विचार/दृष्टिकोण |

उदारवादमा सङ्कट

नरेन्द्रजङ्ग पिटर

राजनीतिमा आएको गञ्जागोल र चौतर्फी विश्वासको सङ्कटसँगै संविधानको रक्षक को हो भन्ने प्रश्न फेरि उठेको छ । अदालत अन्तिम व्याख्याता हुन्थ्यो, ऊ आफैँ अहिले बहसको केन्द्रमा छ । जनयुद्ध र जनआन्दोलनको संयुक्त अभ्यासको परिणाम ०६२÷६३ को आन्दोलनले सरकार मात्रै फेरेन, सत्ताको मूलभूत चरित्र नै फेरिदियो । जसरी सत्ताचरित्र फेर्ने सङ्कल्पमा नयाँ संविधानले प्रतिबद्धता ग¥यो, त्यसैअनुसार शासकीय संस्कृति भने फेर्न नसकेपछि फेरि समस्या उब्जिएका हुन् ।
विश्व राजनीतिक इतिहासमा विद्रोही र संसद्वादी शक्तिबीच सहकार्यको यस्तो परिणाम अन्यन्त्र थिएन । परिवर्तनले निर्मित र दिशा निर्देश गरेको संविधानले मूलतः चार कुरालाई दिशा निर्देश ग-यो । सार्वभौमशक्ति जनतामा समर्पित संविधानका लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्ष राज्य, सत्तामा समानुपातिक प्रतिनिधित्व हुन समावेशी र समानुपातिक निर्वाचन प्रणाली, सङ्घीय शासन व्यवस्था आधारभूत सर्तका रूपमा रहे । यो नै राजनीतिमा उदारवादको सुन्दर चित्र थियो ।
यद्यपि आन्दोलनको रापचाप मत्थर हुँदै जाँदा, विचारलाई व्यवहारमा उतार्ने नेतृत्व तहको आदर्श स्खलन र इच्छाशक्ति खिइँदै गएर सिद्धान्तको राजनीतिक सुविधाको राजनीतिमा फेरिँदै जाँदा घोषित उद्देश्यमा शङ्का–उपशङ्का थपिँदै गए । संविधान निर्माण र अभ्यास कसैले नहारेको सम्झौताको दस्तावेज (विनविन सिद्धान्त) थियो । सहमतिका अभ्यास त भए तर मूलमर्मलाई निरन्तरता दिन भने सकेनन् । न मूल विषयको यथोचित प्रचार नै हुन सक्यो ।

अनुदारवादको बिगबिगी
जब उदारवादी शक्तिले परिवर्तनलाई यथोचित नेतृत्व दिन सक्दैनन् तब अन्धराष्ट्रियता, अन्धधर्म र अन्धजातिको चुनौती झेल्दै अनुदारवाद राजनीतिमा हावी हुन्छ । मानव सभ्यताको विकास क्रममा धर्मनिरपेक्षता प्रवोधनकालको उपलब्धि र आधुनिक इतिहासको दिशा फेरिदिने फ्रान्सेली क्रान्तिको (१७८९–१७९९) सन्देश हो । आधुनिकता, प्रविधि र ज्ञानका विभिन्न शाखाको विकास हुँदै जाँदा वर्चस्वशाली तप्का, निगमीकृत पुँजी र राजनीतिको गठजोडले उदारवादमाथि प्रहार हुँदै गयो । संसारमै अनुदारवादी वर्चस्वशाली चाल, चरित्र र चेहरा विभिन्न अनुहारमा सक्रिय र अभ्यासरत थिए, छन् । मलिला फाँट धेरै पहिलादेखि नै तयार थिए । एक ठाउँका घटनाले अन्यन्त्रलाई पनि प्रभाव पार्छ । कतै धर्मका नाममा, कतै जाति र वर्णका नाममा, कतै आप्रवासीका नाममा, कतै भाषा र संस्कृतिका नाममा । यो तर्क तथ्य, आधार, जिज्ञासाभन्दा पनि आवेगी भीडमा आफ्ना श्रेष्ठतामा मन्त्रमुग्ध हुँदै नक्कली शत्रु जन्माएर आवेगी अल्पमतमाथि बज्रने गर्छ ।
