विचार/दृष्टिकोण |

गर्व गर्न लायक खोप अभियान

धर्मराज भट्टराई
चीनको वुहान सहरमा सन् २०१९ को डिसेम्बरमा पहिलो पटक पहिचान गरिएको कोरोना भाइरस अहिले संसारभर एक प्रमुख स्वास्थ्य चुनौतीका रूपमा खडा भएको छ । कोरोना सङ्क्रमणका विभिन्न लहर फैलिएसँगै विश्वकै आर्थिक, सामाजिक, शैक्षिक र स्वास्थ्य क्षेत्रलाई आक्रान्त पारेको छ । सङ्क्रमणसँग जुध्न पछिल्लो पटक विभिन्न प्रकारका खोपको आविष्कार र प्रयोग पनि सँगसँगै भइरहेका छन् । यसले केही हदसम्म अपेक्षाकृत सकारात्मक परिणाम पनि दिइरहेको देखिएको छ । यसैले कोरोना महामारीको प्रभावलाई न्यूनीकरण गर्ने उद्देश्यले विश्वका सबैजसो मुलुक आफ्ना नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने अभियानमा व्यस्त देखिन्छन् । नेपाल पनि यसबाट अछुतो रहने कुरै भएन । पछिल्लो तथ्याङ्क हेर्दा खोप अभियानमा हाम्रो मुलुकले गर्व गर्न लायक उपलब्धि हासिल गरेको देखिन्छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार गत बुधबारसम्म एक करोडभन्दा बढी नेपालीले कम्तीमा एक मात्रा कोभिड–१९ विरुद्धको खोप लगाइसकेको उल्लेख गरेको छ । मन्त्रालयका अनुसार बुधबारसम्म ४६ लाख ७७ हजारले पूर्ण मात्रा र ५४ लाख २५ हजारले पहिलो मात्रा खोप लगाइसकेका छन् । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार १८ वर्षमाथिका खोपलक्षित जनसङ्ख्या दुई करोड १७ लाख ५६ हजार रहेको छ । असोजसम्ममा एक तिहाइ लक्षित जनसङ्ख्यालाई खोप लगाइसक्ने लक्ष्य राखिएकोमा भदौको दोस्रो सातामै सो लक्ष्य प्राप्त भएको मन्त्रालयको दाबी छ । लक्षित १८ वर्ष माथिकामध्ये पूर्ण मात्रा खोप लगाउने लगभग २२ प्रतिशत छन् भने पहिलो मात्रा लगाउने २५ प्रतिशत छन् । यो दुवैलाई जोड्ने हो भने औसतमा एक तिहाइभन्दा बढीले खोप लगाइसकेको देखिन आउँछ ।
नेपालजस्तो अल्पविकसित मुलुकमा पहिलो खोप लगाएको सात महिनापछि १८ वर्षमाथिका लक्षित जनसङ्यामध्ये एक तिहाइलाई खोप लगाउन सफल हुनु गर्वको कुरा भएकोमा जनस्वास्थ्यविद्हरू पनि सहमत देखिन्छन् । सङ्क्रामक रोगविज्ञ डा. अनुप सुवेदीका अनुसार हाम्रैजस्ता अल्पविकसित अरू धेरै मुलुकमा यति मात्रामा खोप लगाएका छैनन् । त्यो हिसाबले जतिलाई खोप लगाइएको छ, यो सकारात्मक पक्ष भएको उहाँको धारणा छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले पनि नेपालको खोपमा भएको प्रगतिलाई सकारात्मक रूपमा लिनुपर्ने तर लगाउनुपर्ने बाँकीलाई पनि उत्तिकै ख्याल गर्नुपर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गत असार २९ गते पद सम्हालेपछि पहिलो पटक संसद्मा सम्बोधन गर्दै आफ्नो सरकारको पहिलो, दोस्रो र तेस्रो प्राथमिकता नै खोप रहेको बताउनुभएको थियो । त्यसपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले खोप लगाउनयोग्य सबै नागरिकलाई आगामी चैतसम्ममा कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको थियो । सो निर्णयअनुसार बुधबारसम्ममा एक करोड ९२ हजार १०६ मात्रा खोप लगाइसकिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हालसम्म कुल जनसङ्ख्याको १७ दशमलव नौ प्रतिशतले पहिलो मात्रा र १५ दशमलव चार प्रतिशतले पूर्णखोप लगाएका छन् । यसैबीच विश्व स्वस्थ्य सङ्गठनका दक्षिण–पूर्वी एसियाका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले नेपालले १० मिलियन खोपको मात्रा व्यवस्थापन गर्नुका साथै छोटो समयमा नै कोरोनाविरुद्धको खोप लगाउनयोग्य धेरै नागरिकलाई समेट्न सफल भएकोमा बधाईसमेत दिनुभएको सार्वजनिक भएको छ ।

