विचार/दृष्टिकोण |

पर्यटनमा सुधारको आशा (सम्पादकीय)

बयालीसौँ विश्व पर्यटन दिवस सोमबार विविध कार्यक्रमका साथ नेपालमा पनि मनाइयो । प्रत्येक वर्ष सेप्टेम्बर २७ का दिन मनाइने विश्व पर्यटन दिवसको यो वर्षको नारा ‘समावेशी वृद्धिका लागि पर्यटन’ नारा रहेको थियो । विश्वव्यापी रूपमा फैलिएको कोरोना (कोभिड–१९) का कारण विगत डेढ वर्षदखि पर्यटन क्षेत्र सङ्कटमा छ । यो महामारीमा पर्यटक आवागमन बन्द भएपछि पर्यटनसँग सम्बन्धित व्यवसाय बन्द भए र लाखौँले रोजगारी गुमाए । कोरोना महामारी सुरु हुनुअघि अर्थात् सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटक नेपाल घुम्न आएका थिए । वार्षिक २० लाख पर्यटक भित्र्याउने उद्देश्यका साथ सन् २०२० लाई नेपाल भ्रमण वर्षका कार्यक्रम सुरु भएको दुई महिनामै देशव्यापी बन्दाबन्दी घोषणा गर्ने बाध्यता आइप-यो । सन् २०२० को सुरुदेखि नै फैलिएको कोरोनाका कारण यो वर्ष नेपाल भित्रिएका पर्यटकको सङ्ख्या दुई लाख ३० हजारमा झ-यो । दोस्रो लहरका कारण निषेधाज्ञा जारी हुँदा सन् २०२१ का आठ महिनामा करिब ६६ हजार मात्रै विदेशी पर्यटक नेपाल भित्रिए ।

अब भने कोरोना महामारी नियन्त्रणमा आउन थालेको सङ्केत देखिन थालेको छ । करिब सवा दुई करोड नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य राखिएको मध्ये अहिलेसम्म ६० लाखभन्दा बढीले पूर्ण मात्रा र ६६ लाखभन्दा बढीले एक मात्रा लगाइसकेका छन् । थप एक करोड मात्रा सुनिश्चित भइसकेको अवस्थामा चैतसम्ममा लक्षित सबैलाई खोप लगाइ सकिने छ । खोपको उपलब्धताका कारण महामारी नियन्त्रणमा सहयोग पुगेको छ । निषेधाज्ञा हटाइएको छ र सरकारले अन्य क्षेत्रसमेत विस्तारै खुला गरेको छ । विदेशबाट नेपाल आगमन र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रा व्यवस्थासम्बन्धी आदेश, २०७८ जारी गर्दै यात्रासम्बन्धी नयाँ व्यवस्था लागू भएको छ । नयाँ व्यवस्थाअनुसार खोपको मात्रा पूरा गरेका विदेशी पर्यटकलाई प्रवेशबिन्दुमै प्रवेशाज्ञा दिने व्यवस्था गर्नुका साथै सीमा नाका खोल्ने र क्वारेन्टाइनको व्यवस्था हटाउने व्यवस्था गरिएको छ । कोरोना महामारी घट्दै गएका कारण पर्यटन क्षेत्रमा चहलपहल बढ्न थालेको छ । पोखरालगायत प्रमुख पर्यटकीय क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढ्न थालेपछि होटल, रेष्टुराँलगायत पर्यटनसँग सम्बन्धित व्यवस्था खुला हुन थालिसकेका छन् भने केही खुला हुने क्रममा छन् । पदमार्ग समेत खुला भइसकेका छन् ।

नेपालमा पर्यटन क्षेत्रको विकासको सम्भावना विशाल छ । नेपाल सांस्कृतिक, धार्मिक, ऐतिहासिक, प्राकृतिक तथा साहसिक आकर्षणका विविधताले भरिएको विश्वकै अनुपम र सुन्दर गन्तव्य हो । विश्व सम्पदा सूचीमा समावेश भएका तथा अन्य अद्वितीय सम्पदा नेपालमा रहेकाले पर्यटकका लागि छुट्टै आकर्षण छ । कोरोना महामारी र त्यसका कारण गरिएको बन्दाबन्दी र निषेधाज्ञामा समेत पर्वतारोहण रोकिएन । बन्दाबन्दीकै समयमा गत वर्ष करिब साढे चार सय स्वदेशी र विदेशीले सगरमाथा आरोहण गरेका छन् । मनास्लु, आमादब्लमलगायतका हिमाल आरोहण गरियो । अब पैदलयात्रा पनि खुला भएकाले विदेशी पर्यटकलाई आकर्षण गर्नेछ । चाँडै नै पर्यटन क्षेत्रले गति लिने विश्वास गर्न सकिन्छ ।

पर्यटन क्षेत्रले बहुआयामिक क्षेत्रमा प्रभाव पार्छ । आय अर्जन, रोजगारी र विदेशी मुद्रा आर्जनका लागि पर्यटन बलियो आधार हो । महामारी अघिको अवस्थामा पर्यटन क्षेत्रले कुल रोजगारीको तीन प्रतिशतभन्दा केही बढी र कुल गार्हस्थ्य उत्पादनमा तीन प्रतिशतभन्दा कम योगदान गरेको थियो । यहाँ उपलब्ध पर्यटकीय स्थल, प्राकृतिक, सांस्कृतिक, धार्मिक विविधताले पर्यटन क्षेत्रको अझै विकास हुनसक्ने सम्भावना छ । पर्यटन क्षेत्रको योगदान अझै बढाउन सकिने ठाउँ छ । दीर्घकालमा यी लक्ष्य हासिल गर्न सकिन्छ । अहिलेको आवश्यकता भनेको कोरोना महामारीबाट शिथिल बनेको अर्थतन्त्रको पुनरुत्थानका लागि पर्यटन क्षेत्र गतिशील हुनुपर्छ । महामारीमा पनि नेपाल पर्यटकका लागि खुला र सुरक्षित रहेको सन्देश दिनैपर्छ । बाह्य पर्यटक मात्र होइन, आन्तरिक पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राख्नुपर्छ । पर्यटन बहुसरोकारवालाहरूको अन्तरसम्बन्ध र सहकार्यबाट सञ्चालित क्षेत्र भएकाले पर्यटनको प्रवद्र्धन र विकासका लागि सरकारी, गैरसरकारी, निजी तथा साझेदारीको प्रयास आवश्यक छ ।