पितृपर्वका रूपमा महालय श्राद्ध
अच्युतप्रसाद पौडेल ‘चिन्तन’
यसपालिको पितृपक्ष अर्थात् सोह्रश्राद्ध (महालय या पार्वण श्राद्ध) असोज ५ गतेदेखि १५ दिन अर्थात् असोज २० गतेसम्म रहेको छ । द्वादशी श्राद्ध भने मघायुक्त भएकाले छोरा हुनेले यो दिन पिण्ड दान गर्दैनन् । यो असोज १७ गते आइतबार परेको छ । ‘मघायां पिण्ड दानेन ज्येष्ठ पुत्रो हनिष्यति’ अर्थात् मघामा पिण्डदान गर्नाले जेठो छोरोलाई हानि हुन पुग्छ । छोरा हुनेले मघा तिथिको साटो अन्य तिथि खोजी श्राद्ध गर्छन् । औँसी, एकादशीमा गर्दा पनि हुन्छ र सिदा तर्पणबाटै विसर्जन गर्न पनि हुन्छ भनिएको छ । आमा मात्रैलाई सम्झने हो भने मातृ नवमी परेको छ असोज १४ गते ।
आश्विन कृष्णपक्ष पूरै १५ दिन पितृपक्ष हो । यसलाई सोहश्राद्ध पर्व भनिन्छ । पूर्णिमासमेतको गिन्तीले यो १६ दिनको भए पनि वास्तवमा १६ दिन पूरै हुँदैन । चतुर्दशीका दिन पनि शस्त्रास्त्रले हताहत भई मरेकाका लागि मात्र गरिन्छ । ‘श्रद्धया दीयते दानम्’को अर्थमा मूलतः श्राद्ध भनेको श्रद्धा नै हो । आफ्ना दिवङ्गत पितृको उद्धार, उनीहरूप्रतिको समर्पण र उनीहरूप्रतिको दयाभाव हो । दिवङ्गत पितृले जीवमा ८४ लाखमध्ये कुनै न कुनै प्राणीमा उनीहरूले देह धारण गरेका हुन्छन् र तत्तत् योनिका खानास्वरूप आ–आफ्ना दिवङ्गत पितृहरू तृप्त हुन्छन् । देवत्वमा प्राप्त गरेका पितृले पनि आफ्ना सन्ततिबाट केही आशा गरेका हुन्छन् । त्यसैले समय र स्थान विशेष परिवर्तन र वातावरण अनुकूल नभएकै कारण देखाई पुत्रले पितृप्रति गरिने कर्म लोप गर्न मिल्दैन । आफ्नो गच्छेअनुसार पितृदेवताको उपासना गर्नैपर्ने हुन्छ ।
तर्पण
अघिल्लो दिन एकभक्तिमा बसेर, श्राद्धको दिन सर्वप्रथम तर्पणको आरम्भ गरिन्छ । ‘पु’ नामक नरकबाट तार्नेको नाम ‘पुत्र’ भएकाले भावी र विगतका पुस्ताका लागि छोराको कर्तव्य किञ्चित् बढी तोकिएको छ । लालना, पालना र कर्मको खातिर बाबुआमाले गरेको अथक् प्रयास र सो ऋणबाट चुक्ता हुने गतिलो माध्यम भनेको वर्षभरि मरेका पितृका नाममा गरिने तर्पण नै हो ।
शास्त्रीय प्रमाण खासगरी ब्रह्मपुराण, नारदपुराण, भविष्यपुराण, हेमाद्री, मनुस्मृति याज्ञवल्क्य आदि र अन्य संहितालाई आधार बनाएर तर्पणका क्रममा हरेक बिहान तर्पण सम्भव नदेखिँदा हिजोआज श्राद्धकै दिन अघि वा पछाडि गर्ने चलन छ । जौ, तिल र कुशले प्रतिज्ञा गरी जलदान गर्ने काम नै तर्पण हो । सन्तति नभएर पिण्ड पानी नपाउनेहरूका लागि पछाडि छुट्टै तर्पण गरिन्छ, जनैलाई जलमा चोपेर । पिशाचहरूले खान पाउने जल भनेको स्नान गर्दा लगाएको कपडा निचोरेको जल नै हो । जनै निचोरेर दिनुको सङ्केत त्यही हो । पछि सूर्यलाई अध्र्य दिई दशै दिशा नमस्कारपश्चात् तर्पणको विधि पूरा हुन्छ ।
