विचार/दृष्टिकोण |

विश्वव्यापीकरणको प्रभाव र चुनौती

रिसव गौतम

आजको युग २१ औँ शताब्दीको विश्वव्यापीकरणको युग हो । विश्वव्यापीकरणकै कारण आज पूरै संसार एउटा व्यापारिक ग्रामको रुपमा रुपान्तरण भइरहेको छ । कुनै पनि राष्ट्र पहिलेजस्तो अन्तर्मुखी भएर बस्न सक्ने स्थिति आज छैन । हरेक उद्योग, व्यवसाय वा संगठन कुनै एक देशमा मात्र सीमित रहिरहनुपर्ने बाध्यता छैन । संसारमा कुनै एक देशको कुनामा उत्पादित वस्तु अर्को कुनै देशको कुनामा व्यापक उपभोग भइरहेको अवस्था छ । व्यापारिक संगठनहरु अन्तर्राष्ट्रिय कम्पनीको रुपमा रुपान्तरित भइरहेका छन् । यसर्थ विश्वव्यापीकरण वर्तमान समयमा व्यापक रुपमा प्रयोग भइरहेको अवस्था छ । विश्वव्यापिकरण विश्व समुदायको राष्ट्रहरु बीचको बढ्दो र निरन्तर एकीकरण हो । विश्व राजनीतिक एवं आर्थिक क्षेत्रमा आएको उल्लेखनीय परिवर्तन, बजारउन्मुख अर्थतन्त्रको प्रभाव, खुल्ला अर्थतन्त्रको प्रभाव, ठूला–ठूला बहुराष्ट्रिय कम्पनीको उपस्थितिको कारण विश्वव्यापीकरण आजको यथार्थ बनेको छ ।

नेपालमा विश्वब्यापीकरणको प्रभाव
नेपाल आर्थिक रुपमा बाह्य मुलुकहरुसँग अन्र्तरसम्बन्धित भएसँगै विश्वव्यापीकरणमा प्रवेश गरेको हो । खासगरी नेपाल नीतिगत रुपमै २०४८/०४९ सालतिर अन्तर्राष्ट्रिय मुद्रा कोषसँगको ऋण सम्झौता भएसँगै उदारवादउन्मुख अथवा भनौं विश्वव्यापीकरणको दिशामा अघि बढेको हो । संसारमा प्रायजसो देशहरु सबै एक अर्कामा अन्र्तनिहित बनिसकेको अवस्थामा नेपाल पनि त्यसबाट अछुतो रहन सम्भव पनि थिएन । नेपालले उदारवादउन्मुख आर्थिक नीति अँगालेसँगै यहाँ बहुराष्ट्रिय कम्पनीहरु, बैकिङ्ग तथा बीमा संस्थाहरुमा विदेशी लगानी अभूतपूर्व रुपमा मौलाउँदै गएका छन् । विश्वव्यापिकरणकै प्रभावको रुपमा नेपाल संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र, सार्क सदस्य राष्ट्र, विश्व ब्यापार संघको सदस्य राष्ट्रजस्ता धेरैभन्दा धेरै अन्तर्राष्ट्रिय सहयोग तथा अन्य गतिविधिसँग सम्बन्धित संघसंस्थाहरुसँग आबद्ध भइसकेको छ । विश्वव्यापीकरणकै कारण नेपालका कैयौं श्रमशील जनशक्तिले वाह्य मुलुकमा रोजगारी पाइरहेका छन् । अहिले हाम्रो अर्थतन्त्रको कुल ग्राहस्थ उत्पादनमा ३१ प्रतिशत स्थान रेमिन्ट्यान्सले नै ओगटेको छ । त्यस्तै, भारतसँगको हाम्रो सम्पूर्ण निर्यात व्यापार झण्डै ६५ प्रतिशत बराबर छ । अमेरिका तथा अन्य युरोपियन मुलुकमा विश्वव्यापीकरणकै कारण नेपालका गलैंचा, पश्मिनाजस्ता विविध सामाग्री तथा जडिबुटीको माग तीब्र बढ्दो छ ।

