परराष्ट्र मामिलाको अन्तरवस्तु
राजीव कुँवर
सन् १७६८ को नेपालको एकीकरण अभियानपछि नेपालको कूटनीति सञ्चालन गर्ने प्रारम्भिक अड्डाको स्थापना भएको हो । यससँगसँगै परराष्ट्र मामिलाको व्यवस्थित विकासको चरण आजसम्म कायमै छ । ल्हासा, तिब्बतमा वकिल कार्यालय र पटना, भारतमा इलाइची कोठाको भौतिक रूपमा कूटनीतिक अफिस खडा गरेर छिमेकी सम्बन्धमा द्विपक्षीय दौत्य सम्बन्ध कायम गरिएको सबुद तथा ऐतिहासिक प्रमाण छ । नेपालको राणाशासनमा बेलायती भारतको आवासीय प्रतिनिधिलाई काठमाडौँले स्वीकृति प्रदान गरी राजदूतस्तर कायम गरिएको हो । त्यसपछि नेपालको आधुनिक कूटनीतिक इतिहासको क्रमिक विकासको शृङ्खलाको यथार्थबोध नै छ । छिमेकीसँग युद्ध र सहयोगको गतिविधि अतिरिक्त कूटनीतिक इतिहासबाहेक नेपालले छिमेकी भारत र चीनसँग सुमधुर सम्बन्ध राख्ने प्रयत्न गर्दछ । त्यसैगरी, नेपालले कार्यान्वयन गरेको परराष्ट्र नीतिमा आधुनिकताको भेउ पाउन सन् १९४७ देखिका घटनाक्रम साभार गरिने गरिन्छ । राजनीति र कूटनीतिको आरोह–अवरोह पार गर्दै सन् २०२१ पर्यन्त परिष्कृत र तीव्र प्रतिस्पर्धी राजनीतिक समाजमा स्पष्ट खाकासहितको नेपालको परराष्ट्र नीति २०७७ ले समग्र अभ्यास र व्यवहार उक्त दस्तावेजमा लिपिबद्ध गरेको हो । सार सङ्क्षेप र सटिक नीतिको मापन यसबाट गर्न सजिलो भएको छ ।
नेपालको कूटनीतिक इतिहासको चेतमा आज परराष्ट्र सम्बन्ध औपचारिक तथा अनौपचारिक तहमा कूटनीतिक मामिलाको सञ्चालन र व्यवस्थापन गरिएको तथ्य प्रकट भएका हुन् । परराष्ट्र मन्त्रालयमा पदीय वंशज परम्पराको बिस्तारै विस्थापन भई खुला प्रतिस्पर्धाद्वारा परराष्ट्र सेवाको सामयिक सुधारोन्मुख हुँदै गएको छ । आन्तरिक राजनीतिको खटनपटन लगायत भूराजनीतिक दाउपेचले योग्य र कुशल राजनीतिज्ञ र कूटनीतिज्ञको अध्ययन र अभ्यासको आधारमा नियुक्ति गरिने प्रचलन समकालीन अवस्थामा व्यावहारिक प्रयोगमा पनि छन् । परराष्ट्रका पात्र र प्रशासकले गरेका ती तमाम कार्य सम्पादनको फेहरिस्त नेपालको कूटनीतिक इतिहासको पदचिह्न वा पदचाप हो । आज त्यही सङ्कल्प र अठोटले कूटनीतिक कार्यशैली तथा कार्य संस्कृतिमा सुधार गर्दै नेपालको राज्य र सरकारलाई सबलीकरण गर्ने चुनौती थपिएको छ । शासकीय नेतृत्वले कार्य सम्पादनमा नतिजा दिन नसके पनि त्यसका बिरुद्धका लागि गरिने प्रयास सफल नै भएको छ ।
