विचार/दृष्टिकोण |

लोकमाध्यमको बजार प्रभाव

डा.कुन्दन अर्याल

पुरानो समयमा पितृसत्ताले नै तिज पर्वको सुरुवात गरेको थियो भन्ने प्रष्ट आधारहरू छन । तर नेपाली समाजको सामाजिक–साँस्कृतिक जीवनको बदलिँंदो रुपसँगै तिजले पनि नयाँ परिचय हासिल गर्दै गएको छ । हिमालय राजकी छोरी पार्वतीले महादेवलाई वरका रुपमा पाउने उत्कट इच्छा गर्दै बसेको कठोर व्रत सफल भएको धार्मिक मिथक छ । एकातिर यस पर्वले पुरुष श्रेष्ठताको धार्मिक–साँस्कृृतिक जरा गहि-याएको छ । अर्कोतिर पुस्तौंदेखि यसलाई नेपाली महिलाहरूले हर्ष,उल्लास र एक हदसम्म उन्मुक्तिको पर्वका रुपमा मनाउँदै आएको बुझिन्छ ।

तिजको यो विरोधाभाषमा सबैभन्दा महत्वपूर्ण भूमिका गीत र संगीतले निर्वाह गर्दैै आएका छन् । तिजका गित लोकमाध्यमबाट आधुनिक र बजारमुखी आमसञ्चार माध्यममा रुपान्तरित हुँदै झनझन लोकप्रिय भइरहेका छन । फोनोग्रामदेखि रेडियो, टेलिभिजन र युट्ुवसम्म आइपुग्दा शहर बजारमा सुनिने चलनचल्तिका तिज अर्कै–अर्कै भइसकेका छन । यी गीतहरुबाट हिजोका शब्द, भाव र भङ्गीमा विलुप्त भइसकेका छन । गीत–संगीत, उल्लास, उमंग र फेसन नै तिजका परिचायक बन्न पुगेका छन । यस पर्वको आधुनिक संस्करण वजारवाद वा उपभोक्तावादी संस्कृतिसँग जानी वा नजानी एकाकार भइसकेको छ ।

विश्वमा आमासञ्चार माध्यमको उद्भव र विकासका सम्बन्धमा आधिकारिक जानकारी र ज्ञानसहित डेनिस मक्वाइलले रेकर्डेड म्युजिकको असंख्य मिडिया प्रतिविम्वका बारेमा सविस्तार बताएका छन । यी सञ्चारविद्ले रेकर्ड गरेर फेरिफेरि बजाउन मिल्ने गीत–संगीतलाई आमसञ्चारका रुपमा सामान्यतः फोनोग्रामको नामले बुझ्न सजिलो हुने राय दिएका छन ।

गीत–संगीतको रेकर्ड गरी पटक–पटक बजाउन सकिने प्रविधिको विकास विश्वमा उन्नाइसौं शताब्दीको उत्तरार्धतिरै भएको हो । नेपालमा राणा कालको अन्त्य र आधुनिकताको प्रारम्भसँगै विसौं शताब्दीको मध्यपछि गीत–संगीतको रेकर्डको सुरुवात भयो । त्यसपछिका वर्षहरुमा गीत, भजन वा श्लोकका रुपमा जनजनमा जीवित लोक माध्यम रेकर्डिङको प्रविधिका कारण आमसञ्चारको तहमा पुग्न थाले ।

समयक्रममा तिजका गीतहरुको लोकमाध्यम चरित्रमा पनि परिवर्तन हुन थाल्यो । त्यसबेलासम्म तामाङ सेलो, दोहोरी वा अन्य कतिपय लोक भाका समाजका दैनन्दिनका भोगाइको अभिव्यक्ति वा सुस्केरा अनुभूत गर्ने सकिने लोक माध्यम थिए । तिजका गीतहरु पनि त्यही प्रकृतिका थिए । ती गीतहरु सञ्चार र यातायातको अति पिछडिएको अवस्थामा श्रृजित लोक जीवनका अभिव्यक्ति थिए । एकचोटी विहे भएर गएपछि माइत फर्किनै गाह«ो हुने कठिन अवस्था भोग्न वाध्य नेपाली महिलाका भावना र भोगाइकोे अभिव्यक्ति थिए । तर रेकर्डेड गीत–संगीतको युगमा सुरु भएपछि तिजका गीतहरु पनि बजारका उत्पादन हुन पुगे । आजका मितिसम्म आइपुग्दा, नेपालमा तिज गायक वा संगीत व्यवसायीहरुका लागि वजार प्रवद्र्धन गर्ने सबैभन्दा उल्लेखनीय अवसर हो । तिजले कतिपय नवोदिन कलाकारहरुलाई बजारमा प्रस्तुत मात्र गर्दै आएको छैन, ग्ल्यामर र सफलता पनि दिलाएको छ ।

