काँग्रेसभित्र वैचारिक बहस
डा. पुरुषोत्तम मरहठ्ठा
नेपाली काँग्रेसमा केही समयदेखि वैचारिक छलफल, वादविवादभन्दा निर्वाचन र क्रियाशील सदस्यता बढाउने विषयमा मात्र ध्यान केन्द्रित भएको छ । हुन त देशका अन्य ठूला पार्टीमा पनि कसरी हुन्छ आफ्ना कार्यकर्तालाई पकडमा राख्न व्यस्त बनाइराख्ने एउटा उपाय हो । यो प्रक्रिया महिनौँ चलिरहेको कारण सत्ता सम्हाल्नेले भने निरन्तर गाली खाइरहेको छ । यतिबेला प्रधानमन्त्री देउवा अनेकौँ आलोचना सहेर पनि उचित अवसरमा काँग्रेसलाई गति दिन धैर्य र संयम राखेर आफ्ना विरोधीहरूलाई सकेसम्म आलोचना गर्न निरन्तर छुट दिइरहनुभएको छ । पार्टीको महाधिवेशनका कारण काँग्रेसमय बन्दै गएको यो समयमा अर्कोतिर गोदावरीमा पनि एमालेले तीन दिने विधान महाधिवेशन सम्पन्न गरेको छ । प्रतिपक्षी राजनीतिक दलले खर्चिलो प्रक्रिया अपनाएर नीति निर्धारण र नेतृत्व चयन गर्न नीतिमाथि छलफल र अर्कोमा नेतृत्व चयन मात्र हुनेगरी चुनावी अधिवेशन फेरि अर्को समयमा गर्नेगरी खर्चिलो प्रक्रिया अपनाएर धनाढ्य पार्टी भएको देखाउँदैछ । उसले पहिलोमा राय सल्लाह लिने र दोस्रोमा चुनावमा हेलिने रणनीति अख्तियार गरेको छ ।
यता, काँग्रेसले भने २१औँ शताब्दी अनुकूलको पार्टी बनाउन युवाहरूको जोड पुस्तान्तरण, रूपान्तरण, जागरणजस्ता विषयहरू १४औँ महाधिवेशनको मुखमा फत्ते गरेर देखाउन खोज्दैछ । जति–जति महाधिवेशनको तिथि नजिकिँदै जान्छ, नेतृत्वका लागि समीकरण बन्ने र भत्कनेक्रम सुरु हुन थालेको छ । अधिवेशन पार्टीको आन्तरिक विषय भए पनि नेपालको संविधानको भाग २९ मा राजनीतिक दलसम्बन्धी व्यवस्थाअनुरूप राजनीतिक दल गठन गरी सञ्चालन गर्न र दलको विचारधारा, दर्शन र कार्यक्रमप्रति जनसाधारणको समर्थन र सहयोग प्राप्त गर्नका लागि त्यसको प्रचारप्रसार गर्न, गराउन वा सो प्रयोजनका लागि अन्य आवश्यक काम गर्न सक्नेछन् भनी संवैधानिक व्यवस्था गरिएको छ । यसका साथै दलको विधानले कम्तीमा पाँच वर्षमा एक पटक सो दलको सङ्घीय र प्रदेश तहको प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था संवैधानिक बाध्यताभित्रको भएकै कारण यसले लोकतन्त्रप्रति जनताको जागरण बढाएको छ । हालका दिनमा कतिपय स्थानमा आस्था र विश्वास बोकेर यसको सदस्यता लिने युवा पुस्ताले देशकै ठूलो महानगर हुन लागेको अधिवेशनमा अबका दिनमा गुट र उपगुटको नेतृत्व गर्नेहरू आफैँ पाखा लाग्ने छन् । महाधिवेशनसम्म पुग्दा वडादेखि खारिएका प्रतिनिधिहरूबाट कसैले केही सिक्लान् भने कसैले पार्टीमा अझै आन्तरिक प्रजातन्त्रको अभाव रहेको छ भन्ने पनि अनुभव गलौछ् । जे होस्, यो अधिवेशनले केही महìवपूर्ण पाठ भने पढाएरै बिदा हुनेछ ।
चुनावमा पुस्ताको कुरा हुनु, युवाको समर्थन छ भन्नु प्रौढले घेरिएको पार्टी भन्नु यो एक किसिमले सबै पुस्ताको प्रतिनिधित्व भएको विशाल पार्टीको सङ्केत गरेको हो । यसको नेतृत्व लिनेले कार्यकर्तामा जोस–जाँगर र चेतना भर्न सक्नुपर्छ । लोकतन्त्रको पर्याय नेपाली काँग्रेस मात्र होइन, अरू पार्टी पनि लोकतन्त्रको अभ्यास गर्दैछन् । यद्यपि, काँग्रेसले आफूलाई अरूभन्दा भिन्न कसरी देखाउने हो ? एकातिर सत्ताको व्यवस्थापन गर्न नसकेको अपजस पार्टीमाथि लाग्दैछ भने अर्कोतिर नेतृत्वभित्र छिरेर भण्डाफोर गर्न खोज्ने जमात पनि छ । ठूलो सङ्ख्यामा आफ्नैभित्रको बडीले गर्दा आगामी महाधिवेशनमा को, कसको पक्षमा उभिने हो भन्ने थाहा पत्तो छैन ।
