गैँडा संरक्षणमा चुनौती
पशुपति अधिकारी
सन् २००० को गणनामा नेपालमा रहेका ६१२ वटा गैँडा सन् २००५ को गणनामा ४०९ वटामा मात्र सीमित रह्यो । त्यसपछि पुनः बढेका गैँडा सन् २०२१ को गणनामा ७५२ वटा पुगेका छन् । अहिले चितवनमा ६९४, बर्दियामा ३८, शुक्लाफाँटामा १७ र पर्सामा तीनवटा गैँडा छन् । नेपाल र भारतमा मात्रै पाइने विश्वमै दुर्लभ एकसिङ्गे गैँडालाई एउटै वासस्थानमा मात्रै राखिराख्दा चोरीसिकार, वासस्थान विनाश वा कुनै रोगव्याधिबाट लोप हुनसक्ने खतरा रहेकाले सन् १९८६ देखि सन् २०१७ को अवधिमा चितवनबाट बर्दिया राष्ट्रिय निकुञ्जमा ९१ वटा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा नौवटा गैँडा स्थानान्तरण गरी दोस्रो र तेस्रो ‘पपुलेसन’ कायम गरिएको छ । सन् २००३ सम्ममा चितवनबाट बर्दिया लगेका ८३ वटा गैँडामध्ये कर्णालीको तटीय क्षेत्रमा रहेका २९ वटाबाहेक बबई उपत्यकामा रहेका सबै गैँडा चोरीसिकारीले मारेको सन् २०१५ को गैँडा गणनाबाट देखियो । त्यसपछि सन् २०१६ र २०१७ मा पुनः आठवटा गैँडा बबई उपत्यकामा स्थानान्तरण गरियो । आगामी दिनमा गैँडा संरक्षण कार्य अझै चुनौतीपूर्ण हुँदै जाने निम्न तथ्यले बताएका छन् :
अन्त्यहीन चोरीसिकार
खागका लागि हुने गैँडाको चोरीसिकारमा कुनै कमी आएको छैन । चितवन राष्ट्रिय निकुञ्जको स्थापनापछि झन्डै डेढ दशक रोकिएको चोरीसिकार सन् १९९० को दशकबाट पुनः सुरु भई द्वन्द्वकालमा बढेर गयो । चितवनमा सन् २००० देखि सन् २०१० बीचको ११ वर्षको अवधिमा १५८ वटा गैँडा चोरीसिकारीले मारेका थिए भने सन् २००२ मा एकै वर्षमा ३८ वटा गैँडा चोरीसिकारीले मारे । सन् २०११ देखि सन् २०१९ को अवधिमा पाँचवटा र सन् २०२० मा आठवटा गैँडा चोरीसिकारीले मारेका छन् ।
सन् २०११, २०१३, २०१५, २०१६ र २०१९ मा चितवनमा गैँडाको चोरीसिकार भएन तर सन् २०१३ देखि सन् २०१८ को अवधिमा बाघको सङ्ख्या १२० बाट घटेर ९३ मा पुगेको बाघ गणना प्रतिवेदन, २०१९ ले देखाएको छ । पाँच वर्षको अवधिमा चितवनमा २७ वटा बाघ घट्नुका कारण खुलेको छैन । २०६० साल माघदेखि २०७७ साल माघसम्मको १७ वर्षको अवधिमा गैँडाको चोरीसिकार गरेको कसुरमा जेल सजाय पाएका १८५ जनामध्ये चेपाङ ४६ जना (२५ प्रतिशत), तामाङ÷भोटे ३३ जना (१८ प्रतिशत), थारू ३० जना (१६ प्रतिशत) र कुमाल÷माझी १६ जना
(९ प्रतिशत) संलग्न रहेको पाइयो । अहिले पनि २५ जना गैँडा मारेको अभियोगमा पुर्पक्षका लागि थुनामा छन् भने १३ जना धरौटीमा रिहा भएका छन् ।
एकत्रित हुँदै
गैँडाको वितरणलाई दृष्टिगत गरी निकुञ्जको कसरादेखि पूर्वी भागलाई पूर्वी चितवन र त्यसभन्दा पश्चिमको भागलाई पश्चिम चितवन र माडी गरी तीन भागमा बाँडिएको छ । विगत तीन दशकको अवधिमा गैँडाको वितरणलाई अध्ययन गर्दा पश्चिम चितवन र माडीमा एकत्रित हुँदै गएको देखिएको छ ।
