतकडी पहिलेकै अवस्थामा भएका र बालिकाको रोदन सुनेपछि हस्याङफस्याङ गर्दै सबै जुमुराउँदै उठेर बालक जन्मेको खबर कंससम्म पुगिहाल्यो । कंसका डरमा परेका वसुदेवले बालिकालाई कंससामु पु¥याउँदा ‘छोरी नै भए पनि मार्छु’ भनी हातले घुमाएर बालिकालाई ढुङ्गामा पछार्न खोज्दा हातबाट छुटेकी योगमायाले आकाशमार्गबाट ‘मलाई मार्न खोज्ने कंस तेरो काल गोकुलमा जन्मिसकेको छ’ भनेको सुन्दा गोकुलभरिका बालबालिका सबैको बध गर्न मायावी पुतना पठाउँदा यशोदापुत्र श्रीकृष्णबाट पुतनाको बध हुन्छ । देवकीका गर्भबाट प्रत्यारोपण गरिएका सातौँ गर्भ शेष रोहिणीपुत्रका रूपमा बलरामको जन्म भइसकेको, गोकुलमा वृद्ध नन्दबाबाबाट अत्यन्त सुन्दर बालक जन्मिएको र रोहिणीबाट उस्तै राम्रो बालक जन्मिएको प्रसङ्गअनुसार गोकुलमा धूमधामसँग नन्द उत्सव मनाइएको र वसुदेवका कुल गुरु गर्ग र नन्द बाबाका कुल गुरु शाण्डिल्य दुवैको उपस्थितिमा गोकुलमा बलराम अनि कृष्णको नामकरण भएको सुन्दर प्रसङ्ग गर्गसंहिता एवं श्रीमद्भागवतमा विशेष चर्चाको विषय बनेको छ ।
श्रीकृष्णको सन्देश भक्ति, कर्म र ज्ञान आज पनि हाम्रालागि अपरिहार्य बनेको छ । जीवन क्षणिक छ, अहिले हाम्रो आयु सय वर्षको छ तर त्यो पुग्न पाउँदैन । त्यो युगको आयु हजार वर्षको थियो । तथापि श्रीकृष्णको आयु भने जम्मा १२५ वर्षको मात्रै हो । त्रेता युगमा बाली पुत्र अङ्गदले आफ्नो बाबुलाई मार्ने रामसँग बदला लिने ईष्र्याभाव राखेको थियो । उही अङ्गद जरा नामको व्याधा भएर आयो । ऋषिहरूको श्रापमा परेका यदुवंशको नाश भइसकेको थियो । समुद्रका तीरमा पाइएको मुसलको सानो धारकोे व्याधाले बाण बनाएको थियो । त्यही बाँणले श्रीकृष्णलाई प्रहार ग-यो । फलस्वरूप श्रीकृष्णको धर्तीबाट अवसान भयो । भगवान्ले यसमा चिन्ता नगर्नु यो मेरै योजना हो भनी सो व्याधालाई समेत सम्झाउनुभएको थियो । श्रीकृष्णको सन्देशका रूपमा गीताको ज्ञान आज संसारभरि चर्चाको विषय मात्र होइन, जीवन दर्शन नै बनेको छ ।