राजनीतिक शुद्धीकरणको अवसर
खिमलाल देवकोटा
नेपालमा राजनीतिक पार्टीहरूको शुद्धीकरणको चर्चा बाम्बार हुने गर्छ तर चाहेजस्तो शुद्धीकरण भने हुन सकेको छैन । तीस वर्षको पञ्चायतका विरुद्ध सङ्घर्ष गरेको पुस्ता स्वयंले यताको तीन दशक शासनको बागडोर समालिसकेको छ तर विकृति र विसङ्गति रोकिएको छैन । लोकतन्त्र अझै संस्थागत हुन सकेको छैन । देशले आर्थिक तथा सामाजिक परिवर्तनको गति लिन सकेको छैन । राजनीतिक शुद्धीकरणमा दलहरू चुकेको विवेचना र अब अगाडि बढ्ने बाटो के हुन सक्छ भन्ने प्रसङ्ग यो लेखको मुख्य ध्येय हो ।
थालनी
नेपाली राजनीतिको विरासत सङ्घर्षका गाथाहरूले भरिपूर्ण छ तर निर्माणको गाथा गाउन पाइएको छैन । यो आम मानिसहरूको मनको आवाज आजभोलि निकै गुन्जिने गरेको छ । जिन्दगीभर सङ्घर्ष गरेका नेताहरूबाट सत्ता राजनीतिमा किन चुक हुन्छ ? राष्ट्रको समस्या किन समाधान हुन सक्दैन ? नेतृत्व वर्ग राष्ट्रिय समस्याप्रति किन संवेदनशील हुन सक्दैन ?
यी मूलभूत विषयमा चिन्तन गर्नु जरुरी छ । लगातार विकृति, विसङ्गति, अन्याय र अत्याचारका विरुद्ध लडेको पुस्ता त्यही विकृति विसङ्गति र अन्याय र अत्याचारको साक्षी बस्नुपर्ने अवस्थाको सिर्जना हुन किन परेको होला ? नेपाली राजनीतिको समस्याको चिरफार गरेर त्यसैका विरुद्ध सङ्घर्ष गरेर राजनीतिक प्रणाली नै फेर्न सफल भएको राजनीतिक पुस्ताले फेरि कतिपय प्रवृत्ति दोहोरिने अवस्थाको अन्त्य गर्न नसकेको किन होला ? हस्तक्षेपका विरुद्ध निर्ममतापूर्वक कठोरभन्दा कठोर कदम चाल्न पनि पछि नपर्ने यो पुस्ता आज वैदेशिक शक्तिका सामुन्नेमा किन आफना दाबीहरू प्रस्तुत गर्न किन नसकेको होला ? यी र यस्तै प्रश्नको जवाफ यतिबेला महाधिवेशनको चटारोमा रहेको नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले
दिनुपर्ने भएको छ । भर्खरै गठन भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लगायतले पनि भाग्ने र उम्कने ठाउँ छैन । सार्वजनिक रूपमा उठ्न प्रश्नहरूको सबैले सामना गर्नुपर्ने हुन्छ ।
राजनीतिको मूल जरो
राजनीति सबै नीतिहरूको मूल नीति हो । यसका आधारमा अरू नीतिहरू निर्माण हुने परिमार्जित हुने र विस्तारित हुने गर्दछन् तर नेपालको सन्दर्भमा यो भनाइ या त झुटा सावित भएको छ या त त्यो स्तरको राजनीतिको विकास नै भएको छैन भन्न करै लाग्छ । राजनीतिक प्रणाली बदल्न सक्ने राजनीति र राजाको सत्ता पल्टाउन सक्ने नेतृत्व त्यति कमजोर हो भन्ने लाग्दैन । त्यसो हुनै सक्दैन । त्यसो हो भने राजनीतिक नेतृत्वले नचाहेको हो विगतको विरासत तोड्न भन्ने प्रश्न गर्न सकिएला या हालको विसङ्गतिको निरन्तरतामा नेतृत्व रमाएको हो ? यसो पनि आरोपित गर्न सकिएला तर नेतृतवलाई नजिकवाट नियाल्दा त्यस्तो देखिँदैन ।
