विचार/दृष्टिकोण |

विज्ञानका लागि आवाज

डा. दिनेशराज भुजू
राणा शासनको अन्त्यपछि २००७ सालमा प्रजातन्त्र स्थापना हुँदा नेपाली जनताको सरदर आयु ३४ वर्ष थियो, अहिले यो ७१ वर्ष नाघेको छ । एक सय वर्षअघि स्पेनिस फ्लुको महामारीबाट विश्वको एक तिहाइ जनसङ्ख्या सङ्क्रमित भएका थिए, त्यसमध्ये १० प्रतिशतको मृत्यु भएको थियो । कोभिड–१९ को सङ्क्रमणबाट अहिले विश्व जनसङ्ख्याको तीन प्रतिशतभन्दा कम सङ्क्रमित छन् । मृत्युदर दुई प्रतिशतको आसपास सीमित छ । यसको पृष्ठभूमिमा अनुसन्धानहरू भइरहेका छन् ।
विज्ञानले मानव जीवनमा अभूतपूर्व परिवर्तन ल्याएको छ । यस दुई हजार वर्षको मानव विकासको इतिहासमा १८ सय वर्षसम्म विश्वको गार्हस्थ्य उत्पादन प्रतिव्यक्ति एक हजार अमेरिकी डलरभन्दा कम रह्यो । अहिले यो १५ हजार २१२ पुगेको छ । सन् १८०० पछि विश्वको अर्थतन्त्र हकी स्टिक ग्राफजस्तै एक्कासि उँभो लाग्नुका कारण औद्योगिक क्रान्ति (सन् १७६०–१८४०) थियो । जसको जग वैज्ञानिक क्रान्ति (सन् १५४३–१६८७)ले बसालिदिएको थियो । दुई ठूला विश्वयुद्ध (पहिलो सन् १९१४–१९१८; दोस्रो सन् १९३९–१९४५)मा आठ करोड मानिसको ज्यान गयो । यसबीच एउटा एन्टिबायोटिक औषधि पेन्सिलिनको आविष्कार (सन् १९२८)ले मात्रै २० करोड मानिसको ज्यान बचाइदिएको छ ।

विज्ञान हाम्रो जनजीविकासित नछुट्टिने गरी गाँसिएको छ । स्वास्थ्य, सञ्चार, मनोरञ्जन, यातायात, कृषि, ऊर्जा, आवास, सुरक्षा, शिक्षालगायत सबै विधा विज्ञानबाट अछुतो छैन । सन् १९४३ मा भारतको बङ्गालमा व्याप्त अनिकालबाट ४० लाख गरिबको ज्यान गएको थियो । शायद त्यो नै भारतको अन्तिम आमभोकमरी हुनुपर्छ । सन् १९७० पछि त भारत अन्न निर्यातक भएको छ, कारण हो– विज्ञानबाट परिपोषित हरित क्रान्ति । सुन्दा कथाजस्तो लाग्छ कि सन् १९५० अघि जापानमा २० वर्षमुनिका ५० प्रतिशत किशोर–किशोरी क्षयरोगबाट सङ्क्रमित थिए । अहिले जापान संसारमै सबभन्दा धेरै औसत आयु (८४.८ वर्ष) भएको देश हो । कुल गार्हस्थ्य उत्पादनका हिसाबले ऊ तेस्रो धनी देश पनि हो । उसको दीर्घ आयु र आर्थिक समृद्धिको पछाडि पनि विज्ञान नै कारक छ । जापान संसारमै वैज्ञानिक अनुसन्धानमा धेरै लगानी गर्ने पाँच देशमा पर्दछ । सहस्राब्दी लक्ष्य (सन् २००१–२०१५)का आठ लक्ष्यमा नेपालले मातृ मृत्युदरमा उल्लेख्य सुधार (प्रति एक लाखमा ८५० बाट घटेर २५८) ल्याएको थियो । जसको श्रेय महिला स्वास्थ्य स्वयंसेविकाले अपनाएको स्वास्थ्य विज्ञानको पद्धतिलाई नै जान्छ ।

