मानव संसाधन तालिमको प्रभावकारिता
धनबहादुर ओली
राज्यले आफ्ना क्रियाकलापलाई व्यवस्थित ढङ्गले सञ्चालन एवं जनतालाई सरल, सहज र सुलभ सेवा प्रदान गर्न सार्वजनिक सेवा प्रदायक निकाय वा संस्था स्थापना गरेको हुन्छ । त्यस्ता निकाय न्यायिक, व्यवस्थापकीय, कार्यकारी र संवैधानिक प्रकृतिका हुन्छन् । त्यसको सट्टा राज्य, समुदाय र समाजको आवश्यकताअनुरूप सरकारको स्वामित्व वा नियन्त्रणमा शिक्षा, स्वास्थ्य, सुरक्षालगायत अन्य संस्थाहरूसमेत स्थापना गरिएका हुन्छन् । त्यस्ता निकाय वा संस्थालाई सार्वजनिक सेवा प्रदायक निकायका रूपमा पहिचान गर्दछौँ । त्यस्ता संस्थालाई चलायमान बनाई अपेक्षित नतिजा प्राप्त गर्न निजामती कर्मचारी, सेना, प्रहरी, प्राध्यापक, शिक्षकलगायत अन्य कर्मचारीको व्यवस्था गरिएको हुन्छ । जसलाई हामी कार्यरत मानव स्रोत, संसाधन, जनशक्ति र कर्मचारीजस्ता शब्दले सम्बोधन गर्छौं ।
राज्यका कामकारबाहीलाई व्यवस्थित गरी स्थापित निकायलाई नतिजामूलक, छरितो र प्रभावकारी बनाउन मानव संसाधन एक महìवपूर्ण र अपरिहार्य अवयव हो । व्यवस्थापनमा अन्य स्रोतसाधन परिचालन गरी संस्थालाई गतिशील र जीवन्त बनाउने कार्य मानवीय संसाधनले गरेको हुन्छ । राज्यका निकायमा सेवारत जनशक्ति सबल, सक्षम, उत्प्रेरित, सङ्गठनप्रति उत्तरदायी, जिम्मेवार एवं वफादारीका लागि बेलाबखतमा कार्यक्षेत्रसँग सम्बन्धित विषयवस्तुमा तालिमको आवश्यकता पर्छ ।
शिक्षा, तालिम र क्षमता विकास उस्तैजस्तो देखिए तापनि यी तीनमा पृथकता रहेको छ । शिक्षाको क्षेत्र व्यापक हुनुका साथै कक्षाकोठामा सैद्धान्तिक सिकाइका विषवस्तुमा जोड दिइन्छ । पेसाकर्मीलाई सम्बन्धित विषयवस्तु र सीपमा आधारित भई तालिम प्रदान गरिने हुँदा तालिम अल्पकालीन, छोटो अवधि र निश्चित तोकिएको समयावधिमा सम्पन्न हुन्छ । तालिमले सीपको विशिष्टीकरण गरी स्थानान्तरणमा जोड दिन्छ । क्षमता विकास भन्नाले कर्मचारीको विकासका लागि संरचित सिकाइ अवसर प्रदान गर्ने कार्यक्रम हो । यो दीर्घकालीन निरन्तर रूपमा चलिरहने प्रक्रिया भएकाले सीमाङ्कन हुँदैन तर तीनवटै तìव एकअर्कामा अन्तरसम्बन्धित र परिपूरक हुन्छन् । शिक्षा, तालिम र क्षमता विकास प्रक्रियाले जनशक्तिमा नरम सीप विकासमा टेवा प्रदान गर्छ । मानव संसाधनको सक्षमता र सङ्गठनात्मक कार्यसम्पादनमा सुधार ल्याउन सञ्चालन गरिने व्यवस्थित एवं प्रक्रियात्मक कार्यक्रमलाई तालिम तथा क्षमता विकास भनिन्छ । सङ्कुचित धारणाअनुसार तालिमलाई केवल प्रशिक्षार्थीलाई विषयवस्तुको जानकारी दिने, निर्देशित स्वरूपमा लिइन्छ भने बृहत् अर्थमा तालिमलाई एकअर्काका कार्यानुभवहरूमा अन्तक्र्रिया गर्ने, कामसँग विशिष्टीकृत