सिक्काका दुई पाटा
विमल भौकाजी
बीपी कोइराला एउटै व्यक्तिमा दुइटा व्यक्तित्व भएको असाधारण प्रतिभा हुनुहुन्थ्यो । गहिरिएर हेर्दा उहाँको राजनीति र साहित्यमा कुन व्यक्तित्वले जित्ला ? यसतर्फ खास बहस भएको पाइँदैन । त्यसो त साहित्य र राजनीतिमा पृथक् व्यक्तित्वको उपस्थिति भए पनि ती दुई व्यक्तित्वमा तुलना गर्न सकिने ठाउँ नै छोडिदिनुभएको छैन उहाँले । उहाँको स्पष्ट मान्यता थियो, “साहित्य मृत्युञ्जय हुन्छ भने राजनीति समयको अपरिहार्यता मात्रै ।” राजनीतिलाई इतिहाससँग जोडेर पनि उहाँले भन्नुभएको छ, “राजनीतिमा मानिसको स्मरणशक्ति क्षणिक हुन्छ । शीघ्रताका साथ राजनीतिक दृश्य बदलिँदै जान्छन्, नयाँ परिस्थिति र नयाँ समस्याले मानिसको ध्यान नयाँ कुरापट्टि आकर्षित गरिरहन्छन् र अघिल्ला समस्या छिट्छिटै बिर्सिंदै जान्छन् तर इतिहासले भने सबैको सन्तुलित लेखाजोखा राख्छ, त्यसको स्मरणशक्ति लामो हुन्छ ।”
उहाँको स्पष्ट दर्शन थियो, “राजनीतिमा सानो मानिसलाई पनि पोसाक चाहिन्छ तर साहित्यमा भने सम्राट् पनि निर्वस्त्र हुन्छ ।” यस्तो किन पनि भन्छन् भने कला र राजनीतिमा प्रस्ट अन्तरविरोध छ भन्ने उहाँ मान्यता राख्नुहुन्थ्यो । उहाँको स्वीकारोक्ति थियो, यी दुईबीचको अन्तरविरोधबाट डोरिँदै जीवनलाई दुवै पक्षबाट बुझ्ने प्रयास गरिरहेको छु । उहाँले “राजनीति नियमसम्मत हुन्छ तर कला÷साहित्य भने ठीक विपरीत आदर्श प्रेरणाले परिचालित विधा हुन्” भनेर अलग रूपमा हेर्नुभएको थियो । उपर्युक्त आधारमा बीपीको दुवै व्यक्तित्वलाई एकै ठाउँ राखेर कसी लाउन सकिन्न । उहाँमा दुवै पाटो एकदमै फरक छ । कुनै पनि कोणबाट एकआपसमा मिल्दैनन् । राजनीतिक क्षेत्रमा उहाँको छुट्टै दृष्टिकोण थियो, ‘समाजवाद’को सन्दर्भ । हाम्रोजस्तो आर्थिक विपन्नताबाट गुज्रिरहेको विकासोन्मुख देशमा तत्कालीन समय सुहाउँदो प्रत्येक परिवारका लागि कमसेकम ‘एउटा बस्ने घर, एक हल गोरु र एउटा दुहुनो गाई’को राजनीतिक लक्ष्य उहाँले राख्नुभएको थियो । राष्ट्रियताको सन्दर्भमा उहाँको विचार थियो, “जब–जब राष्ट्रियताका बारेमा तपाईंलाईं द्विविधा हुन्छ, त्यस्तो बेलामा एकमुठी माटो उठाएर त्यसलाई सोध्नुहोस् र त्यसले के भन्छ ? त्यो सुनेर निर्णय लिनुहोस् !”