हाम्रा कैयौँ अभिलाषा विज्ञानले पूरा गरिरहेको छ । सम्भावनाका कैयौँ ढोका यसले उघारिदिएको छ । हेर्दाहेर्दै हाम्रै छिमेकी देशहरू चन्द्रमा र मङ्गल ग्रहको अन्तरिक्ष यात्रामा गइसकेका छन् । उहिले गोरखापत्र काठमाडौँबाट जुम्ला पुग्न महिना दिनको समय लाग्थ्यो । अहिले पनि नेपालमा ३५ दिने म्याद तामेली दिने चलन छ । अब कुनै पनि सूचना पाउन ३५ सेकेन्ड बल्ल लाग्ला किनकि अन्तरिक्ष प्रविधिबाट चल्ने सञ्चार साधन मोबाइलले यस्तो सहज र छिटो बनाइदिएको छ । नेपाल दूर सञ्चारका अनुसार नेपालमा मोबाइल प्रयोगकर्ताहरूको सङ्ख्या तीन करोड ८० लाख छ । यसै वर्ष जनवरीमा चीनको एक सुनखानीमा जमिनभन्दा दुई हजार फिटमुनि एक दर्जन मजदुर फस्न पुगे । दुई सातासम्म अँध्यारोमा अड्किएका ती मजदुरलाई प्रविधिको प्रयोग गरेर पानी र खाना पु¥याइयो अनि सफलतापूर्वक तिनको उद्धार पनि भयो । खानी उत्खननको इतिहासमै यस्तो उद्धार भएको थिएन, विज्ञानको प्रयोगले यसलाई सम्भव बनाइदियो । तराईमा मात्र देख्दै आएका पाटे बाघहरू पहाड पनि उक्लिन्छन् । महाभारत नाघेर पाटे बाघ आउँछ भनेर कसले पो सोचेको थियो र ? क्यामरा ट्राप प्रविधिले त्यसको यात्रालाई उसले थाहै नपाउने गरी रेकर्ड गरिदिएको छ ।

विज्ञान प्रकृतिको रहस्य पत्ता लगाउने प्रक्रिया, त्यसको दसी र हाम्रो चेतनाको अभिव्यक्ति पनि हो । अवलोकन, परीक्षण र सुधारको निरन्तर प्रक्रियाबाट चल्ने मानिसको स्वतन्त्र चिन्तनबाट परिपोषित मानव सभ्यताले आर्जन गरेको यो एउटा गतिशील दर्शन हो । विज्ञान मानव क्षमता र विवेकमा विश्वास गर्ने समर्पित मानिसको निरन्तरको परिश्रम, सहकार्य र समर्पणबाट अघि बढ्छ । तथापि मानिसले निर्धारण गरेको मूल्य–मान्यताबाट विज्ञान अभिशप्त झन्झनै बन्दैछ । समाज वैज्ञानिक समुदायबाट ऋणी छ तर ऊ ऋण तिर्ने कुरा पटक्कै गर्दैन । उल्टो सेखी झार्छ । नेतृत्वमा बस्ने समाजका अगुवाहरू छद्म विज्ञान अगाडि सार्छन्, तिनका अल्पज्ञान र उट्पट्याङ व्याख्याले समाजलाई दिग्भ्रमित पारिरहेको छ । उदेकलाग्दो कुरा त विज्ञानलाई नै प्रयोग गरेर विज्ञानकै बदख्वाइँ भइरहेको छ । तिनले विज्ञानको ओठे तारिफ चाहिँ छुटाउँदैनन्, किनकि योबिना ऊ ज्ञानी र प्रगतिशील देखिँदैन ।