श्राद्धका प्रकार
श्राद्ध धेरै प्रकारका हुन्छन् । हाम्रो ३६५ दिनको एक वर्ष हुन्छ भने पितृको हाम्रो हुने एक वर्ष उनीहरूको एक दिन हो । त्यसैले दिनदिनै पुत्र सन्ततिबाट उनीहरूको आत्मा तृप्त हुने विश्वासअनुरूप हरेक वर्ष दिवङ्गत भएको तिथि पारेर निष्ठापूर्वक एउटा उद्देश्य लिएर गरिने श्राद्ध एकोद्दिष्ट श्राद्ध हो । पितृपक्षमा एकोद्दिष्ट पर्न गए एकापार्वणका रूपमा श्राद्ध गरिन्छ भने देवब्राह्मण र पितृब्राह्मण स्थापना गरी एकोद्दिष्ट श्राद्ध एकापार्वणको विधिले सम्पन्न गर्नुपर्ने हुन्छ । देवताहरू खुसी हुन्छन् भक्तिभावले भने समर्पणभाव देवता खुसी पार्ने माध्यम हो । भजन कीर्तन, पुकार आदिमा व्याकरणको ख्याल नगर्दा पनि हुन्छ । यतिबेला जसले, जसरी जान्दछ, सक्तछ उसैगरी पुकार गर्दा हुन्छ भने पितृभावमा यति सजिलो छैन । वाक्य शुद्धि हुनुपर्छ, वचन, विभक्ति, कारक, पुरुष, लिङ्ग सबै मिल्नुपर्छ । पितृले आपूmले दिएको वस्तु प्राप्त गर्न वाक्य शुद्धि हुनु जरुरी हुन्छ, अन्यथा कर्म निस्फल हुन्छ । एउटै पितृको उद्देश्यमा एकोद्दिष्ट हुन्छ भने यसको समय पनि निर्धारण गरिएको छ । एकोद्दिष्ट श्राद्ध मध्याह्न कालमा गर्नुपर्ने हुन्छ ।
घरमा शुभकर्म हुँदा पनि श्राद्ध गरिन्छ । सप्ताह, पुराण श्रवण, विवाह, व्रतबन्ध, न्वारान, पास्नीलगायत सबै किसिमका शुभकर्म गर्नुअघि पितृको पूजा गरिनुपर्छ । यसमा खासगरी पिण्डदानको महिमा नभए पनि कुनै कर्म गर्नुअघि यो किन गरिन्छ भने देवता दिनेको प्रतीक हुन् भने पितृ हर्नेको पनि प्रतीक हुन् । आफ्नो कुलमा कुनै संयोगको राम्रो कर्म हुँदा उनीहरूले सन्ततिबाट केही चाहेका हुन्छन् । यस्तो श्राद्धलाई वृद्धिश्राद्ध भनिन्छ । बढेर गरिएको शुभ कर्मको श्राद्ध हो यो । यसलाई आभ्युदायिक श्राद्ध पनि भनिन्छ भने यो श्राद्धलाई नान्दीमुखी श्राद्ध पनि भनिन्छ । परिवेशअनुसार सबै श्राद्धको कर्मकृया फरक हुन सक्छन् । यो वृद्धिश्राद्ध बिहानीमै गरिन्छ । कुनै समय पर्खी बस्नुपर्दैन । मङ्गलाचरणको साथसाथै यो श्राद्ध गर्दै जाने प्रचलन छ ।