पहिलो विश्वयुद्ध समाप्तिसँगै उपनिवेशवादविरुद्ध एकातर्फ उदार लोकतान्त्रिक राष्ट्रवादी, वर्चस्वशाली राष्ट्रवादी अभियान जोडसँग चल्यो, अर्कातर्फ कम्युनिस्ट आन्दोलन । आर्थिक महामन्दीसँगै अभाव, तनाव र निराशा व्याप्त रहेको समाजमा अनुदारवादले वाणी पाउँदै गयो । इटालियन शासक मोसोलिनीको पार्टीको शब्द फाँसीवादले अनुदारवादको चरित्रको प्रतिनिधित्व गर्दै गयो भने हिटलरको आर्यरक्त श्रेष्ठताले नाजीवादी घृणाका ज्वालामा पेट्रोल छर्कंदै अघि बढ्यो । इसाई फासिज्म ख्रिस्तान रूढिवाद फैलाउन अनुदारवादी चर्च र कलेजहरू अहिले विश्वव्यापी मानवतावादी अनुहारमा सक्रिय छन् ।
भारतीय उपमहाद्वीपमा वर्चस्वशाली तप्काको दुई धर्मका अगुवा राष्ट्रिय स्वयंसेवक सङ्घ (हिन्दु महासभा) र मुस्लिम लिगले गरे तापनि स्वतन्त्र भारतमा भने परिवर्तित अवस्थाको नेतृत्व उदार लोकतन्त्रवादी राष्ट्रवादी शक्ति कङ्ग्रेसले ग-यो । अफगानिस्तानमा तालिवान फेरि सत्तामा आएसँगै शासनमा धर्मसत्ता हावी भयो । ९/११ को घटनाले अमेरिकाले आङ्तकवादविरोधी अभियानका नाममा चालेको धु्रवीकरणको उच्चतम रूप राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालले अनुदारवादको विश्व अभिभावकत्व ग-यो । यसले विश्वव्यापी रूपमा मुसलमानप्रति घृणा फैलाउने काम ग-यो । अहिले ख्रिस्तान, इस्लामिक, हिन्दु, बौद्ध, यहुदी संस्करण देखापर्दै गए । जो जहाँ शक्ति र सङ्ख्याले बहुमतमा छ, त्यसले अल्पसङ्ख्यकमाथि घृणा थोपरेर जाइलाग्दै छ । यहुदी धर्मग्रन्थ तनखले संसारका धार्मिक वा राजनीतिक सबै प्रकारका अनुदारवादीको मार्गनिर्देशन गर्दै गयो, ‘या त तिमी हामीसँग, या दुश्मनसँग ।’ बीचमा कोही हुन सक्दैन, पाउँदैन भन्ने हो ।
सभ्यताको इतिहासमा मानव अवचेतन मस्तिष्कको हार्डवेयरमा धर्म रह्यो । त्यसले भूगोलअनुसार संस्कृतिको चरित्र ग्रहण गर्दै गयो । पछिल्लो कालमा अझ पुँजी र प्रविधिको मिश्रणले राजनीतिक शक्ति कब्जा गर्ने औजार धर्म बन्न जाँदा सत्ताको आवेगी आधुनिक हतियार बन्न पुग्यो । तब तालिबानका विश्वव्यापी संस्करण देखापर्दै गए । भयको राजनीति यसको आधार हो ।
अमेरिकामा कुक्लक्स क्लान्सजस्ता गोरा अहङ्कारीहरूलाई वेस्ली स्विफ्टलगायत एन्टिसेमिटिक राजनीतिज्ञहरूबाट उत्साहजनक समर्थन प्राप्त थियो भने रिपब्लिकन पार्टीभित्रको द टी पार्टी त गोरा अतिवादको अभियानकर्ता नै हो । युरोपमा आप्रवासीविरुद्धका शृङ्खलाबद्ध आक्रमण र नवनाजीवाद, नवफासिस्ट सङ्गठन उग्रराष्ट्रवादीका रूपमा लोकप्रिय हुँदैछन् ।