प्रशिक्षणको कमी नभए पनि यस क्षेत्रमा शिक्षा र ज्ञानको सक्रियता गर्ने सन्दर्भमा संलग्न परराष्ट्रविद्को गम्भीर लगानी छ । यी विज्ञले विगतमा गरेको सत्प्रयत्नको नतिजा आज सफलीभूत हुनु हो । यस विधाको सङ्ग्रह मात्र होइन, यसको विषयगत र वस्तुगत आधारको व्यवहारवादी अभ्यासले सन्तोष दिन सक्ला । पद, प्रतिष्ठा र अख्तियार सबथोक हो भन्ने अहंता त्याग नगरेसम्म अपेक्षित राष्ट्रिय दृष्टिकोणको लक्ष्य हासिल र कायम गर्न सकिँदैन । फितलो, निष्प्रभावी र अराजक शैलीको कूटनीतिक आचरण निषेध गर्न नसक्नु आजका चुनौती हुन् । परराष्ट्र मामिलामा आकर्षण हुन्छ, जब शासकीय मामिलामा निपुण ढङ्गबाट समाधान गर्ने चेतना भइदिन्छ । स्थिर आन्तरिक मामिलाका लागि परिणाममुखी विवेक, तर्क र बुद्धिको संयोजनले बाह्य मामिलामा नेपालले सक्षम नेतृत्व लिन सक्ने बल प्राप्त हुन्छ ।
त्यसैगरी, भूराजनीतिको गोलबन्दीमा नेपाल सीमित मात्र हुनसक्छ भन्ने प्रश्न अनुचित नहोला । नेपालको विश्व मामिलामा संलग्नता वा पृथकीकरणको नीति द्विविधा होइन । भूराजनीतिको चपेटामा लोकतान्त्रिक शक्ति राजनीति गर्ने आँटमा संशय हो । वर्तमान परिप्रेक्ष्यमा दोषारोपण मेटाउन नेपालको राजनीतिक समाजमा समय पर्याप्त नै छ । लोकतन्त्रले यस मानेमा योग्यतामा आधारित कार्यसम्पादनको पुष्टीकरण गर्नुपर्दछ । निरन्तरता र परिवर्तनको सँघारमा हरपल परराष्ट्र नीति निहीत छ । यसमा अध्ययन र अभ्यास जरुरी नै छ । कूटनीतिक आचरण, आकर्षण र साख उँभो लाग्छ जब यस क्षेत्रमा संलग्न पात्र र प्रशासकको वृत्तिमा आँच आउँदैन । सामयिक नीतिगत पक्षपोषण गरेर परराष्ट्र मन्त्रालयको पूर्वाधारमा मानवीय पुँजीमा जोड दिइरहे नेपालको विश्व आदर्शको अवधारणा यथार्थमा बदलिन सक्छ । यो अपरिहार्य सोच बनेको राम्रो हो । नेपाल सरकारको कार्य विभाजन नियमावली र सम्बन्धित आचारसंहिता पालना भए राजनीतिक नेतृत्वले सन्तोष गर्ने आकलन र राजनीतिक जीवन सफल हुने मान्न सकिएला ।
नेपालको कूटनीतिक उद्देश्यमा आफू कसैको कुभलो नचिताउने र अर्को मुलुकले पनि कुभलो नचिताओस् भन्ने उद्गार प्रकट भएका छन् । नेपालमा शान्ति प्रवद्र्र्धन गर्ने कार्यमा भौगोलिक युद्ध र राजनीतिक द्वन्द्वको भुमरीमा फस्यौँ । शान्तिको संस्थागत व्यवस्था गर्ने पहल अन्तर्राष्ट्रिय स्तरमा कूटनीतिक पुँजी बन्ला । नेपालको कूटनीतिक संवेदनशीलता भूराजनीतिसँग अन्योन्याश्रित सम्बन्ध राख्न सक्दछ । तदर्थ वा काँचो र अपरिपक्व वक्तव्यले संवेदनाहीन र भर पर्न नसक्ने बनाउँछ । पूर्ववर्ती शासकहरूले हेक्का राखेको व्यावहारिक ज्ञान र भावनाले गम्भीर बन्न उत्प्रेरित गर्दछ । हाम्रो परराष्ट्र सम्बन्ध व्यक्तिगत कार्यक्षमतामा निर्भर देखिएको छ । दक्ष र कुशल हुन वस्तुगत विश्लेषणको कमजोर पक्ष मेटनु पर्दछ । मातृभाषा र अन्तर्राष्ट्रिय भाषामा व्यक्त गर्ने शैलीले प्रभाव पार्छ । पूर्णरूपेण कूटनीतिको अधिकतम दोहन गरे उन्नति, प्रगति र समृद्धि प्राप्त गर्न इच्छाशक्ति, सार्वजनिक संवाद र पहुँचको तयारी आवश्यक हुन्छ । आतिथ्य सरकारमा केन्द्रित हुनुपर्ने समस्या, विदेशी सरकारको चातुर्यमा नेपालको दुर्बलता, कर्मचारी र राजदूतको गुनासो, गरिबीको अवस्था, आर्थिक तथा वित्तीय सीमितता र नेपाली नागरिकको हित, सरोकार र स्वार्थ सुनिश्चित गर्ने प्रयास भए–नभएकोले महìव राख्दछ । राजदूतवासको कूटनीतिक कार्यशैली र नियमित कार्य प्रगतिको पृष्ठपोषणको तरिकाले अग्रगामी बनाउन पहल पुग्नेछ ।