कुनै समय काँग्रेसले आह्वान गरेको प्रजातन्त्र प्राप्तिका लागि हतियार उठाउने कार्यकर्ताको बारेमा पार्टीले कुनै सोधखोज गर्न सकेको छैन । जसको परिणाम असन्तुष्ट काँग्रेसहरू निष्क्रिय बन्न पुगेका छन् । सत्तामा गएपछि सुकिला र मुकिलाको सङ्गतमा भुइँमान्छेलाई नहेर्नुले यस्तो भएको अवस्था उत्पन्न भइदियो । सैद्धान्तिक बहस यो पार्टीमा रित्तिएको छ । केवल चुनावी बहसले जोर पकडिएको छ । पार्टीको इतिहासमा कुनै नेतालाई अति देवत्वकरण गरियो र कुनैलाई भने डोबाटोमा लगेर हुर्मत लिने काम भयो । नेताको योगदान होइन, उनीहरूको सिद्धान्त, दर्शन के थियो भन्नेतर्फ अध्ययन केन्द्रित भएन । संविधानलाई असफल बनाउनेतर्फ किन पटक–पटक प्रयत्न हुन्छ भन्नेतर्फ मन्थन गरिएको छैन । राजनीतिक अस्थिरता किन दोहोरिइरहेको छ भनेर पद्धतीय अन्तरविरोध केलाइएको छैन । पार्टीभित्र भिन्न राजनीतिक विचारधाराले बढाएको अहंकार र दम्भलाई चुनौती दिन कहिल्यै छलफल गरिएन । केवल चुनाव केन्द्रित राजनीति र सत्ता केन्द्रित रणनीतिमा मुलुक भास्सिदै जानु भनेको सानो मुलुकका लागि डरलाग्दो अवस्था हो । पार्टी रूपान्तरण गर्न खोज्नेभन्दा यथास्थितिमै राख्न खोज्नेहरू हावी देखिन्छन् ।
काँग्रेसमा यदाकदा सुनिने पहिलो पुस्ता र दोस्रो पुस्ताको विवादले बीच–बीचमा यसलाई तरङ्गीत बनाइरहेको पाइन्छ । पुस्तान्तरणको आवाज उठाउने पार्टीभित्रका केही युवा एक पटक राष्ट्रपति भएपछि दोहो-याउन नपाउने, दुई पटक प्रधानमन्त्री भएपछि तेस्रो पटक हुन नपाइने, तीन पटकको मन्त्री र चार पटकको सांसदसहितको उमेर हदको विषयमा नेका अघि बढनुपर्नेमा नेकपा एमाले अघि देखियो । सत्तामा पुग्न अझै पनि आशीर्वाद खोज्नेहरूलाई यो महाधिवेशनले हैसियत देखाइदिनुपर्छ । एकातिर आशीर्वाद खोज्ने, अर्कोतिर पुस्तान्तरण गर्नुप¥यो भन्ने । अहिले काँग्रेसभित्रको नेतृत्वपङ्क्ति उपयुक्त अवसरको प्रतीक्षामा छ । फेवियनवादीहरूले जसरी उचित अवसर नआएसम्म आक्रमण गरिहाल्नु हुन्न, प्रतीक्षा गर्नुपर्छ भन्थे । सेनापति फेवियसले हान्निबलविरुद्ध जुन नीति अख्तियार गरेथे, उपयुक्त समय आएपछि थुचुक्कै पार्ने फेवियसको रणनीति अहिले काँग्रेसमा धेरैले कुर्दैछन् । फलाम तातेको समयमा त्यसलाई पिट्न उपयुक्त नै हुन्छ ।
आठ लाखभन्दा बढी क्रियाशील सदस्य भएको काँग्रेस पार्टीमा सदस्यको भीड बढेसँगै ‘मासवेश’बाट ‘क्याडर वेश’ कहिल्यै बन्न सक्ने स्थितिमा छैन । कार्यकर्ताको व्यक्तिगत संस्कार, आचरण र व्यवहार जबसम्म लोकतान्त्रिक हुन सक्दैन, त्यसभित्रको संस्थागत विकासको कसरी लोकतन्त्रीकरण हुनसक्छ ? काँग्रेसको नेतृत्व परिवर्तन गर्न भीड होइन, विचार र वादले डो¥याएको सानो जमात नै काफी हुन्छ । सबैलाई अटाउने र जोड्ने सूत्र