दशैँको फेरिँदो रूप
डा. रामहरि ढकाल
दशैँ हिन्दुको मात्र पर्व नभएर तमाम ॐकार परिवारभित्र रहेका नेपालीको राष्ट्रिय पर्व हो । स्वदेश तथा विदेशमा रहे–बसेका सबै नेपाली र संसारभरका हिन्दुले दशैँ पर्व मान्दछन्, भलै मान्ने तरिकामा भिन्नता हुनसक्ला । यस अवसरमा वैरभाव र वैमनस्यलाई त्यागेर शुभकामना आदान–प्रदान गर्दै आत्मीयता साटासाट गरिन्छ । स्रोत, साधन र परिस्थितिअनुसार मनाउने तरिकामा भने भिन्नता पाइन्छ । संसारका हरेक संस्कृतिमा समय सापेक्षित परिवर्तनहरू भइरहँदा दशँै पर्वमा पनि परिवर्तन हुनु अस्वाभाविक होइन । हिजो र आजको दशैँमा धेरै फरकपन आइसकेको छ । फरक खोज्न धेरै अघि पुग्नै पर्दैन, दुई–तीन दशक नै काफी छ । यातायात, सञ्चार प्रविधि, बिजुली र सहरीकरणको प्रभावका कारण दशैँमा ठूलो परिवर्तन आएको अनुभव हुन्छ ।
विगतमा परदेशी लाहुरेहरू घर फर्कन थालेपछि दशैँ आयो भन्ने अनुभव हुन्थ्यो । लहलह झुल्ने धानका पाक्नै लागेका बाला, बादल फाटेर वर्षात् हराएको आकाश, दाउरा र घाँस काट्ने, मार हान्ने जन्तुको जोहो, हतियारहरू साँध लगाउन आरनतिर हिँडेका मान्छे आदिको चहलपहलसँगै घरघरमा दशैँ भित्रिन्थ्यो । घर पोत्न रातोमाटो र कमेरो प्रयोग हुन्थ्यो । घरआँगन सफा गरिन्थ्यो । वर्षात्ले बिगारेका बाटाघाटा बनाउन गाउँले खन्ती–कोदालो बोकेर निस्कन्थे । त्यही बेलामा बरपिपल रोप्नेदेखि चौतारो बनाउनेसम्मका काम हुन्थ्यो । धाराकुवाजस्ता पानीका स्रोतहरू सफा गरिन्थे । वर्षको एकपटक किन्ने नयाँ लुगाले बालबच्चा मात्र होइन, परिवारका सबै सदस्यको मुहारमा खुसी ल्याउँथ्यो । चिउरा कुट्नका लागि परिवारका सबै सदस्य काम विभाजन गरेर सहभागी हुन्थे । घरमा नपाइने र नभइनहुने नुन, चिनी, मरमसला, कपडाजस्ता कुरा मात्र किनिन्थे । तैपनि बजारमा भीडभाड हुन्थ्यो । घरका बच्चाहरू नयाँ कपडा लगाएर छिमेकीको घरमा देखाउन पुग्थे र प्रशंसाको अपेक्षा गर्दथे । तेल पेल्ने कोलमा महिना दिन अघिदेखि लाम लाग्थ्यो । चामल र पिठोको जोहो पनि गर्नैपथ्र्यो । दुहुनु नहुनेको घरमा छिमेकी वा आफन्तले दहीदूध ल्याइदिन्थे । बाँडीचुँडी पर्व मनाउने प्रचलन थियो ।