अर्कोतर्फ साहित्यमा उहाँको धार नितान्त बेग्लै प्रकारको थियो । साहित्यलाई ‘अराजक’ मान्ने उहाँ “कला सुरक्षा चाहँदैन, स्वतन्त्रता चाहन्छ । उसलाई हिँडिसकेको बाटोमा खुट्टा हाल्न मन लाग्दैन, आफूले हिँड्ने बाटो आफैँ बनाउन चाहन्छ” भन्नुहुन्थ्यो । उहाँ लेखनमा
‘शील्प’लाई सर्वोपरि मान्नुहुन्थ्यो भने साहित्यकारको व्यक्तिवादी र उच्छृङ्खलतापूर्ण अन्तरचेतनालाई सामूहिक चेतनामा उतार्नुपर्ने विचार राख्नुहुन्थ्यो । त्यो काम शिल्पले गर्छ, विधाले गर्छ । शिल्पको प्रयोजन वा विधाको अनुशासनका कारण कलाकार आफ्नो मौलिक अनुभूतिलाई निजी नराखेर सार्वजनिक हुने हिसाबले अभिव्यक्त गर्न नयाँ–नयाँ प्रयोग गर्न सक्छ, भन्नुहुन्थ्यो । त्यसैले उहाँले साहित्यिक लेखनमा राजनीतिको गन्धसम्म पनि पस्न दिनुभएन । उहाँले जीवनभर राजनीतिक कर्म गरेर हिँड्नुभयो तर जिन्दगीभर राजनीतिबाट चलेको मन–मस्तिष्कले कहीँ–कतै राजनीति नलेख्नु अनौठो त छँदै छ, त्यसमाथि स्मरणीय कुरो के छ भने उहाँको साहित्य विशेषतः एउटा निश्चित सूक्ष्म विश्लेषणको वरिपरि घुमेको देखिन्छ । त्यो हो– यौन मनोविश्लेषण । अधिकांश सिर्जनामा यौन मनोविज्ञान सर्वोपरि भएर आउनु उहाँको लेखनको महत्त्वपूर्ण
विशेषता हो ।
यौनको सन्दर्भ आउनासाथ जहाँ–जहिले पनि अश्लीलता जोडिएर आउँछ भन्ने सोच्ने गरिन्छ तर बीपीको साहित्यमा अश्लीलता भेटिँदैन, श्लील यौन–लेखन मात्र भेटिन्छ । उहाँका प्रायः उपन्यासहरू खास गरेर ‘सुम्निमा’ वा ‘बाबु, आमा र छोरा’लगायतमा यौनविश्लेषणको खुराक भरपूर पाइन्छ । ‘दोषी चश्मा’, ‘शत्रु’लगायतका कथामा मनोविश्लेषणात्मक धार बढी तेज भएर आएको छ । स्मरणीय छ, उपन्यास वा कथाका अतिरिक्त बीपीले कविता पनि लेख्नुभयो । उहाँको डायरीमा लेखिएका खास गरेर अङ्ग्रेजी भाषाका कविताहरू आज पनि सुरक्षित छन् । बीपी निकै सुझबुझ भएको राजनीतिज्ञ हुनुहुन्थ्यो । राजनीतिक कर्म उहाँका लागि कुनै हालतमा अमान्य हुन सक्दैनथ्यो । उहाँकै धारणामा परिवारको विरासतमा पाएको सर्वजित दाबी थियो, त्यो उहाँमाथिको । स्वयम् उहाँको स्वीकारोक्ति थियो, “म शायद राजनीतिक नियति लिएर जन्मिएको थिएँ ।... राजनीति यस्तो पेसा होइन, जसबाट उमेर पुगेपछि मानिसले अवकाश ग्रहण गर्छ । यो त एक प्रकारको अदम्य आह्वान हो, जसलाई हृदयभित्रबाट सुनेर मानिस त्यसको पछि लाग्छ । कमसेकम मलाई त्यस्तै भएको छ । यसबाट छुटकारा छैन ।”
