विचार/दृष्टिकोण |

यमपञ्चकका पाँच दिन

विजयप्रसाद मिश्र

तमसो मा ज्योतिर्गमय’ अर्थात् अँध्यारोबाट ज्योतितिर, प्रकाशतिर बढौँ– यो आर्ष वचन हो, उपनिषद्को निर्देशन हो । वर्षा ऋतुका काला बादलहरू बिदा भएसँगै उल्लासमय उज्यालो शरद् ऋतुको आगमन भएको छ । कविशिरोमणिका भावलाई सापटी लिएर भन्नुपर्दा “आकाश निर्विकार देखिएको छ ।” प्रकृतिमा सर्वत्र नवीनताको आभास भइरहेको छ । वर्षाको जलराशिले पुष्ट भएकी पृथ्वीबाट रस लिँदै सयपत्री, गोदावरी ढकमक्क फुलेका छन्, फक्रिएका छन् । नेपालीले वर्षायाममा भएको फोहोरमैला, जालो आदि पन्छाउँदै घरआँगन लिपपोत, रङरोगन गरेर दीपोत्सव मनाउने तयारी गर्न थालिसकेका छन् । नेपाली समाजमा गोबर, माटो वा चुनले पोत्ने प्रचलन छ । यसो गर्दा वर्षाजनित धेरै कीटाणु नष्ट हुन्छन् । रोग व्याधी फैलन पाउँदैनन् । मन पनि प्रमाद र अवशादबाट मुक्त हुन्छ । अनि स्वच्छताको यसै उमङ्गमा आमोद–प्रमोद र हर्षोल्लासका साथ यमपञ्चक पर्व मनाइन्छ ।
कात्तिक कृष्ण पक्षको त्रयोदशी तिथिदेखि कात्तिक शुक्ल पक्षको द्वितीया तिथिसम्मको पाँच दिनलाई हामी यमपञ्चक भन्छौँ । दीपावली, दिवाली आदि नामले विख्यात यी पाँच दिनलाई उत्सवप्रिय नेपाली समाजले तिहार नाम दिएको छ ।

काग तिहार/धनतेरस/धनवन्तरी जयन्ती
पहिलो दिन काग तिहार, यमराजको दूतका रूपमा कागको पूजा गरेर सुरु गरिन्छ । यस दिनदेखि नै दीपावलीको महोत्सव आरम्भ हुन्छ । धनत्रयोदशी÷धनतेरस नामले परिचित यस दिन मानिस नयाँ भाँडाकुँडा, सुनका गरगहना आदि खरिद गर्नु शुभ मान्दछन् । तसर्थ बजारमा यस दिनले भाँडाकुँडा र गरगहना खरिद गर्ने पर्वको रूप पनि पाएको छ । धनतेरसमा फलामको भाँडाकुँडा खरिद गर्नु अशुभ मानिन्छ । यस दिन यमराजको पूजा गरिन्छ र सन्ध्याकालमा उनै यमको नामले ‘यमदीपदान’ भनी
बत्ती बालिन्छ ।
यमराज कालका देवता हुन् । शास्त्रहरूमा यमलाई सूर्यको पुत्रका रूपमा उल्लेख गरिएको छ । सूर्य समय अर्थात् काल–मापनका आधार पनि हुन् । यस कारण काललाई सूर्यको पुत्रका रूपमा चित्रण गरिनु उचित पनि देखिन्छ । यस दृष्टिले यमको पूजन गर्नु भनेको काल अर्थात् समयको पूजन गर्नु पनि हो । समयको पूजन भन्नाले समयको मान राख्नु, समय खेर नफाल्नु, समयको सदुपयोग गर्नु भन्ने बुझ्न सकिन्छ । यमलाई दीपदान गर्नुको अर्थ समयलाई उज्ज्वल बनाऔँ भन्ने द्योतकका रूपमा पनि लिन सकिन्छ ।
यसै दिन देव र असुरको संयुक्त प्रयासमा समुद्र मन्थनका क्रममा भगवान् विष्णु धन्वन्तरीका रूपमा अमृत कलशसहित प्रकट हुनुभएको पौराणिक प्रसङ्गलाई स्मरण गर्दै धनवन्तरी जयन्ती पनि मनाइन्छ । वैद्य समुदायले भगवान् धनवन्तरीको पूजन गरेर समाज एवं राष्ट्रका लागि स्वास्थ्य तथा समृद्धिको
याचना गर्छन् ।

