बीपीप्रति राज्यको सम्मान (सम्पादकीय)
मुुलुककै पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको नाममा सरकारले दुईवटा पुरस्कार स्थापना गरेर एउटा नयाँ आयाम थपेको छ । मन्त्रिपरिषद्को २०७८ भदौ २१ गतेको बैठकले ‘बीपी कोइराला राष्ट्रिय पुरस्कार’ स्थापना गर्ने निर्णयसँगै यो नयाँ आयाम थपिएको हो । नेपाली लोकतान्त्रिक आन्दोलनका सर्जक र विचारक बीपीको नाममा अहिलेसम्म राज्यस्तरबाट कुनै पुरस्कार स्थापना गरिएको थिएन । बीपीको आदर्शबाट प्रेरित भई राजनीतिको उचाइमा पुग्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले पुरस्कार स्थापना गरेर यो सराहनीय काम गरेको छ । राजनीति र साहित्य गरी दुई विधागत आधारमा पुरस्कार प्रदान गरिने छ । ती दुवै विधामा दुई/दुई लाख रुपियाँ राशिको पुरस्कार हुनेछ । बीपी जन्मजयन्तीका अवसरमा यो पुरस्कार स्थापना गरेको स्पष्ट पारेर भदौ २४ गतेलाई सरकारले विशेष दिनका रूपमा सम्मान गरेको स्पष्ट हुन्छ । विक्रम संवत् १९७१ भदौ २४ गते जन्मनुभएका बीपीको २०३९ साउन ६ गते निधन भएको थियो ।
राणाकालीन अन्धकार युगबाट नेपाललाई प्रजातान्त्रिक युगमा प्रवेश गराउन क्रान्तिको उद्भव र विकास गराउने बीपी बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो । बीपी एकै व्यक्तिमा विचार, नेतृत्व, दर्शन, साहित्य आदिका अनेक आयाम थिए । नेपालमा राणाशासन रहेको र दक्षिणी छिमेकी मुलुक भारत झन्डै दुई सय वर्षदेखि बेलायती उपनिवेशमा रहेका बेला सिङ्गो दक्षिण एसिया नै गरिबी, पछौटेपना र अन्धकार युगमा थियो । विद्यार्थीकालदेखि नै बीपी क्रान्तिमा होमिनुभयो । गान्धीको विचार र क्रान्तिले उहाँलाई आकर्षित ग¥यो । राणाशाही बेलायती साम्राज्यकै आडमा नेपालमा निरङ्कुश शासन गरिरहेको निष्कर्षले उहाँलाई भारत स्वतन्त्रपछि मात्र नेपालमा क्रान्ति सफल हुने निष्कर्ष सही विश्लेषण ठहर भयो तर नेपालमा परिवर्तन ल्याउन गान्धीको अहिंसा होइन, सशस्त्र क्रान्तिकै बाटो लिनुपर्ने उहाँको निष्कर्ष रह्यो । नेपाली काँग्रेसका संस्थापक बीपीको त्यही सही निष्कर्षले २००७ सालको क्रान्ति सफल भयो । १०४ वर्षको राणाशाही ढल्यो । नेपाल प्रजातान्त्रिक युगमा प्रवेश ग¥यो ।
बीपी क्रान्ति सर्जक मात्र होइन, विचारका दृष्टिकोणबाट मौलिक चिन्तनलाई अगाडि बढाउने र नेपाललाई संसारमा चिनाउने उचाइको नेता हुनुभयो । संसार पुँजीवाद र साम्यवादको दुई विपरीत धु्रवमा रहेको त्यस बेला प्रजातान्त्रिक समाजवादको चिन्तनधारालाई बीपीले अगाडि बढाउनुभयो । नेपाली काँग्रेसले २०१२ सालमा भएको महाधिवेशनले बीपीको प्रजातान्त्रिक समाजवादको चिन्तनधारालाई पारित ग¥यो । बीपीको विचार र नेतृत्वलाई नेपाली जनताले आमनिर्वाचनमार्फत अनुमोदन ग¥यो । संसद्को तल्लो सदनको १०९ स्थानमध्ये नेपाली काँग्रेसले ७४ स्थान विजयी गरी २०१६ सालमा बीपी देशको पहिलो जननिर्वाचित प्रधानमन्त्री हुनुभयो । १८ महिनाको उहाँको शासनकालमा राजा–रजौटा उन्मूलन, भूमिको व्यवस्थापनदेखि योजना र विकासका क्रान्तिकारी परिवर्तन भए । शिक्षा, स्वास्थ्य, ग्रामीण विकासका क्षेत्रमा समेत अनेक दूरगामी काम भए तर राजा महेन्द्रको निरङ्कुश मनोवृत्तिले २०१७ पुस १ गतेको कालो दिने नेपाली जनताले भाग्नु प¥यो । नेपाल तीन दशक निरङ्कुशतामा गयो । बीपीले आठ वर्ष काराबास अनि अर्को आठ वर्ष निर्वासनको जीवन बिताउनुभयो । बन्दी जीवन, निर्वासनलगायतका कठोर परिस्थितिमा पनि बीपीले सधैँ सम्झौताविहीन राजनीति गर्नुभयो । उहाँले काराबासलाई अध्ययन, चिन्तन र साहित्यको क्षेत्रमा उर्वर बनाउनुभयो । बीपी जहाँ रहे पनि प्रजातान्त्रिक आन्दोलनको विचारपुञ्ज हुनुभयो । काराबासमा उन्नत साहित्यिक कृति सिर्जना भए । जीवनको युवावयदेखि नै क्यान्सरले सताएको थियो । क्यान्सरकै कारण उहाँको निधन भयो ।
देशभित्र अनेक पुरस्कार स्थापना भए पनि महान् विचारक, राजनेता र साहित्य सर्जक बीपीका नाममा राज्यस्तरबाट कुनै पुरस्कार स्थापना नभएको अभावलाई यो पटक सरकारले पूरा गरेको छ । पुरस्कारको व्यवस्थापन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने छ । पुरस्कार स्थापनाका लागि समितिमा बीपी सङ्ग्रहालय र त्यसका अध्यक्ष परशुराम पोखरेलले गर्नुभएको प्रयास उल्लेखनीय छ । पुरस्कारको कार्यविधि पारदर्शी छ । विधाअनुसार दुईमध्ये एक राजनीतिक व्यक्ति र अर्को साहित्यिक व्यक्तिलाई पुरस्कृत गरिने छ । स्वाभाविक रूपमा लोकतान्त्रिक विचारक, अन्वेषक तथा अध्येता यो पुरस्कारबाट सम्मानित हुने नयाँ संस्कृतिको थालनी हुने विश्वास गर्न सकिन्छ ।