विचार/दृष्टिकोण |

तिहारको रौनक

अच्युतप्रसाद पौडेल ‘चिन्तन’

कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्मका पाँच दिनलाई यमपञ्चक भनिन्छ । पाँच दिन लामो हुने र सबै दिन यमराजसँग सम्बन्धित भएकाले यी दिनलाई यमपञ्चक भनिएको हो । यसपालि चार दिन मात्र परेको छ । १७ गते काग र कुकुर तिहार एकै दिन प-यो भने धन्वन्तरी जयन्ती १२ गते नै परेको थियो । यम सूर्य पुत्र हुन्, यमकी बहिनी यमुनाको घरमा बसी दैनिक कार्यबाट छुट्टी लिएकाले मत्र्यलोकका मानिसहरू खासगरी बहुल देवतामा विश्वास गर्ने पूर्वीय चिन्तनमा यी पाँच दिनलाई काग तिहार, कुकुर तिहार, गाई तिहार, गोरु तिहार र भाइ तिहारजस्ता नाम दिई पाँच दिनसम्म धूमधामले यो चाड मान्ने गर्छन् । दशैँलगत्तै आउने दोस्रो ठूलो चाड तिहार वर्षभरिको अत्यन्त रमाइलो चाड हो र दीपमालिका यसको अर्को विशेष पक्ष हो । यमपञ्चकका पाँच दिनमा गरिने पाँच पूजा तथा सम्मान यस प्रकार छन्ः

काग तिहार
हिन्दु दर्शनमा सम्पूर्ण जीवात्मालाई प्रेम र सद्भाव गर्ने छुटृाछुटृै विधि छन् । स्थावरदेखि पशुपक्षी, साना, ठूला सबै जीवलाई मित्रवत् व्यवहार गरिन्छ । यमको प्रतीक कागले मानिसलाई शुभ, अशुभ शकुन बताउँछ भन्ने विश्वास गरिन्छ । घर वरिपरिको वातावरण सफा गरिदिने काग बोलीमा छुच्चो प्राणीमा गनिने भए पनि हरेक बिहान खाना खानुअघि कागलाई खाना छुट्याउने हाम्रो परम्परा रहेको छ । तिहारको सुरु दिन त कागलाई विशेष खाना दिएर निकै सत्कार गर्ने चलन छ । कात्तिक कृष्ण त्रयोदशीका दिन बिहान कागलाई विशेष खाना बलिका रूपमा दिएर घर वरिपरि सबैतिर रहेका कागहरू अगाडि आएर ‘मैले दिएका खाना खाऊ, सन्तोष होऊ’ भनिन्छ । रामायणग्रन्थमा कागभुसुण्डीको चर्चा छ । कागभुसुण्डी ऋषिले गरुडजीले रामकथा बताउँदा आफू काग रूपमै रहन, बस्न मन परेको कुरा उल्लेख गरेका छन् । कागलाई यमदूतको रूपमा हेरिन्छ । मृत्युपछि आशौच कार्यमा कागबलि अनिवार्य छ । हाम्रो समाजमा काग तिहारका दिन बेलुका घरको मूलढोकामा दीपदान गर्ने चलन छ । यसो गर्दा मृत्युभय हँुदैन । यसो गर्दा अल्पमृत्यु, दुर्घटनाहरू हुँदैन । काग तिहारको अर्को पक्ष धन्वन्तरी जयन्ती हो । यसैदिन आयुर्वेदशास्त्रका प्रणेता धन्वन्तरीको जन्मजयन्ती हो । पूर्वीय शास्त्रहरूमा आयुर्वेद शास्त्र निकै प्रसिद्ध छ ।

कुकुर तिहार
यमपञ्चकको अर्को पक्ष कुकुर तिहार हो । कुकुरलाई यमदूतको रूपमा मानिन्छ । यो दयालु प्राणी हो, मालिकको रक्षा, घरको सुरक्षा गर्न, चोरीका सामान पत्ता लगाउन यो खप्पिस हुन्छ । यसको घ्राणशक्ति निकै तीव्र हुन्छ । घरपालुवा र मालिकभक्त कुकुरका दुई विशेष नाम छन् । वैवस्वतकुलमा जन्मिएका श्यामवर्ण र छिरबिरे वर्णका दुई कुकुरलाई श्याम र सबल भनिन्छ । तिनलाई विशेष भोजन दिने गरिन्छ । तेल, माला, टिका दिएर राम्रो पारी सिँगार्ने चलन छ । यो थोरैले सन्तुष्ट हुन्छ, मस्त निन्द्रामा पनि बाहिरका कार्यहरूबारे थाहा पाउन सक्छ, सुरता र वीरत्व यसको ठूलो गुण हो । हिमालीक्षेत्रमा यसले सामान ढुवानी कार्य गरेको छ । पाण्डवहरू स्वर्गारोहण हुँंदा धर्मराजले कुकुरको रूप लिएर युधिष्ठिरको परीक्षा गरेका थिए । कुकुर तिहारका दिनलाई नरक चतुर्दशी भनिन्छ । यस दिन घरमा बत्ती बाल्ने र नदीमा बत्ती बगाउने गरिन्छ । यस दिन तेलमा लक्ष्मी बस्ने विश्वास छ । जताततै झलमल्ल तेलको बत्ती बालिन्छ । शरीर स्नान गर्दा पनि तेलमर्दन गर्ने चलन छ । मृत्युपछि नरकको भय दूर गर्न बत्ती बाल्ने भएकाले यस दिनलाई नरक चतुर्दशी भनिएको हो ।

