विचार/दृष्टिकोण |

पेसागत व्यावसायिकतामा निजामती सेवा

गोपीनाथ मैनाली

यस शताब्दीका प्रख्यात चिन्तक युभल नोह हरारी ज्ञान, सीप र प्रविधिसँग परिस्कृत र अनुकूलित बनाउँदै नलगेमा केही दशकपछि मानवपुस्ता नै गतावधिक बन्नसक्ने खतरातर्फ विचार प्रवाह गरिरहेका छन् । कोरोना महामारीले संसारलाई स्तब्ध पारी मानव सभ्यतालाई अत्याएको बेलामा पनि धेरैजसो मुलुकले शिक्षा, स्वास्थ्यलगायत अत्यावश्यक नागरिक सेवा निरन्तर दिनसके, अहोरात्र खटेर वैकल्पिक प्रविधि विकास गरेर समृद्धिलाई साथसाथ लगिरहेका छन् । यी दुवै प्रसङ्गको केन्द्रबिन्दुमा प्रशासन छ । हरारीले भनेजस्तो चुनौती सम्बोधन गर्न निरन्तर सीप र शैली बदल्ने सामथ्र्य सार्वजनिक प्रशासनमा रहन्छ, रहनु पर्छ । किनकि राज्यको क्रियाशीलता भनेको नै प्रशासनको सीप र संस्कृति हो । प्रशासन नै सरकारको व्यावसायिक हात हो । प्रशासनले समर्पित क्रियाशीलता देखाएर नै जटिला र असजिलो अवस्थाले निकास पाउँछ, समाज व्यवस्था गतिशील हुन्छ । यस अवस्थामा हरारीले चिन्ता गरेजस्तो खास पुस्ताले गतावधिक बन्नुपर्ने छैन ।

यति गहन जिम्मेवारी लिने सार्वजनिक प्रशासनले इतिहासको कालखण्डमा के आरोप खेपेन ? अमेरिकी संसादले ‘दुई सय किलोग्रामका मिठाईको थैलो, चिमोट्दा पनि चुप लागेर बस्छ, चिच्याउँदा पनि सुन्दैन, लात हान्दा पनि आटको पाट चल्दैन’, भनेर प्रशासनको कडा आलोचना गरे । साम्यवादीहरू यसलाई नोकरशाही भन्न रुचाउँछन् र भन्ने गर्छन् ‘बुर्जुवा वर्गको पतनसँगै यसको पनि समूल नष्ट हुन्छ ।’ बोल्सेभिक क्रान्तिपछि साम्यवादीहरूले भनेथे, ‘के के न गरौँला भनेको त सबै कर्मचारीतन्त्रको कब्जामा पो रहेछ ।’ हामीकहाँ पनि सार्वजनिक प्रशासनले आफ्नै अभिभावक राजनीतिक कार्यकारीबाट समय–समयमा आलोचना भएका अप्रिय शब्दहरू सुन्दै नआएको होइन । भन्न सकिन्छ– ‘अभिभावक निष्ठुर हुनु हुँदैन’ । यो सार्वजनिक प्रशासनको अपेक्षा हो, सबै अभिभावक कहाँ पो विवकेशील हुन्छन् र ? यस्ता आलोचना र आरोपबाट प्रशासन कत्ति पनि विचलित होइन, बरु आफ्नै कार्य संस्कृतिलाई सुधार गरेर प्रत्युत्तर दिइरहेको छ । किनकि कर्मको आचरणबाहेक कर्मचारीको न अर्थ छ, न पहिचान नै, ऊ फगत कर्मचारी हो । उसलाई गरिएका आलोचना वा उसमाथिको अतिक्रमण उसैको कार्य आचरणमाथिका प्रतिक्रिया हुन् । त्यसैले बोलर होइन, गरेर उत्तर दिनुको विकल्प सार्वजनिक प्रशासनमा रहँदैन । कुनै प्रसङ्गमा संसदीय समितिको बैठकमा पङ्क्तिकारले जवाफ दिँदै भनेको थियो, ‘कर्मचारीको मुख सानो हुन्छ र मन चाहिँ ठूलो’, यहाँभन्दा बढी भन्ने आचारण र मूल्य कर्मचारीको हुँदैन । हो, प्रशासनमाथि भएको आलोचना केही हदमा वृत्ति ईष्र्याबाट पनि ग्रसित होलान् तर धेरै अर्थमा उसैको सुधारका लागि पृष्ठपोषण हो, आफ्नैले त आलोचना गर्ने हक राख्छन् । त्यसभित्र सुधारका सुझावहरू केलाउनु र त्यसैअनुरूप काम गर्नुबाहेक न अरू विकल्प छ, न आशा नै गर्न हुन्छ ।

‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ यस वर्षको निजामती सेवा दिवसको आदर्श वाक्य तय भएको छ । यसलाई दिवसको नारा होइन, आदर्श वाक्य भन्नुपर्छ, किनकि कर्मचारीको ‘नारा’ हुँदैन, सङ्कल्प मात्र हुन्छ । दिवसमा आदर्श वाक्यमार्फत सङ्कल्प गरिन्छ र निजामती प्रशासनले त्यसलाई कार्यरूप दिने गर्छ । यस्ता सङ्कल्प सान्दर्भिक हुनुपर्छ, जे अभाव छ, त्यसैको माग समाजले गर्छ । त्यसैले व्यावसायिक सिर्जनशीलता अहिलेको माग हो, यसैको अभाव छ, त्यसैले यसको माग भएको हो । निजामती प्रशासनले पलपलमा सिर्जनशीलता देखाउनु पर्छ । यसो गर्न उससँग व्यावसायिक सीप, शक्ति र सामथ्र्य छ । वृत्ति जिम्मेवारीका प्रत्येक चरणमा सिर्जनशीलता र व्यावसायिकता सिद्ध गरेर नै आफ्नो औचित्य पुष्टि गर्नु निजामती कर्मचारीको कर्तव्य हो । लामो समयदेखि वृत्तिसेवा गर्दै आएकोले आर्जित स्वायत्ततता पनि छ । तर फेरि प्रश्न उठ्ला, नारा र आदर्श वाक्य पनि छुट्याउन नसक्नेले व्यावसायिकता र सिर्जनशीलता साँच्चै देखाउन सक्छ त ?

अब व्यावसायिक पक्षको सामान्य विवेचना गरौँ । निजामती सेवाको व्यावसयिकता भनेको निजामती सेवाका सिद्धान्तको ज्ञान र त्यसलाई व्यवहारमा अपनाउने प्रतिबद्धता हो । व्यावसायिकता सामाजिक समस्या समाधानार्थ प्रशासनिक कार्य सञ्चालनको निष्ठा, सीप, क्षमता र प्रविधि अनुकूलनता हो । त्यसैले व्यावसायिक हुनु नै निजामती सेवाको नैतिकता हो । यसले ज्ञान, सीप र क्षमताको अति उत्तम प्रयोग गराउँछ । कार्यप्रति नैतिक रहन उत्तरदायित्व निश्चित गर्छ र सुम्पिएको कामको वैधता पुष्टि गर्छ । यसलाई आजभोलि व्यावसायिक सदाचारको बृहत् नामबाट चिन्ने गरिन्छ, जसले कार्यनिष्ठा र कार्यआचारण दुवैलाई एकसाथ द्योतन गर्छ । सारमा भन्दा निजामती सेवा मूल्यमा आधारित हुनु नै निजामती सेवाको व्यावसायिकता हो ।

सिर्जनशीलता चाहिँ सार्वजनिक प्रशासनको कार्य सम्पादनको निरन्तर सुधार गर्ने आभ्यान्तरिक प्रेरणा हो । प्रशासनिक कार्यको मूल्य सिर्जना गर्ने नवीन विचारको कार्यान्वयन नै सिर्जनशीलता (नवप्रवर्तन) हो । सिर्जनशीलताले तीन परिणति दिन्छ– पहिलो सेवाको सन्तुष्टि विस्तार, दोस्रो लागत न्यूनीकरणका साथ कार्यकुशलता वृद्धि र तेस्रो सरकार र सेवाग्राही दुवैलाई थप मूल्य सिर्जना । अग्रगामी सरकार र उसको संयन्त्र प्रशासनले जहिले पनि सर्वसाधारणको मन जित्ने सेवा कम लागत र उच्चस्तरमा सम्भव तुल्याउँछ । कर्मचारीमा स्वउत्साह बढाइ उत्पादकत्व उकास्छ र वातावरणीय संवेदनशीलता देखाउँछ । समाजमा विकास हँुदै गएको उदारवादी लोकतन्त्रले सर्वसाधारण सेवाग्राही, ग्राहक, उपभोक्ता, नागरिक हुँदै साझेदार बनेका छन् । उनीहरूको स्वाद र सन्तुष्टिका लागि प्रशासनिक सिर्जनशीलता चाहिएको छ, नवप्रवर्तन चाहिएको छ । पूर्वमुख्यसचिव दामोदर गौतमले एक प्रसङ्गमा भन्नु भएको थियो, ‘प्रशासनिक सास्तीबाट सेवाग्राहीलाई मुक्ति दिनु नै प्रशासनिक नवप्रवर्तन हो ।’ त्यसैले नेपालको सन्दर्भमा बाराक ओबामा प्रशासनले भनेझैँ आविष्कारमुखी सरकारमा पुग्न खोजेको होइन, सेवाग्राहीको सन्तुष्टि विस्तार मात्र गरे पुग्छ, आविष्कारमुखी सरकार त्यसपछिको कार्यसूची हो ।