नोबेल शान्ति पुरस्कार विजेता म्यानमारकी आङसान सुकीको देशमा भिक्षु आसिन बिरुथु स्वयंलाई बौद्धिस्ट ओसमाविन लादेन भन्छन् । उनको ९६९ यु एन्ड के नामक सङ्गठन धार्मिक दुर्भावना फैलाउन कुख्यात छ । बङ्गलादेशमा बल्गरहरूको हत्या र हिन्दु मन्दिरको तोडफोडका घटना, चर्चित एवं प्रभावशाली फोटो पत्रकार शाहिदुल आलमको गिरफ्तारीले धेरै कुरा देखिन्छ । पाकिस्तानको बहुसङ्ख्यकवाद अहमदिया समूहप्रतिको व्यवहार र हिन्दुमाथिको उत्पीडन बुझ्न सकिन्छ । अथवा जातीय उन्मादको भुटानले नेपालीभाषीलाई खेदेको जगजाहेर छ । श्रीलङ्कामा भिक्षु गालागोदा ऐथे गनानसराको बोडुवाला सेना (बौद्ध शक्ति दललाई) सरकारको अप्रत्यक्ष सहयोग छ । बोडुवाला सेना हिन्दु, ख्रिस्तान र इस्लामका लागि आतङ्क बनेका छन् । यस महाद्वीपमा फैलिँदै गएको धार्मिक अतिवादले उदारवादमाथि प्रहार गर्दा क्षेत्रीय असर पा¥यो । भारतमा अत्पसङ्ख्यकमाथि भएका प्रहारको प्रतिकार बङ्गलादेश र पाकिस्तानका अल्पमत हिन्दुमाथि आक्रमणमा देखापरे भने श्रीलङ्कामा अतिवादी बौद्धिष्टबाट ।
घृणाको वैचारिक आधार तयार गर्ने स्यामुअल पी हेमिङ्गटनको सभ्यताबीचको टकरावटले (क्ल्यासेस अफ सिभ्लाइजेसन एन्ड रिमेकिङ अफ न्यु वल्र्ड अर्डर–१९९६) पुरातनपन्थीको सैद्धान्तिक ऊर्जा बन्यो । हेमिङ्गटनको चिन्तन साँच्चै सही हो त भनेर संयुक्त राष्ट्रसङ्घका महासचिव कोफी अन्नानले (२००५÷६) एउटा प्राज्ञिक अध्ययन दल बनाएथे । त्यो सभ्यताबीचको सहकार्य युएनएओसीको (अलायन्स अफ सिभ्लाइजेसन)का रूपमा सक्रिय छ ।

नेपालमा धर्मनिरपेक्षता
नेपालको संविधान–२०१९ मा देशलाई हिन्दु राष्ट्र भनिएको हो । नेपाली काँग्रेसको धर्म निरपेक्षताविरुद्धको जनमतलाई आफ्नो पक्षमा ढाल्न काँग्रेसबाट पञ्चायतका व्याख्याता बनेका डा. तुल्सी गिरीको सोच थियो । वर्चस्वशाली जनमतलाई पञ्चायतीकरण गर्ने मानसिक औजारका रूपमा हिन्दु राष्ट्रले भीडलाई एकीकरण गरिने प्रयास थियो । बीपी कोइरालाले २०३६ साउन ४ मा (जुलाई २०, १९७९) ‘विक्ली मिरर’ पत्रिकालाई दिएको लिखित अन्तर्वार्तामा नेपाललाई धर्मनिरपेक्ष मुलुक बनाउन चाहने व्यक्तिका रूपमा तपाईंलाई लिइन्छ नि ? भन्ने प्रश्नको जवाफमा भनेका छन्, “नेपाल हिन्दु राज्य हुँदै होइन । कसैले हो भन्छ भने त्यो झेली मात्र हो । नेपाल निश्चय पनि धर्मनिरपेक्ष राज्य हो । धर्मनिरपेक्ष राज्यमा धार्मिक आस्था राख्ने स्वतन्त्रता हुन्छ । तसर्थ मन्दिर वा प्रार्थनास्थल कुन हो भनेर छुट्याउनुपर्ने प्रश्नै उठ्दैन । नेपाल हिजो पनि हिन्दु राज्य थिएन, भोलि पनि हिन्दु राज्य रहन्न, नेपाल धर्मनिरपेक्ष मुलुक हो । जहाँसम्म पशुपतिनाथलगायतका मठ–मन्दिर, गुम्बा तथा मस्जिदको कुरा छ, ती त समुदायका सम्पत्ति हुन्, राज्यले हस्तक्षेप गर्ने कुरै आउँदैन ।”
