विचार/दृष्टिकोण |

फर्किदै काष्ठमण्डपको शान (सम्पादकीय)

राजधानी काठमाडौँको नामकरणसँगै जोडिएको काष्ठमण्डपको पुनर्निर्माण लगभग पूरा भएको छ । २०७२ सालमा आएको विनाशकारी भूकम्पबाट काष्ठमण्डप भग्नावशेषमा परिणत भएको थियो । राजधानीको मुख्य भाग वसन्तपुरमा रहेको यो सत्तल ऐतिहासिक सम्पदामध्येमा पनि अति महìवपूर्ण हो । यो भत्किएपछि एक हिसाबले काठमाडौँको शान नै धुमिल भएको थियो । सातौँ शताब्दीमा निर्माण भएको सम्पदालाई सकभर जस्ताको तस्तै स्वरूपमा निर्माण गर्न लामै यत्न गरिएको छ । यसअघि १२औँ शताब्दीमा बनेको विश्वास गरिए पनि हालै बेलायतको दुराहम विश्वविद्यालय र पुरातìव विभागले गरेको अध्ययनले काष्ठमण्डप सातौँ शताब्दीमा निर्माण भएको प्रमाणित भइसकेको छ । सुरुमा यो ऐतिहासिक सम्पदा पुनर्निर्माणका लागि केही अलमल र विवाद पनि भएको थियो । तर काठमाडौँ उपत्यकाको इतिहास र परिचयसँग जोडिएको काष्ठमण्डपको पुनर्निर्माण कार्य अबको तीन हप्ताभित्र पूर्ण रूपमा सम्पन्न हुने जानकारीसँगै नयाँ उत्साह थपिएको छ ।

एक हजार चार सय वर्षको इतिहासलाई कायम राख्दै यो ऐतिहासिक सम्पदा पुनर्निर्माण भएको छ । यसमा १२ हजार क्युफिट सालको काठ प्रयोग गरिएको छ । एउटै काठले बनाएको सम्पदा भएर काष्ठमण्डप भएको र त्यसैबाट काठमाडौँको नामकारण गरिएको इतिहास छ । त्यसैले पुनर्निर्माणमा अब्बल काठ प्रयोग गर्नु अपरिहार्य थियो । त्यसक्रममा काष्ठमण्डपको पुनर्निर्माणमा ठूला र साना आकारको गरी करिब दुई लाख थान विशेष इँटा प्रयोग गरिएको छ । त्यसलाई माःअप्पा इँटा भनिएको छ । ठूलो र सानो आकारको गरी दुई लाख थान माःअप्पा इँटा पुनर्निर्माणमा लागेको छ । ठूलो आकारको ९० हजार र सानो आकारको एक लाख १० हजार थान इँटा प्रयोग भएको जानकारीमा आएको छ । सबै काठ बारा, पर्सा, रौतहट र महोत्तरीको जङ्गलबाट ल्याई उतिबेलाकै गुणस्तर कायम गर्ने प्रयास गरिएको छ । काष्ठमण्डममा गजुरसमेत राखिसकिएको छ । गजुर तामाको बनाइएको छ । यसलाई अहिले छोपेर राखिएको छ । राष्ट्रपति वा प्रधानमन्त्रीबाट समुद्घाटन गराइने गरी तयारी थालिएको छ ।

काष्ठमण्डप पुनर्निर्माणमा काठ र इँटाका साथै त्यसबेलाकै शैली र प्रविधिमा पनि ध्यान दिइएको छ । त्यसबेला प्रयोग भएको माटोलाई नै फेरि प्रयोग गरिएको छ । त्यसबेला सिमेन्टको आविस्कार नै नभएकोले सिमेन्ट प्रयोग हुने कुरा भएन । माटोको उन्नत प्रयोग नै त्यस बेलाको कला हो । इँटा पनि माटोबाटै बन्ने र तिनको आयु माटोजस्तै लामो हुने मान्यता छ । आधुनिक निर्माणमा प्रयोग हुने सिमेन्टको निश्चित आयु हुने मात्र होइन, पर्यावरणीय हिसाबले पनि प्रतिकूल हुने हुँदा पुराताìिवक सम्पदामा सिमेन्टको पुनःप्रयोग वर्जित गरिएको छ । समाचारमा आएअनुसार पुनर्निर्माण भइरहेको काष्ठमण्डपमा चार घेराको सय वटा थाम छन् । सङ्कल्प पूजा गरेर ठड्याइएका २५ फिट अग्ला चारवटा मूल थामको पहिलो घेरा हो । चारवटा मूल थाममध्ये एउटा एक हजार एक सय वर्ष पुरानो रहेको छ । दोस्रो घेरामा जोडाका दरले ३२ वटा थाम ठड्याइएको छ । तेस्रो र चौथो घेरामा एक÷एक वटाका दरले क्रमशः २८ र ३६ वटा थाम राखिएको छ । पुनर्निर्माणलाई सकभर भूकम्प प्रतिरोधी बनाइएको छ । पुनर्निर्माणमा १२ करोड रुपियाँ लागत लाग्ने अनुमान छ ।

ऐतिहासिक सम्पदा पुनर्निर्माणसँगै सो क्षेत्रका बारेमा पनि संवेदनशील हुनुपर्ने भएको छ । वसन्तपुर क्षेत्रमा अहिले सवारी साधनको ओहोरदोहोरले त्यस क्षेत्र प्रदूषित भएको छ । विश्व सम्पदा सूचीमा परेको त्यस क्षेत्रमा सवारी साधन प्रवेशमा लामो समय रोक लगाइएको थियो । यताका केही वर्षदेखि भने सवारी साधनमा कुनै रोकावट छैन । विदेशी पर्यटकहरू रमाइरहने त्यस क्षेत्रमा बढ्दो सवारी चापले वसन्तपुर दरबार, नौ तले दरबारलगायतका अमूल्य निधिहरू सङ्कटमा पर्ने खतरा बढेको छ । राजधानी उपत्यकामा सम्पदाहरूको संरक्षणका लागि सरोकारवाला निकाय सबैको चासो र चिन्ताको विषय हो तर पनि काठमाडौँ महानगरपालिका, पुरातìव विभागलगायतका निकायले तत्काल वसन्तपुर क्षेत्रलाई सवारी साधन निषेधित क्षेत्र बनाउनु जरुरी छ । हाम्रा बेवास्ताका कारण विश्व सम्पदा सूचीका धरोहर थप सङ्कटमा पर्ने अवस्था नआओस् । काष्ठमण्डपको शानलाई उँचो बनाउनसमेत वसन्तपुर क्षेत्र सवारी साधन मुक्त मनाउनु वाञ्छनीय छ ।