गाई तिहार र लक्ष्मीपूजा
यमपञ्चकको अर्को पक्ष गाई तिहार हो । गाई हाम्री आमा हुन् । पौष्टिक आहार दूध दिने गाई सोझो प्राणीमध्ये एक हो । हाम्रो समाजमा गाईलाई लक्ष्मीका रूपमा हेर्ने चलन छ । गाई तिहार अर्थात् लक्ष्मीपूजाको दिन गाईलाई विशेष पूजा गर्ने, गोडा धुने, पीठो नैवेद्य खुवाउने गरिन्छ । गाई तिहारको अर्को पर्व हो लक्ष्मी, भनौँ धनको पूजा, यसरात्रिमा विशेष दीपावली गरिन्छ । घरबाहिरदेखि गोवरले लिपेर लक्ष्मीका पाइला बनाएर पूजा कोठा, धनसारसम्म लगिन्छ, पूजा गरिन्छ । समृद्धिको चाहना, खुसी, हर्ष, श्री, ऐश्वर्य, शान्ति, अमनचयन चाहनेले लक्ष्मीपूजाका दिन विशेष धनको पूजा, कुवेरको पूजा गर्छन् । पसल, व्यापारिक, प्रतिष्ठान, ढुकुटी, अन्न आदि सबैतिर विशेष धूप, बत्ती, मिष्ठान्न, फलफूल, सौभाग्य, वस्त्रसहित पूजा गर्ने चलन छ । घरपसल रङ्ग्याउने, विशेष पूmलले सजाउने, नरिवल मसलाहरू अर्पण गर्ने, रङ, पटाकाको प्रयोग गर्ने कार्य गरी खुसी नै खुसी व्यक्त गरिन्छ ।

गोवद्र्धन पूजा
यमपञ्चकको अर्को पक्ष गोरु तिहार हो । यसदिन घर–घरमा बिहानै गाई, गोरु, एवं गोवद्र्धन पूजा गरिन्छ । कृषि कार्यमा सरिक पशुहरू निकै सहयोगी छन् । तिनको सम्मान गर्ने यसपर्वमा बिहानै फूलमाला, शृङ्गारसहित पूजाआजा धूपबत्ती, नैबेद्य अर्पणगरी विशेषखाना खुआउने चलन छ । हलो, गाडासमेतको पूजा गरिन्छ । गाईको गोबरबाट गोवद्र्धन पहाड बनाई यसदिन गोबद्र्धन पूजा गरिन्छ । कात्तिक शुक्लप्रतिपदाका दिन बिहानै गृहस्थहरूले पशुजातिको कल्याण र सम्मानस्वरूप गाई, गोरुको पूजा एवं घरआँगन, बरण्डामा गोवद्र्धन पर्वत स्थापना गरी, गोपालहरूसहित श्रीकृष्णको पूजा सम्पन्न गर्ने गर्छन् । यसो गर्दा पाप नाश भई, दीर्घायु, सुस्वास्थ्य, सुकीर्ति, धनधान्य वृद्धि, सुख, ऐश्वर्य वृद्धि हुने विश्वास गरिन्छ ।

म्हपूजा
अर्को रोचक पक्ष छ म्हपूजाको । यो प्रायः नेवारी समुदायमा लोकप्रिय छ । म्हपूजा भन्नु आफ्नो पूजा हो । आफ्नै परिवार जम्मा भई शरीरधारी नाम पूजा हो, स्वाध्यायको एउटा स्वरूप हो, स्वचिन्तनको एउटा नमूना हो । आत्मा ठूलो छ, त्यो परमात्माको अंश हो । त्यो सबैभन्दा ठूलो परमात्मा हो । आत्मा तृप्त भएपछि परमात्मा तृप्त हुने सोच रहेको छ । यसै दिन नेपाल सम्बतको आरम्भ मानी नव वर्ष मनाउने गरिन्छ ।