सीप, समस्याको समाधान, बदलिँदो प्रविधिसँग साक्षात्कार एवं नवीन ज्ञान, सीप, धारणा र व्यवहारको रूपान्तरणका रूपमा लिइन्छ । तालिम र क्षमता विकासले उत्पादकत्वमा वृद्धि, कर्मचारीको मनोबल उच्च पार्नुका साथै सङ्गठनात्मक स्थायित्वमा सहयोग पु¥याउँछ । प्रक्रिया, विषयवस्तु र सीपको जानकारीका हिसाबले मध्यम तथा सानो तहमा कार्यरत कर्मचारी÷पदाधिकारीलाई नितान्त कार्यगत विषयवस्तुमा तालिम दिइन्छ भने उच्च तथा कार्यकारी तहका कर्मचारी÷पदाधिकारीलाई क्षमता विकासका अवसरहरू प्रदान गरिन्छ । यद्यपि नवीन प्रविधि, साधन प्रयोगको सीप एवं सेवामा वृत्ति विकासका दृष्टिकोणले सबै तहका जनशक्तिलाई तालिम आवश्यक हुन्छ । गुणस्तरमा सुधार, स्वस्थ सङ्गठनात्मक वातावरण, स्वास्थ्य तथा सुरक्षा, मितव्ययिता, सक्षमता र प्रभावकारिताका लागि तालिमको अपरिहार्यता हुने हुँदा यो जनशक्तिलाई सबल बनाउने आधार मात्र नभई समग्र मानवीय जनशक्ति विकासको पूर्वसर्त पनि हो । कर्मचारीलाई उत्प्रेरित गर्ने विभिन्न साधनमध्ये मानव संसाधन तालिम महìवपू्र्ण उपाय हो ।
कामका लागि तयारी पार्नु, सक्षमतामा अभिवृद्धि गर्नु, विश्वासको वातावरण विकास गर्नु, परिवर्तनका लागि तयारी पार्नु, गुणस्तरमा सुधार गर्नु, उत्पादकत्वमा वृद्धि गर्नु, अवसरहरू प्रदान गर्नु, दृष्टिकोण र धारणामा परिवर्तन गर्नु, नवीनतम ज्ञान, सीप, धारणा र मूल्यमान्यता थप गर्नु, फरक वातावरणको अनुभूति र नयाँ सञ्जाल निर्माण गर्नुजस्ता उद्देश्य तालिमले लिएको हुन्छ । मानव संसाधन तालिमले जनशक्तिको मनोबल र संस्थाको उत्पादकत्वमा वृद्धि गर्छ । यसले आन्तरिक तथा बाह्य निकायबाट हुने सुपरिवेक्षणमा कटौती, कर्मचारीको कार्यसम्पादनमा सुधार, कार्यसम्पादनका क्रममा दुर्घटना र खेर जाने कुरामा कमी, सङ्गठनात्मक स्थायित्व तथा लचकतामा वृद्धि, कर्मचारीको अनुपस्थितिमा कमी, नतिजाको गुणस्तरमा सुधार, कर्मचारीको व्यक्तित्व विकास, व्यक्तिगत, संस्थागत र प्रक्रियात्मक सुरक्षामा सुधार, नवीन तरिका, धारणा, प्रविधिसँग अद्यावधिकताको विकास लगायतका लाभहरू प्रदान गराउँछ । तालिमले जनशक्तिको कार्यक्षमता र कार्यदक्षतामा अभिवृद्धि गरी कार्यसम्पादनमा सुधार गराउँछ । यस्ता तालिमलाई चार प्रकारमा वर्गीकरण गर्न सकिन्छ ।
विशिष्टीकृत सेवामा प्रवेशका लागि आवश्यक पर्ने तालिमका लागि तयारी कोर्स पूरा गराउने उद्देश्यसाथ पूर्वसेवाकालीन तालिम सञ्चालन गरिन्छ । त्यस्तै सेवामा प्रवेश गर्ने जनशक्तिलाई सम्बन्धित विषयवस्तु र संस्थाको मूल्य मान्यता, कार्यक्षेत्र, कार्यप्रकृति, ऐन नियम, प्रचलनका बारेमा जानकारी दिनका लागि सेवा प्रवेश तालिम दिइन्छ । नवप्रवेशी जनस्रोतका लागि यो तालिम