राजनीतिक नेतृत्वको केही गराँै भन्न हुटहुटी कहिल्यै शान्त भएको देखिएन । राजनीतिक नेतृत्वले आँट गर्दा परिवर्तन गर्न नसक्ने कुरा पनि वास्तवमा केही पनि देखिएन तर आफ्नै आँखा अगाडिको विकृति विसङ्गतिका विरुद्ध निर्मम हुन किन सक्दैन भन्ने प्रश्न यतिबेलाको यक्षप्रश्न हो । यस यक्षप्रश्नको उचित जवाफ समयले माग गरेको छ । समयले जवाफ दिने त आफ्ना ठाउँमा होला तर सम्भावित जवाफको अनुमान गर्ने हो भने नेपाली राजनीति राज्यको नोकरशाही तन्त्रबाट कहिल्यै मुक्त हुन सकेन भन्ने निष्कर्ष निस्कन्छ ।
राजनीतिमा मूल्यको निरन्तर ह्रास भएको छ । गान्धीकालीन भारत सङ्घर्षको गौरव गाथा थियो । अहिंसात्मक आन्दोलनको माध्यमबाट बेलायती राजको अन्त्य गर्ने र स्वराज स्थापना गर्ने हिम्मत गर्ने समाजवादी नेताहरू स्वतन्त्रता प्राप्तिपछि कमजोर बन्न पुगे । आजपर्यन्त पनि विश्वको सबैभन्दा व्यापक प्रजातन्त्र भनेर चिनिने भारतमा पनि करोडाँै मानिस झुपडीको वासमा छन् । भोकमरीको समस्यामा छन् । यसका बारेमा त्यतिबेलाका विद्वान्हरूको विश्लेषण अनुसार आन्दोलन समाजवादीहरूले गरे । त्यो आन्दोलन समाजवाद स्थापनाका लागि नै थियो तर स्वतन्त्रता प्राप्त भएपछि भारतको राजनीति समाजवादीको हातबाट विस्तारै मध्यमवर्गीय नाफाखोरको हातमा सर्दै गयो । स्वराज आन्दोलन समाजवादी आन्दोलन सबै भुत्तै हँुदै क्रमशः समाजवादी भारत गरिबी वितरण गर्ने समाजवादको मोडेल बनेको छ । धनी र गरिबको बीचमा भारतमा खाडल बढ्दै गएको छ ।
भारतको इतिहासले लिएको यो मोड नेपालको सन्दर्भमा समेत धेरथोर मिल्न गयो । सङ्घीयता र गणतन्त्रको स्थापनाका शीर्ष नेतृत्व नेपाली राजनीतिका हिरोहरू हुन् तर विस्तारै कतिपय नेता शक्तिको अति केन्द्रीकरणको मोहजालमा लागेको आरोप लाग्ने गरेको छ । राणाकाल र पञ्चायतले विकसित गरेको दरबारिया खानदानीपनकै निरन्तरतातिर गएको देखिएको छ । धेरैजसो काँगे्रस कार्यकर्ताहरू बीपी कोइरालाको समाजवाद र जयनेपाल हैन, ‘आईस्योस्र गैस्यौस्र’मा पदोन्नति भएको र कम्युनिस्ट पार्टीका कार्यकर्ताहरू ‘आई लभ यु बा’ को स्तरमा पुगेको देखिएको छ । अन्य पार्टी र नेतृत्वका पनि यस्तै विकृति छन् । यो नेपाली राजनीतिमा देखापरेको केवल परिणाम हो यसको कारण खोजी गर्न जरुरी छ । कारण खोजी पस्दा राजनीतिमा हावी भएको नोकरशाहीतन्त्रको जबर्जस्त प्रभाव नै मुख्य कारण हो भन्न सकिन्छ । राजनीतिको मूल जरो नै गलत दिशातिर मोडिएको छ ।
समाजको सामन्ती चरित्र
नेपाली समाजले राजनीतिक क्रान्ति गर्न सम्भव भए पनि आर्थिक क्रान्ति भने धेरै टाढाको विषय बन्यो । बन्दै गएको छ । यसको पनि कारण र परिणामका बारेमा चर्चा गर्न जरुरी छ । नेपाली समाज सामन्ती युगबाट भर्खरै मात्रै पुँजीवादी चरणमा प्रवेश गरेको छ भनेर राजनीतिक अर्थशास्त्रीहरूले दाबी गरेका छन् । यो विश्लेषणसँगसँगै के पनि भन्ने गरेका छन् भने नेपाली समाजको सामन्ती अवशेष अहिले पनि कायमै छ र उसले आफूलाई रूप परिवर्तन गर्दै बाँच्ने, टिक्ने र मौका परेका बखत आफ्नो गुमेको शक्ति फिर्ता गर्ने दाउमा छ भन्ने पनि चर्चा गर्ने गरिन्छ ।