बढ्दो चुनौति
जसरी संसारभर व्यापक भूमण्डलीकरण भइरहेको छ, यसैगरी अन्तर्राष्ट्रिय समुदायहरुबीच प्रतिस्पर्धामा पनि व्यापक बढोत्तरी हुँदै गइरहेको छ । विश्वव्यापीकरणसँगै बढ्दै गएको प्रतिस्पर्धात्मक वातावरणका कारण कतिपय प्रतिस्पर्धात्मक क्षमता बढी भएका देशहरु आर्थिक, सामाजिक तथा मानवीय दृष्टिले धेरै सम्पन्न हुँदै गइरहेका छन् भने कतिपय साधन स्रोतका हिसाबले कमजोर एवं गरिब मुलुकहरु प्रतिस्पर्धा गर्नै नसकी झनै जीर्ण पनि बन्दै गइरहेका पनि छन् । त्यसको सजीव उदाहरण नेपाललाई नै लिन सकिन्छ । विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुले वेलावेलामा गर्ने प्रक्षेपणमा प्रतिस्पर्धात्मक क्षमतामा पुछारमा रहने गरेको छ । जस्तो कि, नेपालले १४० वटा देशमध्ये प्रतिस्पर्धामक क्षमतामा १३१ औँ स्थानसम्म रहेको छ । त्यो भनेको प्रतिस्पर्धामा नेपाल अति कमजोर देखिनु हो । त्यसो हुनुमा नेपालमा दीर्घकालदेखि चल्दै आएको रुढीवादी परम्परा, सँस्कृति, चेतना अभाव, कमजोर व्यावसायिक वातावरण, उद्यमीय सोचको कमी र विकृति राजनीतिले गर्दा नै हो । कतिपय राजनीतिक दलहरुले त्यसो हुनुलाई उदारवादी अर्थव्यवस्था तथा विश्वव्यापीकरणको करामत हो पनि भन्ने गरेका छन् । त्यो सरासर गलत हो । तर विश्वव्यापीकरणले सिर्जना गरेको चुनौति भने नेपालमा धेरै नै छ । कुनै पनि देशमा विश्वव्यापीकरणबाट लाभ लिनको लागि शैक्षिक जनशक्तिको निर्माण, शान्तिपूर्ण वातावरण, स्थायी सरकार र दरिलो तथा प्रगतिशिल नीति तथा कार्यक्रमको अति आवश्यकता पर्दछ । यदि त्यसो हुन सकेन भने विश्वव्यापीकरणबाट लाभ लिन सकिने छैन । आज आर्थिक रुपले सम्वृद्ध बन्दै गइरहेको हाम्रै छिमेकी राष्ट्रहरु भारत र चीन राम्रो प्रतिस्पर्धात्मक आन्तरिक वातावरणकै कारण सफलताको शिखर चुम्दो छन् । तसर्थ नेपालको आर्थिक उन्नतिको लागि आन्तरिक वातावरणलाई मजबुत बनाउनुपर्ने दरिलो चुनौति खडा छ ।

नेपालमा विश्वव्यापीकरणको महत्व
नेपाल प्राकृतिक रुपले सुसम्पन्न राष्ट्र हो । यद्यपि, भौगोलिक विकटता एवं विषमता त छ । तर यहाँको सुन्दर प्राकृतिक छटाले अथाह पर्यटकीय सम्भावनालाई भने उजागर गरेको छ । त्यस हिसाबले पनि नेपाल प्राकृतिक दृष्टिले नै सम्भावना बोकेको राष्ट्र हो । जसको सम्भावनाको कुनै यकिन नै गर्न सकिँदैन । पर्यटकीय दृष्टिकोणले मनोरम वातावरण हुनु, जलस्रोतको धनी देश हुनु, अथाह जडिबुट्टीको स्रोत हुनु, ऊर्जाशील श्रमशक्तिको भण्डार हुनु, ऊर्वर भूमि हुनु, बहुसांस्कृतिक परम्पराको धनी हुनु नेपालको सम्भावनाका उत्कृष्ट स्रोतहरु हुन् । विश्वसामु नेपालले यी स्रोतहरुको उचित सदुपयोग गर्न विश्वव्यापीकरणकै आवश्यकता र महत्व छ । हामीले यी भरपुर स्रोत सम्पदाको राम्रो सदुपयोग गरी विश्व बजारमा प्रवद्र्धन गरी ठूलो धनराशि आर्जन गर्ने प्रवल सम्भावना छ । तर त्यसको लागि दक्ष जनशक्ति निर्माण, ठोस आर्थिक नीति, प्रभावशाली कुटनीति, स्थायी सरकार अत्यावश्यक छ । सूचना र सञ्चारको युग भनिएको यो समयको यथोचित विशेषता र महत्व बुझेर त्यसलाई समेत उचित उपयोग गर्नसके विश्वव्यापीकरणबाट नेपाललाई सकारात्मक योगदान पु-याउनेमा शङ्का गर्न मिल्दैन ।

