सकारात्मक प्रयासको थालनी (सम्पादकीय)
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भारतमा डा. शङ्करप्रसाद शर्मा, अमेरिकामा श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत सिफारिस गरेको छ । सधँै कार्यकर्ता, नातागोता र आफन्त नै सिफारिस हुने गरेकाले विवादित रहँदै आएको राजदूत छनोट र सिफारिसमा यो सरकारले भने योग्य, क्षमतावान्, अनुभवी र विज्ञ व्यक्ति सिफारिस गरेर विगतको गलत परम्परालाई तोड्ने प्रयास गरेको छ ।
उच्च अनुभव र विज्ञता भएका व्यक्तित्वलाई राजदूतका लागि सिफारिस गर्ने सरकारको यो कदम सकारात्मक र प्रशंसनीय छ । भारतका लागि नेपाली राजदूतमा सिफारिस हुनुभएका डा. शर्मा अर्थविद् हुनुहुन्छ र राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएर काम गरिसक्नुभएको छ । नेपाल–भारतबीचको आर्थिक सम्बन्ध र व्यापारमा आउने उतारचढावलाई बुझ्नुभएका शर्माले नेपालको आर्थिक तथा व्यापारिक स्वार्थ सुरक्षित गर्न योगदान गर्नुहुने विश्वास गर्न सकिन्छ । शर्माले यसअघि अमेरिकाका लागि नेपाली राजदूतको जिम्मेवारी सफलतापूर्वक सम्हाल्नुभएको छ । लामो समय परराष्ट्र सेवामा काम गर्नुभएका आचार्यले संयुक्त राष्ट्रसङ्घका लागि स्थायी प्रतिनिधि भएर काम गरिसक्नुभएको छ । उहाँले संयुक्त राष्ट्रसङ्घको अल्पविकसित र भूपरिवेष्टित मुलुक हेर्ने उपमहासचिवको जिम्मेवारी पनि सम्हाल्नुभयो । राजनीतिशास्त्रका प्राध्यापक खत्री राजनीति र परराष्ट्र मामिलासम्बन्धी विज्ञ हुनुहुन्छ । उहाँले राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरका अध्ययन अनुसन्धान गर्नुभएको छ ।
भारत, अमेरिका र बेलायतजस्ता महìवपूर्ण मुलुकमा क्षमतावान् र लामो अनुभव भएका व्यक्तिलाई सिफारिस गरेर सरकारले कूटनीतिक क्षेत्रमा महìवपूर्ण दूरदर्शिता प्रस्तुत गरेको छ । सरकारको यो कदमको सर्वत्र प्रशंसा भएको छ तर अरू मुलुकका लागि राजदूत सिफारिसमा पनि यही मापदण्ड पालना हुन्छ कि हुँदैन भन्नेमा आमनागरिक विश्वस्त हुन सकेको देखिँदैन । लामो समयदेखि व्यक्तिगत, पार्टीगत स्वार्थ हेरेर राजदूत छनोट हुने गरेका छन् । यो गलत प्रचलन तोड्न सरकार र गठबन्धनमा सहभागी राजनीतिक दलका लागि सजिलो छैन । अर्काे छिमेकी चीनलगायत डेढ दर्जनभन्दा बढी मुलुकमा प्रतिनिधित्व गर्ने राजदूतको भने छनोट हुन सकेको छैन । यी मुलुकमा पनि क्षमता, विज्ञता र अनुभव भएका व्यक्तिलाई राजदूतका लागि सिफारिस गरेर सरकारले नयाँ परम्परा बसाउनुपर्छ ।
राजदूतले अन्तर्राष्ट्रिय जगत्मा मुलुक र सरकारको प्रतिनिधित्व गर्छन् । अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो मुलुकको प्रतिनिधित्व र उपस्थिति बलियो बनाउनु राजदूतको दायित्व हो । अझ नेपालजस्तो विकासशील मुलुकका लागि पुँजी, प्रविधि र सहायता जुटाउन सहज काम होइन । यसका लागि औपचारिक तथा अनौपचारिक सम्पर्कका माध्यमबाट राजदूतले राष्ट्रिय स्वार्थ प्रवद्र्धन र संरक्षणमा अहम् भूमिका निर्वाह गर्नुपर्छ । सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानका आधारमा द्विपक्षीय सम्बन्ध विस्तार र सुदृढ बनाउनु राजदूतको जिम्मेवारी हो । अन्य मुलुकसँग हुने सन्धि, सम्झौतालाई मुलुकको हित अनुकूल बनाउने र अधिकतम लाभ लिने वातावरण बनाउन, मुलुकको छवि र विशिष्ट पहिचान प्रवद्र्धन गरी अन्तर्राष्ट्रिय जगत्को समर्थन, सहयोग र सद्भाव आर्जन गर्न राजदूतले सहयोग गर्नुपर्छ । विकास सहायता परिचालन, वैदेशिक लगानी, निर्यात व्यापार र पर्यटन प्रवद्र्धनलाई प्रभावकारी रूपमा अगाडि बढाई मुलुकको आर्थिक विकास र समृद्धि हासिल गर्ने उद्देश्य पूरा गर्न राजदूतको भूमिका महìवपूर्ण हुनुपर्छ । मुलुकको अर्थ राजनीति र विश्व परिवेश बुझेको तथा अनुभव भएका व्यक्तिले मात्रै यो जिम्मेवारी वहन गर्न सक्छन् ।
अन्तर्राष्ट्रिय जगत्मा मुलुकको प्रतिनिधित्व गर्ने व्यक्ति योग्य, सक्षम र क्षमतावान् भए मुलुकको प्रतिष्ठा र छवि राम्रो हुन्छ । भागबण्डा, राजनीतिक विचार, चिनजान र नातागोताका आधारमा सिफारिस हुने व्यक्तिले राष्ट्रिय हित र स्वार्थको रक्षा गर्न सक्दैन । त्यसैले सक्षम व्यक्तिलाई राजदूतको जिम्मेवारी दिनुपर्छ । राजनीतिक अस्थिरताले मुलुकको परराष्ट्र नीति र कूटनीति नै प्रभावित हुने गरेको छ । सरकार परिवर्तन भएसँगै आर्थिक नीति, परराष्ट्र नीति कार्यान्वयनमा चुनौती आउने गरेको छ । यसले अस्थिरता थपिन्छ र विश्वसनीयतामा सङ्कट आउने भएकाले मुलुकको स्वार्थ र हितसँग जोडिएका हरेक विषयमा सबै सरकार र राजनीतिक दलको समान धारणा वाञ्छनीय छ ।