उच्च शिक्षामा सेमेस्टर पद्धति
प्रा.डा. श्रीरामप्रसाद उपाध्याय
राष्ट्रिय शिक्षा पद्धतिको योजना, २०२८ लागू भएपछि नेपालको शिक्षा प्रणालीमा युगान्तकारी परिवर्तनहरू भए । शिक्षकहरूको सेवा, सर्त र सुविधा उल्लेखनीय रूपमा वृद्धि गरियो । सबै तहका शिक्षकका लागि निजामती कर्मचारीसरह तलबमान, औषधोपचार, उपदान, पेन्सन र सुलभ दरमा ऋणको व्यवस्था गरियो ।
राष्ट्रिय शिक्षा पद्धतिको योजनाअनुसार विद्यालय तहमा व्यावसायिक तथा साधारण गरी दुई किसिमको शिक्षा प्रणाली लागू गरियो । यसका निम्ति बेग्लाबेग्लै पाठ्यक्रम तथा विषयवस्तु चयन गरियो । व्यावसायिक शिक्षाअन्तर्गत काष्ठकला, कृषि, मत्स्यपालन, पशुपालन, वागवानी, वास्तुकला तथा मूर्तिकलाजस्ता विषय समावेश गरिएका थिए । संस्कृत शिक्षालाई पनि साधारण शिक्षाअन्तर्गतका विभिन्न विषय समावेश गरी आधुनिक बनाइएको थियो । यसबाहेक अन्य धार्मिक पाठशाला तथा विद्यालयहरूलाई पनि राष्ट्रिय शिक्षा पद्धतिको योजनाअनुरूप सुधार गरिएको थियो । विद्यालय शिक्षाका प्राविधिक शिक्षामा प्रयोगात्मक शिक्षातर्फ बढी जोड दिएको थियो । साधारण शिक्षातर्फ पनि केही व्यावसायिक विषयहरू राखिएका थिए । व्यावसायिक तथा साधारण शिक्षामा भिन्नता भनेको नै व्यावसायिक शिक्षामा बढी व्यावसायिक विषय राखिनु र साधारणतर्फ त्यसको अनुपातमा कम विषय राख्नु नै थियो ।
राष्ट्रिय शिक्षा पद्धतिको योजना लागू भएपछि विद्यालयस्तरका पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण विधि र मूल्याङ्कनसम्बन्धी प्रक्रियामा व्यापक परिवर्तनहरू भए । पाठ्यक्रम विशेषज्ञ तथा विषय शिक्षकको संलग्नतामा विद्यालय पाठ्यक्रममा व्यापक रूपमा परिमार्जन तथा परिवर्तन गरिएका थिए । विद्यालयको पाठ्यक्रममा विषयअनुसारको विद्यालय घण्टा क्रेडिट आवर निर्धारण गरिएको थियो । प्रत्येक विषयका विषयवस्तुलाई पनि क्रेडिट आवरमा विभाजन गरिएको थियो । राष्ट्रिय शिक्षा पद्धतिको योजना लागू भएपछि उच्च शिक्षाका पाठ्यक्रम, पाठ्यसामग्री शिक्षण विधि तथा मूल्याङ्कन प्रविधिमा पनि व्यापक परिवर्तन गरियो । उच्च शिक्षामा सेमेस्टर पद्धतिअनुसार प्रत्येक ६÷६ महिनामा अर्थात् अर्धवार्षिक मूल्याङ्कन पद्धतिको विकास गरियो । यसका साथै आन्तरिक मूल्याङ्कनको पनि व्यवस्था गरिएको थियो ।