तीर्थमा गरिने श्राद्धलाई तीर्थश्राद्ध भनिन्छ । गृहस्थीहरूका लागि तीर्थश्राद्ध एकदमै जरुरी छ । आँैसी वा पावन तिथि पारेर सन्ततिले पितृउद्धारहेतु गङ्गा, यमुना, सरस्वतीको सङ्गम, त्रिवेणीधाम, अयोध्या, मथुरा, काशी, अवन्तिका, पुरी, द्वारावती, गोदावरी जहाँ तीर्थस्थल रहेका छन्, गङ्गोत्तरी, यमुनोत्तरी, गया, पुनपुन, हरिद्वार, ऋषिकेश, बदरिकाधाम, केदारखण्ड, विभिन्न घाट, गोकर्ण, उत्तरगया, आर्यघाट, बराहक्षेत्र, कागवेनीक्षेत्र, देवघाटलगायत आफ्नो शक्ति र क्षमताअनुसार पितृ उद्धारहेतु तीर्थश्राद्ध गर्नुपर्ने हुन्छ ।
तीर्थश्राद्ध एवं ब्रह्मकपालीबाटै पितृहरू तृप्त हुन्छन् । सन्ततिले दिएको जलपिण्ड दानले उनीहरूले आपूm तृप्त भएको अनुभव गर्छन् र आशीर्वादस्वरूप धन, कीर्ति, सुख, भोग, यश, सम्मानलगायत आत्मउन्नति एवं सन्ततिको आचरण, व्यवहार शुद्धि, मर्यादापालन, नैतिकता एवं आपूmप्रति उनीहरूले भविष्यसम्म गर्ने विधि, व्यवहार र मृतपछि उनीहरूले देखाउने श्रद्धाभावका लागि पनि आपूmले आफ्ना पितृप्रति श्रद्धा गरिएको भाव आफ्ना सन्ततिलाई देखाउनकै लागि पनि गर्ने गरिन्छ । आपूmले छोडेको काम आफ्नो सन्ततिबाट आशा गर्नु निरर्थक हुन्छ । स्वभावैले नयाँ पुस्ता परिवर्तनकारी हुन्छन् भने असल परिवर्तन कार्यमा बाबुआमाको प्रेरणा आवश्यक हुन्छ । तीर्थमा जौको पिण्ड दिने र श्राद्धको विधान पनि फरक हुन्छ । गया वा तीर्थश्राद्ध नगरेसम्म पितृ तृप्त नहुने कुरा गरुडपुराण एवं पद्मपुराणमा उल्लेख छ ।
श्राद्धकर्ताको पत्नीको हातबाट तयार गरिएको पिण्डदान गर्नाले एक वर्षसम्म पितृहरू खुसी रहन्छन् । त्यसैले कुलाचारअनुसार विवाह गरेर सोअनुसार सन्तति प्राप्त गर्नुपर्ने हुन्छ । त्रेतायुगमा स्वयं श्रीरामले वनवासमा आफ्ना पिता दशरथको देहान्तको खबर सुनेर बालुवाकै भए पनि सरसामान सीताबाट तयार पारी श्रीरामले पिण्डदान गर्दा स्वयं दशरथ उपस्थित भई आपूmले तृप्ति पाएको कथन छ । मूल कुरा विश्वास र धारणाको हो । सूर्य कन्या राशिमा प्रवेश गर्दा यो महालय श्राद्धपर्व पर्छ भने कन्याराशिमा सूर्य सरेको बखत दिवङ्गत पितृलाई पिण्डदान नगर्ने पुत्रहरू पापी हुन्, कृतघ्न हुन् भनिएको छ ।
सूर्ये कन्यागते श्राद्धं यो न कुर्यात् गृहाश्रमी ।
धनपुत्राः कुतस्तस्य पितृनिःश्वास पीडनात् ।