नरक चतुर्दशी
यमपञ्चकको दोस्रो दिन नरक चतुर्दशीका नामले विख्यात छ । नेपाली समाजले यस दिन कुकुरको पूजा गर्दछ । काग र कुकुर दुवैलाई यमराजको दूतका रूपमा लिइन्छ । यिनको पूजा गर्दा यमराज पनि खुसी हुन्छन् भन्ने जनविश्वास यहाँ जोडिएको छ । हिन्दु संस्कृतिले प्रकृतिमा निहित दिव्यताको पूजन गर्दछ । प्रकृति पूजनकै क्रममा पशुपन्छीलाई समेत आदर–सम्मान गर्नु हिन्दु सभ्यताको उदात्तताको परिचायक कृत्य पनि हो । समग्र नेपाली समाज तिहारको उल्लासमा रमाइरहेका बेला काग र कुकुरजस्ता प्राणीले पनि आराध्य बन्ने अवसर पाउनु नेपाली समाजको मौलिक विशेषता हो । कुकुरलाई भैरवको वाहनका रूपमा पनि पुजिन्छ ।
यस दिनसँग जोडिएको पौराणिक आख्यानअनुसार नरक नाम गरेको एक असुरले १६ हजार नारीलाई बन्दी बनाएर राखेको थियो । भगवान् श्रीकृष्णले नरकासुरलाई वध गरेर सत्यभामाको सहयोगद्वारा ती सबै नारीलाई बन्धनमुक्त बनाउनुभएको थियो । मृत्युको क्षणमा नरकासुरले कृष्णसँग प्रार्थना ग¥यो, “तपाईंले आज मलाई मात्र समाप्त गर्नुहुँदै छैन, मसँगै आजसम्म मैले गरेका सबै दुष्कर्मलाई पनि समाप्त पार्नुहुँदै छ प्रभु । अतः यस अवसरमा उत्सव मनाइयोस् ।”
उता नरकासुरको बन्दीगृहबाट मुक्त भए पनि ती नारीले परिवार तथा समाजमा उचित सम्मान पाएनन् । तीमध्ये कतिपय त अविवाहित पनि थिए । तिनीहरूसँग विवाह गर्न पनि कोही तयार भएनन् । समाजले नराम्रो दृष्टिकोणले हेर्ने भएकाले समाजमा स्थापित हुन पनि गाह्रो पर्ने अप्ठेरो उनीहरूले श्रीकृष्णलाई सुनाए । बन्धनमुक्त भएका ती नारीको रक्षा गर्दै समाजमा पुनस्र्थापना गर्ने उद्देश्यका साथ श्रीकृष्णले उनीहरूलाई आफ्नो आश्रय प्रदान गर्नुभयो । रक्षण र पोषणको जिम्मा आफूले लिनुभयो । उहाँ एकैचोटि १६ हजार नारीका स्वामी बन्नुभयो । मुक्तिको त्यो पर्व पनि उत्साहजनक थियो– प्राग्ज्योतिषपुर निवासी आमजनता र ती १६ हजार नारीका लागि । यसर्थ नरक चतुर्दशीमा दीपोत्सव गरिएको प्रसङ्ग पनि पढ्न–सुन्न पाइन्छ ।

