बीपी–गणेशमान सम्बन्धका चार दशक
शेषकान्त पण्डित
नेपाली राजनीतिका शिखर पुरुष बीपी कोइरालाको १०८औैँ जन्मजयन्ती (भदौ २४) मनाइएको अर्को साता नेपाली राजनीतिमा लौहपुरुष, सर्वमान्य नेता गणेशमान सिंहको स्मृति दिवस (असोज २मा) परेको छ । गणेशमान र बीपीले सिङ्गो जीवन नै नेपालको प्रजातान्त्रिक आन्दोलनमा समर्पित गर्नुभयो । उहाँ दुवैलाई प्रत्यक्ष रूपमा देख्ने, सुन्ने र भेट्ने पुस्ता बिस्तारै कम हुँदै गए पनि उहाँहरूको योगदान, भूमिकाको खोजी र त्यसप्रति गौरव गर्ने पुस्ता भने बढ्दो छ । यस आलेखमा नेपाली राजनीतिका यी दुई शिखर पुरुषको राजनीतिक जीवनका सम्बन्ध र आयाम केलाउने प्रयास गरिएको छ ।
बीपी र गणेशमान दुवै फरक पृष्ठभूमिबाट राजनीतिमा उदाउनुभएको हो । काठमाडौँको सम्भ्रान्त परिवारमा गणेशमानजी र विराटनगरमा राजनीतिक रूपमा सचेत मध्यमवर्गीय परिवारमा बीपी हुर्कनुभएको थियो । नेपालमा राणाशासनको अन्त्य दुवै नेताको मुख्य उद्देश्य भए पनि यसका लागि उहाँहरू फरक क्षेत्रबाट क्रियाशील हुनुहुन्थ्यो । राणाविरोधी पर्चा छरेको अभियोगमा गणेशमानजी १९९७ साल कात्तिक २ गते आफ्नै घरबाट गिरफ्तार हुनुभएको थियो । त्यसपछि विशेष अदालतबाट सोही सालको माघ ६ गते गणेशमानजीले सर्वस्वसहित जन्मकैदको सजाय पाउनुभयो र भद्रगोल कारागारमा पुग्नुभयो । यति नै बेला बीपी कोइराला भने भारतीय स्वतन्त्रताको आन्दोलनमा भारतको जेलमा हुनुहुन्थ्यो ।
हिम्मत र साहसका पर्याय नै मानिनुहुने गणेशमानजीले २००१ असार १ गते राति अग्लो भद्रगोलको पर्खाल तोडिदिएपछि राजनीतिक चर्चाले शिखर चुमेको थियो । सर्वस्वसहित जन्मकैदको सजाय पाएका उहाँ चार वर्ष पनि पूरा नहुँदै राणाको कालकोठरीबाट उम्कन सफल हुनुभयो । त्यसपछि लुकेर भारत पुग्नुभएका सिंहको बीपीसित २००३ सालको कात्तिकमा भेट भएपछि बल्ल नेपाली राष्ट्रिय काँग्रेसको स्थापना भयो । भारत पुग्नुभएका सिंहलाई उनका मित्र देवशङ्कर लालले बीपीलाई भेट्न जान सल्लाह दिँदा आफ्नो अपमान गरेको भनेर झपार्नु भएछ । बीपीभन्दा आफू बढी क्रान्तिकारी भएको भन्दै गणेशमानजीले बीपीलाई भेट्न सुरुमा अस्वीकार गर्नुभयो तर पार्टी स्थापनाको सिलसिलामा भेट भएपछि भने बीपीको व्यक्तित्वले आफू प्रभावित भएको सिंहले जीवनभर बताइरहनुभयो । वि.सं. २००३ माघ १२ र १३ गते कोलकाताको खालसा हाइस्कुलमा सम्पन्न नेपाली राष्ट्रिय काँग्रेसको सम्मेलनमा गणेशमानजी कृष्णबहादुर प्रधानको नामबाट सहभागी हुनुभएको थियो । यतिबेलासम्म भारतमा समेत गणेशमानजीको परिचय सार्वजनिक भइसकेको थिएन । सम्मेलनमा गणेशमानजीकै प्रस्ताव र अडानका कारण तत्कालीन समयमा काठमाडौँको कारागारमा रहेका टङ्कप्रसाद आचार्यलाई सभापति र बीपीलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको थियो ।
राणा शासनकालमा राणाबाहेक अन्य सर्वसाधारण मानिसलाई आदरार्थी शब्दको प्रयोगसमेत गर्न वञ्चित थियो तर राणाशासन अन्य हुनुअघि नै काठमाडौँको मुख्य सडकमा वीर गणेशमान जिन्दावाद भन्ने नारा लाग्न थालिसकेको थियो । राणा शासनकाल प्रत्यक्ष देखे–भोगेका गणेशमानजी राणाप्रति कहिल्यै उदार देखिनुभएन । प्रजातन्त्र पुनस्र्थापनापछि मोहनशमशेर नेतृत्वको सरकारमा काँग्रेसबाट बीपीको नेतृत्वमा गणेशमानजी पनि मन्त्रिमण्डलमा सहभागी त हुनुभयो तर राणाहरूप्रति उदार हुनुभएन । गणेशमानजीलाई तपाईं भन्नुपर्ने भएकोले मोहनशमशेर गणेशमानजीसित सधैँ अङ्ग्रेजीमा कुराकानी गर्दा रहेछन् । गणेशमानजी भने मोहनशमशेरलाई पटकपटक तपाईं भनेर उडाउने गर्नुहुँदो रहेछ ।
