संस्कारविहीन राजनीतिक प्रवृत्ति
डा. पुरुषोत्तम मरहठ्ठा
‘उठ, जाग, लक्ष्य प्राप्त नभएसम्म नसुत’ भनेर कठोपनिषदले भनेको कुरा महाभारतको उद्योग पर्वले पनि उठ्नुपर्छ, जाग्नुपर्छ र कल्याणमय कार्यमा लागिरहनुपर्छ भनेर सिकाएको छ । गीताले त कर्मबिना शरीर निर्वाह नै हुन सक्दैन भनेको छ । यसले के देखाएको छ भने मानिसको शरीरको निर्वाहका लागि कर्म नगरी नहुने रहेछ । सबको हितका लागि मानिसले परिश्रमपूर्वक कर्म गर्नुपर्ने गीताको सार रहेको छ । प्रशस्तीको आश गर्नेले यो समाजमा केही गर्न सक्दैन । नेपालमा अहिले राजनीतिक दलका ठूला नेताहरूमा प्रशस्तीको आकाङ्क्षा चुलिएको छ । साधारण कार्यकर्ता तिनैको आदेश तामेली गर्दैछन् । अर्ती दिनेले आदेश शिरोपर नगर्नेलाई खेलाएर सिध्याउने परम्परा बसेको यस समाजमा दुर्भाग्यवश निकै लामो समयदेखि निर्वाचित प्रतिनिधिको नेतृत्व गर्ने पार्टीमा पनि पकड भएको नेताकै मात्र हालीमुहाली चलेको छ । कतिपय निर्वाचित सांसदहरू आफ्नो कार्यकाललाई अन्तिम क्षणको रूपमा बिताउन बाध्य छन् । राजनीतिमा मर्यादाले सीमा नाघ्न पुग्दा विधि मिच्ने परम्पराले हरक्षेत्र ध्वस्त बन्न पुगेको छ ।
जालझेल र षाडगुण्यको राजनीतिबाट प्रभावित भएर सदैव उपयोग गर्ने र गलत कदम चाल्न पुरानो मेकियाभेली शैली र चाणक्य नीतिलाई सूत्रबद्ध गर्न खोज्छन् । हरेक पार्टीभित्र असन्तोषको ज्वारभाटाले विद्रोहको स्थिति आउनुमा नेतृत्व पङ्क्तिमा देखिएको निरङ्कुश शैली नै हो । क्रान्तिकारी धारको रूपमा संसद्को सबैभन्दा ठूलो दल एमाले पार्टीभित्रको अन्तरविरोध समाधान गर्न नसकेपछि विधिवत रूपमा विभाजित भई नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बन्न पुग्दा अब त्यो पार्टीले मूल पार्टीको अथाह सम्पत्तिमा दाबी गर्न पाउने कि नपाउने ? धनाढ्य पार्टीले आफ्नो आयको हिस्सा कोभिड–१९ ले ग्रसित नागरिकमा समर्पण गर्न सक्यो भने त्योजस्तो परोपकारी कार्य राजनीतिक दलका लागि अरू के नै हुन्छ । मुलुकको स्वार्थ र विकासमा धनाढ्य पार्टीले कोभिड–१९ महामारीमा मौज्दात खुला गरिदिएर जनताबाट स्यावासी लिने यही समय हो ।
पार्टीका नेता शक्तिशाली बन्दै गएको अवस्थामा जनताको प्रतिनिधित्व गर्ने सांसदहरू चाहिँ यति कमजोर बन्दै जानुको संयोग के होला ? बोलीको खेती गर्नेले भीडलाई मज्जैले हसाउन त सक्छ तर आफ्नै सहयोगीलाई यति तल्लोस्तरमा उत्रिएर गालीगलौज र आरोप–प्रत्यारोप गर्नु भनेको राजनीतिक संस्कार पटक्कै नहुनु हो । आफ्नै सहकर्मीप्रति भ्याकुरो खेदाइ हुनु लोकतन्त्रको सुन्दर पक्ष होइन । जुन बखत गालीगलौज गर्नेलाई आफ्नो गल्ती महसुस हुन्छ, त्यस्ता नेताप्रति सही सदीक्षा कसैको रहन्न । पार्टीलाई धारिलो बनाउनुपर्नेमा एकले अर्कोलाई सिध्याउने रणनीतिमा नेतृत्व पङ्क्ति लाग्दा हरेक दल भद्रगोल र बेथितिमा पुगेका छन् । आफैँ रेती र करौँती बन्दै जथाभावी मुख छाड्ने नेताकै कारण पार्टीमा