द न्युयोर्क टाइम्सले अद्यावधिक गर्ने कोरोना खोपको तथ्याङ्कमा वर्तमान अवस्थामा विश्वमा प्रतिसय मानिस बराबर ७१ जनाले कुनै न कुनै रूपमा कम्तीमा एक मात्रा खोप लगाएको देखिन्छ । खोप अभियानको अग्रपङ्क्तिमा संयुक्त अरब इमिरेट्स छ, जहाँ कुल जनसङ्ख्याको करिब ९० प्रतिशतले कम्तीमा एक मात्रा खोप लगाइसकेका छन् । एसियामा भुटानले सबैभन्दा धेरैलाई पूर्ण मात्रा खोप लगाइसकेको छ । त्यहाँ जनसङ्ख्याको ६३.२१ प्रतिशतले पूर्ण मात्रामा खोप लगाएका छन् । त्यसपछि श्रीलङ्काले ३८.९४ प्रतिशत जनसङ्ख्यालाई खोप लगाएको छ । आफैँ उत्पादक रहेको भारतले १०.६१ प्रतिशतलाई दुवै मात्रा खोप लगाएको छ भने बङ्गलादेशले अहिलेसम्म जम्मा ४.७५ प्रतिशतलाई मात्रै खोप लगाएको छ । यसरी जनसङ्ख्याको हिसाबले हेर्दा नेपालले अहिलेसम्म लगाएको खोपको मात्रा सन्तोषजनक रहेको पाइन्छ ।
नेपालमा हालसम्म तीन कम्पनीका मात्रै खोप लगाइएको छ । चीनको भेरोसेल खोप, बेलायतमा विकसित कोभिसिल्ड र अमेरिकी सहयोगमा प्राप्त जोन्सन एन्ड जोन्सन खोप लगाइएको छ । नेपाललाई सुरुमा भारतले १० लाख डोज खोप अनुदानमा दिएको थियो भने पछि नेपाली सेनालाई थप एक लाख डोज दिएको थियो । चीनले अहिलेसम्म १८ लाख डोज खोप दिइसकेको छ । अमेरिकाले एक डोज लगाए पुग्ने जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप दिएको थियो । जापानले एस्ट्राजेनेकाको १६ लाख डोज खोप दिएको छ । बेलायतले एक लाख ३० हजार खोप अनुदानमा दिएको छ भने भुटानले दुई लाख ३० हजार डोज खोप पैँचो दिएको छ । यो सबैगरी अहिलेसम्म एक करोड ३७ लाख सात हजार ३० मात्रा खोप प्राप्त गरिसकेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । त्यसमध्ये एक करोडभन्दा बढी मात्रा प्रयोग भइसकेको अवस्थामा बाँकी खोपको दोस्रो मात्राको प्रतीक्षामा रहेकालाई लगाइने मन्त्रालयको योजना छ ।

नेपालले कोभ्याक्स सुविधाअनुसार आफैँ खरिद गरेर र अनुदानस्वरूप पाउने गरी करिब पाँच करोड खोप आउने क्रममा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसमध्ये असोजभित्र चीनबाट खरिद गरिएको ६० लाख मात्रा र अनुदानमा १६ लाख मात्रा भेरोसेल एवं भारतबाट खरिद गरिसकिएको १० लाख मात्रा कोभिसिल्ड खोप आउने क्रममा रहेका छन् । अमेरिकाबाट १८ वर्षमुनिका बालबालिकाका लागि ल्याउने भनेको ६० लाख मात्रा खोप पनि माघभित्र आइसक्ने अनुमान गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै १२ देखि १८ वर्षका बालबालिकाले पनि खोप लगाउनका लागि अमेरिकाबाट खोप ल्याउने तयारी गरिएको बुझिएको छ ।

नेपालमा एक मात्रा मात्र कोभिड–१९ विरुद्धको खोप लगाएका व्यक्तिमा ८० प्रतिशतमा र पूर्ण मात्रा लगाएकाहरूमा ९० प्रतिशतमा एन्टिबडी विकास भएको देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रतिवेदनमा उल्लेख गरिएको छ । कोभिड–१९ सङ्क्रमणको दोस्रो राष्ट्रिय ‘सिरोप्रिभलन्स सर्भे’मा देशभरिका छ महिनाभन्दा बढी उमेरका व्यक्तिलाई समेटी गत असार २१ देखि साउन ३० गतेसम्म १३ हजार १६१ जनाको परीक्षण गरी विश्लेषण गरिएको थियो । सर्वेक्षणले देशभरिका ६८.६ प्रतिशत नमुना अर्थात् कुल जनसङ्ख्याको झन्डै दुई तिहाइमा कोभिड–१९ को एन्टिबडी फेला परेको देखाएको छ । प्राकृतिक रूपमा सङ्क्रमित भइसकेर हुनसक्छ वा खोप लगाएर हुनसक्छ, त्यो अनुसन्धानले नै देखाउला तर विगतमा समुदायमा ७० प्रतिशतभन्दा धेरै मानिसमा प्रतिरोधी क्षमता विकास भएमा सामुदायिक प्रतिरोध वा हर्ड इम्युनिटी विकास हुने र त्यसले महामारीलाई शिथिल पार्दै लाने बताइएको थियो । तसर्थ यो नतिजा पक्कै पनि सकारात्मक छ भन्न सकिन्छ ।

राजनीतिक अस्थिरता, प्राकृतिक विपत्, कोभिड–१९ महामारीले पारेको आर्थिक क्षति हुँदाहुँदै पनि नेपालले आफ्ना सबै नागरिकलाई निःशुल्क र द्रुत गतिमा कोरोनाविरुद्धको खोप उपलब्ध गराउन सफल हुँदै जानु आफैँमा सकारात्मक पक्ष हो तर सरकारले दिएको खोपले मात्र यो महामारीबाट पार पाउन गाह्रो हुन सक्छ । भाइरसको प्रकृति परिवर्तन भइरहने कारणले गर्दा हाम्रो दैनिक जीवनमा हुने हरेक क्रियाकलापमा स्वास्थ्यका निम्नतम मापदण्डलाई अनिवार्य रूपमा पालना गर्नैपर्ने हुन्छ । अर्कोतर्फ खोप लगाउनुपर्ने मानिस अझै पनि धेरै छन् भन्ने कुरालाई ख्याल गर्दै यसको उचित व्यवस्थापन र न्यायपूर्ण वितरण पनि महामारी नियन्त्रण गर्ने दृष्टिले उत्तिकै महìवपूर्ण हुने भएकाले सरकारले यसमा विशेष चासो दिनुपर्ने देखिन्छ ।