मानिसको साहस र कल्पनाको सीमा छैन । विज्ञानले जीव विकासको आलोकमा यस विषयको उहिल्यै व्याख्या गरिसकेको छ । अब यसलाई आनुवांशिक स्तरमा व्याख्या गर्ने कोसिस भइरहेको छ, जुन कुनै दिन भई पनि हाल्छ । अहिलेलाई थाहा गर्नुपर्ने कुरा यही छ कि मानिसको त्यो अदम्य साहस र अनन्त कल्पनालाई मूर्त रूप दिने भनेको वैज्ञानिक चिन्तन र प्राविधिक आविष्कार मात्रै हो । पौराणिक कथाका पात्र र तिनका काल्पनिक चित्रले हामीलाई कल्पनाको संसारमा मात्रै विचरण गराउने हो । ईशापूर्व पाँच सयतिर वाल्मीकिले रामायण लेख्दा पुष्पक विमानको कल्पना गरे । सन् १४८७ मा दाभिन्चीले उड्ने मेसिन अर्निथप्टरको डिजाइन बनाए । अठारौँ शताब्दीमा न्युटनले हावाको गतिशील प्रकृति एरो–डाइनामिक्सको वैज्ञानिक व्याख्या गरेपछि हावामा तैरिने इन्जिनको विकास गर्ने उपाय खुल्यो । आजभोलि बर्सेनि साढे चार अर्ब मानिस ‘हावामा उडेर’ एक स्थानबाट अर्कोमा पुग्छन् तर न्युटनले वैज्ञानिक आचरणको महानता देखाए र भने, “यो महान्हरूको काँधमा चढेर सम्भव भएको हो ।”

विज्ञानले गरेका प्रगति र यसले पु¥याएको सेवाका अतिरिक्त यसमाथि अधिकांश देशको ध्यान न्यून छ । अनुसन्धान तथा विकासमा विश्वको लगानी कुल गार्हस्थ्य उत्पादनको दुई दशमलव एक प्रतिशत पुगेको छ । झट्ट हेर्दा यो निकै उत्साहवद्र्धक लाग्छ । तथ्याङ्क केलाउँदा थाहा लाग्छ कि विश्वका दुई तिहाइ देशहरूको यस्तो लगानी एक प्रतिशतभन्दा कम छ । विकसित राष्ट्रहरूले धेरै लगानी गर्दा यस्तो देखिएको हो, त्यसैले ती विकसित छन् । सम्भवतः खोपजस्तो आधारभूत सेवाका लागि पनि हाम्रोजस्तो देशहरू अरूको मुख ताकेर बस्नु परिरहेको छ । विश्वभरिमा करिब एक करोडको सङ्ख्यामा सक्रिय अनुसन्धान वैज्ञानिक छन्, तिनको दुई तिहाइ सङ्ख्या अति सम्पन्न ३९ मुलुकमा सोहोरिएर बसेको छ । सम्पन्न र विपन्नबीच अब ज्ञानको खाडल बढ्दो छ । नेपालमा झन्डै ९० हजारको सङ्ख्यामा वैज्ञानिक तथा प्राविधिक जनशक्ति छ । तिनको विदेश पलायन रोकिएको छैन । यता हामी आफ्नै प्राकृतिक स्रोत–सम्पदाको अन्वेषण र उपयोगका लागि परनिर्भर बनेका छौँ । अनुसन्धान प्रयोगशालाहरू बजेटको अभावमा रुग्ण अवस्थामा छन् ।
कुनै मुलुक त्यतिकै सम्पन्न र कुनै मुलुक त्यतिकै विपन्न भएको होइन । सन् १९९० मा वैज्ञानिक अनुसन्धान तथा प्रविधि विकासमा चीनको लगानी कुल गार्हस्थ्य उत्पादनको शून्य दशमलव आठ प्रतिशत थियो । प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन अमेरिकी डलर एक हजार ५१६ थियो । सन् २००० मा त्यो लगानी एक प्रतिशत भयो । गार्हस्थ्य उत्पादन दुगुना (३,६७८ डलर) भयो । सन् २०१० मा लगानी एक दशलमलव सात पु¥यायो । गार्हस्थ्य उत्पादन तीन गुना (९,४२९ डलर)ले बढ्यो । सन् २०२० मा यो लगानी दुई दशमलव चार प्रतिशत भयो । उसको उत्पादन १७ हजार १९२ डलर पुग्यो । कुरा घामजत्तिकै प्रस्ट छ, विज्ञानमा लगानी बढाउनुस् जनताको आर्थिक अवस्था उठ्नेछ । नाराले विकास हुने नै होइन, लगानी चाहिन्छ, विज्ञान र प्रविधिमा । विगत दुई दशकयता वैज्ञानिक अनुसन्धान तथा प्रविधि विकासमा नेपालको लगानी कुल गार्हस्थ्य उत्पादनको शून्य दशमलव तीन प्रतिशतभन्दा बढ्न सकेको छैन । नेपाली जनताको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन अमेरिकी डलर एक हजार १९६ छ ।

