विचार/दृष्टिकोण |

कुमारी जात्रा नै इन्द्रजात्रा

इन्द्रबहादुर शाक्य

२०७८ साल आश्विनमा आएर भाद्र शुक्लपक्षमा पर्ने पूर्णिमाको दिन पर्न गएको हुनाले चन्द्रमास तिथिबाट यो इन्द्रजात्रा पर्व मनाउन थालिएको छ । संसारमा अन्यत्र नभएको जात्रामा रजश्वला नभएकी छोरीलाई जीवित कुमारीका रूपमा पुजेर कुमारी जात्रा अथवा पर्व मनाइन्छ । कुमारी छान्ने धेरै विधि पूरा गरेर दशैँमा मात्र छानिन्छ ।

कुमारी जात्रा भन्नु र इन्द्रजात्रा भन्नु एकै हो । यो जात्रा सुरु हुनुभन्दा अगाडि द्वादशीको दिनमा मानन्धर समाजले हनुमानढोकामा इन्द्रध्वज लिङ्ग उठाउँछन् । सोही दिन साँझ काठमाडौँवासीका स्वर्गीय भएका परिवारको सम्झनामा बाजा बजाई धारणी श्रावन गरी पाल्चा दियो बाली दुई दिन लगाएर काठमाडौँ नगर परिक्रमा गरिन्छ । काठमाडौँका शाक्य कुलमा जन्मेकी कन्यालाई नेपाल राष्ट्रको जीवित कुमारी छानेर जात्रा गर्ने चलन छ । यो कुमारी जात्रा गर्दा यसको साथमा गणेश र भैरवको पनि जात्रा हुन्छ । यो जात्रा हस्तकलाको रथमा राखेर गरिन्छ । यो जात्रा लिच्छविकालदेखि सुरु भएको मानिन्छ । किंवदन्तीअनुसार कुमारी जात्रा देवगणले पनि आएर हेर्दथे भनिएको पाइन्छ ।

इन्द्र देवताले पनि वंगमा (टोल वा स्थानमा) बसेर जात्रा हेरेको कुरा किंवदन्तीहरूमा उल्लेख छ । इन्द्र देवताले बसेर जात्रा हेरेको हुनाले त्यस ठाउँलाई इन्द्रचोक भनिएको हो भनिन्छ । इन्द्र आएर हेर्ने जात्रा भएको हुनाले त्यसलाई ‘इन्द्र जात्रा’ पनि भन्ने गरिएको हो । यो दिन इन्द्रको जात्रा हुँदैन, खासमा कुमारीको जात्रा हुन्छ । नेवारीमा पूर्णिमाको दिनमा यो कुमारी जात्रा सुरु हुन्छ ।

तीनवटा रथलाई काठमाडौँको वसन्तपुर गद्दी बैठक अगाडिबाट तानेर मरु, अट्को नारायणथान, मजिपाट, जैसीदेगल, लगन, ब्रह्मटोल, हिउमत, कोहिटी, भीमसेनस्थान हुँदै पुनः वसन्तपुर ल्याएर जात्रा विसर्जन गरिन्छ । राष्ट्राध्यक्षसहित नेपाल सरकारका उच्चपदस्थ व्यक्तिको समेत उपस्थितिमा जात्रा सुरु हुन्छ । यही दिनमा काठमाडौँको मजिपाटमा लाखे नाचको प्रदर्शनी गरिन्छ । यो लाखे नाचको प्रदर्शनी मजिपाटको रञ्जित जातिको विशेष हो । उनीहरूको गुठीले लाखे आजुको नाच देखाउँछ । यस्तै पुुलुकिसी (हात्ती) नाच केलटोलको महर्जन समाजले गर्छ । दस अवतार नाच, सवभकू नाच हलचोक गाउँको पुतुवार जातिले देखाउँछन् ।

यस दिन पृथ्वीनारायण शाह वसन्तपुरको गद्दीमा बसेका र राज्य सञ्चालन गरेको अथवा काठमाडौँ जितेको दिन पनि हो । यसै दिनदेखि शाह राजाले उपत्यकामा बसेर नेपाल राज्य चलाउन सुरु गरेका थिए । गद्दीमा बसेको दिनमा परेको हुनाले उक्त दिन कुमारी जात्रा सुरु भएन । यो जात्राको दिनमा कसैलाई हर्ष र कसैलाई दुःख विस्मात भयो । कुमारी जात्रा सुरु नभएर काठमाडौँवासी दुःखी भए । कुमारी जात्रा सुरु नभएपछि यसको दोषजति राजा पृथ्वीनारायण शाहमाथि लाग्यो । राजाले केही
गर्न सकेनन् ।

