सुक्खा बन्दरगाह सञ्चालनको पहल(सम्पादकीय)
काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नं. ६, चोभारमा आधुनिक सुक्खा बन्दरगाह निर्माण भएको छ । आयात र निर्यातमा सहजीकरण गर्ने उद्देश्यले एकीकृत सेवा दिन निर्माण गरिएको यो बन्दरगाह सञ्चालनका लागि कार्यविधि बनाउने काम भइरहेको छ । बन्द रहेको हिमाल सिमेन्टको जग्गामा २०७५ माघमा शिलान्यास भएको यो सुक्खा बन्दरगाहको निर्माण १८ महिनामा सक्ने भनिए पनि थप एक वर्ष लगाएर सम्पन्न भएको हो । यहाँ प्रशासनिक र सुरक्षा भवनका अतिरिक्त भन्सार, बैङ्क, क्वारेन्टाइन कार्यालयलगायतका आवश्यक सबै सुविधा एकै ठाउँमा उपलब्ध गराउने गरी पूर्वाधार निर्माण गरिएको छ । यहाँ आयात र निर्यातका लागि छुट्टाछुट्टै टर्मिनलका साथै पर्याप्त गोदाम घर र करिब छ सय ट्रक/कन्टेनर अटाउने पूर्वाधार तयार गरिएको छ । यहाँको ८१६ रोपनी जग्गामध्ये झन्डै दुई सय रोपनी क्षेत्रफलमा सुक्खा बन्दरगाह निर्माण भएको हो । बाँकी जग्गामा अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल निर्माण गर्ने सरकारको योजना छ ।
अहिलेसम्म निर्माण भएका र सञ्चालनमा आएका सुक्खा बन्दरगाहमध्ये चोभारको सुक्खा बन्दरगाह आधुनिक, सुविधासम्पन्न र नौलो प्रयोग हो । सीमा नाकामा गरिने भन्सार जाँचपासको काम यो बन्दरगाहमै गर्ने योजना छ । यहाँ देशभरबाट काठमाडौँ उपत्यका आउने र यहाँबाट बाहिर जाने मालसामान ‘लोड अनलोड’ र भण्डारणसमेत गर्न मिल्ने व्यवस्था छ । यो बन्दरगाह सञ्चालनमा आएपछि काठमाडौँ तथा आसपासका लागि आउने मालबाहक सवारी साधन कुनै पनि भन्सार नाकामा जाँच गराउनु पर्दैन । नाकामा कन्टेनर खोलेर फेरि सामान ‘लोड अनलोड’ गर्ने झन्झट अन्त्य हुने भएकाले भन्सार नाकामा त्यसो गर्न लाग्ने समय र खर्च घट्ने छ । यो बन्दरगाह सञ्चालनमा आएपछि चोभार पारवहन केन्द्रका रूपमा विकास हुने छ । यो बन्दरगाहमा काठमाडौँ–तराई द्रुतमार्ग पनि जोडिने भएकाले तीन चार घण्टामा वीरगन्जबाट मालबाहक सवारी साधन काठमाडौँ आइपुग्ने छन् । प्रस्तावित रक्सौल–काठामाडौँ रेलमार्ग र केरुङ–काठमाडौँ रेलमार्गलाई पनि यो बन्दरगाहसँग जोड्ने सरकारको योजना छ ।
बागमती प्रदेश र काठमाडौँ उपत्यका आर्थिक गतिविधिको केन्द्र पनि भएकाले यो सुक्खा बन्दरगाहको महìव अझ बढी छ । मुलुकका कुल औद्योगिक, व्यापारिक प्रतिष्ठानमध्ये एकतिहाइ जति बागमती प्रदेशमै छन् । मुलुकको कुल व्यापारको झण्डै ४० प्रतिशत काठमाडौँ उपत्यका र आसपासका जिल्लाले ओगट्छन् । त्यसैले यो व्यापार पूर्वाधारले मुलुककै व्यापार सहजीकरणमा महìवपूर्ण भूमिका निर्वाह गर्नेछ । चोभारमा बने जस्ता पूर्वाधारले मुलुककै आन्तरिक उत्पादन र व्यापार बढाउन सहयोग गर्न सक्छन् । उत्पादन र व्यापारको लागत उच्च रहेको अहिलेको अवस्थामा पर्याप्त, आधुनिक र गुणस्तरीय पूर्वाधारले लागत घटाउन र प्रतिस्पर्धी क्षमता बढाउन सहयोग गर्छन् । त्यसैले व्यापार सहजीकरण गर्न व्यापार पूर्वाधारमा लगानी बढाउनुपर्छ । सरकारले सुक्खा बन्दरगाह र भन्सार पूर्वाधारमा सुधारको प्रयासस्वरूप देशभर ११ स्थानमा सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी निर्माण एवं सञ्चालनलाई तीव्रता दिइएको छ । यीमध्ये केही सञ्चालनमा आइसकेका छन् भने केही निर्माणाधीन अवस्थामा छन् । सरकारको यिनै प्रयासस्वरूप चोभारस्थित सुक्खा बन्दरगाह निर्माण सम्पन्न भएको हो ।
मुलुकको व्यापार सहजीकरणमा चोभार सुक्खा बन्दरगाह एउटा महìवपूर्ण कदम हो । वीरगन्ज, विराटनगर र काँकडभिट्टाका सुक्खा बन्दरगाहले वैदेशिक व्यापारमा योगदान गरिरहे पनि धेरै यस्ता आयोजना लामो समयसम्म सम्पन्न हुन सकेका छैनन् । यस्तो अवस्थामा चोभारमा सुक्खा बन्दरगाह सम्पन्न हुनु खुसीको कुरा हो । यसलाई यथाशीघ्र सञ्चालनमा ल्याउनुपर्ने अवस्था रहेको छ । सुक्खा बन्दरगाह सञ्चालनसम्बन्धी कार्यविधि निर्माणमा ढिलाइ भए यसबाट लाभ लिन पनि ढिलाइ हुनेछ । समयमै कार्यविधि तयार गर्न नसक्नु सम्बन्धित निकायको लापरबाही हो । यसको सञ्चालन ‘मोडालिटी’ तय गर्न ढिलाइ गर्नु मुलुकको हितमा छैन । भन्सार नाकामा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम नै चोभार सुक्खा बन्दरगाहका लागि उपयुक्त हुनसक्छ । पहुँच मार्गको अभावले सुक्खा बन्दरगाह सञ्चालनमा बाधा पुग्नु हुँदैन ।