अर्थात् गृहस्थी भएर आश्विनको पितृपक्षमा श्राद्ध नगर्नेका लागि उसका धन र सम्पत्ति, वैभव एवं उसका सन्तति निरर्थक हुन्छन्, पितृको श्वास–प्रश्वास रोकेर उनीहरूलाई हुने पीडाले परिवारको भरणपोषण मात्र खोज्नु राम्रो हँुदैन । यो १५ दिनको पक्षभित्र जहिले श्राद्ध गरे पनि हुन्छ किन्तु बाबुको या नसके बाजेको तिथिमा लिइनु राम्रो मानिन्छ । सूतक, जूठो वा असर्धो समय परे एकादशी या आँैंसीमा गरिनुपर्छ । रोकिएकाले नगर्ने भन्ने होइन, यो १५ दिन नै रोकिएमा लक्ष्मीपूजाको आँैसीमा गर्ने गरेको पनि पाइन्छ । यसमा खासगरी स्वाहा स्वधा दुवैको आवाहन गरिन्छ । देवऋषिहरू, पितृऋषिहरू स्थापना गरी स्वाहा र स्वधा मन्त्रले पूजा गरिन्छ । एकातिर जनै सव्य गरेर साहिँली औंँलाले पूजा गरिन्छ भने अर्कोतिर अपसव्य, चोरी आँैंलाले पूजा गरिन्छ । दिवङ्गत सबैजसोका लागि पिण्ड दिइन्छ । कसैले १६ वटा पिण्ड पु-याउँछन् भने कसैको सोभन्दा बढी पनि हुन्छ । कसैले छवटा मात्र दिने गरेको पनि देखिन्छ ।
विभक्ति प्रयोग गर्दा आसनको लागि षष्ठी विभक्ति प्रयोग गरिन्छ भने आवाहनमा द्वितीया, अन्नदानमा चतुर्थी विभक्ति प्रयोग गरिन्छ । हेमाद्रीमा उल्लेख भएअनुसार पितृश्राद्धको दिन पिण्डदान नभएसम्म हवनकार्य, योगीलाई अन्नदान देवपूजा, ब्रह्मचारी तपस्वीलाई कुनै दान अर्थात् पितृकार्यबाहेकको अन्य कार्य पिण्डदान अघि निषेध छ । स्वलक्ष्यमा हुन्छन् पितृहरू, त्यो लक्ष्य पूरा नभएसम्म अन्य कृयाकर्म निषेध गरिएको छ । पत्नी रजस्वला भए पिण्डदान (पार्वण) गर्न नहुने, पतीत व्यक्तिलाई आमन्त्रण गर्नु नहुने, अन्य गोत्रजलाई पनि प्रसाद निषेध गरिएको, बन्धुबान्धव, इष्टमित्र, ज्वाइँ, भाञ्जा, असल पुरोहित आदि आमन्त्रण गरिएर गरिने यो पर्वमा धूमधाम बाजागाजा राखी घण्टशङ्ख आवाज र भीडभाड भने वर्जित छ ।
श्राद्ध गर्दा अरूको स्वामित्व भएको घर जमिनमा बसेर गरेमा पितृहरू खुसी नहुने, उनीहरूको शक्ति क्षीण हुन्छ । यसर्थ अरूको स्वामित्वमा बस्नेले श्राद्ध तर्पण गर्दा नजिकको तीर्थक्षेत्र गोकर्ण, आर्यघाट, गौरीघाटमा यस्तै अन्य पवित्रस्थलमा गर्ने गरेको पाइन्छ । श्राद्धमा प्रयोग हुने वस्तुहरू अघिपछि प्रयोग नभएका, चोखो वस्तु तयार गर्नुपर्ने दूध, घिउ, तिल आदि नभइनहुने, आसनी चोखो चाहिने, खड्गपात्र चाहिने, ऊनबाट बनेका कम्बलहरू विशेष प्रिय हुने, कुश, चाँदीका, तामाका भाँडाकुँडा हुनुपर्ने, सके गाई आवश्यक पर्ने, छोरीको छोरा पनि आवश्यक पर्ने आदि नियम छन् । पार्वण श्राद्ध यसकारण पनि जरुरी छ कि, पार्वण श्राद्ध नगरेका घरमा तत्कालै सुरु हुने नवदुर्गा पक्षको कर्म, जमरा राख्ने कार्य आश्विन शुक्लपक्षभरि गरिने कर्म निषेध छ ।