नेताहरू सत्ता गुमेपछि बिलखबन्दमा परेका छन् । गुटगत प्रभाव र दबाब देखाउँदै आएका यस्ता नेतामा संस्कारभन्दा अहंकार धेरै देखिन थालेको छ । दलभित्र हरेक पार्टीमा विग्रह देखिएको छ । झन् त्यसमा ७० काटेका नेताहरूको वर्चस्व अधिक रहेको छ । उनीहरूमा सत्ता हस्तान्तरण गर्न कुनै रुचि छैन । युवापुस्ता गणेश प्रवृत्तिमै चुप छन् । लामो यात्रापछि क¥याङकुरुङले पनि विश्राम लिन्छन् । अपशोच हाम्रा दलका नेताहरू विश्राम होइन, सत्तामोहमै लिप्त छन् । सत्तामा त्यस्तो आकर्षण के रहेको छ, जसलाई उनीहरू छोड्न नै चाहँदैनन् ? सत्ताकै कारण एक वरिष्ठ नेता अर्को वरिष्ठलाई देख्न सक्दैनन् ? मौका र स्वार्थ मिल्दा मोर्चाबन्दी गरेर बस्नसमेत तयार हुन्छन् ।
रक्षात्मक अवस्थामा रहेर प्रतिपक्षमा बस्ने नेपाली काँग्रेसलाई हालका दिनमा सत्ताको नेतृत्व लिने जिम्मेवारी आएको छ । एमालेमै दुई चीरा बन्नु र माओवादीसँगको एकता अदालतको निर्णयपछि टुटेको स्थितिमा दुईतिहाईको दम्भ चकनाचुर बन्दै गएको अवस्थामा विगतलाई स्वर्णकाल सम्झनुबाहेक अब एमालेका लागि अर्को स्थिति देखिँदैन । पार्टीलाई सक्रिय बनाउनका लागि राजनीतिक दृष्टिकोण र सङ्गठनात्मक कौशलता अहिलेको आवश्यकता हो । चप्पल र सेतो धोतीमा रहने पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता वनर्जीलाई देख्ने नेपालीले कुनै समय दिनैपिच्छे कोट फेर्ने प्रधानमन्त्री पाउँदा खुसी हुनु स्वाभाविक नै हो । कोरोना महामारीमा विश्वलाई चकित पार्ने अदुवा, लसुन र बेसारको चमत्कार देखाउनेसँग गायत्रीको २४ अक्षरमा ज्ञान–विज्ञानको महान् भण्डार र आफूलाई महान् ज्ञाता देखाउने दम्भको भकारी नै छ । गाली पुराणमा आफ्नै सहयात्रीसमेतलाई बाँकी नराख्ने दलका नेताको हर्कत देख्दा लोकतन्त्रको कस्तो संस्कृति विकास हुन लाग्यो भन्ने आश्चर्यको विषय बन्न पुगेको छ । दिनदिनै शक्तिशाली बन्दै गएका राजनीतिक दलका नेताहरू पार्टी विभाजनपछि स्वयं किन कमजोर बन्दै गएका छन् ?
किन राजनीतिक प्रतिस्पर्धीको देशभक्तिमाथि प्रश्न गरिन्छ । प्रतिस्पर्धी राजनीतिक दलका नेतामाथि सार्वजनिक स्थलमै विरोधको दोहोरीले तिनमा सद्बुद्धिको खोजी भइरहेको छ । त्यसैले हाम्रो संसद्बाट सबैले देशहित, जनहित र मानवहित खोजिरहेका छन् । सांसदसँग जनताले ठूलो आचरणको अपेक्षा राखेको हुन्छ । उनीहरूका क्रियाकलाप परोपकार, सेवा, अपरिग्रह र पारदर्शिताले जनता प्रभावित बन्न सकुन् । गान्धीले भनेजस्तो ‘मेरो जीवन नै मेरो सन्देश’ भनेर नेताले कुनै राम्रो सन्देश दिन सकेनन् भने जनताको प्रतिनिधि भएको के काम ? नेपालका प्रधानमन्त्रीमध्ये बीपी कोइरालालाई अपवादमा छोडेर त्यसपछिका प्रधानमन्त्रीले बल, बुद्धि र विद्याको सही सदुपयोग गरे वा गरेनन् ? नेताभित्र चतुरता, होसियारी, धुत्र्याइँ र हरफनमौला हुनु भनेको तेज दिमागले काम गर्न खोज्नु हो । दुईतिहाईको दम्भले के देखायो भने सत्तामा बस्नेमा विजित र दर्पदम्भितको भावना पैदा हुने रहेछ, जुन रसायनमा सत्ताको नशा मज्जैले घुलन हुने रहेछ ।