जर्मन दार्शनिक एडोर्नोको एउटा परिचय ‘म्युजिकोलोजिस्ट’ पनि हो । उनको आलोचनात्मक सिद्धान्तअनुसार व्यापक परिमाणमा उत्पादन हुने पप संस्कृतिको युगमा पुगेपछि लोक संस्कृतिका उपज यथार्थ अभिव्यक्तिभन्दा बढी बिक्रीको वस्तु बन्न पुग्दछन । नेपाली समाजमा तिजका गीतहरुले पनि यही स्वभाविक संक्रमणसँग साक्षात्कार गरेका छन । आजको डिजिटल युगमा समेत अभिव्यक्तिको सशक्त माध्यमका रुपममा यस चाडले आफ्नो विशिष्ट स्थान कायमै राख्न सक्नुको मूल कारण पनि यही हुनु पर्दछ । सञ्चार सिद्धान्तका प्रमुख परम्पराहरुमध्ये सामाजिक साँस्कृतिक परम्पराले सञ्चारलाई सामाजिक यथार्थको सिर्जना र पालना गराउने माध्यमका रुपमा व्याख्या गर्दछ । जसअनुसार मानिस जब बोल्दछ, ऊ संस्कृतिको उत्पादन वा पुनसउत्पादन गर्दछ । तिजका गीत–संगीत संस्कृतिको उत्पादन वा पुर्नउत्पादन हुन र ती गीतमा संरचनागत अवस्था झल्किने गरेका छन ।
समाजका यथार्थ शब्दमा प्रतिविम्वित हुन्छन भन्ने मान्ने हो भने तिजका गीतहरुमा पीडा, अनुभव र आकांक्षा झल्किएका देखिन्छन । तर लोकमाध्यमका रुपमा अभिव्यक्त हुने तिजका उहिलेका गीतको ठाउँ बजारमूखी, शहरमूखी वा व्यापारिक तिजका फोनोग्राम वा रेकर्डेड गीतमा परिणत भइसकेका हुन्छन । यसक्रममा शब्द र भावनामा व्यापक तोडमोड भइसकेको हुन्छ । एडोर्नोले त्यही प्रवृत्तिलाई नाफामुखी संस्कृति उधोगका रूपमा विश्लेषण गरेका छन ।

आमरुपमा राजधानी बहिरका टाढाटाढाका मानव वस्तिदेखि राजधानीसम्म तिज भनेको गीत र नृत्य नै बुझ्ने गरिएको छ । आधुनिक युगको सोच र चेतनासँग नसुहाउने यस पर्वका मिथकहरु एकातिर छन, गीत–संगीत र श्रृंगारका उल्लासमय पक्ष अर्कोतिर छ । तर अहिलको परिप्रेक्ष्यमा दोश्रो पक्ष व्यापक छ । त्यसैले यातायात र सञ्चार आजको जस्तो अवस्थामा नभएको समयदेखिको दुख सुखको अन्तरक्रिया र नाच गानसँग जोडिएको साँस्कृतिक पक्ष अहिले यस पर्वको मूल पहिचान हो ।