विद्यार्थीका लिखित परीक्षाको मूल्याङ्कन शिक्षण गर्ने शिक्षकहरूबाटै गर्ने पद्धति विकास गरियो । यस्ता मूल्याङ्कन पूर्ण रूपमा खुला हुने गर्दथ्यो । सम्बन्धित विषयका शिक्षकले विद्यार्थीकै उपस्थितिमा मूल्याङ्कन गर्ने परिपाटी कायम गरिएको थियो । गोप्य रूपमा मूल्याङ्कन गर्ने परम्परागत पद्धतिको प्रभावले गर्दा खुला मूल्याङ्कन पद्धतिलाई त्यतिसारो रुचाइएन । यस पद्धतिमा शिक्षकमाथि दबाब पर्न गएको अनुभव गर्न थालियो । यस मूल्याङ्कन पद्धतिमा विषय शिक्षकलाई विद्यार्थीको चित्त बुझाउन निकै गाह्रो भयो भन्ने गुनासो आउन थाल्यो ।
उत्तरपुस्तिकाको परीक्षणमा एकरूपता ल्याउन प्रयोगात्मक परीक्षाका साथै प्रश्नहरू निबन्धात्मक तथा वस्तुगत गरी दुई श्रेणीमा विभाजन गरियो । वस्तुगत प्रश्नलाई बहुवैकल्पिक, जोडा मिलाउने, खाली ठाउँ भर्ने, शुद्ध–अशुद्ध भनी वर्गीकरण गरियो । यस्ता प्रश्नका उत्तरपुस्तिका परीक्षणमा एकरूपता देखा प¥यो । तैपनि यस्ता प्रश्नबाट विद्यार्थीका सिर्जनात्मक क्षमताको विकास हुन सक्दैन भन्ने आलोचना पनि हुन थाल्यो । त्यसै हुनाले वस्तुगत प्रश्नमा बहुवैकल्पिक प्रश्नलाई मात्रै प्राथमिकतासाथ प्रयोगमा ल्याइयो । निबन्धात्मक प्रश्नको परीक्षणमा एकरूपता ल्याउन मार्किङ स्किमको व्यवस्था गरियो । राष्ट्रिय शिक्षा पद्धतिको योजना खारेज भए पनि मूल्याङ्कनका साधनहरू प्रायःजसो यथावत् नै रहे ।
सेमेस्टर पद्धतिका गुण तथा अवगुण सम्बन्धमा अनेक विवाद तथा बहसहरू प्रारम्भ भए । राष्ट्रिय शिक्षा पद्धतिको योजनाअन्तर्गत स्नातकोत्तर तहमा राष्ट्रिय विकास सेवाको प्रावधान राखिएको थियो । यसअन्तर्गत स्नातकोत्तर तहको अन्तिम एक वर्ष राष्ट्रिय विकास सेवाअन्तर्गत विद्यार्थीले देशका विभिन्न भागमा गएर वर्ष दिनसम्म आफ्ना विषयसँग सम्बन्धित सीप प्रयोग गरी देश निर्माणको काममा सहयोग गर्नुपर्ने हुन्थ्यो । राष्ट्रिय विकास सेवामा संलग्न विद्यार्थीले शैक्षिक क्षेत्रमा विशेष योगदान पु¥याएका थिए । यिनले ग्रामीण क्षेत्रमा राजनीतिक चेतनाको विकासमा निकै सहयोग पु¥याएका थिए । राष्ट्रिय शिक्षा पद्धतिको योजनाको अन्त्यसँगै राष्ट्रिय विकास सेवाको पनि अन्त्य गरियो । राष्ट्रिय शिक्षा पद्धतिको योजनाअनुसार सबै विश्वविद्यालयअन्तर्गतका सबै शिक्षण संस्थानलाई अध्ययन संस्थान भनिन्थ्यो । तर त्यसमा परिवर्तन गरी प्राविधिक विषयको अध्ययन, अध्यापन गर्ने संस्थानलाई अध्ययन संस्थान र साधारण विषय अध्ययन अध्यापन गर्ने संस्थालाई सङ्काय भन्ने नामकरण गरियो ।