उपयोगी र पूर्वसर्तजस्तै मानिन्छ । त्यस्तै सङ्गठनमा कार्यरत जनशक्तिलाई पुनर्ताजगी गर्न, फरक वातावरणको अनुभूति गराउन, क्षमताको अभिवृद्धि गर्न, वृत्ति विकास गर्न, उनीहरूलाई समस्या र चुनौतीको सामना गर्नसक्ने बनाउन, ज्ञान र सीपलाई अद्यावधिक गर्न, नवीनतम विषयवस्तु, प्रविधि, रणनीति, विधि र नीतिगत सन्दर्भका बारेमा जानकारी एवं प्रयोग गर्न सक्ने तुल्याउन सेवाकालीन तालिम आवश्यक पर्छ । सेवाकालमा जनशक्तिलाई पुनर्ताजगी, सीप अभिवृद्धि, पेसागत विकास, समस्या समाधानमूलक, विषयगत, संस्थासम्बन्धी तालिमदेखि लिएर सेवा निवृत्तिपछिको जीवनलाई व्यवस्थित गर्नेसम्मका तालिम दिन सकिन्छ । अन्त्यमा सङ्गठनमा कार्यरत जनशक्ति सेवाबाट अलग भएपछिको दायित्वबोध, लामो समयसम्म सेवामा रहँदा सँगालेको अनुभव, ज्ञान, सीप र धारणालाई कसरी राष्ट्रसेवामा प्रयोग गर्ने, निवृत्त जीवनलाई व्यवस्थित र मर्यादित एवं सेवा निवृत्तिपछि सामाजिकीकरणमा प्रेरित गर्ने उद्देश्यले सेवा निवृत्तिपश्चात् पनि तालिम प्रदान गर्न सकिन्छ ।
यस्ता तालिम सङ्गठनको आवश्यकता र व्यक्तिको आवश्यताका आधारमा प्रदान गरिनुपर्छ । संस्थामा कार्यरत जनशक्तिलाई आवश्यक पर्ने विषयवस्तुका आधारमा तालिममा समान सहभागितालाई राम्रो मानिन्छ । कार्यरत पद, ओहदा र कार्यप्रकृतिअनुसार कसलाई कस्तो किसिमको तालिम आवश्यक हुन्छ भन्ने कुराको पहिचान गरेर सही व्यक्तिलाई सही तालिमको ठम्याइका लागि कार्यरत जनशक्तिको आवश्यकता पहिचान गर्नुपर्ने हुन्छ । तालिम आवश्यकता पहिचान गर्ने विधिहरू विविध छन्, जसमध्ये बढी प्रचलित विधिहरूमा माग फारम भराएर, कार्यसम्पादन, आवश्यकता विश्लेषण गरेर, कार्यविश्लेषण, व्यवस्थापन परीक्षण र सुपरिवेक्षणद्वारा सिफारिसमार्फत कस्तो तालिम आवश्यक पर्छ भन्ने पहिचान गर्न सकिन्छ । यस्ता तालिमका लागि विभिन्न विधि, तरिका र प्रक्रिया विकास गरिएका छन् । प्रशिक्षार्थीको लिङ्ग, उमेर, रुचि, क्षमताअनुसार तोकिएको विषयगत ज्ञान र सीप प्रदान गर्न मुख्यतः दुई तरिका र प्रक्रियाबाट तालिम सञ्चालन गर्न सकिन्छ ।
कार्यरत व्यक्तिको सुपरिवेक्षक, एक तहमाथिका व्यक्ति वा सिनियर समकक्षीद्वारा सम्बन्धित विषयमा कार्यगत अनुभव, संस्थाको कार्यव्यवहार, प्रचलन, ऐन, नियमका आधारमा कार्यरत स्थानमा नै तालिम प्रदान गरिन्छ । यो मितव्ययी हुनुका साथै छिटो र छोटो समयमा काम सम्पन्न गर्ने उपयुक्त र प्रभावकारी विधि पनि हो । त्यस्तै विशेषगरी कार्यस्थलबाहिर गरिने दोस्रो प्रकारको तालिम हो । यसअन्तर्गत सरकारी, गैरसरकारी एवं निजीक्षेत्रबाट स्थापित तालिम प्रदायक संस्थाहरूबाट कर्मचारीको क्षमता विकास, वृत्ति विकास, नवीनतम विषयवस्तु एवं नीतिगत जानकारी, सीप र व्यवहार परिवर्तन गर्ने उद्देश्यले कार्यस्थल पृथक् तालिम प्रदान गरिन्छ ।