प्रसिद्ध अमेरिकी मानवशास्त्री एडवार्ड हलले सन् १९५० मै मौन भाषाको चर्चा गर्दै संस्कृतिलाई सञ्चारको संज्ञा दिएका थिए । संस्कृति र सञ्चारको अन्योन्याश्रित सम्बन्ध तिज र यसका गीतहरुले उजागर गर्दै आएका छन । हलले व्याख्या गरे झैं संस्कृतिका शब्दावली मानिसको सामाजिक कृया–प्रतिकृयामा अभिव्यक्त हुन्छन । गीत र नृत्यका रुपमा भावनाको अभिव्यक्तिको प्रसङ्गमा हलको प्राथमिक सन्देश प्रणालीको उदाहरण सटिक छ । उनले प्राथमिक सन्देश प्रणालीका रुपमा औंल्याएका दस किसिमका मानव कृयाकलापहरुमध्ये एउटा वाहेक सबै गैरभाषिक सञ्चार प्रकृया हुन । त्यसैले उनी संस्कृतिलाई सञ्चारको सशक्त माध्यम मान्दछन । वर्षौंदेखि नेपाली समाजमा प्रचलित तिजको संस्कृति गीत–संगीतका कारण आज प्रभावकारी आमसञ्चारको तहमा स्थापित भइसकेकोछ ।

मक्वाइलको विचारमा संगीतको सामाजिक महत्वका बारेमा असङ्गठित वा अव्यवस्थित रुपमा मात्र ध्यान दिइने गरेको छ । तर उनी सामाजिक घटना परिघटनासँग संगीतको अन्तरसम्बन्धलाई भने सधैं महत्व प्रदान गरिएको मात्र होइन कतिपय अवस्थामा गीत संगीतसँग सरकारहरु भयवित भएको समेत देख्दछन् । उनी आमसञ्चारसम्बन्धी सैद्धान्तिक अध्ययन र अनुसन्धानमा संगीतलाई आमसञ्चार माध्यमका रुपमा त्यति ध्यान दिइएको पाइँदैन भन्ने ठान्दछन । तर गायन कार्यक्रम, कन्सर्ट वा गाउँ वस्तीमा गाउँदै हिंँड्ने अभियान होस वा रेकर्डेड संगीत बजाउने फोनोग्राम होस संगीतले आममानिसलाई सम्बोधन गर्न सक्दछ भन्ने उनको धारणा छ । रेकर्डेड संगीत वा फोनोग्रामजस्तो संगठित माध्यमले आधुनिक युगमा टाढा टाढासम्म तत्कालै लाखौं मानिसको हृदय स्पर्श गर्न सक्दछ । चाहेको वखत सुन्न सकिने फोनोग्राम–संगीत वा युट्ुव होस अथवा प्रत्यक्ष सुन्न सकिने लोक माध्यमका रुपमा होस गीत–संगीतको सामाजिक प्रभाव बढ्दो छ ।

विश्वको पहिलो किसिमको आमसञ्चार माध्यम पुस्तक र पर्चाजस्तै लोकप्रिय माध्यमका रुपमा गीत–संगीतले प्रभावकारी रुपमा सन्देश प्रवाह गर्न सक्ने क्षमता प्रर्दशन गर्दै आएको छ । नेपालको सन्दर्भमा राजनीतिक जागरणका उद्देश्यले प्रचारित अन्य गितहरुसँगै तिजका गीतहरुसमेत छयालीस सालको आन्दोलन अघि प्रतिवन्धित थिए । पञ्चायत कालमा लोक माध्यमका रूपमा तिजका गीत–संगीतको प्रभावकारिताकै कारण राजनीतिक, सामाजिक जागरणका लागि जागरुक कलाकारहरु यसतर्फ आकर्षित हुन्थे । त्यसबेला लोकतन्त्र र सामाजिक न्यायको ध्येयको प्रसारका लागि तिजका गीतहरुको व्यापक प्रयोग हुने गरेको थियो । तिजका गीतहरुलाई त्यो बेला समग्र लोकतन्त्र र महिला–पुरुष समानताको लक्ष्यका लागि समेत उपयोग गरिएको थियो ।

गाउँघरमा सुनिने तिजका पुराना गीत लोकमाध्यम थिए । स्वभाविक रुपमा आज मूलतः मुनाफाका लागि बनाइएका र रेकर्ड गरिएका तिज गीतका शब्द र त्यो बेलाका भन्दा पृथक छन । तर नेपाली समाजको परम्परागत लोकमाध्यमले आधुनिक आमसञ्चारको काँचुली धारण गरिसकेको युगमा यस्तो परिवर्तन अस्वभाविक होइन । त्यसैले आजका तिजका गीतहरु पुराना संस्कृतिका प्रतिध्वनी होइनन । बरु यी गीतहरुले उत्सव, उमंगको नयाँ संस्कृति निर्माण गरिरहेका छन ।