भाइ तिहार :
यमपञ्चकको सर्वाधिक महìवपूर्ण चाड हो भाइ तिहार । कात्तिक शुक्ल द्वितीयाका दिन घरघरमा दिदीबहिनीले नवग्रह, अष्टचिरञ्जिवी, यम, यमुना, लक्ष्मी एवं आफ्ना दाजुभाइलाई पूजा गरी तिहारको उत्कर्षणलाई बिदा गर्छन् । सूर्यपुत्री यमुनाको निम्तो स्वीकार गर्दै कार्यमा व्यस्त यमराज पाँच दिनसम्म बहिनीका घरमा बसी मीठामीठा खानेकुरा खाई, फुर्सदका क्षणमा रहेको सम्झनास्वरूप, दिदीभाइ, दाज्यूबहिनीको सुमधुर स्नेहलाई निरन्तरता दिन पञ्चकभरि दिदीबहिनीका घरमा, उनीहरूले बनाएका खानेकुरा खाने चलन चलेको हो । अघिपछि दिदीबहिनीको घरको खानु हुँदैन भन्ने मान्यता बोकेको पूर्वीय समाज यमपञ्चकमा दिदीबहिनीकै घरका खाना खानुपर्छ, त्यसबाट आयुवृद्धि हुन्छ भन्ने मान्यता राख्दछ । भाइपूजा गर्नुअघि षष्ठिकादेवीसहित मार्कण्डेय, व्यास, बलि, हनुमान, परशुराम, कृपाचार्य, द्रौणी, प्रह्लाद र विभिषण आदि अष्टचिरञ्जिवीको पूजा गरिन्छ । सात कल्पसम्म जीवित रहने मार्कण्डेय आदि अष्टचिरञ्जिवी पूजा गरी दाजुभाइको दीर्घायुको कामना गरिन्छ । नव ग्रहको पनि पूजा गरी दाजुभाइका लागि अरिष्ट नहोस् भनी सङ्कल्प गर्ने गर्छन् दीर्घायुको पनि । मण्डपमा बहिनी यमुनाको पनि विशेष पूजा हुन्छ । सूर्यको पूजागरी सूर्यझैँ तेजिलो, यमुनाको पूजा गरी यमुनाझंैँ दयालु हुन प्रेरित गरिन्छ, साथै यमुनाका परिचारिकाहरूको, कुवेरको, लक्ष्मीको यम दूतको पनि । यमराजको विशेष प्रार्थना गर्दै कमसेकम मखमलीको माला नवैलुञ्जेल, तेलकोधारा नसुकुञ्जेल भए मेरा दाजुभाइको मृत्यु नहोस् भनी दिदीबहिनीहरूले कामना गर्छन् । यम दण्डाधिकारी हुन् । असल काम गर्नेलाई ढाडस र खराव काम गर्नेलाई दण्ड गर्ने यम हुन् ।
भौतिक रूपमा यमुनाको बिशद् वर्णन यमुना माहात्म्यमा पाइन्छ भने तिनै यमुनाका तटमा द्वापरयुगमा श्रीकृष्णले आफ्ना सम्पूर्ण बाललिलाहरू गरेको पाइन्छ । रासेश्वरी यमुना आफ्नो सम्पूर्ण यौवन भगवान् श्रीकृष्णलाई अर्पण गर्न कालिन्दी बन्न पुग्छिन् र श्रीकृष्णका आठ पटरानीमध्येकी कालिन्दी एक महारानी बन्छिन् । कालिन्दीलाई निर्विषाक्त बनाई प्रदूषणरहित बनाउन श्रीकृष्णले अनेकौँ प्रयत्न गरेको प्रसङ्ग भागवतमा चर्चा छ । भौतिक यमुना आध्यात्मिक कालिन्दी बनेर जीवनलाई यौवनमय र भगवान् समर्पित बनाउँछिन् । कात्तिकमासमा यमुनास्नानले विशेष महìव राख्दछ भने भ्रातृपूजाअघि यमुना स्नानगरी भाइपूजा गर्नाले सर्वसिद्धि हुने कुरामा शास्त्रकारहरू विश्वस्त छन् । यहाँसम्म कि, कात्तिकशुक्ल द्वितीयाको पर्वमा यमुनास्नान गरी यमको पूजा गर्नेले कहिल्यै यम र यमदूतको दृश्य देख्नु पर्दैन, यमलोक जानु पर्दैन भनी भविष्यपुराण र व्रतार्कलगायत ग्रन्थहरूमा चर्चा छ । यमराजकै नामबाट भाइ तिहारको नाम यमद्वितीया भएको हो । त्यसो त दिदीबहिनी दयाका प्रतिमूर्ति नै हुन् । स्नेह र करुणाको स्रोत दिदीबहिनीप्रति दाजुभाइको बैरभाव नभएको प्रमाण हाम्रो समाजमा धेरै छ । यदाकदा दाजुभाइमा अंशपातदेखि झैँझगडा, मुद्दामामिलासम्म देखिए पनि दिदीबहिनी आमातुल्य मानी कहिल्यै वैरभाव नगर्ने हाम्रो समाज हो ।