भैँसी सम्मेलनको सार्थकता (सम्पादकीय)
नेपाली अर्थतन्त्र अझै पनि कृषिमै आधारित छ । पशुपालनबिनाको कृषि सम्भव छैन । घरेलुस्तरमा गरिने कृषिका लागि त पशुपालन मूल आधार नै हो । घरपालुवा पशुमा पनि भैँसी सबैभन्दा अब्बल भन्नुमा गल्ती हुँदैन । दूध, मल र मासु भैँसीबाट प्राप्त हुन्छ । भैँसीले बाक्लो र पोषिलो दूध दिने हुँदा दूध आपूर्तिमा सर्वोपरि भूमिका खेल्छ । घरेलुस्तर र बजार आपूर्ति दुवैका लागि नेपालमा भैँसीकै दूध बढी प्रयोग हुन्छ । दूधबाट बन्ने दही, घिउ, महीको आफ्नै महत्ता छ भने मिठाईलगायतको उत्पादनको स्रोत दूध नै हो । भैँसीले उत्सर्जन गर्ने मलमूत्र अर्गानिक मलका लागि सबैभन्दा ठूलो स्रोत हो । नेपालको हिमाल, पडाड र तराई सबैतिर भैँसी नै नेपाली कृषिका लागि मलिलो आधार हो । भैँसी तथा राँगाबाट प्राप्त मासु प्रोटिनको राम्रै स्रोत हो । यसरी नेपाली जनजीवनसँग जोडिएको भैँसीकै बारेमा अहिले नेपालमा सम्मेलन हुनु असाध्यै सार्थक कार्य हो ।
‘खाद्य सुरक्षा र जीविकोपार्जनका लागि भैँसी’ भन्ने मूल नाराका साथ दसौँ एसियन भैँसीसम्बन्धी सम्मेलन सोमबारबाट सुरु भएको छ । कोरोना (कोभिड–१९) महामारीका कारण भर्चुअल माध्यमबाटै सम्मेलन सुरु भएको हो । सोमबार सुरु भएको सम्मेलन पाँच दिनसम्म चल्नेछ । भैँंसीपालनका लागि विकास तथा सबलीकरणमा योगदान पु¥याउनु सम्मेलनको उद्देश्य रहेको छ । सम्मेलनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले दिनुभएको सन्देश मननीय छ । उहाँले भैँसीलाई अधिकांश कृषकसँग जोडिएको स्पष्ट गर्दै अर्थतन्त्रको आधार भन्नुभएको छ । भैँसीपालनलगायत समग्र पशुपालनलाई व्यवसायीकरण गर्नुपर्ने उहाँको सुझाव छ । भैँसीपालनको व्यावसायीकरणसँगै आधुनिकीकरण गर्नु जरुरी भएको बेला यो सम्मेलन भइरहेको छ । त्यसैगरी, यो क्षेत्रमा अध्ययन अनुसन्धानलाई अगाडि बढाई दुधालु भैँसीको विकास र विस्तार गर्नुपर्ने चुनौतीलाई सम्मेलनले बाटो देखाउने स्पष्ट छ ।
अबका दिनमा परम्परागत तौरतरिकाबाट गरिएको भैँसीपालनले मात्रै किसानको उन्नति हुँदैन । यसका लागि नयाँ सीप, प्रविधिको खाँचो छ । भैँसीपालनलाई व्यवस्थित र व्यवसायीकरण गर्न सम्मेलनले थप निष्कर्ष निकाल्ने छ । यसैगरी, स्वस्थ दूध र मासुको आपूर्तिका लागि नवीनतम ज्ञान, सीप र प्रविधिको विस्तार हुनेछ । सम्मेलन आयोजकका अनुसार भैँसी व्यवस्थापन, स्वास्थ्य दूध र मासु, बजारीकरण एवं उपयोगिता, दाना र घाँस व्यवस्थापनलगायत नवीनतम वैज्ञानिक खोज, अनुसन्धान तथा प्रचार–प्रसार प्रविधिद्वारा भैँसीपालनको विकास तथा सबलीकरणमा योगदान पु¥याउने सम्मेलनको मूल उद्देश्य छ । सम्मेलनमा नेपाललगायत १७ देशका एक सय ३५ भन्दा बढी भैँसीविज्ञले कार्यपत्र प्रस्तुत गरिरहेका छन् ।
भैँसी सम्मेलनकै अवसरमा नेपालीका लागि सुखद खबर पनि प्राप्त भएको छ । भैँसीको बेमौसमी प्रजनन गराउन नेपाली विज्ञहरू सफल भएका छन् । चितवनस्थित कृषि तथा वन विश्वविद्यालयले लामो समयदेखि भैँसीको बेमौसमी प्रजनन गराउन गरेको अनुसन्धान सफल भएपछि सुखद खबर प्राप्त भएको हो । कुल दुई सयवटा भैँसीमा गरिएको परीक्षण अनुसन्धानबाट ९४ वटा भैँसीमा बेमौसमी प्रजनन सफल भएको छ । कुनै निश्चित मौसममा मात्र भैँसी प्रजनन हुँदा बेमौसममा थारा भैँसी पाल्न किसान बाध्य थिए । अब वर्षभरि नै भैँसीको प्रजनन सम्भव हुने भएको छ । दस महिनामा ब्याउने भैँसी निश्चित मौसममा मात्र प्रजनन हुने हुँदा किसानले आर्थिक रूपमा घाटा बेहोरिरहेकोमा अब त्यस्तो नहोला । परम्परागत जातका भैँसी मासिँदै गएर भारतबाट ल्याइएका मुर्राजातका भैँसी नेपालमा लोकप्रिय रूपमा विस्तार हुँदैछन् तर यहीँको हावापानी खेपेका परम्परागत जातका स्थानीय भैँसीको पनि नश्लसुधार गरी सीमान्तकृत किसानसम्म पु¥याउनु जरुरी छ । घरेलुस्तरमा अझ सरल र प्रविधियुक्त तौरतरिकाबाट भैँसी पाल्न सघाउने सीप र दक्षता विकासको आवश्यकता त छ नै, साथसाथै अहिलेको आधुनिकीकरणको चुनौती सामना गर्न आधुनिक व्यावसायिक भैँसीपालनका नवीनतम ज्ञान, सीप र प्रविधिको प्रोत्साहन र विस्तार पनि उत्तिकै आवश्यक छ । सम्मेलनले यी मूलभूत विषयमा सार्थक निष्कर्ष निकाल्ने नै छ । राज्यका तीन तहकै सरकारले सम्मेलनका निष्कर्षलाई गम्भीर रूपमा लिई किसानलाई सहयोग गर्ने नीति, योजना र कार्यक्रम बनाउनसमेत जरुरी छ ।