राजा बिरामी भए । राजाको यस्तो अवस्था देखेर भारदार, वैद्य, राजगुरु, तान्त्रिक वैद्यहरूले राजाको अवस्था हेरिसकेपछि केही हुँदैन, यसमा देवी कुमारीको दोष लागेको छ, कुमारी पर्व रोकिएको हुनाले यस्तो भएको हो भनियो ।
कुमारीसँग क्षमा माग्नु र कुमारी जात्रा चलाउनका लागि राजाले क्षमापूजा गरिदिनु भनियो । सोहीअनुसार किसली राखेर राजाले ढोग गरी क्षमा मागी कुमारी घरमा राखेपछि, राजालाई बिस्तारै सञ्चो भएर गयो ।
भोलिपल्ट बिहानै राजा कुमारी घर गई कुमारीसँग क्षमा मागे । यसबाट पहिलेभन्दा राम्रोसँग यो पर्व मनाउन र जात्रा गरी दिने वचन कुमारीको अगाडि राखेको भनाइ रहेको छ । राजाले वाचा गरेअनुसार कुमारी जात्राले निरन्तरता पाइरह्यो ।
जात्राको दोस्रो दिन वसन्तपुर, प्याफल, भेडासिं, न्हायकं तल्ला, असन, केलटोल, जनबहाल, इन्द्रचोक भएर हनुमानढोका आएर जात्रा विसर्जन गरिन्छ । कुमारी जात्राको दिनमा काठमाडौँवासीले समयबजी राखी पूजा गरी आफूहरू पनि खाने र अरूलाई पनि खुवाइन्छ । हनुमानढोकामा ठूलो भैरवको प्रदर्शन हुन्छ । ठूलो समेबजी राखी त्यहाँ वितरण गर्ने गरिन्छ । भैरवको मुखबाट रक्सी र जाँडको धारा बगाइन्छ । सर्वसाधारणले यो जाँड पिउँछन् । सोही दिन इन्द्रचोकमा आकाश भैरवको मुकुट प्रदर्शनी हुन्छ । यी आकाश भैरव भनेको यलम्बर राजाको शिर हो भनिन्छ ।

कुमारीको अन्तिम दिन जात्रा भनेको नानिचया हो । यो दिनमा राम्रोसँग जात्रा गरी वसन्तपुर, प्याफल, किलागढ, इन्द्रचोक, मखन हुँदै वसन्तपुरसम्म जात्रा गरी कुमारीलाई रथबाट उतारी कुमारी घरमा लगिन्छ । कुमारी देवी भिœयाइसकेपछि देवीको क्षमा पूजा गरी कुमारीसँग आशीर्वाद मागिन्छ । कुमारीले राष्ट्राध्यक्षलाई बुढीआँैलाले टीका लगाइदिन्छिन् । टीका लगाइदिएपछि सुनको एक असर्फी चढाउने प्रचलन चलिआएको छ । नेपालमा गणतन्त्र आएपछि राजाले गर्ने सबै काम अब राष्ट्रपतिले गर्ने प्रचलन रहिआएको छ ।
यंन्यापून्हिमा ललितपुरमा आफ्नै मौलिक परम्परा चलिआएको छ । चार स्थानमा विभाजन गरेर पर्व मनाइन्छ । पहिलो दिन नागबहालदेखि च्यासलसम्म, दोस्रो दिन हःखादेखि सुन्धारा, ओकुबहालदेखि टङ्गलसम्म, तेस्रो दिन मङ्गलबजारदेखि हौगलसम्म र अन्तिम दिनमा पूर्णचण्डी भुजा राखी यो पर्व समाप्त गरिन्छ । यो पर्वमा गणेशको मात्र पूजा हुन्छ । यसमा गणेशको अगाडि समेबजी राखी प्रदर्शन गरिन्छ । गणेशलाई जाँडरक्सी पनि चढाइन्छ । उपत्यकाभित्र मासु राखेर, रक्सी–जाँड राखेर पूजा गर्न नहुने, गणेश देवता ललितपुरको गुईटोलमा पश्चिम फर्केको गणेशमा भने सबैथोक चढाइन्छ ।

यस्तो जात्रा नेवारी बस्ती भएका नेपालका धेरै जिल्लामा मनाइने गरिएको छ । पूर्व इलाम, धरान, धनकुटा, भोजपुर, चैनपुर, पनौती, पाल्पा, नारायणघाट, पोखरा, बाग्लुङ, म्याग्दी आदि जिल्लामा मनाइन्छ । यो पर्वमा धेरैले गणेश पूजा गरी मनाउँछन् । तराईमा पनि गणेश चौथी भनेर मनाउने चलन छ । अहिले पनि यो जात्रा चलिरहेको छ । नेवार बस्तीमा समेबजी राखिन्छ । तराईमा रोटी, फलफूल आदि चढाइन्छ ।
पूर्णिमाको दिन दोलखामा इन्द्रजात्रा पर्व भव्य रूपमा मनाइन्छ । यो जात्राको समयमा ठाउँठाउँमा लिङ्गो गाडी टोलटोलमा आकाश भैरवको प्रदर्शन गरिन्छ र नाचगान पनि गरिन्छ । इन्द्रजात्राका गुठीहरू पनि धेरै छन् । पाँच दिनसम्म गुठीमार्फत जात्रा मनाइन्छ । यो दिनमा इन्द्र दहमा पनि मेला लाग्दछ । बनेपामा जालपादेवीको जात्रा, चेपाग चोनम पर्व गरिन्छ ।

भक्तपुरको सिद्धपोखरीमा ठूलो मेला लाग्दछ । चम्पादेवीको पूजा हुन्छ । फर्पिङमा हरिशङ्कर रथयात्रा सुरु गरिन्छ । पश्चिमको बझाङ जिल्लामा पनि यो दिनमा इन्द्रजात्रा सुरु हुन्छ । बझाङका मष्टाको मन्दिरमा पनि इन्द्रजात्रा मनाउने चलन पहिलेदेखि छ । यो पर्व खसआर्यले द्वादशीदेखि पूर्णिमासम्म मनाउँछन् । देशभरि छरिएर बसेका खसआर्यले मष्टो देवतालाई बाह्र स्वरूप र तेह्र भाइ रहेको विश्वास गरिन्छ । यी देवता माटोको मालिक भएकोले माटोलाई मट्टे देवता, भूमि देवता पनि भन्दछन् । यो पर्व डडेल्धुरा, डोटी, बैतडीमा मष्टो देवतालाई भूमिराज देवता अथवा भूमेश्वरको नाममा पनि पूजा गरिन्छ । आछाम, जुम्ला, हुम्ला, मुगु, जाजरकोट, दैलेखबाट मानिस आएर यो पर्व मनाउँछन् ।