मानिसको आर्थिक समृद्धिको चाहना बढेसँगै हाम्रो जीवमण्डलको अवस्था भने खस्किँदैछ । संसारका प्रायः सबै सभ्यता नदीछेउ नै फस्टाए तर अहिले सभ्यताका तिनै जननी मानिसको फोहोर मिल्काउने स्थान भएको छ । वैज्ञानिकहरू भन्छन्, काठमाडौँतिर बागमती नदीमा प्रत्येक दिन १० लाखभन्दा बढी प्लास्टिकका टुक्रा तैरिन्छन् । पीएचको तह नौ नाघ्छ, जसमा माछा बाँच्न मुस्किल हुन्छ । हामीले फेर्ने हावा त्यस्तै प्रदूषित छ । गत वर्ष अत्यधिक वायु प्रदूषणले गर्दा विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको थियो । नेपाल संसारमै खराब वायु भएका १२ देशभित्र पर्छ । मानव सिर्जित जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान बढिरहेको छ । पृथ्वीका नौवटा वातावरणीय सिमानाहरूमध्ये चारवटालाई हामीले नाघिसकेका छौँ, प्रजाति लोप, वन विनाश, वायुमण्डलीय कार्बनडाइअक्साइड र नाइट्रोजन तथा फस्फोरसको बहाव । वैज्ञानिकको आशङ्का छ, यसलाई रोक्न सकिएन भने मानव सभ्यता नै धरापमा पर्नेछ तर विज्ञान अभिशप्त छ, ग्रिक पौराणिक कथाकी राजकुमारी कासान्द्राजस्तै । कासान्द्रासित भविष्य देख्ने अपूर्व शक्ति छ तर तिनको कुरामा कसैले नपत्याउने श्राप परेको हुन्छ ।

यसकारण विश्व समुदायको उन्नति र हाम्रा कैयौँ आकाङ्क्षा पूरा गर्नमा विज्ञानको भूमिकाको सराहना गर्न, विज्ञानलाई आर्थिक समृद्धि अनि सामाजिक विकाससित जोड्न । हाम्रो जीवमण्डलको वातावरण सन्तुलित र अक्षुण्ण राख्न ‘विज्ञानका लागि आवाज’ अभियानको जरुरी भएको छ । देशका सबै वैज्ञानिक तथा प्राविधिक, विज्ञान शिक्षक तथा प्राध्यापक, सञ्चारकर्मी, युवा पुस्ता र विद्यार्थी, विज्ञानप्रेमी र समाजका सबै जनसमुदायले विज्ञानका लागि आवाज उँचो बनाउनु आवश्यक छ । असोज १ गते राष्ट्रिय विज्ञान दिवस, सबैले विज्ञानका लागि आवाज घन्काऔँ ।