बिजुलीबत्ती र टेलिभिजन नहुनाले गाउँगाउँमा जनचेतना जगाउन र मनोरञ्जनका लागि नाटक प्रहसन हुन्थे । लोकदोहोरीका भाका र मादलको रन्कोले अर्को गाउँसम्म ब्युँझाउँथ्यो । जान्नेले नाच्नेगाउने गर्थे, नजान्नेहरू हेरेर मनोरञ्जन लिन्थे । जसरी भए पनि सकिनसकी एकजोर ब्याट्री किनेर क्यासेट घन्काउने गरिन्थ्यो । कोही पिङका लागि बाबियो खोज्न जान्थे । सिपालुले पिङको लठारो बनाउने गर्थे । फूलपातीकै दिनमा लिङ्गो गाडेर वा रुखमा पिङ हालिन्थ्यो । कतै–कतै जाँते र रोटेपिङ पनि हालिन्थ्यो । घटस्थापनाकै दिनदेखि जमरा राख्नका लागि सामग्री जुटाउन र नित्य पूजा गर्न परिवारका मूलीहरू लागिपर्थे । पुरोहित, पण्डित, ब्राह्मणले हरेक दिन जमरा घरमा देवीभागवत र सप्तसती चण्डी
पाठ गर्थे । कामको सिलसिलामा घरदेखि टाढा पुगेकाहरू दशैँ मान्न घर फर्कन्थे । महिनौँ वा वर्षसम्म नदेखेकाहरूबीच पनि भेटघाट र खबर आदान–प्रदान हुन्थ्यो । आफ्ना प्रगतिका कुरा सुनाएर उनीहरू दङ्ग पर्थे । फूलपातीदेखि नवमीको दिनसम्म प्रायः मानिस पिङमा भेटिन्थे । पिङ मच्चाएर पिपलको पात वा लिङ्गोको टुप्पो छुने प्रतिस्पर्धा नै हुन्थ्यो । साना बालबालिकाका लागि घरघरमा छुट्टै पिङको व्यवस्था गरिन्थ्यो । सहरबजारमा भने चङ्गा उडाउने चलन मात्र होइन, चङ्गा चेटको प्रतियोगितासमेत हुने गर्थे । रेडियो, टेलिभिजनबाट मालश्रीका मङ्गल धुनहरू बज्ने गर्थे । अहिलेको दशैँमा यस प्रकारको कुनै रौनक पाइँदैन । गाउँमा होस् कि सहरमा दशैँ फिक्का–फिक्का बन्दै गएको छ ।
जमाना बदलिएको छ, दशैँ मनाउने पुरानो तरिकामा पनि व्यापक परिवर्तन आएको छ । परदेशीहरूले घर फर्कन दशैँ कुर्दैनन्, बिदा मिलाएर आउँछन्, जान्छन् । पहिलेको जस्तो भरिया लगाएर गुन्टा बोकेर आउँदैनन्, यातायातको व्यवस्था गाउँसम्मै छ । गाउँमा सडक पुगेको अवस्था छ । मानिस कृषि पेसा छोडेर अन्य पेसातर्फ आकर्षित भएकाले लहलह बाली झुल्ने अधिकांश खेत बाँझै छन् । गाउँमा पनि दाउराको सट्टामा ग्यास चुलो प्रयोग हुन थालेको छ । मासु खान दशैँ कुर्नु पर्दैन । सहरीकरणको विस्तारले जुनै पनि दिन मासु किन्न पाइन्छ, चाहे एकादशी नै किन नहोस् । एक पटक घर रङ्गाएपछि पाँच–सात वर्षलाई ढुक्क हुन्छ आधुनिक घरमा ।
रातोमाटो र कमेरो खोज्नेहरू भेटिँदैनन् आजकल । झ्यालढोका रङ्याउन घाँसपात पकाइरहनु पर्दैन । ब्याट्रीको कालो पनि निकालिरहनु पर्दैन । बिग्रेका कृषि सडकमा डोजर लगाउने चलन सुरु भएको छ । घरघरमा धारा भएकाले मानिसले पानीको मुहान देख्नै परेको छैन । यातायातको विस्तारले गर्दा हिँडेर थाक्दा बस्ने चौतारी, देउरालीको मर्मत गर्नु पनि परेको छैन ।