यस्ता व्यक्तिमा साहित्यको भूत चढ्नुको रहस्य के होला ? प्रायशः दुई ध्रुवीय विषय; राजनीतिज्ञ र साहित्य एकै स्थानमा रहन नसक्ने तथ्यको अपवाद भएर देखापरेका बीपीको स्वीकारोक्ति थियो, “म साहित्यद्वारा राजनीतिक जीवनको कटुता र निरसतालाई केही हदसम्म पन्छाउने कोशिश गर्दछु । यो मेरो मन बहलाउने माध्यम पनि हो । यस्तो माध्यम जसद्वारा मानसिक र मनोवैज्ञानिक सन्तुलन कायम राख्न सकिन्छ ।” उहाँको यो भनाइको मर्मलाई केलाएर हेर्ने हो भने प्रस्ट हुन्छ कि उहाँको जीवनलाई वास्तवमै राजनीतिले कहिल्यै छोडेन । जेल जीवनबाट त उहाँले छुट्टी पाउँदै जानुहुन्थ्यो तर राजनीतिबाट उहाँले कहिल्यै छुट्टी पाउनुभएन । ‘आफ्नो कथा’मा उहाँले लेख्नुभएको छ, “साहित्यमा मेरो प्रगति हुन सकेन । होनहार बालकको विकास हुन नसकेको शैशवावस्थाजस्तो ।” तर उहाँले यसो भने पनि दुनियाँले उहाँको साहित्यिक लेखनको पाटोको परख गरेको छ । उहाँको लेखनीले नेपाली साहित्यमा स्थापना गरेको विशिष्ट धारलाई कसैले आँक्न सक्ने अवस्था देखिएको छैन ।
लामो समयको निर्वासनपछि ०३३ सालको पुस महिनामा ‘राष्ट्रिय मेलमिलाप नीति’को नीति अघि सारेर बीपी कोइराला स्वदेश फर्किनुभयो । तत्कालीन सरकारद्वारा झुठा आरोपका अनेक मुद्दा चलाइएको अवस्थामा ठूलो जोखिम मोलेर उहाँ आउनुभएको थियो । उहाँलाई मृत्युदण्ड दिइने हल्लासमेत व्यापक थियो । गणेशमान सिंहले यस विषयलाई लिएर खबरदारी नै गर्नुभएको थियो तर त्यसको कुनै पर्वाह नगरी आफ्ना शुभचिन्तक–साथीहरूको सरसल्लाह–सुझावलाई अटेर/बेवास्ता गर्दै उहाँ लामो निर्वासन त्यागेर ठूलो हिम्मतका साथ फर्किनुभयो । वास्तवमै त्यसबेलाको विपरीत परिस्थितिमा उहाँको आगमनले देशभित्र ठूलो हलचल ल्याएको थियो । देश प्रवेशसँगै धेरै समयसम्म बीपीमाथिका राजनीतिक मुद्दामा धेरै बहस भए । अन्ततः तत्कालीन राष्ट्रप्रमुखबाट उहाँलाई आममाफीको घोषणा भएलगत्तै देशमा जनमतसङ्ग्रहको घोषणा भयो । घोषणाअनुसार निर्वाचन पनि भयो तर निर्वाचनको परिणाम अकल्पनीय थियो । बहुदलवादीले निर्वाचन गराउने तत्कालीन सत्तामाथि धाँधली गरेको आरोप लगाए । त्यस्तो अप्रत्यासित परिणामको सन्दर्भमा सत्तापक्षसँग बीपीको पनि कतिपय विमति रह्यो तर पनि उहाँले त्यसलाई सहजतापूर्वक स्वीकार्नुभयो । उहाँको त्यो केवल विनम्रता थियो कि राजनीतिक सहजीकरण ? यस सम्बन्धमा हुनुपर्ने जति बहस भएको छैन । अन्त्यमा, बीपी व्यक्ति एकमा जुन दुई व्यक्तित्व निहित छ, उहाँप्रति एकै पङ्क्तिमा चिन्तक प्रदीप गिरीको ठम्याइ छ, “समाजले आफ्नो भौतिक र भावात्मक खाँचोअनुसार नायकको सिर्जना गर्दछ । बीपी नेपाली समाजका आजसम्मका महानायकमध्येका एक हुनुहुन्छ ।”