शासन सत्ताको फिर्तीका बारेमा गफै होला भन्ने भए पनि नेपाली समाजमा रहेको सामन्ती चिन्तन प्रवृत्ति जबर्जस्त मौलाएको छ । त्यो चिन्तनले डेरा गरेको छ । हिजोका जनवादी र समाजवादी नेता र नेतृत्वको साख्खै बन्न कोशिस गरिराखेको छ । त्यसकारण नेपाली समाजको बदलाव राजनीतिक बदलावको तुलनामा अपेक्षाकृत सकारात्मक गतिमा अघि बढ्न सकेको छैन । सामन्ती चिन्तन संस्कार र प्रवृत्तिको जबर्जस्त प्रभाव नेपाली राजनीतिमा छ । यो चिन्तन नेपाली नेताहरूमा छ र राजनीतिक पार्टीहरूमा पनि छ । यो प्रवृत्तिले नेपाली समाजलाई अगाडि बढ्नका लागि प्रेरित गर्दैन सकेपछि फर्काउने कोशिस गर्छ । त्यसो गर्न सकेन भने पनि यथास्थितिमा अलमल्याई राख्नका लागि हरदम कोशिस गर्दछ । यही कोशिसको शिकार राजनीतिक दल, नेतृत्व र कार्यकर्तासमेत भएका छन् त्यसैको परिणाम नेपाली समाज अग्रगमन र प्रतिगमनको दोसाँधमा उभिएको छ र अपरिवर्तनको गोलचक्करमा नराम्रोसँग फसेको छ ।
अबको बाटो
अन्त्यमा नेपाली समाज सामन्ती जर्जरबाट जकडिएको थियो, तापनि राणाशासन टिक्न सकेन । त्यो ढल्यो । परिमार्जित रूपमा आएको भनिएको पञ्चायत पनि टिक्न सकेन, त्यो पनि ढल्यो । झण्डै अढाई सय वर्ष लामो पारिवारिक सामन्ती राजाको सत्ता पनि टिक्न सकेन, त्यो पनि ढल्यो । यी सबैका विरुद्ध सङ्घर्ष गर्ने र ढाल्ने यिनै दल हुन् । यिनै दलका नेता हुन्, यही पद्धति र प्रक्रियाको नेतृत्व हो । तथापि अहिले त्यो परिवर्तनको उलर्जा कहाँ बिलाएर गयो ? त्यो इच्छाशक्ति कहाँ बेपत्ता भयो र त्यो सोच चिन्तन र दृष्टिकोण किन ओझेल प¥यो ? फेरि पनि प्रश्नले जवाफ खोजेको छ । यस घडीमा आउने र दिन सकिने सोझो उत्तर भनेको पुराना पुस्ताले राणा, पञ्चायत र राजाको सत्ताका विरुद्ध लडेर विजय हासिल गर्न सफल भएकोमा योगदानको कदर गर्ने नै हो । समयको वेगलाई समेत चिन्नुपर्छ । काम गर्न नसक्ने पुस्तालाई आराम गर्नका लागि सुझाउने र पुराना पुस्ताको विरासत सरिनसकेको नयाँ पुस्ताका काँधमा जिम्मेवारी हस्तान्तरण गर्ने नै यतिबेलाको सर्वाधिक बुद्धिमत्तापूर्ण निर्णय हुनेछ ।
यसो हुन सकेन भने फेरि असफलता र असफलताको निरन्तरता हुँदै गर्दा विगतका गौरव गाथामा समेत ओझेल पर्नेछ । समयमा निर्णय लिन सकिएन भने विगतको सङ्घर्षको गाथा र त्यागका कथाहरू पनि मूल्यहीन हुने खतरा आइपर्नेछ । त्यो खतराको घण्टी नबज्दै सुधारको दिशामा अग्रसर हुनुपर्छ । मौका नचुकाउन जनआग्रह छ । यो भोलिका दिनमा अझ व्यापक बन्न सक्छ ।
पुरानो पुस्ता नोकरशाही र सामन्ती प्रवृत्तिको चँगुलमा छ र त्यहाँबाट निस्कने यत्न गर्नुपर्छ । अर्कोतिर कतिपय नेतृत्वको उमेर अवस्थाका कारणले हिजोका जस्तो क्रियाशीलता, हिम्मत र साहस प्राप्त नहुने अवस्था छ । यो बेला १८ घण्टा खट्नुपर्ने सङ्क्रमणको राजनीतिको व्यवस्थापन गर्ने अभियानमा हैन, आराम गर्ने र आफ्ना पाका अनुभवहरू युवापुस्तालाई नेतृत्वमा अगाडि बढाउने बेला पनि हो । यसो गर्न सक्दा मात्रै आजसम्मको योगदानको कदर गर्ने र बाँकी उपलब्धि संस्थागत गर्ने जिम्मा भावी पुस्तालाई सुम्पेको यशसमेत जानेछ । कदर प्राप्त गर्ने र यश पाउने अवसरलाई खेर जान नदिनु उपयुक्त हुन्छ ।