गाई तिहार/दीपावली
कात्तिक कृष्ण औँसीलाई हामी गाई तिहार भनी मनाउँछौँ । बिहान गौमाताको पूजन गरिन्छ । गोधन कृषि संस्कृतिको धुरी हो । नेपालको राष्ट्रिय पशु गाई मानवता एवं पर्यावरणका लागि पनि उपकारी प्राणी हो । कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नुअघि गाईको गोबरले घर–आँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर पवित्र तुल्याउने तथा आफू स्वयंले पनि प्राशन गर्ने हाम्रो संस्कार छ । गाईलाई पशुधनका रूपमा पनि लिइन्छ । गव्य पदार्थबाट मानव स्वास्थ्य तथा कृषिमा हुने लाभका कारण हामी गाईलाई लक्ष्मी र गौमाताका रूपमा पुज्छौँ ।
कार्तिक अमावश्याको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ । वर्षका चार महìवपूर्ण रातमध्ये यस रात्रिलाई सुखरात्रि भनिन्छ । औँसी कृष्णपक्ष र शुक्लपक्षको साँध हो । कृष्णपक्ष अन्धकारको प्रतीक हो भने शुक्लपक्ष उज्यालोको । यी दुबै पक्षको सन्धिमा गतिशील दीपावलीको महापर्व अन्धकारबाट प्रकाशतिर, अकालबाट सहकालतिर, मृत्युबाट जीवनतर्फ र निर्धनताबाट समृद्धितर्फ अग्रसर हुने वार्षिक अभियान हो । पर्व एक दिनको भए पनि यसबाट हामीले जीवनभरिका लागि उत्साह र ऊर्जा लिन सक्नुपर्छ । यसै पनि प्रेरणा क्षणभरको हुन्छ तर त्यसलाई आत्मसात् गरेर अघि बढ्न चाहिने कुरा‘अनुशासन’ हो ।
यस साँझ अँध्यारो रातलाई उज्यालो प्रकाशले आलोकित पार्न घर–घरमा दियो–बत्ती बालिन्छ । धनधान्य एवं ऐश्वर्यकी अधिष्ठात्री माता लक्ष्मी, ज्ञानकी देवी सरस्वती र बुद्धि एवं विवेकका स्वामी भगवान् श्रीगणेशको आह्वान–पूजन गरिन्छ । यसले लक्ष्मी अर्थात् धनधान्यका साथ सरस्वती एवं गणपति अर्थात् ज्ञान र बुद्धि–विवेकको योग हुनु अपरिहार्य रहेको बोध गराउँछ । यसरी मात्र धनको सद्–उपयोग सम्भव छ ।
नेपालजस्तो कृषिप्रधान एवं संस्कृतिप्रधान देशमा लक्ष्मीको अवधारणा आधिभौतिक, आध्यात्मिक एवं आधिदैविक आदि रूपमा अभिव्यक्त भएको पाइन्छ । आधिभौतिक रूपमा लक्ष्मी रुपियाँ, सुन–चाँदी, जग्गा आदि भौतिक धन–सम्पत्ति हुन् भने आध्यात्मिक रूपमा उच्च चरित्र र मानवतावादी मूल्यहरू नै लक्ष्मी हुन् । आधिदैविक रूपमा लक्ष्मी हाम्री आराध्य विष्णुप्रिया कमलासना देवी हुन् । दुर्गा सप्तशतीमा उनलाई पुण्यात्माहरूका घरमा लक्ष्मी, दुर्जनका लागि अलक्ष्मी, बुद्धिजीवीका हृदयमा सरस्वती, सज्जनका मनमा श्रद्धा तथा कुलिनका कुलमा लज्जा भावले विराजमान हुन्छिन् ।
यसै दिनलाई दीपावली पर्वको प्रमुख दिनका रूपमा लिइन्छ । मुख्यतः हिन्दु, जैन र सिक्ख समुदायले मनाउने दीपावली वर्तमान समयमा वैश्विक पर्व बनेको छ ।
नेपाल र भारतबाहेक विश्वका विभिन्न देशमा बसोवास गर्दै आएका नेपाल र भारतीय मूल भएका समुदायका साथै त्यहाँका स्थानीयवासीले पनि उज्यालोको यो सुखद पर्व मनाउन थालेका छन् । विभिन्न देशका राष्ट्रप्रमुखले दीपावलीको सन्देश दिन्छन् । अमेरिका आदि कैयौँ देशमा ती देशका संसद् भवन अथवा राजकीय सदनमा समेत दीपोत्सव मनाउन थालिएको छ ।
तिहारमा औँसीको साँझ कन्याहरू भैलेनी खेल्दै समृद्ध पारिवारिक जीवनको शुभकामना र आशिष दिन घर–घर पुग्छन् । यसरी नेपाली समाजले मौलिक रूपमा तिहार मनाउने गरेको छ ।
गोवर्धन पूजा÷हल तिहार÷गोरु तिहार
कात्तिक शुक्ल प्रतिपदा तिथिका दिन गोवर्धन पूजा, हल तिहार र गोरु तिहारका रूपमा मनाइन्छ । यस दिन गोरु, गोबरद्वारा निर्मित गोवर्धन पर्वतको प्रतीक तथा हलो आदिको पूजन गरिन्छ । भगवान् श्रीकृष्णले नै थालनी गर्नुभएको गोवर्धन पूजा प्रकृतिप्रति कृतज्ञता अर्पणको प्रतीक हो । गोवर्धनको अर्थ हो– गौ सम्पदाको रक्षा एवं तिनको समृद्धि गर्नु । गाईको समृद्धि गोरक्षा र गोसंवर्धनका अनेक कार्य गरेर नै सम्भव छ । गोवर्धन पूजा गाई एवं गोरु अर्थात् गौवंशबाट भएको उपकारप्रति कृतज्ञता ज्ञापित गर्ने पर्व हो ।

