विचार/दृष्टिकोण |

मातृभाषामा शिक्षा

गीता श्रेष्ठ

बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक मुलुक नेपालको भाषा, संस्कृति र जातीय अस्तित्व जोगाउन कठिन परिरहेको छ । केही दशकयता नेपाली धर्म, संस्कृति र भाषामाथि निरन्तर आक्रमण भइरहेका छन् । यसले गर्दा रैथाने भाषाहरू लोप हुँदै जाने चिन्ता व्यक्त भइरहेको छ । भाषा लोप भए मानिसको संस्कृति र चिनारी नै लोप हुन्छ भन्ने विषयलाई विद्वत् वर्गले उठाइरहे पनि जिम्मेवारी बहन गरेकाहरूबाट सोहीअनुसारको अभ्यास हुन सकेको छैन ।
आधुनिकताको नाममा हामीले हाम्रो भाषा, संस्कृति र संस्कारलाई पन्छाएर पराईको भाषा र संस्कृतिलाई बढी महìव दिँदा आफ्नो भाषा संरक्षणमा ठूलो चुनौती आइरहेको छ । भाषा हराउँदै जाँदा संस्कृति हराउँदै गएको छ । अब भने यसमा सामान्य सुधारको सङ्केत देखिएको छ । मुलुकका स्थानीय तहले स्थानीय संस्कृति, संस्कार, धर्म र इतिहास अनि प्राकृतिक स्रोत, साधन, सम्पदा र साहित्यलाई प्राथमिकतामा राखेर पाठ्यक्रम विकास गर्न थालेका छन् । यो सराहनीय कार्य त हो नै तर पर्याप्त भने छैन । सबभन्दा पहिले भाषा संरक्षणका लागि स्पष्ट योजना र नीति आवश्यक पर्छ । भाषा म¥यो भने मानिस जीवित त हुन्छ तर उसको पहिचान हराएर जान्छ ।
यसै शैक्षिक सत्रदेखि काठमाडौँ उपत्यकाको रैथाने बासिन्दा नेवार समुदायको भाषा, संस्कृति संरक्षणको आवश्यकता ठानेर काठमाडौँ महानगरपालिकाले ‘नेपाल भाषा’मा शिक्षण अनिवार्य गरेको छ । यसका लागि विद्यालयका शिक्षकलाई तालिमसमेत दिइएको छ । कक्षा ८ सम्म पाठ्यक्रम पनि तयार गरेको छ । नेपाल भाषाको शिक्षण विधिमा केवल भाषा मात्र नभएर संस्कृति, धार्मिक, सांस्कृतिक परम्पराको चिनारी पनि रहेको छ । अनि यो भाषा मात्र नभएर भाषामा अध्यापन गराइने भएकाले सबै जात–समुदायका विद्यार्थीका लागि निकै उपयोगी छ ।
यहाँ महìवपूर्ण कुरा के रहेको छ भने स्वयं नेवार समुदायभित्रै पनि उनीहरूले आफूले मनाउने चाडपर्व, संस्कृति र परम्पराको अर्थ र यसको महìव बुझ्न सकिरहेका थिएनन् भने अरूले त बुझ्ने कुरै भएन । तसर्थ पनि नेपाल भाषाको अध्यापन नेपालको दसौँ हजार वर्ष अघिदेखिको संस्कृति जोगाउने जमर्को पनि हो । हरेक मानिसको पहिचान उसको भाषामा हुन्छ, उसले आफ्नो भाषामा आफ्नो धर्म, संस्कृति, चाडपर्वको अध्ययन गर्न पायो भने पक्कै पनि गर्वको अनुभूत गर्नेछ । अङ्ग्रेजी भाषामा ‘यमोरी’का बारेमा पढेर के उसले बुझ्ला ? अर्को महìवपूर्ण कुरा के हो भने भाषा अध्ययनसँगै लिपिमा पनि अभ्यास गराउने योजना बनेन भने बोलीचालीमा भाषा त बँच्छ तर लिपि हराउँदै जान्छ । नेपाल भाषामा लेखिने कतिपय शब्दहरूमा प्रयोग हुने चिह्नहरू देवनागरी लिपिमा हुँदैनन् । तसर्थ लिपिको पनि संरक्षण र विकास अनिवार्य सर्त हो ।
भाषामा माटोको अर्थात् आफ्नो प्रकृतिको सुगन्ध हुन्छ । जब मानिसलाई माटोको सुगन्धको आभाष हुन्छ तब उसले आफ्नोपनको खोजी गर्न थाल्छ । आफ्नोपनको खोजी आफ्नै भाषाबाट मात्रै सम्भव छ । नेवारी संस्कृतिका चाडपर्वहरूको जानकारी अन्य भाषामा दिने कि नेवारी भाषामै भन्ने अहं सवालबीच नेपाल भाषाको अध्यापन सुरुवातले एउटा राम्रो सन्देश भने दिएको छ ।