यस्ता तालिम सञ्चालनका लागि सेवा क्षेत्रको नक्साङ्कन÷पहिचान, तालिमको योजना निर्माण, तालिम आवश्यकता पहिचान, पाठ्यक्रम डिजाइन तथा तयारी, प्याकेज र पाठ्य सामग्री (ह्यान्ड्स आउट)को तयारी महìवपूर्ण हुन्छ । त्यस्तै जनशक्तिको आकलन, प्रशिक्षक तयारी, प्रशिक्षार्थी मनोनयन, तालिम स्थलको चयन, तालिम सन्दर्भ सामग्री तथा अन्य सामग्रीको बन्दोबस्त, तालिम सञ्चालन, तालिम मूल्याङ्कन, अभिलेखीकरण, प्रभाव मूल्याङ्कन आदि पर्छन् ।
तालिमलाई कार्यसम्पादन अनुकूल व्यावहारिक र प्रायोगिक बनाई तालिमको आवश्यकता पहिचान, कार्यक्रम तर्जुमा र कार्यान्वयन पक्षका बीचमा सामञ्जस्यता कायम गरिनुपर्छ । तालिमको स्थलगत अध्ययन भ्रमणलाई उच्च प्राथमिकता दिई तथ्यगत आधारमा सरोकारवालाको सर्वेक्षणबाट अध्ययन अनुसन्धान गरी प्रभाव मूल्याङ्कन गर्नुपर्छ । प्रशिक्षार्थी–प्रशिक्षकका लागि सेवासुविधा सबैका लागि एकरूपता कायम गरी तालिममा अनुपस्थित हुने परिपाटीलाई निरुत्साति गर्न सेसनका क्रियाकलापमा सहभागी नहुनेका लागि विकल्पको पहिचान गरी नियमितता हुने नीतिगत व्यवस्था गर्नुपर्ने । तालिम प्रदायक निकाय केन्द्रीय तहको एकल निर्णयबाट थपघट हुने परिपाटीको अन्त्य गरी सरोकारवालासँगको छलफल, रायबाट विधायिकी निकायबाट जारी हुने ऐनबाट स्थायित्व दिइनुपर्छ । सबै तालिम प्रदायक स्थानमा कार्य समयको एकरूपता कायम गर्दै समय, विषयवस्तु र सीपमा अन्तरसम्बन्ध स्थापित गरी तालिमका नाममा छोटो अवधिका बैठक, गोष्ठी, कार्यशालामा उपस्थित नभएका प्रशिक्षार्थी र सेसन सहजीकरण नगरेकालाई प्रशिक्षकका नाममा कार्यकक्षको टेबलबाट उपस्थिति गराई भत्ता पोस्ने विकृत आचरणलाइ निस्तेज गरिनुपर्छ ।
व्यक्ति, समूह, संस्था र राज्यलाई परिवर्तन उन्मुख गराई गतिशीलता प्रदान गर्ने एक प्रभावकारी उपाय स्थापित निकायमा कार्यरत जनशक्तिका लागि उत्प्रेरणात्मक तìव तालिम हो । तालिमबाट ज्ञान, सीप, तथा प्रविधिको अद्यावधिक भई जनशक्तिको पेसागत क्षमताको विकास गर्न सहयोग पुग्छ । तालिमले व्यक्तिको कार्यशैलीमा परिवर्तन गराई परिवर्तित वातावरणमा सहज रूपमा भूमिका निर्वाह गर्न सक्ने क्षमता विकास गराउँछ । सैद्धान्तिक र व्यावहारिक ज्ञानमा अद्यावधिक गरी तालमेल गराइरहनु जरुरी भएकाले जनशक्तिलाई दिइने तालिमलाई हतियारमा धार लगाउनुसरह ठानिन्छ । जसरी धार नलगाउँदा हतियार भुत्ते हुँदै जान्छ, त्यसैगरी तालिमबिनाको जनशक्तिको क्षमता पनि ह्रासोन्मुख हुन्छ । क्रियाशीलता र नयाँ ऊर्जा प्रदान गरी दिगो टिकाउपना दिनका लागि प्रभावकारी तालिम अपरिहार्य हुन्छ ।