भ्रातृ द्वितीया/भाइटीका
नारीलाई पूज्या,अपराजिता भनिने र स्वयं नारायणी नै भनी सम्मान गर्ने सनातन दर्शनलाई बिर्सनाले नै आज नारी आहत छिन् । समाजमा आज भइरहेको नारी शक्तिको अपमान, नारीको शक्तिलाई बिर्सिएर तिनलाई अवला भनी गरिएको शारीरिक–मानसिक आक्रमण, आमा–दिदी–बहिनीको पवित्र सम्बन्धलाई बिर्सिएर तिनलाई भोग्या बनाउने राक्षसी प्रवृत्ति उकासिनुमा संस्कारको विस्मृति मुख्य कारण हो । संस्कार बिर्सनाले समाजमा विकृति आएको छ, जसकारण रक्षाबन्धन र भाइटीकाजस्ता पर्व पनि औपचारिकतामा मात्र सीमित भएका छन् । भ्रातृ–द्वितीयालाई हामी भाइटीका भन्छौँ । यो दिदीबहिनीले दाजुभाइ पुज्ने तिहार होइन, बरु दाजुभाइले दिदीबहिनीको हित रक्षाको सङ्कल्प लिने पावन पर्व हो ।
टीका दिदीले लगाइदिए पनि पे्रम–उपहार दिने भाइले नै हो । माला बहिनीले दाजुलाई लगाइदिए पनि बहिनीको चरण ढोग्ने दाजुले नै हो । यसको अर्थ हो– हामीले स्नेह र प्रेमका साथै नारीको सम्मान पनि गर्नुपर्छ । भाइटीका त प्रतीक मात्र हो । यो सम्मानले निरन्तरता पाउनुपर्छ । एउटा व्यक्ति, एउटा परिवारबाट व्यापक हुँदै समग्र समाज र राष्ट्र एवं विश्वव्यापी हुनुपर्छ, नारीप्रतिको सम्मानको यो दृष्टिकोण । यसले दिने सन्देशतिर समाजको दृष्टि जान आवश्यक छ । समाज संस्कारले पोषित हुन सके मात्र नारी शक्तिले गरिमामय प्रतिष्ठा पुनः प्राप्त गर्न सक्नेछ ।

‘आत्मवत् सर्वभूतेषु’को हिन्दु दृष्टिकोण
यमपञ्चकमा काग, कुकुर, गाई र गोरुजस्ता पशुपन्छीको पूजा गरी सम्मान गर्ने जुन संस्कार छ, यो वास्तवमै विश्वमै मौलिक हो । लौकिक देखिए पनि यो अलौकिक हो । यहाँ दिव्यताको आराधना हुन्छ । यसले नेपाली समाजले ‘आत्मवत् सर्वभूतेषु’ भन्ने उक्तिलाई व्यावहारिक रूपमा चरितार्थ गरेको देखिन्छ । नेपाली समाजले आफ्ना प्रमुख उत्सवमा आफू मात्र रमाउने होइन, घरपालुवा जनावरसँगै समग्र प्रकृतिको पनि सक्दो सेवा गर्छ भन्ने जनाउँछ । प्रकृतिका सबै जीवसँग मानव जातिको सहअस्तित्व छ भन्ने जीवन दर्शनको प्रतीकका रूपमा नेपाली संस्कृतिमा परापूर्वकालदेखि यो मौलिकता जीवित रहँदै आएको छ । सहअस्तित्वको सम्मान गर्ने पर्व यमपञ्चकका प्रत्येक दिवसले दिने शिक्षालाई आत्मसात् गरी व्यवहारमा ल्याउन सके समग्र जीवन उत्सवमय हुनेछ तथा सम्पूर्ण धरा प्रफुल्लित हुनेछिन् ।

(भूल सुधार : छापा संस्करणमा भूलबस लेखककाे तस्बिर अर्काे पर्न गएकाेमा क्षमाप्रर्थी छाैं । सम्पादक)