बाध्यताको उपज वैदेशिक रोजगार
निशा चौधरी
राष्ट्रिय विकासको जिम्मेवारी वहन गरेका उन्नति, प्रगति अनि विश्वसनीयता सिर्जना गर्ने मानव वर्ग नै युवा हो । सीपमूलक प्राविधिक एवं व्यावहारिक शिक्षाको अभावले गर्दा हाम्रो मुलुकमा शिक्षित युवा दिन प्रतिदिन बेरोजगार हुँदै गइरहेका छन् । त्यही बेरोजगारीले गर्दा युवा वैदेशिक रोजगारप्रति आकर्षित भई धमाधम स्वदेशी भूमि छोड्दै विदेशी भूमि सुमसुम्याउन गइरहेका छन् ।
युवाले नवीन रचनालाई जन्म दिन सक्छन् अनि विश्वमा नै युगीन परिवर्तनको बिगुल फुक्न सक्छन् । युवा त्यस्तो ज्वार हो, जसले राष्ट्र र राष्ट्रियताका लागि भगीरथ तपस्या गर्न सक्छन् अनि विकास र परिवर्तनका लागि दरिलो र भरपर्दो आधार स्तम्भ बन्न सक्छन् तर नेपालमा युवाशक्ति मनभरी मिठामिठा सपना बुन्दै विदेश पलायन भइरहेका छन् । त्यही दरिलो र भरपर्दो आधारस्तम्भ बन्ने युवा आज खाडी मुलुकमा ४५ डिग्रीको तापक्रममा रगत–पसिना चुहाउँदै छन् । अकालमै विदेशी भूमिमा ज्यान गुमाएर कतिपय त काठको बाकसमा निष्प्राण फर्किंदै छन् । यो पाटोलाई हेर्दा निकै कहालीलाग्दो स्थिति छ ।
यसरी दिन प्रतिदिन युवा विदेश पलायन हुने क्रम बढ्दा देशमा विकराल स्थिति सिर्जना भएको छ । आजभोलि गाउँघरतिर युवा देखिनै छाडेका छन् । गाउँघरमा कसैको मृत्यु हुँदा लास बोक्ने युवासमेत भेटिन छाडेका छन् । गाउँघरमा शून्यता छाएको छ । यस्तै स्थिति रहिरहने हो भने भोलिका दिनमा हाम्रो देश ‘अवला नारी’ भनिएझैँ नहोला भन्न सकिन्न । एकातिर पढेलेखेका युुवामा आफ्नो देशमा सानोतिनो काम गर्नै नहुने भन्ने मानसिकता धेरैमा रहेको छ । यही माटोमा केही गरौँ, विदेशमा बगाउने पसिना स्वदेशकै माटोमा बगाऊँ भन्ने भावना धेरैजसो युवामा नहुँदा खाली वैदेशिक रोजगारीमा आकर्षण हुने गरेको देखिन्छ । जुनसुकै काम गरे पनि कामका आधारमा मानिस कहिल्यै सानोठूलो हुँदैन । अर्कोतिर गरिबी र अभावले विदेशको भूमि टेक्न बाध्य हुनुपर्दा युवाका मनमा नैराश्यता छाउँदै गइरहेको छ । अन्ततः वैकल्पिक मार्गका रूपमा शिक्षित युवा पनि आफ्नो माटोप्रतिको ममतालाई त्यागी विदेशी भूमि अँगाल्न पुगेका छन् । यसरी दिनदिनै कैयौँ मदन मुनालाई छोडेर आर्थिक अवस्था सुधार्न विदेशतिर पलायन हुनुपरेको छ ।
यो तीतो यथार्थ हो, जसलाई सबैले नाङ्गो आँखाले छर्लङ्ग देखिरहेका छन् । विदेश जाउँला धन कमाउँला, दुई–चार वर्षपछि फर्की आउँला अनि परिवारसँग रमाउँला भन्ने मृगतृष्णा मनभरी साँच्दै कैयौँ युवाले आफ्नी आमाको, श्रीमतीको नाक, कान र घाँटीका गहनासमेत बेचेका छन् । कतिले घरजग्गा बैङ्कमा धितो राखेर ऋण निकालिरहेका छन् । जसमध्ये धेरैले विदेश जाने लहैलहैमा लाग्दा थाहै नपाई दलालको फेला पर्दा घरवारविहीन भएर विक्षिप्त हुन बाध्य छन् । हुँदाछँदाको घरजग्गा पनि अरूले कब्जा गरेर लिलामी गरेको हामीले देख्दै आइरहेका छौँ । अझ भनौँ, विदेशी भूमिमा गएर त्यहाँको कानुन, नीति–नियम थाहा नपाउँदा विभिन्न सामाजिक अपराधमा जेल, यातना तथा मृत्युदण्डको सजायसमेत पाउन विवश छन् । कतिपय युवा सवलाङ्ग शरीरलाई अपाङ्गता बनाएर विदेशको नासो सम्झिँदै घुँडामा टाउको राखेर पिँढीमा बस्दै तुहिएका सपना सम्झिएर रुन विवश छन् । विदेशिएका कतिपय चेलीले विदेशमै बेचिनुपरेको छ तथा वेश्यावृत्तिमा संलग्न हुनुपरेको छ । अहिले विश्वभर फैलिएको कोरोना महामारीले गर्दा विदेशमा रहेका युवा पलपल आफ्नै स्वदेशी भूमिलाई सम्झेर सरकारसँग आफूहरूको उद्धार गरिदिन आग्रह गरिरहेका पनि छन् । सरकारले विभिन्न देशबाट उद्धार गरेको छ । जे भए पनि आफ्नै देशमा सानोतिनो काम गरेर परिवारसँग बसेर गुजारा चलाउन चाहनेहरूको पनि कमी छैन । जे होस्, मान्छेलाई आपतविपत पर्दा आफ्नै देश र परिवार विदेशी भूमिभन्दा कैयौँ गुणा सुन्दर र प्यारो लाग्दोरहेछ । विदेशिएका युवालाई कोरोना कहरले थोरै भए पनि आफ्नै देशमा केही गरौँ भन्ने चेतना भरिदिएको छ । यसलाई एउटा सकारात्मक पाटो नै मान्नुपर्छ । वैदेशिक रोजगारको सकारात्मक पाटोभन्दा नकारात्मक पाटो नै बढी देखिएको छ ।