बीपीको सोच र जीवन व्यवहार धर्मनिरपेक्ष थियो, आडम्बरी थिएन । त्यसो त नेपाली काँग्रेसले २०१२ माघ १० र ११ गते वीरगञ्जमा सुवर्णशमशेरको अध्यक्षतामा भएको छैटौँ महाधिवेशनले नै समाजवादी र धर्मनिरपेक्षता नीतिसहित १८ वटा प्रस्ताव पारित गरेको थियो । हालै प्रकाशित बीपी कोइरालाको डायरीमा तनहुँ भिमादको भाषणमा धर्मनिरपेक्षताको प्रसङ्ग छ । भिमादमा उनले पाँच मुद्दामा आफ्नो भाषण केन्द्रित गरेका थिए । जसमा तेस्रो मुद्दा थियो– धर्मनिरपेक्षता । उदारवाद र धर्मनिरपेक्षता समाजको एक यस्तो शासन जहाँ धार्मिक मामलामा सत्ता तटस्थ रहन्छ, आफ्ना सबै नागरिकलाई समान व्यवहार गर्छ । चाहे उसको धार्मिक विश्वास जेसुकै होस्, या ऊ नास्तिक किन नहोस् ! मान्छेको धर्म हुन पनि सक्छ, नहुन पनि सक्छ तर राज्य सबै नागिरकको भावना, विश्वास र मान्यताको अभिभावक हुन्छ ।
नेपालमा हिन्दु, बौद्ध, इस्लाम, किराँत, क्रिस्चियन, प्रकृति, बोन, जैन, बहाई, शिख र भौतिकवादीहरू छन् । ज्ञानको क्षेत्रफल फैलिँदै जाँदा, सूचनाको पहुँच बढ्दै जाँदा, सन्दर्भ सामग्रीको उपलब्धता हुँदै जाँदा धर्म र संस्कृतिको पनि जानकारी बढ्दै जान्छ । अझ हाम्रा प्राज्ञिक चेतका ऋषिमुनिहरूले प्रमाणवाद, अनिश्वरवाद, भौतिकवादबारे गम्भीर विर्मश गरे । लोकायतवादका मनिषीहरू जीवन र जगत् अनिश्वरवादी हुन् भने बुद्ध आदर्श भौतिकवादी रहे ।
संसारमै छद्मराष्ट्रवाद, जातीय र धार्मिक घृणा उदारवादका शत्रु हुने गर्छन् । इतिहासको गौरव नै वर्तमानका ऊर्जा हुन् । त्यसलाई बुझ्न, समाज फेर्न र आजका समस्याको हल गर्ने माध्यम शिक्षा बन्नुपर्छ, न कि घृणालाई मलजल गर्ने नजिर । अप्रिय तथ्यलाई पनि कलमबाट बचाएर निक्लन दिन हुँदैन । हामीले विचार परिवर्तन गर्न सक्यौँ तर चिन्तनशैली परिवर्तन गर्न सकेनौँ । भारतीय संविधान निर्माता डा. बीआर अम्बेडकरको भनाइ यहाँ सान्दर्भिक हुन्छ, “सविधान कस्तो बन्योभन्दा पनि प्रयोगकर्ता कस्ता हुन्छन् ? त्यसैमा निर्भर रहन्छ ।”
हरेक परिवर्तनले व्यक्ति, समाज र राष्ट्रमै चरम् महìवाकाङ्क्षा पैदा गर्छ । नयाँ नेतृत्वको चुनौती त्यस महìवाकाङ्क्षाको कुशल व्यवस्थापन गर्ने कला, प्रतिबद्धताका लागि विश्वासपूर्ण जगेर्ना हो । नागरिकमा नफेरिइसकेको भीड आवेगमा लतारिन्छ र उदारवादबाट झस्किन्छ । अहिले फेरि उदारवादमाथि आक्रमण हुन थालेको छ र पहिलो प्रहार धर्मनिरपेक्षतामाथि भएको छ । त्यो वर्चस्वशाली तप्काको विश्व अभ्यासको नेपाली संस्करण मात्र हो ।