विचार/दृष्टिकोण |

असल मान्छेको शब्दचित्र

डा. तुलसी भट्टराई

दामोदर कोइरालाको वंशमा दुम्जा (सिन्धुली) मा नन्दिकेश्वर कोइराला नामका निकै प्रभावशाली व्यक्ति भए । उनका चार भाइ छोरामध्ये कान्छा छोराको नाम कृष्णप्रसाद कोइराला थियो । पछि यी कृष्णप्रसाद कोइराला विराटनगरमा गएर बसोबास गर्न थाले । व्यापार तथा ठेक्कापट्टामा निपुण कृष्णप्रसाद कोइराला विराटनगरको आधुनिकीकरणका पिता मानिनुहुन्छ ।
त्यस युगका ठूला समाजसेवी कृष्णप्रसाद कोइरालाकी कान्छी पत्नी दिव्या कोइरालाको प्रथम सन्तानका रूपमा वि.सं. १९७१ भदौ २४ गते (सन् १९१४ सेप्टेम्बर ८ तारिख) का दिन एउटा बालकको जन्म हुन्छ । नक्षत्रअनुसार चूडामणि नाम रहन्छ त्यस बालकको र तिनै बालक पछि गएर विश्वेश्वरप्रसाद कोइरालाका नामबाट परिचित हुनपुग्छन् ।

नेपाली राजनीतिमा प्रजातन्त्रका पर्याय बन्नुभएका विश्वेश्वरप्रसाद कोइरालाको जीवनयात्रा बडो अनौठो, सामान्य जीवनसँग तुलना गर्न नसकिने खालको छ । उहाँ आफैँले एक ठाउँमा भन्नुभएको छ, “मेरो जन्म एउटा द्विविधामा भएको हो । जन्मिने घडी मैले आफ्नो अड्डीपनको पूरा परिचय दिएँ । ममाथि त्यस दिन बल प्रयोग गरेको हुनाले हो कि किन हो, म जीवनमा आजसम्म विद्रोही रहेँ । मेरो जीवनमा त्यसै दिनदेखि विद्रोहको बीज रोपिएको होला ।”
यो भनाइ बीपीको आफू जन्मँदाको प्रसङ्गसँग जोडिएको छ । त्यसबेला शल्यक्रिया गरेर पेटबाट बच्चा जन्माउनु भनेको अनौठो कुरा थियो । बीपीलाई शल्यक्रिया गरेर जन्माइएको थियो ।
विराटनगरको भव्य, ऐश्वर्य सम्पन्न परिवार । प्रतिष्ठित समाजसेवी कृष्णप्रसाद कोइराला; जसको हजारौँ बिघा खेती, घोडाको अस्तबल, सयौँ गाईभैँसी गोठ र बगैँचा थिए । ठूलो व्यापारका मालिक मात्र नभएर कृष्णप्रसाद कोइराला धर्मात्म र परोपकारी पनि हुनुहुन्थ्यो । विराटनगरको कालीमन्दिरको स्थापना उहाँले नै गर्नुभएको थियो । पाटी, पौवा र धर्मशालाहरू ब्नाउनुभएको थियो । कैयौँ पाठशालाहरू खोल्नुका साथै अस्पतालको समेत स्थापना गराउनुभएको थियो । पूर्वाञ्चलमा कृष्णप्रसाद कोइराला भनेपछि उहाँ प्रतिष्ठित व्यक्तिमा पर्नुहुन्थ्यो ।

उहाँलाई चन्द्र शमशेरले पनि राम्रै गरी चिनेछन् र यस्तो सम्पन्न परिवार एकै पटक सुकुम्बासी बन्नपुग्यो र भारतमा निर्वासित हुन बाध्य भयो । यही निर्वासन कालमा बीपी कोइरालाको जन्म भएको थियो ।
“म राजनीतिमा गहिरिएर लागेको व्यक्ति हुँ । म समाजको राम्रो संरचनामा दिलचस्पी लिन्छु । म राम्रो समाजोपयोगी नियम कानुनको व्यवस्थाको पक्षपाती छु । ...तर कलाकार, साहित्यकार नियम–कानुन नमान्ने जमात हो । असल अर्थमा ऊ अत्यन्त व्यक्तिवादी हुन्छ । उसको निष्ठा आफ्नो अनुभव, आफ्नो अन्तस्करणको सानो मधुरो आदेशप्रति कलाकार विद्रोही हुन्छ र असामाजिक प्राणी । नयाँ दिशाको सन्धानमा रत । नयाँ सत्यको खोजीमा लागेको प्राणी । म चाहन्छु कि तपाईं इमानदार बन्नुहोस् आफूप्रति । आफूभन्दा बाहिरको सत्य या मापदण्ड नखोज्नुहोस् ।”

किशोर उमेरमा नै पहिलोपल्ट राजनीतिक अभियोगमा जेल पर्नुभएका कोइरालाले वास्तवमा कहिल्यै पनि आफूभन्दा बाहिरको मापदण्ड खोज्नुभएन । उहाँले आफ्नो मौलिक चिन्तन र मौलिक विचार दिनुभएको छ । आफ्नो पचास वर्षे राजनीतिक जीवनमा होस् अथवा चालीस वर्षे साहित्यिक यात्रामा होस्, सधैँ एकनास रह्यो बीपीको सोचाइ । आफ्नो निर्णयमा सदा अटल र अविचलित ।
‘मलाई त लाग्छ, मानव सुखका साथसाथै पाप भावना पनि त्यसको छायाँजस्तै टाँस्सिएको हुन्छ ।’ बीपी सम्भवतः यसै विचारले होला, व्यक्तिगत सुखको खोजीमा लाग्नुभएन । उहाँ सबैको हित हुने काममा मात्र लाग्नुभयो ।