सन् १९८८ मा निकुञ्जमा रहेका कुल ३५८ वटा गैँडामध्ये २५२ अर्थात् ७० प्रतिशत गैँडा पूर्वी चितवनमा थिए भने सन् २०१५ मा आइपुग्दा कुल ६०५ गैँडामध्ये १७९ अर्थात् ३० प्रतिशत गैँडा मात्रै भेटिए । सन् २०२१ को गणनामा कुल ६९४ गैँडामध्ये २४० अर्थात् ३५ प्रतिशत गैँडा पूर्वी चितवनमा र १९ अर्थात् ३ प्रतिशत गैँडा माडीमा भेटिए । दुई दशक अघिसम्म गैँडा नबस्ने माडीमा अहिले बस्न थालेका छन् ।
गैँडा सिमसार, ढड्डीघारी र नजिकैको नदीतटीय वनमा मात्रै बस्ने (ह्याबिटेड स्पेसलिस्ट) अर्धजलीय वन्यजन्तु हो । पूर्वी चितवनमा पर्ने खगेरी खोलाको पानी पथान्तरण गरी अन्यत्र लगेकाले खगेरी नहरको पानीबाट सिञ्चित हुँदै आएका वरण्डाभार वनका बिसहजारी ताललगायतका सिमसारहरू सुक्दै गएका छन् । सिमसार सुक्दै गएसँगै बालीनाली जोगाउन लगाएको पर्खालले गैँडा बाहिर निस्कने बाटाहरू बन्द हुँदै गए भने निकुञ्जभित्रको पदमपुर बस्ती स्थानान्तरण गरेपछि बाह्रै महिना हराभरा हुने जमिन काडाँघारी, सिरु र गन्धेझारले ढाक्यो । यसबाट गैँडालाई पानी र आहाराको कमी भएर त्यसको खोजीमा पश्चिमतर्फ सर्दै
गएका छन् । अव्यवस्थित पर्या–पर्यटन पनि गैँडा पूर्वबाट पश्चिमतर्फ एकत्रित हुँदै जानुमा कारक रहेको पाइएको छ ।
गैँडा राति सक्रिय हुने र दिउँसो झाडीमा लुकेर बस्ने तथा एकान्त ठाउँमा आहाल बस्ने वन्यजन्तु हो । त्यसैले निकुञ्जजस्तो संवेदनशील क्षेत्रमा नियन्त्रित पर्यटन (रेस्टिक्टेड टुरिजम्) सञ्चालन गर्नुपर्ने हुन्छ तर गैँडाको स्वभावलाई ध्यानमा राखेर पर्यटकीय गतिविधि सञ्चालन गरेको पाइँदैन । आर्थिक वर्ष २०७५÷७६ मा एक लाख ८७ हजार १०९ पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गरेका थिए । निकुञ्ज प्रवेश गर्न चाहनेजति सबै पर्यटकलाई प्रवेश अनुमति दिने गरिएको छ । गैँडाको वासस्थानमा मानिस, गाडी र हात्तीको भीडभाड, कोलाहल बढ्नाले उनीहरूको दिनचर्या खल्बलिँदै गएको छ र अहिले पर्यटकको भीड लाग्ने सौराहानजिकको इचर्नी टापु र स–साना टुक्रे वनमा गैँडा बस्न छाडेका छन् ।
जाडोमा बढी मर्ने
आर्थिक वर्ष २०७५/७६ देखि २०७७/७८ को तीनवर्षे अवधिमा चितवन राष्ट्रिय निकुञ्जभित्र मरेका ८७ वटा गैँडाको अध्ययन गर्दा पुस, माघ र फागुन महिनामा मात्रै ४२ वटा (४८ प्रतिशत) र असोजदेखि फागुनसम्मका छ महिनामा ६९ वटा (८० प्रतिशत) गैँडा मरेको पाइयो । सबैभन्दा बढी माघ महिनामा १८ वटा (२१ प्रतिशत) मरेको पाईयो । हिउँदको कठ््याङ्ग्रिँदो जाडोमा गँैडाको ठूलो शरीरलाई आवश्यक पर्ने कलिलो घाँसको अभाव हुँदै गएकाले बढी सङ्ख्यामा गैँडा मरेका हुन् । निकुञ्जभित्र घर छाउने खर काट्न छाडिएको छ भने घरपालुवा गाईबस्तुको चरिचरन पनि घट्दै गएकाले झाडी बढेको छ । गैँडा घाँसको खोजीमा खेतबारीमा निस्कने गर्दा मानव–गैँडा द्वन्द्व हुने गरेको छ । द्वन्द्व न्यूनीकरण गर्न लगाएको बारबन्देजका कारण गैँडाको चरन क्षेत्र थप सङ्कुचित हुँदै गएको छ ।
बाढीको प्रकोप