बालबालिकालाई अक्षर चिनाउँदा मातृभाषा हुँदै राष्ट्रभाषा अनि विश्वमा प्रचलित भाषाबाट गराउँदा यसले बालबालिकामा आफ्नोपनको आभाष हुनेछ र उसको अध्ययनको गहिराइ बढ्ने छ । अत्याधुनिक शिक्षा भनिए पनि परम्पराको बिँडो थाम्दै शिक्षालाई व्यापार बनाएर भाषिक विकृति भिœयाउने होडबाजीका बीच आयातित शिक्षा र भाषालाई प्राथमिकता दिएर अरूले घोकाइदिएको पाठबाट बालबालिकाको क्षमता विकास हुँदैन । जबसम्म हामीले आफ्नो भाषा, संस्कृति र इतिहासमा बालबालिकालाई शिक्षित बनाउँदैनौँ, तबसम्म शिक्षित जनशक्ति तयार हुँदैन । बाह्य ज्ञानले मानिसलाई देशभक्त पनि बनाउँदैन र मानवीय गुणले युक्त पनि हुँदैन । त्यसैले शिक्षामा भाषाको ठूलो महìव छ । मौलिक शिक्षा पद्धतिको साटो आधुनिक शिक्षा नीति अपनाएपछिको शिक्षामा गरिएको राज्यको लगानीअनुसारको उपलब्धि हासिल हुन सकिरहेको छैन । युवा वर्गलाई देश अनुकूलको शिक्षा नै दिन सकिएको छैन । हामीले आफ्नो इतिहास बालबालिकालाई पढाउनै सकेनौँ वा पढाउनै चाहेनौँ । हामीले आयातित शिक्षा र अरूको भाषालाई बढी महìव दिएका छौँ । हाम्रो भाषा र नेपालको इतिहास विदेशीले लेखिदिनुपर्ने अवस्थामा हामी पुगेका छौँ । यसमा दोष कसको ? हाम्रो आफ्नै दोष के कति छ ? किन हामीले नेपाली भाषालाई औपचारिकतामा मात्र सीमित ग¥यौँ ? किन हामीले संस्कृतका पुस्तकमा आगो झोस्यौँ ? संस्कृत पढ्ने र पढाउने दायित्व किन लिएनौँ ? मूल प्रश्न यो पनि हो ।
जबसम्म पुर्खाका राम्रा कर्मको ज्ञान भविष्यका कर्णधारलाई दिँदैनौँ र हाम्रा सन्ततिलाई आफ्नो भाषामा निपूर्ण बनाउँदैनौँ, तबसम्म हामीले सन्तानलाई विदेशी भाषाको प्रमाण–पत्र दिएर मात्र शिक्षित भए भनेर गर्व नगर्दा हुन्छ । त्यस्तो शिक्षाले हाम्रा सन्ततिलाई संस्कारी बनाउन सक्दैनौँ । हामीले हाम्रा भविष्यका कर्णधारलाई सदाचारी, सुसंस्कारी र कर्तव्यबोधी बनाउने शिक्षा दिन थाल्ने हो भने हामीले शिक्षण संस्था सञ्चालन गरेको र शिक्षण पेसामा संलग्न हुनुको सार्थकता झल्किन्छ । हामीले समयको धारअनुसार अघि बढ्ने नाममा केही विकृति भिœयाएका छौँ । यही विकृतिको दलदलमा नेपाली शिक्षा क्षेत्र फँसेको छ । अर्थात् शिक्षा वस्तु खरिद–बिक्रीको जस्तो व्यापारिक साधन भएको छ र शिक्षाका विषयमा विविध कोणबाट अनेक व्याख्या, विश्लेषण र विधि आ–आफ्नो स्वार्थका लागि अपनाइन्छन् । यसै भएर नेपालको शैक्षिक गुणस्तर कमजोर बन्दै गएको हो । आफ्नो भाषा, आफ्नो धर्म, संस्कृति, संस्कार अनि रीतिरिवाजका विषयमा मातृभाषामा शिक्षा दिइँदैन । केवल विदेश निर्यात गर्ने वस्तुजस्तो गरी तयारी गरिनु आजको विडम्बना हो ।
भन्ने गरिन्छ– भाषा मानिसको मुटु हो । जसरी मुटु कमजोर हुँदै जाँदा मानिस हरक्षण मृत्योन्मुख हुन्छ, त्यसरी नै भाषा मर्दै जाँदा समाज सोही दिशातिर उन्मुख हुन्छ । हामीले के बुझ्नु जरुरी छ भने कुनै एक भाषा वा आफ्नो जातीय भाषा मात्र हैन, शिक्षण र बौद्धिक कार्यमा लाग्ने सबैले नेपालमा बोलिने सम्पूर्ण भाषा राष्ट्रको सम्पत्ति र गहना हो भन्ने बिर्सनु हुँदैन । यिनको संरक्षण कुनै एक समुदायको हितका लागि मात्र हैन, सिङ्गो राष्ट्रको हित र चिनारीको विषय रहेकाले भाषाप्रति कसैले दुर्भावना राख्ने हैन कि सबैले सबैको भाषा, संस्कृति, धर्म र संस्कार तथा सामाजिक रीतिरिवाजको सम्मान गर्दै एकले अर्कोसँग सहिष्णु भएर अघि बढ्नुपर्छ । “भाषा जोगाउन सकिए मात्रै जाति जोगिन्छ र जाति जोगिए मात्रै देश जोगिन्छ” भन्ने हेक्का सबैमा हुनुपर्छ ।