विचार/दृष्टिकोण |

सफलतातिर खोप अभियान (सम्पादकीय)

इतिहासमा घटेका ठूल्ठूला महामारी अद्यावधिक छन् र त्यसकै श्रेणीमा पर्ने भयो कोरोना (कोभिड–१९) महामारी पनि । एक सय वर्षअघि चार–पाँच वर्षसम्म विश्वलाई दुःख दिएको स्पेनिस इन्फ्युन्जाजस्तै कोरोना महामारीले अहिले विश्वलाई सताइरहेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)का अनुसार विश्वभरमा हालसम्म ४९ लाख १९ हजार ७५५ जनाको कोरोनाकै कारण मृत्यु भइसकेको छ । सन् २०१९ को अन्त्यमा चीनको वुहानबाट सुरु भएको महामारीबाट विश्वका २४ करोड १८ लाख ८६ हजारभन्दा बढी मानिस सङ्क्रमित भइसकेका छन् । यस्तो कहालिलाग्दो महामारीविरुद्ध लड्न विश्वले योबीचमा अद्भूत तयारी ग-यो र खोपको विकास गर्न चिकित्सा विज्ञान सफल भयो । खोप अभियान व्यापक हुँदै गएको आठ–दस महिनामा कोरोना महामारी नियन्त्रण उन्मुख देखिएकाले आशा जगाएको छ । त्यो आशाले अति कम विकसित देश नेपाललाई पनि यताका केही महिनामा थप आत्मविश्वास जगाएको छ ।
दक्षिण एसियाका मुलुकहरूमा खोप अभियान क्रमशः सफल हुँदै गएको मुलुकमा नेपाल पर्न थालेको खबर आफैँमा सुखद हो । सार्क राष्ट्रमा कोरोनाविरुद्धको खोप अभियानमा नेपाल उच्च सुधारको बाटोमा अग्रसर देखिन थालेको छ । महामारी सुरु भएपछि भारतमा चार लाख ५३ हजार ४२, पाकिस्तानमा २८ हजार ३४४, बङ्गलादेशमा २७ हजार ५५५, श्रीलङ्कामा १३ हजार ५६२, नेपालमा ११ हजार ३३७, अफगानिस्तानमा सात हजार २४७, मालदिभ्समा २४० र भुटानमा तीन जनाले ज्यान गुमाएका छन् । पछिल्लो समय अफगानिस्तानमा सङ्क्रमणको दर ह्वात्तै बढेको छ । त्यहाँ १३.७ प्रतिशत सक्रिय सङ्क्रमित देखिएका छन् । त्यसपछि श्रीलङ्कामा ४.९ प्रतिशत, पाकिस्तानमा १.९ प्रतिशत, मालदिभ्समा १.५ प्रतिशत सङ्क्रमित हुँदा नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १.४ प्रतिशतमा सीमित हुँदै गएको देखिएको छ । यताका दुई–तीन महिनामा विस्तार गरिएको खोप पहुँचसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या उल्लेख्य रूपमा घटेको हो ।
सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टरका अनुसार दुई दिनअघि अद्यावधिक गरेको तथ्याङ्कअनुसार यस क्षेत्रमा तीन करोड ८५ लाख ५४ हजार ३८४ मानिस सङ्क्रमणमा परेका छन् । जसमध्ये पाँच लाख ४१ हजार ३१९ जनाको ज्यान गएको छ । सार्क क्षेत्रले विश्वकै २१ प्रतिशत जनसङ्ख्या ओगट्छ । गरिबी, अशिक्षा, स्वास्थ्य पहुँचमा कमी आदि हुँदाहुँदै पनि सार्क क्षेत्रले कोरोनाविरुद्धको लडाइँलाई अगाडि बढाउँदै छ । बेलायत, अमेरिकाजस्ता विकसित मुलुकलाई कोरोनाविरुद्ध लड्न हम्मे–हम्मे परिरहेको अवस्थामा सङ्क्रमण र मृत्युदरलाई न्यून बिन्दुतिर धकेल्नु दक्षिण एसियाका लागि कम चुनौतीपूर्ण होइन । कोरोना नियन्त्रण गरी यस क्षेत्रका नागरिकको जीवन रक्षाका लागि सार्क मुलुकले एकल र सामूहिक दुवैथरी प्रयास कायम राख्दा सफलता मिलेको हो । त्यसमा नेपालको सफलता धेरै उत्साहजनक देखिनु राम्रो पक्ष हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीको विश्लेषणमा खोप अभियानको मामिलामा नेपाल गत असार महिनासम्म पछाडि नै थियो । २६ लाखले मात्र खोप लगाउन पाएका थिए । अहिले एक वा दुई मात्रा नै खोप पाउनेको सङ्ख्या डेढ करोड पुग्न लागेको छ । हुन पनि यो तीन महिनायता नेपालले भगीरथ प्रयास ग-यो । असार अन्तिममा प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यकारी जिम्मेवारी सम्हालेपछि सरकारको पहिलो, दोस्रो र तेस्रो प्राथमिकता खोप नै भएको स्पष्ट पार्नुभयो । त्यो प्राथमिकता प्रतिबद्धता हुँदै कार्यान्वयनमा आयो । सरकारले असोजसम्म देशको एक तिहाइ जनसङ्ख्यामा पूर्णखोप पु-याउन राखेको लक्ष्य पूरा गरिसकेको छ । यसरी नै अगाडि बढे सरकारले पुससम्म आधा जनसङ्ख्यामा पूर्णखोप पु-याउन सक्नेछ । आगामी चैतभरमा देशका पूरै जनसङ्ख्यामा खोप पु¥याउने लक्ष्य भेट्न कठिन हुने छैन । खोप आउने क्रम बढ्दो छ । अमेरिकाबाट खरिद गरेको फाइजर खोपको ६० लाख मात्रा सोमबार नेपाल आउँदै छ । त्यस्तै मोडेर्ना खोपको ४० लाख मात्रा पनि छिट्टै भित्रँदै छ । त्यसैगरी चीन सरकारले अनुदानमा दिने २० लाख मात्रा र चीनकै तर्फबाट नेपाली सेनाका लागि आउने थप अनुदानको खोप पनि आउँदै छ । भारतबाट खरिद गरेको १० लाख मात्रा खोप आउने तयारीमा छ । यसले नेपालको खोप अभियानलाई निश्चय नै सफलतातिर लैजाने छ । यद्यपि खोप कोरोना सङ्क्रमणविरुद्धको रामवाण औषधि होइन । नियन्त्रणको उपाय मात्र हो । खोप अभियान सफल हुँदै जाँदा पनि स्वास्थ्य मापदण्डको परिपालनामा भने कत्ति पनि कमी गर्नु हुँदैन ।