नारायणी र राप्ती नदीको उत्तरी किनारमा गरिएको अतिक्रमण, लगाएको तटबन्ध र नदी किनारमा बनाएका होटल, उद्योग र तारबार, पर्खालका कारण बाढीको समयमा बगेका गैँडा उत्तरी किनारमा अडिन मिल्ने ठाउँको अभाव हुँदै जानाले बगेर भारत पुग्ने गरेका घटना बढ्दै गएका छन् । २०७४ साउन २९ गते राप्ती नदीमा आएको बाढीले बगाएका १० वटा गैँडामध्ये नौवटा भारत पुगेका थिए भने एउटा त्रिवेणीमा अल्झिएको थियो । त्यस बाढीमा परेर छवटा गैँडा मरेका थिए । गत वर्षको बाढीमा समेत तीनवटा गैँडा बगेर भारत पुगेका थिए ।
पुरानै संरचना
गैँडाका कतिपय वासस्थान निकुञ्ज कार्यालयको क्षेत्राधिकारभन्दा बाहिर परेकाले पनि गैँडा संरक्षणमा चुनौती थपिएको छ । मध्यवर्ती क्षेत्रभन्दा बाहिर पर्ने चितवनको पञ्चकन्या सामुदायिक वनको छेउमा २०७६ पुस २ गते विद्युतीय धरापमा पारेर गैँडा मार्ने व्यक्तिलाई कानुनी कारबाही गर्नेतर्फ कुनै पहल गरिएन । गैँडालाई चरनको अत्यधिक अभाव हुने समय (पिन्च पिरियड) मङ्सिरदेखि फागुनसम्म हो तर टेन्डर प्रक्रियाबाट काम गर्नुपर्ने हुँदा समयमै घाँसे मैदान व्यवस्थापनको काम गर्न सकिएको छैन । मध्यवर्ती क्षेत्र व्यवस्थापनका लागि निकुञ्जले आर्जन गरेको ३० देखि ५० प्रतिशत आम्दानी खर्च गर्ने उपभोक्ता समितिहरूमा स्थानीय राजनीतिकर्मीको मात्रै प्रतिनिधित्व हुने कानुनी व्यवस्था रहेकाले मध्यवर्ती क्षेत्रका सामुदायिक वन उपभोक्ता समूह, स्थानीय तह र पर्यटन व्यवसायीसँग वासस्थान सुधार, मानव–गैँडा द्वन्द्व न्यूनीकरण र चोरीसिकार नियन्त्रणजस्ता साझेदारी कार्यक्रम सञ्चालन गर्न अप्ठ्यारो हुने गरेको छ ।
मध्यवर्ती क्षेत्र व्यवस्थापनसम्बन्धी कार्यक्रम चेपाङ, तामाङ, थारू, कुमाल, माझी, मुसहरजस्ता पिछडिएको समुदायलाई लक्षित गरी सञ्चालन गर्न नसक्दा तिनै समुदायबाट बढी मात्रामा गैँडाको चोरीसिकार हुने गरेको छ ।
चितवनको मध्यवर्ती क्षेत्र एकभन्दा बढी जिल्लामा फैलिएको छ तर निकुञ्ज कार्यालय मातहतका इलाका कार्यालय र रेञ्जपोस्टको क्षेत्राधिकार कम हुनाले सार्वजनिक सेवा प्रवाह प्रभावकारी हुन सकेको छैन । हिउँदे वर्षा कम हुँदै जानु, सिमसार क्षेत्रको विनाश र निकुञ्जभित्र बढ्दै गएको झाडीले हिउँदको समयमा गैँडालाई आवश्यक पर्ने घाँसको उत्पादन घटेको छ भने सहरीकरण र तारबारका कारण गैँडाले सदीयौँदेखि खेतबारीबाट प्राप्त गर्दै आएको आहारा पनि घटेको छ । गैँडा नेपालको पहिचानसँग जोडिएको वन्यजन्तु हो ।
नेपालले विभिन्न राष्ट्रलाई गैँडा उपहार दिएर गैँडा कूटनीतिको माध्यमबाट परराष्ट्र सम्बन्ध सुदृढ गरेको छ । यो नेपालको प्रमुख पर्यटकीय वस्तु पनि हो । नेपालको पर्यटन उद्योगमा गैँडाका कारण बर्सेनि पाँच–छ अर्ब रुपियाँ आम्दानी हुने गरेको छ । गैँडालाई देशको आर्थिक विकाससँग जोड्न सके मात्रै पनि ठूलो सङ्ख्यामा हरित रोजगारी सिर्जना गर्न सकिनेछ । नेपालले दिगो विकास लक्ष्यअन्तर्गत सन् २०३० सम्ममा पर्यटन क्षेत्रबाट कुल गार्हस्थ्य उत्पादनमा ८ प्रतिशत योगदान पु¥याउने लक्ष्य तय गरेको छ र त्यसका लागि पर्यटन आगमन ३० लाख पु-याउने लक्ष्य छ । यो लक्ष्य हासिल गर्नसमेत गैँडाको महìवपूर्ण योगदान रहनेछ ।
(लेखक चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, कसराका संरक्षण अधिकृत हुनुहुन्छ ।)