व्यक्ति, अस्मिता र मानव मूल्यको स्थापना गर्नमा नै आफ्नो समग्र जीवन अर्पिने बीपीले आफ्ना कृति तथा रचनाहरूका माध्यमले पुराना जीर्ण–निष्प्राण भइसकेका मूल्य र मान्यतालाई ध्वस्त गर्ने परिस्थितिको सिर्जना गर्नुभएको छ । उहाँका राजनीतिक चिन्तनहरू– विद्यार्थीलाई सन्देश होस् अथवा तरुणका बारेमा लेखिएको होस् अथवा समग्र कार्यकर्ताका बारेमा लेखिएका हुन्– सबैमा नैतिक बल, आदर्श र सिद्धान्तका कुरा छन् । राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र अन्य विविध पक्षमा लेखिएका प्रायः सबै रचना मानवमूल्य उत्थानका निम्ति छन् ।

राजनीतिमा समाजवादी र साहित्यमा अराजकतावादी बीपी कोइराला व्यक्ति एक, व्यक्तित्व अनेक भएका विश्वका थोरै नेतामध्येमा पर्नुहुन्छ । १९९२ सालमा ‘शारदा’ पत्रिकाले जन्माएका लेखकहरूमध्ये सामाजिक आदर्श अँगाल्ने मैनाली, बौद्धिक विश्लेषणका प्रयोक्ता– सम, यौन मनोविज्ञानको नयाँ प्रयोग र मनोविश्लेषण गर्ने कोइराला त्यस बेलाका ‘त्रिमूर्ति’ प्रमुख स्रष्टा हुन् ।
“मान्छे आत्मा मात्र भइदिए त हुन्थ्यो नै तर ऊ शरीर पनि हो ।” बीपीको दोषी चश्माभित्र केशवराजका खुल्दुली, ‘पवित्रा’की पवित्राको प्रत्येक परित्यक्ता नारीव्यथा । दमित वासनाबाट श्वेत भैरवी बन्न पुगेकी फगुनीको कथा । यौन कुण्ठा र विकृतिकी शिकार ‘कर्नेलको घोडा’की कर्णेल्नी । अथवा अन्य विभिन्न सिर्जनामा बीपी कोइरालाको स्पष्ट अभिव्यक्ति छ । ‘तीन–घुम्ती’की इन्द्रमाया अथवा किरात संस्कृति र हिन्दू संस्कृतिको समन्वय– सम्मिश्रणगाथा ‘सुम्निमा’ भनौँ । पुराना मूल्य र मान्यता ध्वस्त हुने परिस्थिति सिर्जिएको ‘नरेन्द्र दाइ’, पूर्वीय संस्कृति र युरोपेली स्वच्छन्दवादको चर्चा भएको ‘हिटलर र यहुदी ।’

महाभारतको लडाइँ– धार्मिक अनुष्ठान मात्र हो, धार्मिक कार्य होइन भन्ने बीपीको धारणा बोक्ने ‘मोदिआइन’बाट बीपी मान्छेलाई मान्छे नै रहन दिने पक्षमा हुनुहुन्छ । उहाँको यो चिन्तन प्रष्ट छ । स्वास्नीले प्रेम दिन्छे कि दिन्न, त्यो मात्र पोइले हेर्नुपर्छ, सतित्व र पातिव्रत्य नारीका सरोकारका विषय हुन्, न कि पुरुषका । नारीलाई प्रधान विषय बनाउने र नारी अस्मितालाई माथि उठाउने काम भएको पाइन्छ बीपीका कृतिमा । असल समाजको निर्माणमा के–कस्ता कुराको आवश्यकता हुन्छ अथवा कस्ता–कस्ता कुराको अवरोध हुन्छ । हामी विचार राख्तैनौँ तर बीपीको सूक्ष्म दृष्टि छ यसतर्फ पनि ।

“लोग्ने र स्वास्नीमा बाहिरियाले गरेर मेल हुन्छ र कहीँ ? भित्र के खुस्किएको हुन्छ के ! बाहिर टालेर के गर्नु ।” प्रत्येक क्षेत्रमा घट्ने यथार्थ हो । बीपी कोइरालाका कृतिले उहाँको जीवनको आदर्श खुलाएका छन् र त ‘मेरो जीवन खुलेको पाना हो’ भन्न सक्नुभयो । उहाँका रचनाबाट प्रत्येक मानिसको धुकधुकी छाम्न सकिन्छ । यो पनि उहाँलाई परख्ने एउटा कसी हो ।

‘बाबु तिमी ठूलो मान्छे होइन, असलमान्छे बन्नू ।’ यो वाक्य अठार पुराणका रचयिता महर्षि–व्यासका समग्र कृतिको सारतत्व ‘परोपकार’झँै लाग्छ । आज बीपी कोइरालाको स्मरण गर्दा उहाँको उक्त भनाइलाई हामीले एउटा आदर्शको रूपमा ग्रहण गर्नु आवश्यक छ । संसारमा ठूला मान्छे त धेरै हुन्छन् तर असल मान्छे एक युगमा एक दुई÷जना मात्र जन्मिन्छन् । बीपी कोइराला यस शताब्दीको असलमान्छे हुनुहुन्थ्यो र आज पनि उहाँका असल विचारहरू हाम्रासामु आदर्श र उदाहरणका रूपमा फैलिरहेका छन् ।