सन् १९५० देखि नेपालले व्यवस्थित कूटनीति सञ्चालन गर्दै आएको हो । संयुक्त राष्ट्रसङ्घ र सार्कको सदस्य राष्ट्रको रूपमा नेपालले आफ्नो राष्ट्रिय स्वार्थ क्षेत्रीय र अन्तर्राष्ट्रिय सरोकारलाई सम्बोधन गर्न प्रयासरत छ । नेपालको सामरिक अवस्थितिको अपरिहार्यतामा अन्तर्राष्ट्रिय सम्बन्धमा ठोस भूमिका बहन गर्नसक्ने गरी सक्रियता हुनु जरुरी छ । देशको अर्थतन्त्र तथा विकासको दृष्टिगोचर गर्दै समृद्धिका गतिविधिहरूमा संलग्नता जनाउन पर्नेछ । आफ्नो अन्तर्राष्ट्रिय भूमिका निभाउने क्रममा अन्तर्राष्ट्रिय समुदायबाट विगतमा प्रशंसा प्राप्त गरिएको पनि हो । विशेषगरी शान्ति सेनाको परिचालन गरेर अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षा कायम गर्ने कार्य सफलताका साथ सञ्चालन गरेको जस नेपाललाई प्राप्त भएको छ ।
ऐतिहासिक परिप्रेक्ष्यमा एउटा स्वतन्त्र र सार्वभौम राजनीतिक पहिचान र छवि सुनिश्चित गर्न नेपालको परराष्ट्र नीति सफल रहेको छ । असंलग्न आन्दोलनको सुरुवातसँगै नेपालले सन्तुष्टि लिन सक्ने आधार बनेको छ । तर आजको समयमा असंलग्नतामा आधारित परराष्ट्र नीतिप्रति रुचि, चासो र आकर्षण घट्दै गएको छ । शीत युद्धको अन्त्यपछि असंलग्न आन्दोलनप्रतिको धारणा बदलिएको छ । सुरुवाती चरणको उत्साह क्रमशः सेलाउँदै गएको छ । यो कल्पनाको विषयवस्तुको मामिलाले आजको सन्दर्भमा आलोचना खेपिरहेको छ ।
परराष्ट्र नीतिको दस्तावेज लिपिबद्ध गर्ने कार्य पूर्वप्रधानमन्त्री केपी ओलीको सरकारले गरेको उहाँ उल्लेख गर्नैपछ । त्यसमा स्पष्ट आधारहरू व्यक्त भएका छन् र विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्धमा लिइएका अडानको सिद्धान्त उजागर भएको छ । भविष्यमा यसले कुन बाटो समाउला भन्ने चाहिँ स्पष्ट छैन । पराष्ट्र नीतिलाई दल वा वाद निरपेक्ष बनाउन सक्नुपर्छ । नेपालको कूटनीतिक अभ्यासको अन्तरवस्तु यो दस्तावेजमा उल्लेख गरिएका छन् । साम्यवादी वा वामपन्थी सरकारको पहल मात्र नभएर यो कागजात समग्र नीतिगत अभ्यासको सङ्क्षिप्त अभिलेख हो । लोकतान्त्रिक मूल्य–मान्यता राख्ने परराष्ट्र नीतिको सङ्कायले नकार्न सक्दैन, जति नै विमति वा विरोध देखाए पनि । कार्य सम्पादनको कसीमा सरकार र शासनको सूचक र गुणस्तर मापन गर्ने साहस नै राजनीतिक इच्छाशक्तिको कूटनीतिक क्षेत्रमा नीतिज्ञले प्रदर्शन गर्नु श्रेयस्कर होला ।