आजभोलि सर्वत्र नवप्रवर्तनमुखी प्रशासनको कुरा गरिन्छ । नवप्रवर्तनलाई सिजर्नशीलता र व्यावसायिकताको संयुक्त परिणामका रूपमा लिइन्छ । सिर्जनशीलताको अर्थ नवीन कार्यशैलीमार्फत मूल्य अभिवृद्धि गर्नु हो, सेवा सन्तुष्टि दिनु हो । यो कुनै वैयक्तिक प्राज्ञ नभई कार्यसमर्पित बन्ने उत्साह हो । सङ्गठनलाई गतिशील बनाउने कार्य वा पुनर्बोध हो । मौजुदा स्थितिप्रति असहमति र तनाव सिर्जना हो । व्यवहारवादी विद्वान्हरू प्रशासनिक नवप्रवर्तनलाई एक प्रतिशत विचार र ९९ प्रतिशत कार्यान्वयन भन्ने गर्छन् । प्रशासन भन्नुभन्दा गर्न स्थापित संयन्त्र भएकाले यसो भनिएका हो । साङ्गठनिक रूपान्तरणका लागि नै प्रशासनिक नवप्रवर्तन गरिन्छ, न कि स्वैरकल्पनाका लागि । यो परिस्कार मात्र होइन, नवप्रवर्तनले परिस्कारभन्दा माथिल्लो मूल्यअभिवृद्धि गर्छ । प्रवर्तन सबैले गर्न सक्छन्, सबै ठाउँमा गर्न सकिन्छ । तर प्रोत्साहन गर्ने काम नेतृत्वको हो, मूल्यलाई आदर्श मान्ने र नयाँ दृष्टिकोण सिर्जना गर्ने नेतृत्व नै नवप्रवर्तनका पृष्ठकारक हुन् । स–साना सफलताले ठूलो सफलताको आधार दिन्छ । सबै ठूला आविष्कार एकैचोटि हुँदैनन् । प्रवर्तनकारी प्रशासनले सोच, प्रयास, संयम, विश्वास र प्रोत्साहनमा जोड दिन्छ । यो मूल्यसंस्कृति निर्माणको अनवरत प्रक्रिया हो ।

निजामती प्रशासनलाई सिर्जनशील र व्यावसायिक बनाउन नेतृत्वको प्रमुख भूमिका रहन्छ । नेतृत्व मूल्यमा आधारित, वस्तुनिष्ठ र उदाहरणीय भयो भने नै त्यसको लहरले असर कार्यालय सहयोगीसम्म पुग्ने गर्छ । यसो गर्न नसक्ने नेतृत्वले आदेश÷निर्देश मात्र गर्न पुग्छ । सुधारका सबै कार्यसूची नेतृत्वको सिर्जना हुन्, प्रतिबद्धताको धरोहर पनि उही हो, जसलाई पहिला नेतृत्वले नै अपनाउनु पर्छ । यसका साथै प्रणालीभित्रका निर्भीक, स्वच्छ र सिर्जनशील व्यक्तिलाई प्रोत्साहन गर्नुपर्छ । निजामती सेवालाई वृत्ति चयन गर्ने सबै नै आदर्श भावना, असल सोच र सिर्जनशील व्यवहार गर्न सेवाभित्र प्रवेश गरेका हुन् । निजामती कर्मचारी समाजको अब्बल प्रतिभा, पढालेखा, योग्यताबाट परीक्षित र अनुभवबाट खारिएको हुनाले उसको व्यवहार, आनीबानी, शीलकौशल पनि उदाहरणीय भइदिए हुन्थ्यो भन्ने समाज र संस्थाको अपेक्षा छ । निजामती सेवा दैनन्दिनी कार्यमा रमाएर जागिरे बन्नु हुँदैन । आफ्नो अनुभव र क्षमताको इमानदारीपूर्ण प्रयोगबाट संस्था र प्रणाली निर्माण गर्नुपर्छ, जसको अहिले अभाव खड्किएको छ । यसले निरन्तर असल प्रणाली हस्तान्तरण गर्न सक्नुपर्छ । त्यो कति गर्न सकेका छांैँ, स्वयं मनन गरी स्वयं उत्तरदायी हुने विषय हो । त्यसैले निजामती सेवा दिवसको आदर्श वाक्य सबै अर्थमा सान्दर्भिक छ र आफ्नै जिम्मेवारीप्रति सङ्कल्पित रहन आग्रह गर्छ ।