भएकोले नै तीन–तीन पटक देशको क्रान्तिको नेतृत्व गर्न पाएको हो । परिआउँदा निर्णायक हस्तक्षेप गर्नसक्ने खुबी पहिलेका नेतामा थियो । अहिले त एकले अर्कोलाई देखिनसहने र घोचपेच शैली ज्यादा देखिन्छ । मलेसियाका महाथिर मोहम्मद र सिङ्गापुरको लिक्वानले मुलुकलाई कहाँबाट कहाँ पु¥याए ! के तिनीहरू ७० वर्षभन्दा माथिका होइनन् र ? पार्टीमा पुस्तान्तरणको कुरा युवाले आफूलाई बेग्लै देखाउन बोले पनि सक्रियता र क्षमता प्रदर्शन गरिरहेसम्म उमेर बाधक बन्दैन । गुटबन्दी गरेर पार्टीलाई क्लब बनाउनेहरूलाई यो अधिवेशनले पाखा लगाउन सक्नुपर्छ । अनुकूल र प्रतिकूलमा पनि निर्णय गर्नसक्ने खुबी भएकालाई माथि पु¥याउनुपर्छ ।
बीपीले काँग्रेसलाई आफ्नै शक्तिमा खडा हुनुभएको सल्लाह विगतमा नेतृत्वमा बस्नेले मनन गरेका भए अहिले नेतृत्वको कसैले आलोचना गर्न सक्दैनथ्यो । अरूको एजेन्डामा काँग्रेस धेरै पटक घिस्रिन पुगेको छ । खाली सत्ता र चुनावलाई महìव दिने तर देशका गम्भीर विषयमा छलफल नै नगर्ने भएपछि पार्टीबाट बुद्धिजीवीहरू किनारा लाग्नु स्वाभाविक हो । पुस्तान्तरण भनेर मात्रै कोकोहालो मच्चाउन आवश्यक छैन । पुस्तान्तरणका लागि निर्धारित मापदण्ड, विधि र नियममै व्यवस्थित गर्ने हो भने काँग्रेसमा नेताको मौखिक आदेशबाट काम तामेली गर्ने बाध्यता रहन्न ।
आन्तरिक शुद्धीकरणले कुनै पनि पार्टीलाई जीवन्त बनाइराख्छ । व्यक्तिको विचारलाई दबाउने हो भने नागरिक सत्य जान्नबाट बञ्चित हुन पुग्छन् । काँग्रेसले चुनाव हार्दैमा केही भएको छैन । मुख्य कुरा देशमा शान्ति कायम गर्न हिंसा र द्वन्द्वमा लागेका पार्टीलाई संसदीय धारमा ल्याउन सफल भएको छ । अहिले उनीहरू लोकतन्त्रको सुन्दर पक्ष स्वस्थ प्रतिस्पर्धाको अभ्यासमा लागिपरेका छन् । बेलाबखत उग्र विचारधाराको प्रदर्शन पनि भइरहेको छ । गोप्य कोठामा गरिने चलखेल त सर्वहाराको अधिनायकवादमा मात्र सम्भव हुन्छ । त्यसैले विचारमा बन्देज गर्ने लोकतान्त्रिक अभ्यास रोक्न खोज्यो भने काँग्रेसको आन्तरिक प्रजातन्त्रमा आघात पुग्छ । काँग्रेसमा अधिक बढेको सदस्यताले के देखाउँछ भने उग्र राजनीतिक विचारधाराको नारातर्फ युवापुस्ता अब आकर्षित हुन छोडेको छ ।
अब केही महिनापछि सम्पन्न हुने काँग्रेसको १४औँ महाधिवेशनले काँग्रेसभित्र रित्तिदै गएको विचारशून्य अवस्थामा ऊर्जा भरिने र वैचारिक छलफल तथा सैद्धान्तिक बहसको परम्परा बस्ने विश्वास गरिन्छ । सत्तामा टिकिरहन पार्टीलाई धेरै पटक वैशाखी बनाउनेले नै पार्टीलाई कमजोर बनाइरहेको पाइन्छ । कतिपय नेतामा अझै पनि हाम्रा पितापुर्खाको पार्टीमा योगदान रहेकोले यसलाई वंश विरासतमा प्राप्त हो भन्ने सोचाइ देखिएको छ । पार्टीभित्रका स्वतन्त्रता सेनानीहरूले कस्तो अवस्थामा आफ्नो जीवन गुजारेका छन् भन्ने पार्टीमा छलफल हुन आवश्यक छ । यस्तो अवस्थामा पुराना त्यागी नेतालाई पन्छाएर विरासतबाट उम्मेदवार दिने गरियो भने त्यसले पनि नेकालाई सङ्गठित बनाउन सक्दैन । त्यसैले नेकाभित्र शासन व्यक्तिको होइन, विधिको हुनुपर्छ भन्ने मान्यता स्थापित गर्न सक्नुपर्छ ।