विश्वव्यापीकरणबाट कसरी फाइदा लिन सकिन्छ भन्ने कुरा आइल्याण्ड, अमेरिका, चीन, डेन्मार्क, फिनल्याण्ड, फ्रान्स, नेदरल्याण्ड आदि देशले पर्यटनबाट लिएका लाभलाई नियाल्न सकिन्छ । जस्तो कि, अमेरिकाको लशभेगास भन्ने सहर सन् १९५० भन्दा अघि करिब मरुभूमि सरह थियो । अमेरिकाले त्यो सहर भएको ठाउँलाई त्यसबेला आणविक हतियारहरुको परीक्षण गर्ने थलोको रुपमा उपयोग गथ्र्यो । जब त्यस ठाउँलाई आवासीय रुपले सुरक्षित गराउने गरी अमेरिकाले ठूलो धनराशी खर्चेर बाँध बाध्ने काम गर्यो, त्यसपछि भने त्यहाँ आधुनिक सहर निर्माण हुनेक्रम बढ्यो । एक जना कहलिएका व्यवसायीले जब त्यहाँ ठूलो लगानीमा होटल खोले, त्यसपछि त्यहाँ लगानी गर्ने बढ्नथाले । आज संसारकै सबैभन्दा बढी पर्यटक जाने, सबैभन्दा बढी होटलहरु भएको, सबैभन्दा बढी क्यासिनो र जुवा घरहरु भएको सहरको परिचय लशभेगासले बनाएको छ । संसारभरका महाधनीहरुले जुवा खेलेर आनन्द लिने त्यो सहर विश्वव्यापीकरणको फाइदा लिएर मरुभूमिबाट जुरुक्क उठेको हो । विश्वशक्ति राष्ट्र अमेरिकाका आधुनिक सहरहरुलाई माथ खुवाउने चीनको बेइजिङले यतिवेला विश्वभरका मानिसलाई आकर्षण गरिरहेको छ । संसारले यतिबेला पहिले–पहिलेको जस्तो सैन्य शक्तिको होइन, सौम्य शक्तिको जगमा आफ्नो प्रभाव र आकर्षण बढाइरहेको छ । उनीहरुको बढिरहेको सौम्य शक्तिको जग अथवा पुल भनेको विश्वव्यापीकरण नै हो । नेपालको परिप्रेक्ष्यमा अझ बढी महत्व छ । जस्तो– एउटा विद्यार्थी सुदूरगाउँबाट सहर पसेपछि जसरी उसले सम्भवनाहरु पाउँछ, त्यसरी नै नेपालले आफ्नो व्यापारको, श्रमको, विनिमयको, पर्यटनको, कुटनीतिको दायरा बढाउन सक्दा उति नै फाइदा पाउन सक्ने छ । त्यसकारण नेपालले विश्वव्यापीकरणबाट लाभ लिने ठाउँ अथाह छ । नेपालको सम्भावित विकास निर्माणको लागि विश्वव्यापीकरणको ठूलो महत्व भएर पनि हामीले न विश्वव्यापीकरण बुझ्न सकेका छौँ, न त यसबाट फाइदा लिनेतर्फ योजना नै बनाएका छौँ । केवल हामी विश्वका औद्योगिक देशहरुको बजार मात्रै बनिरहेका छौँ।