विचार/दृष्टिकोण |

सुशासनप्रति प्रतिबद्ध सेवा (सम्पादकीय)

स्थायी सरकारको परिचय बनाएको निजामती सेवा दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । वि.सं.२०१३ भदौ २२ गते नेपालमा पहिलो पटक निजामती सेवा ऐन जारी भएको दिनको स्मरणमा २०६१ सालदेखि यो दिन निजामती सेवा दिवस मनाउन थालिएको हो । यसवर्ष १८आंैँ निजामती सेवा दिवस मनाइँदैछ । यस पटकको निजामती सेवा दिवसको नारा ‘व्यावसायिक र सिर्जनशील प्रशासन :विकास, समृद्धि र सुशासन’ निर्धारण गरी निजामती सेवालाई गतिशील बनाउने प्रयास गरिएको छ ।

राज्यको स्थायी संयन्त्रका भएर निजामती सेवा सर्वसाधारण जनतामा प्रत्यक्ष रूपमा देखिने सबैभन्दा नजिकको सरकार हो । सरकारले जनतालाई प्रदान गर्ने भनेर घोषणा गरिएका सेवा जनतासम्म पुग्ने माध्यम हो निजामती सेवा । राज्यका नीति तथा कार्यक्रम, बजेट निजामती सेवाका कर्मचारीले नै कार्यान्वयनमा लैजानु पर्छ । निजामती सेवाले राज्य सञ्चालनको क्रममा सरकार र सर्वसाधारण नागरिकहरूको बीचमा रहेर महìवपूर्ण भूमिका खेलेको हुन्छ । यस अर्थमा कर्मचारीले सरकार र नागरिकका बीच पुलकै भूमिका निर्वाह गर्छन् । जनमतको प्रतिनिधित्व गर्ने सरकारले स्थायी सरकार अर्थात् कर्मचारीकै माध्यमबाट सर्वसाधारणको सेवा गर्छ । जनसम्पर्क स्थापित गर्छ । निजामती संयन्त्रले सर्वसाधारणमा पु-याउने सेवा र सुविधाबाट नै सरकारको स्वरूप र प्रियताको परीक्षण हुन्छ  । निजामती सेवाबाट सहज तरिकाले सर्वसाधारण जनताका काम हुन सके सर्वसाधारण नागरिक सरकारप्रति सकारात्मक धारणा बनाउँछन् । सरकारका काममा समर्थन जनाउँछन् । सरकारसित विकास निर्माणका काममा हातेमालो गर्ने गर्छन् । यो यथार्थ हुँदाहुँदै पनि कतिपय झन्झटिलो कार्यसम्पादन प्रक्रियाले निजामती सेवाप्रति सबैमा समान धारणा बन्न सक्ने अवस्था हुँदैन ।

मुलुकको राजनीतिक संरचनामा परिवर्तन भएँगै निजामती सेवामा समेत आमूल परिवर्तन आएको छ । परिवर्तित संरचनाअनुसार हाल निजामती सेवा सङ्घीय, प्रदेश र स्थानीय सरकार मातहतमा रहेर काम गर्ने बाटो खुलेको छ । यस अर्थमा तिनै तहको सरकारका नीति तथा कार्यक्रम, बजेटको कार्यान्वयनमा निजामती सेवाको जिम्मेवारी अझ विस्तृत र विविधीकरण भएको छ । मुलुक सङ्घीय संरचनामा जानु भनेको जनताले केन्द्रमा रहेको अधिकारलाई जनताको घरदैलोमा पु-याउनु हो । सिंहदरबारलाई गाउँघरमा पु-याउनु हो । संरचना गाउँघरमा पु¥याएर मात्र हुँदैन, त्यो अनुभूति गराउने दायित्व कर्मचारीकै हो । त्यसैले निजामती सेवा अहिले बहुआयामिक भूमिकातिर अग्रसर हुँदैछ । पछिल्लो समय प्रविधि र चिन्तनमा आएको परिवर्तनले निजामती सेवा थप जनमुखी हुँदै जानुपर्ने अवस्था छ । सर्वसाधारण नागरिक सरकारी निकायमा सेवा सुविधा लिन पुग्ने मात्र नभई प्रशासन संयन्त्रनैै जनताकै आँगन र घरदैलो पुग्ने गरेको पाइन्छ । नागरिकको करबाट चल्ने राज्य प्रशासन नागरिककै सेवा र हितका लागि समर्पित हुनु आफैँमा सकारात्मक हो  । केही स्थानीय सरकारले यस्तो सिर्जनशील अभियानको अभ्यासले निजामती सेवाको प्रियता बढेकै छ  । हुन पनि गाउँघर, विकट वस्तीमा सरकारी सेवा पाउन सके मात्र नागरिकले नजिकको सरकारको अनुभूति गर्ने छन् र त्यसले राज्य र नागरिकका सम्बन्ध अझ प्रगाढ बनाउने छ । यसले निजामती सेवाले मात्र यश पाउने नभई सरकारको प्रभावकारितामा बढोत्तरी ल्याउनेछ ।

निजामती सेवा पनि समस्या मुक्त छैन । प्रशासनलाई समयानुकूल बनाउन अझै पनि अवरोध छन् । बढ्दो महँगीसँग सेवासुविधा न्यून हुँदा निजामती सेवामा तीक्ष्ण र सिर्जनशील जनशक्ति पर हुन सक्ने जोखिम बढ्दैछ  । निजामती सेवामा आकर्षण बढाउने सबैखाले प्रयास आजको आवश्यकता हो । त्यस क्रममा हरेक वर्ष बजारमा आएका सक्षम, योग्य र दक्ष जनशक्तिलाई सेवा प्रवेशमा स्वागत गर्ने वातावरण बन्नु पर्छ  । दक्ष जनशक्तिलाई सेवामा टिकाउन निजामती सेवाका कर्मचारीका आवश्यकतालाई आयामिक ढङ्गले हेर्नुपर्छ । दक्षिण एसियाली मुलुकमा नेपालको निजामती सेवाको सेवा सुविधा न्यून रहेको बारम्बार उठिरहेकै विषय हो । निजामती सेवालाई पेसागत एवं व्यावसायिक रूपमा सक्षम बनाउन सक्दा प्रदान गर्ने सेवा छिटो छरितो र गुणस्तरीय हुन सक्छन् । यसबाट मुलुकको प्रशासनिक संयन्त्र सबल, सक्षम र जनताप्रति थप उत्तरदायी बन्न सक्छ । प्रतिबद्ध, व्यावसायिक र सिर्जनशील निजामती संयन्त्रले मात्र सुशासनसहित आधुनकि राज्यको आकाङ्क्षालाई पूरा गर्न सक्छ । यो दिवसले त्यस दिशातर्फ अग्रसर हुने ऊर्जा प्रदान गरोस् ।