केही विश्वविद्यालयमा सेमेस्टर पद्धति अन्त्य गरेर वार्षिक प्रणाली लागू गरियो । अन्य केही प्राविधिक माहाविद्यालय तथा विश्वविद्यालयले सेमेस्टर पद्धतिलाई निरन्तरता दिई नै राखे । त्रिभुवन विश्वविद्यालयले सेमेस्टर र वार्षिक प्रणाली दुवै एकसाथ सञ्चालन गर्दै आएको थियो । यस विश्वविद्यालयअन्तर्गतका चिकित्साशास्त्रजस्ता संस्थानमा सेमेस्टर पद्धति नै सञ्चालनमा छन् । त्रिभुवन विश्वविद्यालयले वार्षिक शिक्षा प्रणालीलाई विस्थापन गरी आफ्ना सबै अध्ययन संस्थान तथा सङ्कायहरूमा पूर्ण रूपमा सेमेस्टर पद्धति लागू गर्ने निर्णय गरेको छ । यस निर्णयको यथाशीघ्र कार्यान्वयन गरी सबै शिक्षण संस्थान तथा सङ्कायहरूमा एकरूपता ल्याउनु आवश्यक छ । सेमेस्टर पद्धतिले विद्यार्थीलाई निरन्तर कक्षामा उपस्थित हुने र परिश्रम गर्ने बानीको विकास गर्ने अवसर प्रदान गर्छ । एक वर्षसम्म सम्झेर मूल्याङ्कनमा सरिक हुने परिपाटीले गर्दा धेरै विद्यार्थी अनुत्तीर्ण भएर बीचैमा उच्च शिक्षाको अवसरबाट वञ्चित हुने गर्थे भने सेमेस्टर पद्धतिले ६÷६ महिनामा परीक्षामा बस्न पाउने अवसर प्राप्त हुँदा अनुत्तीर्ण विद्यार्थीको सङ्ख्या क्रमशः न्यून हुँदै गएको छ । यसका साथै सेमेस्टर पद्धतिमा विद्यार्थीलाई अनुसन्धानात्मक प्रतिवेदन तथा अनुसन्धानमा संलग्न हुने अवसर प्राप्त हुने हुनाले तिनका सिर्जनात्मक क्षमताको पनि विकास हुने गर्छ । उच्च शिक्षामा सेमेस्टर पद्धति लागू गर्नु ज्यादै नै सान्दर्भिक रहेको छ ।
विश्वका प्रायः सबैजसो विश्वविद्यालयमा सेमेस्टर पद्धति नै लागू भएका छन् । यसले शिक्षक र विद्यार्थी दुवैलाई अध्ययन अध्यापनमा सक्रिय गराउँछ भन्ने कुरामा कुनै विवाद छैन तर उच्च शिक्षामा सेमेस्टर पद्धतिलाई आधुनिक किसिमबाट सञ्चालन गर्नुपर्ने आवश्यक हुन्छ । यस पद्धतिमा शिक्षकको भूमिका पूर्ण रूपमा निर्देशकका रूपमा रहन्छ भने विद्यार्थीले शिक्षकको निर्देशनमा आफ्ना अध्ययन अनुसन्धानलाई अगाडि बढाउनुपर्छ । वार्षिक पद्धतिअनुसारकै पाठ्यक्रम, शिक्षण विधि तथा मूल्याङ्कन प्रविधिको प्रयोग भइरहेमा सेमेस्टर प्रणालीको कुनै औचित्य रहँदैन ।
सेमेस्टर पद्धतिमा विश्वविद्यालय तथा महाविद्यालयहरूका पाठ्यक्रम, शिक्षण विधि तथा मूल्याङ्कन प्रविधिलाई समयसापेक्ष रूपमा निरन्तर परिवर्तन गर्दै लैजानुपर्ने हुन्छ । यसलाई वार्षिक प्रणालीजस्तै गरी अगाडि बढाउने हो भने सेमेस्टर पद्धतिको कुनै औचित्य रहँदैन । त्यसै हुनाले यस पद्धतिलाई अभैm व्यावहारिक बनाउन अनुसन्धानात्मक गतिविधिमा जोड दिनुका साथै राष्ट्र विकास सेवाजस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता हुन्छ ।