विचार/दृष्टिकोण |

ज्येष्ठ नागरिकको जीवन (सम्पादकीय)

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदैछ । सन् १९९० डिसेम्बर १४ मा संयुक्त राष्ट्रसङ्घको महासभाले प्रत्येक वर्ष अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने प्रस्ताव पारित गरेपछि हरेक वर्ष अक्टोबर १ लाई अन्तर्राष्ट्रिय तहमै ज्येष्ठ नागरिक दिवस मनाइँदै आएको हो । नेपालमा पनि यो दिवस मनाइन्छ । यो दिन ज्येष्ठ नागरिकले परिवार, समाज र राष्ट्रलाई दिइएको योगदान, उहाँहरूको अनुभव र क्षमताको कदर तथा सम्मान गर्दै उहाँहरूको सहज जीवनयापनका लागि प्रतिबद्धता जनाउने दिन हो ।
विश्वमा ज्येष्ठ नागरिकको सङ्ख्या बढिरहेको छ । अबका तीन दशकमा ज्येष्ठ नागरिकको सङ्ख्या दोब्बरभन्दा बढी हुने अनुमान छ । विकसित मुलुकमा ज्येष्ठ नागरिकको सङ्ख्या बढिसकेको छ भने अन्य देशमा पनि विकासको स्तर बढेसँगै ज्येष्ठ नागरिकको सङ्ख्या बढिरहेका छ । संयुक्त राष्ट्रसङ्घका अनुसार अहिले अति कम विकसित मुलुकमा तीन करोड ७० लाख ज्येष्ठ नागरिक रहेकोमा आगामी तीन दशकमा १२ करोड पुग्नेछ । नेपालमा ६० वर्ष काटेका नागरिकलाई ज्येष्ठ नागरिकको परिभाषामा समेटिएको छ । यो परिभाषाअनुसार हाल देशको कुल जनसङ्ख्याको नौ प्रतिशत अर्थात् करिब २५ लाख ज्येष्ठ नागरिक छन् । नेपालको जनसङ्ख्या वृद्धिदर एक दशमलव ३५ प्रतिशत रहेको अवस्थामा ६० वर्ष उमेरभन्दा माथिको जनसङ्ख्या वृद्धिदर भने यसको दोब्बरभन्दा बढी छ । आगामी दशकभित्रै यो ३५ लाखभन्दा बढी हुने प्रक्षेपण छ ।
जनसङ्ख्या संरचनामा ज्येष्ठ नागरिकको सङ्ख्या र हिस्सा बढ्दै गएपछि परिवार, समाज र राज्यको जिम्मेवारी समेत थपिएको छ । त्यसैले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा र अधिकार संरक्षणका लागि संवैधानिक र कानुनी व्यवस्था गर्नु आवश्यक भएको हो । नेपालको संविधानको धारा ४१ मा मौलिक हकका रूपमा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने व्यवस्थामा गरिएको छ । यसको कार्यान्वयनका लागि ऐन, कानुन निर्माण भएका छन् । ज्येष्ठ नागरिकका लागि राज्यले मासिक सुरक्षा भत्ता प्रदान गर्नुका साथै स्वास्थ्य उपचार, यातायातजस्ता क्षेत्रमा विशेष सुविधा र आरक्षणको व्यवस्था समेत गरेको छ । विगतको तुलनामा ज्येष्ठ नागरिकको हक, अधिकार र सुरक्षाका सन्दर्भमा धेरै काम भए पनि अझै पर्याप्त हुनसकेको छैन । विशेषगरी निर्माण भएका ऐन, कानुन, नीति र कार्यक्रमको कार्यान्वयन पक्ष फितलो छ । ज्येष्ठ नगारिक ऐन र नियमावली अनुरूप पाउने सेवासुविधा अझै ज्येष्ठ नागरिकले पाउन सकेका छैनन् ।
पोषण, सरसफाइ, स्वास्थ्य सेवा, शिक्षा र आर्थिक सुरक्षाले औसत आयु बढ्दा र जन्मदर घट्दै जाँदा कुल जनसङ्ख्यामा ज्येष्ठ नागरिकको सङ्ख्या र हिस्सा बढ्दै गएको हो । अर्कोतिर विकासको गतिसँगै विद्यमान सामाजिक संरचनामा फेरबदल हुँदै गइरहेको छ । संयुक्त परिवारको प्रचलन लोप हुँदै गएको छ र ज्येष्ठ नागरिकले परिवारमा पाउने सेवा, सुविधा र सम्मानमा कमी हुँदै गएको छ । परिवारले उपेक्षा गरेको वा चाहेर पनि पर्याप्त समय र सहयोग गर्न नसकेको, युवा पुस्ताबाट पाउनुपर्ने सम्मानमा कमी तथा राज्यबाट प्रदान गरिँदै आएको सामाजिक सुरक्षा र अन्य सुविधा न्यून रहेको अवस्थामा ज्येष्ठ नागरिकको अधिकार संरक्षण र प्रवद्र्धनका लागि थप आवाज उठाउनुपर्ने आवश्यकता देखिएको छ ।
ज्येष्ठ नागरिक परिवार, समाज र राज्यका लागि बोझ नभई सम्पत्ति हुन् । ज्येष्ठ नागरिक राष्ट्रका सांस्कृतिक धरोहर र अमूल्य निधि भएकाले विगतमा देश विकासमा उहाँहरूको योगदानलाई सम्मान गर्नुपर्छ । ज्येष्ठ नागरिक सीप, क्षमता र अनुभवका धनी भएकाले यो क्षमतालाई सामाजिक विकासमा उपयोग गर्नुपर्छ । ज्येष्ठ नागरिकका भोगाइ र अनुभवबाट नयाँ पुस्ताले धेरै सिक्न सक्छ । त्यसैले परिवार र समाजले पनि ज्येष्ठ नागरिकको सम्मान गर्नुपर्छ । ज्येष्ठ नागरिकका लागि सेवा सुविधा सुनिश्चित गर्नु र अधिकार संरक्षण गर्नु राज्यको दायित्व हो । ज्येष्ठ नागरिकको सुरक्षित र मर्यादित जीवनयापनका लागि आवश्यक सामाजिक सुरक्षाको प्रबन्ध हुनुपर्छ । उहाँहरूको सम्मानपूर्वक बाँच्न पाउने हक तथा अधिकारलाई राज्यबाट नै सुनिश्चित गर्नुपर्छ । यसो गर्दा राज्य लोककल्याणकारी दिशामा अग्रसर हुन सक्नेछ ।