मानिसहरूले पुराना लुगा लगाउन छोडे, बरु हेर्दा पुराना च्यातिएका जस्ता देखिने कपडा फेसनका रूपमा प्रयोग गर्न थालेका छन् । चिउरा, तेल, चामल, पिठो, जे जे चाहिन्छ, बजारबाट ल्याउन पाइने भयो, केवल चाहियो पैसा । चिउरा खान अष्टमी कुर्नु परेन । टेलिभिजन र इन्टरनेटको विस्तारले नाटकका रङ्गमञ्चहरू बिरानो भए । मादल र दोहोरीको सट्टा छानीछानी गीत बजाउने प्रविधिको विकास भएको छ । गाउँमा पिङ हाल्ने न जनशक्ति छ, न इच्छाशक्ति नै । बरु पैसा तिरेर पिङ खेल्नकै लागि मेलातिर जान थालेका छन् । लामो बिदाको सदुपयोग गर्दै घुमघाम गर्ने चलन पनि बढ्दै छ
पछिल्ला वर्षहरूमा । आजकल दशैँ प्रायः घरभित्रै मनाइन्छ । चोक–चौतारोमा भेला भएर अन्तत्र्रिmया गर्ने चलन घट्दो छ । घरमै टेलिभिजन, मोबाइल र इन्टरनेट प्रयोग गरेर रमाउने चलन बढ्दो छ । छिमेकीको हालखबर च्याटबाट थाहा हुन्छ । अन्तत्र्रिmया सामाजिक सञ्जालको माध्यमबाट गरिन्छ । कसले के लगायो, के खायो, के गर्दैछ, कहाँ छ, सबै कुरा सामाजिक सञ्जालकै माध्यमबाट सार्वजनिक गरिन्छन् । मामाघर जाने भनेपछि हुरुक्कै हुने केटाकेटीलाई आजकल मोबाइल र इन्टरनेट भएपछि मामाघर जानै मान्दैनन् ।
कुनै पनि जात र वर्गका युवा पुस्तामा मदिरापानको संस्कृति झाङ्गिएको छ । फजुल खर्च गर्ने प्रवृत्ति बढेको छ । दशैँ मान्न साहुको घरमा ऋण माग्न जाने अवस्था अब खासै छैन । प्रायः घरबाट वैदेशिक रोजगारमा जानेहरू छन् । भोगविलासका साधनको उपयोग गर्ने प्रवृति बढ्दो क्रममा छ । परिवर्तन स्वाभाविक प्रक्रिया हो । दशैँ मनाउने प्रक्रियामा पनि परिवर्तन आएको छ । आधुनिक उपभोक्तावादी संस्कृति, सहरीकरणको प्रभाव र प्रविधिको विकासले दशैँको वास्तविकतालाई ओझेलमा पार्दैछ । परिवर्तनलाई आत्मसात् गरौँ तर दशैँको वास्तविकतालाई बिर्सेर होइन । वर्तमान कोरोना सङ्क्रमणको अवस्थामा त अझ सजग रहेर मनाउनुपर्ने अवस्था छ । दशैँपछि कोरोना सङ्क्रमणको वृद्धि नहोस् । यसका लागि हरेक जन स्वयं चनाखो रहनुपर्छ । कोरोनाकै कारण आर्थिक अवस्था डामाडोल भएको परिस्थितिमा खर्च गर्दा अझ विचार पु¥याउनुपर्ने देखिन्छ । पुरानो कपडाले पनि एक पटकको दशैँ टर्छ । अति आवश्यक चिजबिजहरू मात्र किन्ने बानी बसाल्नु उपयुक्त हुन्छ । दशैँ दशा नबनोस्, फजुल खर्च गर्ने प्रतिस्पर्धा नगरौँ । घर, कोठा छोडेर दशैँ मनाउन अन्यत्र जाँदै हुनुहुन्छ भने पूर्ण रूपमा सुरक्षाका उपाय अवलम्बन गर्न नबिर्सौं ।