एकातिर दक्ष जनशक्ति विदेशिँदा नेपाली भूमिले सोचेअनुसारको प्रगति गर्न सकेको छैन भने विदेशिएको जनशक्तिले पनि भनेअनुसारको अवसर, तलब र काम नपाउँदा निकै कष्टकर जीवन जिउन बाध्य भएका छन् । यद्यपि यसका सकारात्मक पक्षहरू पनि रहेका छन् । वैदेशिक रोजगारमा संलग्न हजारौँ मानिस आफ्नो उद्देश्यअनुरूप सफल पनि भएका छन् । निजहरूको घरपरिवारको आर्थिक अवस्थालगायत देशको आर्थिक अवस्था, शिक्षा, आवास, स्वास्थ्यजस्ता महìवपूर्ण कार्यमा अहम् भूमिका निर्वाह गरेका छन् तर यिनै विदेशिएका युवाको सफलताको कथा त्यति पढ्न, सुन्न र देख्न पाइँदैन । दक्ष, शिक्षित युवा जनशक्ति विदेश पलायन हुनु पक्कै पनि आफैँमा राम्रो कुरा होइन । आफ्नै भूमिमा श्रम गरेर फल चाखौँ भन्ने हो ।
युवा विदेशिनु नेपालको राजनीतिक क्षेत्रमा देखिएको अस्थिरताले उब्जाएको गम्भीर समस्याका रूपमा देखिएको छ । जसले गर्दा युवाले शैक्षिक प्रमाण–पत्र बोकेर पनि स्वदेशमा रोजगारीको अवसर नपाउँदा अवसर खोज्दै विदेश पलायन हुनुपरेको छ । यो भनेको बाध्यताको उपज हो । अहिलेको सरकारसँग नेपाली जनताको ठूलो अपेक्षा र भरोसा छ । वैदेशिक रोजगारीप्रतिको मोहलाई रोक्न सर्वप्रथम त नीति निर्माण तहमा रहेका नेतृत्वकर्ताले युवा वर्गलाई समेत नेतृत्व तहमा समेट्ने किसिमले नीति अवलम्बन गर्नुपर्छ । जतिसक्दो स्वदेशी स्रोत र साधनको अधिकतम रूपमा सदुपयोग गर्दै लैजानुपर्छ । युवालाई स्वदेशमै स्वरोजगारको वातावरण सिर्जना गर्नेतर्फ सरकारले कदम चाल्न कत्ति पनि ढिला गर्न हुँदैन । सय दिनको रोजगारीभन्दा पनि दीर्घकालीन नीति तथा योजना निर्माण गरी निर्वाहमुखी भत्ताको सट्टा स्थायी रूपमा रोजगारीको व्यवस्था मिलाउनुपर्छ । उनीहरूलाई आवश्यक सहयोग, सकारात्मक सुझाव तथा प्रोत्साहन चाहिएको छ । चाहे उद्योगमा होस्, चाहे कृषिमा होस्, चाहे व्यापार व्यवसायमा होस्, लगानी गर्नलाई सरकारले सहज तरिकाले अनुदान दिनुपर्छ । महिला सीप तथा विकासमा त झनै जोड दिनु आवश्यक छ ।
रोजगारीका लागि आजको सिङ्गो पुस्ताले केवल सरकारको मात्र मुख ताक्नु पनि ठीक होइन । सरकारको मुख ताक्दाताक्दै केही गरौँ भन्ने वयष्क उमेर सुस्तसुस्त ढल्कँदै गइसकेको कैयाँैले पत्तै पाउँदैनन् भने कैयौँ युवा विकल्पका रूपमा वैदेशिक रोजगारमा आकर्षित हुने गरेका छन् । सानोतिनो लगानीबाटै स्वरोजगार बनौँ न त भन्दा पनि हाम्रो नेपाली समाजले कामको सम्मान गर्नै जानेको छैन । खाली गुनासो मात्र गर्न जानेको छ ।
खाली सरकारले यो गरिदिएन, त्यो गरिदिएन भनेर सरकारको विरोध र गुनासोबाहेक केही सुनिँदैन । यस्ता गुनासाभन्दा पनि आफ्नो ठाउँबाट जे सकिन्छ, त्यो गर्ने हो । प्रयास आफूले गर्ने हो । विदेशमा बगाउने पसिना यहीँको माटोमा बगाउनु समयोचित ठहर्छ । यहीँको माटोमा दसनङ्ग्रा खियाएर आफ्नै पौरखले जीवन जिउनका लागि सर्वप्रथम देशमा बढ्दै गएको आन्तरिक कलहको अन्त्य हुनुपर्ने देखिन्छ । द्वन्द्वको विष र औषधि भनेको पनि हामी नै हौँ । त्यसैले गृहकलहको अन्त्य गरी स्वच्छ समाजको निर्माण गरौँ र विदेशमा लगानी गर्ने श्रम यहीँ लगानी गरेर यहीँको माटोमा सिर्जनाको फूल फुलाउन सक्दा सबैको भलाइ हुनेछ ।