नेपालमा लोकतन्त्रवादी दलहरू कमजोर भएको अवस्थामा अस्थिरताको बीजारोपण हुने रहेछ । लोकतन्त्रका लागि लडेका हस्तीहरू माधव नेपाल र जसपाबाट अलग्गिएका महन्थ ठाकुर लामो समय दलविहीन बन्नु कुनै पनि दृष्टिकोणबाट उपयुक्त थिएन । संसद्लाई छलेर अध्यादेशबाट शासन गर्नु झन् लोकतान्त्रिक पद्धति त हुँदै होइन । अहिलेको शासन व्यवस्थालाई जनताप्रति उत्तरदायी बनाउन लोकतन्त्रमा विश्वास गर्न र अभ्यस्त बन्न सकेकाले मात्र मुलुकलाई गति दिन सक्छन् । लोकतन्त्र र संविधानलाई बलियो बनाउन सुधारको प्रयासमा नलाग्दा संसद्को चौथो ठूलो दल माधवकुमार नेपालले ओलीलाई एमाले निजी कम्पनी बनाएकै कारण विद्रोह गर्नुपरेको भन्नुपर्ने अवस्था आउने थिएन । तमसुकमा लेखिएअनुसार कारणीले असुलउपर नगर्ने प्रश्न आएन । दल विभाजन भइसकेपछि अब छुट्टिएकाहरूसँग पुनर्मिलनको आशा राख्नु बेकार हो । लोकतन्त्र खुला व्यवस्था भएकोले नेताहरूमाथि प्रश्नको खुला वर्षा हुनसक्छ ।
भारतमा पनि प्रधानमन्त्री मोदीलाई स्कुले विद्यार्थीले तपाईंको फेसन डिजाइनर को हो भनेर सोध्न सक्छन् ? धन्न नेपालका पूर्वप्रधानमन्त्रीलाई यहाँका विद्यार्थीले तपाईं दिनदिनै नयाँनयाँ कोट किन फेर्नु हुन्छ ? भनेर कहिल्यै प्रश्न गरेनन् । तर अहिलेको समयमा राजनीति भनेको लामखुट्टे ओइरिएजस्तो धनको वर्षा गर्ने समय र पेसा बनेको छ । सिद्धान्त, विचार र निष्ठाको दिशानिर्देश गर्नेतर्फ कोही लागेका छैनन् । सबै दलमा अहिले एक किसिमको समस्या सिर्जना भइरहेको छ । समस्यालाई बढाउने दलका नेताहरू समाधानतर्फ कत्ति पनि लागेका देखिँदैनन् । नेपालको लोकतन्त्र अबका दिनमा पनि प्रयोग र परीक्षणमै गुज्रिरहेको छ ।
हामीकहाँ हरक्षेत्र कोभिड–१९ ले तहसनहस बन्दै गएको छ । लोकतान्त्रिक व्यवस्थाका सरकार सत्तामा पुगेपछि धृतराष्ट्र आलिङ्गन परिपाटीले अस्तव्यस्त बन्दै गएको देखिन्छ । जीवन र जीविकामा सरकार निरन्तर लाग्नुपर्नेमा अझै लोकतन्त्रमाथि खतराको बादल मडारिइरहेको छ । लोकतन्त्रलाई अधिनायकवादले विस्थापन गर्ने त होइन भन्ने चिन्ता जनतामै सीमित रहेको छ । लोकतन्त्रका आधारस्तम्भ कमजोर भइरहेको वर्तमान अवस्थामा जीजीविषा बोकेका नागरिक सदैव यो धरतीलाई स्वर्गादपि गरीयसी बनाउनेतर्फ लागेकै छन् । दलीय भागवण्डा र टुटफुटले गर्दा माक्र्सलाई विशाल जनसमुदायको विभाजन गरेजस्तै नेपालमा पनि विचारधारा र वादमा नागरिकहरू विभाजित भएजस्तै यो दल विभाजनले देखाएको छ । हरेक पार्टीमा जुट्ने र फुट्ने विचारको द्वन्द्व छ । विभाजनले नेतृत्वमा के कस्तो परिवर्तन छोडेर जान्छ, त्यसलाई हेर्न आगामी निर्वाचन नै पर्खनुपर्छ । व्यक्तिगत गालीगलौजले राजनीतिक संस्कृति र संस्कारको विकास भएको देखाउन भने सक्दैन । सबैले राजनीतिक विचारको परिपक्वता देखाउने समय हो यो ।