वि.सं. २०१२ को वीरगञ्जमा सम्पन्न काँग्रेसको छैटौँ अधिवेशनमा बीपीले सभापतिमा उम्मेदवार नहुने घोषणा गर्नुभयो । यसपछि सभापतिमा सुवर्णशमशेर र गणेशमानजीबीच स्पर्धा हुने भयो । राजा, दरबारसित सन्तुलित सम्बन्ध बनाएर आमनिर्वाचनमा जानुपर्ने रणनीतिलाई कार्यान्वयन गर्न सुवर्ण शमशेरलाई सभापति बनाउँदा उपयुक्त हुने विश्लेषण थियो बीपीको । पार्टीको निर्वाचनको विषयमा गणेशमानजीले फरक अडान लिनुभयो । भर्खर प्रजातन्त्रको मुना पलाएका बेला पुनः राणालाई काँग्रेसको नेतृत्व दिँदा प्रजातन्त्र स्थापना भएको सन्देश नै जनतामा जान सक्दैन भन्ने अडान थियो उहाँको । बीपीले खुलेरै सुवर्णजीको पक्ष लिनुभयो । बीपीले कार्यकर्तालाई ‘निर्वाचन सुवर्णजीले जित्नुपर्ने तर गणेशमानजीले हार्न नहुने’ भन्ने आन्तरिक सर्कुलर गर्नुभएछ । कार्यकर्ताले बीपीको भावनाअनुसार नै मतदान गरे, सुवर्णजी सभापतिमा विजयी हुनुभयो । निर्वाचनमा कतिसम्म भएछ भने बीपीको परिवारका सदस्यले समेत सुवर्णजी र गणेशमानजीलाई मिलाएर मत दिनुभएको रहेछ । काँग्रेसका नेता प्रदीप गिरीका अनुसार नोना कोइरालाले गणेशमानजी र गिरिजाबाबुले सुवर्णजीलाई मत दिनुभएको रहेछ । चुनाव सुवर्णजीले जित्नुभयो ।
बीपी २०१६ सालमा जननिर्वाचित सरकारको प्रधानमन्त्री हुनुभयो । सरकार र पार्टी दुवैको नेतृत्व गर्नुुभयो बीपीले तर गणेशमानजीलाई काँग्रेस र सरकार दुवैको नेतृत्वमा पुग्ने साइत जुरेन । २०१६ सालको संसदीय आमनिर्वाचनपछि संसदीय दलको नेता चयनका लागि सुवर्णजीको निवासमा बसेको बैठकमा गणेशमानजीले नै बीपीलाई संसदीय दलको प्रस्ताव गरेर प्रधानमन्त्री बन्ने बाटो खोलिदिनुभयो । उपप्रधानमन्त्री सुवर्णजी हुनुहुन्छ भनिदिनुभयो । आफूले प्रधानमन्त्रीमा दाबी नै गर्नुभएन । उहाँ मन्त्री भएर सरकारमा जानुभयो ।
राजा महेन्द्रले राजनीतिक ‘कु’ गर्दैछन् भन्ने सुइँको पाएपछि २०१७ साल पुस १ गतेभन्दा दुई दिनपहिले सुवर्णजी बीपीसित अनुमति लिएर कोलकाता उड्नुभयो । बीपी र गणेशमानजीले नै सुवर्णजीलाई विमानस्थलमा बिदाइ गरेर फर्कनुभएको हो । बीपीमा कतिसम्म उच्च राजनीतिक संस्कार थियो भने उहाँ आफ्नो सरकारको उपप्रधानमन्त्रीलाई बिदाइ गर्न पनि विमानस्थल पुग्नुहुन्थ्यो । बीपी र गणेशमान सिंहलगायतका नेताहरू सत्र सालको कुपछि सुन्दरीजलको बन्दीगृहमा आठ वर्षसँगै बन्दी जीवन बिताउनुभयो । बन्दी जीवनबाट छुट्दा पनि बीपी र गणेशमानजी २०२५ साल कात्तिक १४ गते साँझ एकै पटक छुट्नुभयो ।
