आमालाई पत्र
जुनु ढकाल
आमासँग भेट नभएको पनि वर्षौं भयो तर सञ्चारमाध्यमको प्रयोगले प्रत्यक्ष मुख हेरेर नै बोल्न भने पाइएको छ । भिडियोमा पटक–पटक भेट भइरहेकाले भेटेर नै बोलेजस्तो अनुभव भएको छ । हामीले शान्त र स्वर्गजस्तो मुलुकमा जन्म लिएका छौँ । यो हाम्रो भाग्यको कुरा हो । यस भूमिलाई प्रकृतिले आफ्नो सुन्दरताको कुनै पनि कुरामा कमी हुन दिएकी छैनन् । यस किसिमको सुन्दर, शान्त र विशाल देशमा जन्मिएका खासगरी हामी नारी अति नै भाग्यशाली हौँ । भनिन्छ नि, कुनै पनि देशका नागरिक असल भए भने त्यो देश समृद्ध बन्छ । अनि कुनै पनि घरका सदस्य, त्यसमा पनि नारी सदस्य असल भए भने त्यो घर स्वर्गसमान हुन्छ । घरमा सुख, शान्ति र ऐश्वर्य आउँछ । त्यसैले आमा हाम्रो घरमा पनि सुख, शान्ति र आनन्द आएको देख्ने घरका सबै सदस्यको मन हुन्छ, इच्छा हुन्छ तर सो घरलाई सोचेजस्तो समृद्ध बनाउनका लागि स्वयं मेरो के भूमिका रहन्छ र, मेरो कर्तव्य के हो भन्ने विषय हामी घरमा रहने सबै सदस्यले सोचविचार र मनन गरेर सोही सोचअनुसारको व्यवहार गर्न सकेमा मात्र कुनै पनि घरमा अशान्ति र झैझगडा हुन पाउँदैन ।
आमा शब्द ज्यादै प्यारो लाग्छ । त्यसैले पटक–पटक आमालाई सम्बोधन गरिरहेकी छु । आमा तपाईंलाई लाग्न सक्छ, कहिले यस्तो नभन्ने मेरी छोरी किन आज यस किसिमको कुरा लेख्दै छे ? म छोरी हुँ । मलाई आमाले आफ्नो गर्भमा नौ महिनासम्म अनेक दुःखकष्ट झेल्दै, आफ्नो जीवनको समेत पर्वाह नगरी यो सुन्दर धर्ती टेकाउनुभयो । मलाई जन्म दिँदा तपाईं पक्कै पनि आधा मरेकी हुनुहुन्थ्यो । यो कुरा म आफू आमा बनेपछि अनुभव गरेकी छु । मलाई घरको आँगन पोलेर विधिवत् रूपमा नौमती बाजा बजाउँदै पराई घरमा पठाउनुभयो । त्यस दिनबाट मेरो जन्मघर मेरो माइतीमा परिणत भयो । माइतीमा तपाईंले सिकाएका हरेक संस्कार मैले कर्मघरमा सुरु गर्न प्रयास गर्न थालेँ । तपाईंले मलाई पढाएका नैतिकताका हरेक पाठ यस नयाँ घरमा लागू हुन् या नहुन्, मैले त्यसलाई प्रयोग गर्ने अभ्यास गर्न छोडिनँ ।
मेरो सम्झनामा तपाईंका धेरै रात अनिँदा बन्न पुगे होलान् । हो, त्यस अप्ठ्यारो समयमा तपाईंलाई सम्झाइ बुझाइ गर्न र साथ दिनका लागि भनेर छोरा अथवा मेरा दाइ र भाइले भाउजूबुहारी भिœयाएका छन् तर आमा तपाईंले त्यस समयमा भाउजू र बुहारीलाई मेरो स्थान दिएर, मलाई दिने माया र स्नेह दिएर अनि मलाई जत्तिकै विश्वास गरेर कहिल्यै हेर्नुभएको छ ? जसरी मलाई कष्ट गरेर तपाईंले जन्म दिनुभयो र पराईलाई जिम्मा लगाउनुभयो, ठीक त्यसैगरी ती भाउजू र बुहारीलाई पनि उनकी आमाले हामीकहाँ पठाएकी हुन् । जसरी म तपाईंलाई छोडेर रुँदै पराई घरमा आएकी छु नि, त्यसरी नै उनीहरू पनि आमाको न्यानो अँगालो छोडेर हाम्रो घरमा आएका हुन् ।
आमा, अब म तपाईंलाई केही प्रश्न सोध्न चाहन्छु । तपाईं जसरी मेरी छोरीले खाना खाई कि खाइन, मेरी छोरीलाई थकाई पो लाग्यो कि, मेरी छोरी बिरामी पो भई कि भनेर बारम्बार मेरो चिन्ता गर्नुहुन्छ नि । हो, त्यसरी नै भाउजू र बुहारीका बारेमा पनि चिन्ता गर्नुभएको छ त ? भाउजू र बुहारी कुनै दिन बिहान ढिलोसम्म पनि उठेर आएनन् भने उनीहरूको कोठामा गएर तिमीलाई सञ्चो भएन कि नानी ? भनेर अहिलेसम्म कति पटक उनीहरूको निधारमा हात पु¥याउनुभएको छ आमा ? कति पटक म तिम्री आमासरह हुँ भनेर उनीहरूलाई स्नेह दिनुभएको छ ? अनि उनीहरू बाहिर गएर थाकेर आउँदा कति पटक तातोपानी वा चिया बनाएर दिनुभएको छ ? अनि मेरा दाइभाइले भाउजूबुहारीलाई नमिठो वचन लगाए भने तपाईंले प्रतिवाद गर्नुभएको छ त आमा ? तपाईंको भोकतिर्खा हेर्ने, मैला भएको फरियाचोली सफा गरिदिने, बिरामी हुँदा ओखतीमूलो जुटाउने अनि दैनिक घरबाहिर र भित्र पनि काममा खटिइरहने उनीहरूलाई कत्तिको अपनत्व दिनुभएको छ ? भाउजूबुहारीलाई छेउमा राखेर तिमीहरूलाई केही सारोगारो परेको छ कि ? भए मलाई भन्नु है भनेर कहिल्यै उनीहरूलाई भरोसा दिनुभएको छ ?
तपाईं आफ्नो छातीमा हात राखेर भन्नुस् त आमा, ती बुहारीलाई मेरो स्थान दिनुभएको छ ? अचानक बिरामी परेको बेला म टाढा रहेकी छोरीले तपाईंलाई अस्पताल पु¥याउन सक्दिन । एक दिन भेटेर गुलियो वचन बोल्नुबाहेक अरू के नै सेवा गर्न सक्छु र मैले । घरमा २४सै घण्टा सुखदुःख साट्ने तपाईंका बुहारीहरू नै छोरी हुन् । आजैबाट सुरु गर्नुस्, उनीहरूलाई सकारात्मक दृष्टिले हेर्न । उनीहरूप्रति भरोसापूर्ण व्यवहार गर्न । तपाईंले राम्रो गरेपछि उनीहरूले पनि राम्रो गर्छन् । घरलाई स्वर्ग बनाउनमा तपाईंकै ठूलो हात छ । घरका महिलाको नेतृत्वदायी भूमिकामा रहेर घरलाई मन्दिरसरह बनाउन तपाईंले कत्ति पनि दुःख गर्नुपर्दैन, केवल माया बाँडे पुग्छ आमा ।