सुन्दरीजलबाट छुटेर चाबहिलस्थित आफ्नो निवासमा आएलगत्तै बीपीले सुवर्णजीले दिएको वक्तव्यमा समर्थन जनाउनुभयो तर गणेशमानजीले तत्कालै सुवर्णजीको कदममा समर्थन जनाउनुभएन । राजासित झुकेको सन्देश जान हुँदैन भन्ने मान्यता थियो गणेशमानजीको । बन्दी जीवनबाट रिहा भएपछि बीपी स्वास्थ्य उपचारका लागि विदेशतिर लाग्नुभयो तर गणेशमानजी पार्टीको सङ्गठन निर्माणका लागि विभिन्न जिल्लामा पुग्नुभयो । गणेशमानजी देशभित्रै रहेर क्रान्ति गर्ने पक्षमा हुनुहुन्थ्यो तर नेपालको परिस्थिति गणेशमानजीले सोचेजस्तो अनुकूल थिएन । पछि बीपीको आग्रहमा गणेशमानजीसमेत निर्वासनमा जानुभयो । निर्वासित जीवन परित्याग गरेर २०३३ सालमा स्वदेश फर्कने बीपीको निर्णयमा पनि गणेशमानजीले असहमति जनाउनुभएको थियो । बीपीले गोरखपुरमा पार्टी सङ्गठनको कार्यमा क्रियाशील रहेका सहयोद्धा सिंहलाई बोलाएर आफ्नो निर्णय सुनाउनुभएको थियो । सुरुमा त गणेशमानजी बीपीसित स्वदेश फर्कने पक्षमा हुनुहुँदैनथ्यो तर पछि उहाँ बीपीसित स्वदेशमा आउन राजी हुनुभयो, आउनुभयो । यस सम्बन्धमा गणेशमानजीले भन्नुभएको छ, “बीपीले स्वदेश फर्कने निर्णय लिँदा परिस्थिति प्रतिकूल थियो । पार्टीभित्रै स्वदेश फर्कने कुराको समर्थन गर्नेहरूको सङ्ख्या पनि साहै्र थोरै थियो । तैपनि बीपीले निर्णय लिनुभयो । मैले आफूलाई चित्त नबुझे पनि नेताको निर्णय मान्नुपर्छ भनेर उहाँसँगै स्वदेश फर्कन तयार भएँ ।”
बीपीलाई धेरै नेताले साथ छोडे । डा. तुलसी गिरी, विश्वबन्धु थापा, श्रीभद्र शर्मा, परशुनारायण चौधरीले साथ छोडे तर गणेशमानजीसँगै रहनुभयो । मतभिन्नतालाई उहाँहरूले सधैँ सीमाभित्रै राख्नुभयो । जनमत सङ्ग्रहको उपयोग र मतपरिणामका विषयमा पनि गणेशमानजी र बीपीको बीचमा एकमत कायम हुन सकेन । बीपीले जस्तोसुकै अपत्यारिलो भए पनि निर्वाचन परिणामलाई स्वीकार गरिने अभिव्यक्ति दिनुभयो । गणेशमानजीले निर्वाचनमा चरम धाँधली गरिएकाले यसलाई अस्वीकार गरिने, मतपरिणामको छानबिन हुनुपर्ने र अन्तरिम सरकारको गठन हुनुपर्ने माग अघि सार्नुभएको थियो । निर्णय भने बीपी नै निर्वाचनमा गएपछि मतपरिणाम स्वीकार गर्नुपर्छ भन्नुभयो । प्रजातन्त्र पुनस्र्थापनापछि राजा वीरेन्द्रले प्रधानमन्त्री प्रस्ताव गरी किशुनजी (कृष्णप्रसाद भट्टराई)लाई बनाउनुभयो ।
बीपीले डा. तुलसी गिरीलगायतका नेतालाई धेरै प्राथमिकता दिएको गणेशमानजीलाई मन परेको थिएन । “कोइरालाजीले यी डाक्टर (तुलसी गिरी)लाई कहाँबाट खोजेर ल्याउनुभएको हो, यिनले कहाँ पु¥याएर धोका दिने हुन्, टुङ्गो छैन” भनेर गणेशमानजीले बीपीलाई धेरै पटक भन्नुभएको रहेछ तर बीपीले यसमा ध्यान नै दिनुभएन । बीपीले गणेशमानजीलाई नेतृत्वमा स्थापित गर्न खासै पहल गर्नुभएन । जबकि गणेशमानजी बीपीलाई पार्टी र सरकारको दुवै नेतृत्वमा पुग्न मुख्य सहयात्री बन्नुभयो । चार दशक सहयात्राका कतिपय राजनीतिक मुद्दामा फरक मत रहे पनि गणेशमानजीले बीपीप्रति कहिल्यै नकारात्मक टिप्पणी गर्नुभएन । सुवर्णजीसँग सभापतिमा हारेका बेलामा भने गणेशमानजी धेरै असन्तुष्ट हुनुभयो तर त्यो असन्तुष्टि लामो समय रहेन ।
बीपीले गणेशमानजीको क्रान्तिकारी व्यक्तित्व, त्याग र निष्ठाको सधैँ सम्मान गर्नुभयो । बीपी भने “गणेशमानजी कतिपय विषयमा फरक मत राख्नुहुन्छ तर छलफलपछि सहमतिमा आउनुहुन्छ” भन्ने मान्यता राख्नुहुन्थ्यो । बीपीको अवधिभर काँग्रेस उहाँकै वरिपरि घुम्यो । बीपीको निधनपछि गणेशमानजीकै आह्वानमा ०४६ सालको आन्दोलन सफल भयो ।