विचार/दृष्टिकोण |

जनगणनाका नायक : गणक र उत्तरदाता

धर्मेन्द्र झा

‘मेरो गणना : मेरो सहभागिता’ भन्ने नाराका साथ राष्ट्रिय जनगणनाको १२औँ शृङ्खला बिहीबार (कात्तिक २५ गते) देखि सुरु भएको छ । नेपालमा सङ्घीयता लागू भएपछिको यो पहिलो जनगणना हो । आगामी मङ्सिर ९ गतेसम्म हुने यो जनगणनाबाट नेपालको पछिल्लो जनसङ्ख्याको स्थितिका साथै देशका थुप्रै सबल र दुर्बल पक्षका बारेमा जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ ।
सामान्यतया जनगणना भनेको त्यस्तो समष्टिगत प्रक्रिया हो, जसमा देशभित्र बसोवास गरेका सबै परिवार तथा परिवारका व्यक्तिको जनसाङ्ख्यिक, सामाजिक तथा आर्थिक विवरणहरू सङ्कलन गरिन्छ र सङ्कलित तथ्याङ्कको प्रशोधन एवं प्रकाशन गरिन्छ । शब्द व्युत्पत्तिका दृष्टिले हेर्ने हो भने, जन र गणना दुई शब्द मिलेर जनगणना शब्दको निर्माण भएको हो । जनको अर्थ व्यक्ति र गणनाको अर्थ गन्नु हो । यसरी यसको शाब्दिक अर्थमा व्यक्ति गन्नु भन्ने बुझिन आउँछ । वर्तमान समयमा जनगणना भन्नाले एउटा भूगोलमा बस्ने जनताको आधिकारिक सर्वेक्षण भन्ने बुझिन्छ । राष्ट्रिय स्तरमा सरकारले एक निश्चित अवधिमा आफ्नो देशमा बसोवास गर्ने जनताको गणना गर्ने मान्यताका आधारमा नेपालमा पनि प्रत्येक दश वर्षमा जनगणना गर्ने गरिएको छ ।
वास्तवमा जनगणना एक महाअभियान हो । यसलाई सफल बनाउने दायित्व यस प्रक्रियामा प्रत्यक्ष संलग्नहरूको मात्र नभई प्रत्येक नागरिकको हो । जनगणनालाई सफल बनाउनु भनेको प्रत्येक व्यक्तिले आफूलाई सफल बनाउनु हो भनियो भने त्यो अस्वाभाविक हुने छैन । यस मान्यता पछाडिको दर्शन के हो भने जनगणनाबाट प्राप्त तथ्याङ्क जति शुद्ध र उपयुक्त हुन्छ, राज्यले देश र जनताका पक्षमा त्यति नै सशक्ततापूर्वक आवश्यक नीति तर्जुमा गर्न सक्छ । मिहीन तरिकाले विश्लेषण गर्ने हो भने अपेक्षित ढङ्गले नेपालको विकास हुन नसक्नुको एक कारण शायद उचित र उपयुक्त तथ्याङ्कको अभाव पनि हो । तर धेरैजसो जातीय, भाषिक, धार्मिक, अधिकारवादी सङ्घसंस्थामार्फत सङ्गठित जनताको ध्यान जनगणनाको सम्पूर्ण प्रश्नावलीमार्फत प्राप्त हुने अनेक प्रकारका तथ्याङ्कको सट्टा जात, भाषा र धर्मतर्फ बढी आकर्षित भएको देख्न सकिन्छ । वास्तवमा यो दोषपूर्ण दृष्टिकोण हो । यस प्रकारको आंशिक दृष्टिकोणको उपस्थितिमा जनगणनामार्फत उचित तथ्याङ्कको प्राप्तिमा समस्या उत्पन्न हुनसक्ने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन ।
समाज र देश विकासका लागि महìवपूर्ण तथ्याङ्कीय आधार प्राप्त गर्न सकिने जनगणनाको प्रक्रिया ठीक ढङ्गले सञ्चालन हुनु जरुरी छ । जनगणनाको प्रक्रिया ठीक ढङ्गले सञ्चालन हुन नसकेको अवस्थामा प्राप्त हुने तथ्याङ्क दोषपूर्ण हुने जोखिम रहन्छ । यस्ता दोषपूर्ण तथ्याङ्कको उपस्थितिमा देशको नीति निर्माणको प्रक्रियामा नकारात्मक प्रभाव पर्ने निश्चित छ । विगतमा भएका जनगणनाका माध्यमबाट अनेकौँ दोषपूर्ण तथ्याङ्क प्राप्त भएको कुरालाई अस्वीकार गर्न सकिँदैन । यस्तोमा निश्चय पनि जनगणनालाई सफल बनाउन सबैको भूमिका महìवपूर्ण रहेको कुरालाई स्वीकार गर्नैपर्छ । तर सर्वाधिक महìवपूर्ण भूमिका छ गणक र उत्तरदाताको नै हो । उहाँहरूको भूमिकाका आधारमा उहाँहरूलाई जनगणनाको नायकको संज्ञा दिन सकिन्छ । जनगणनाका क्रममा गणक र उत्तरदाता जति सशक्त ढङ्गले प्रस्तुत हुने अवस्था निर्माण हुन्छ, परिणाम पनि त्यत्तिकै सशक्त आउने निश्चित छ । विगतका जनगणनाको विश्लेषण गरिएका खण्डमा गणक र उत्तरदाताको कमजोर प्रस्तुति र उदासिनताका कारण त्रुटिपूर्ण तथ्याङ्कहरू आउने गरेको यथार्थप्रति आँखा चिम्लिन मिल्दैन । आशा गरौँ, यस पटक विगतको जस्तो हुने छैन । २०४८ र ०५८ को जनगणनाको जस्तो दार्चुला र बैतडीमा मैथिली भाषा मुख्य भाषाका रूपमा बोलिने गरेको तथ्याङ्क आउने छैन र सप्तरीको तिलाठीमा नेपालीभाषीको बसोवास पनि देखिने छैन । यी सबै त्रुटि गणक र उत्तरदाताको लापरबाहीले आएको कुरामा विमति हुन सक्दैन ।
स्मरणीय छ, हिजोदेखि सुरु भएको जनगणना दोस्रो चरणको हो, जसमा प्रत्येक व्यक्तिको गणना गरिनेछ । यसअघि भदौ ३० देखि असोज १८ गतेसम्मको अवधिमा जनगणनाअन्तर्गतको पहिलो चरणको कार्य सम्पन्न भइसकेको छ । यस चरणमा घर तथा घरपरिवार सूचीकरणको कार्य सम्पन्न गरिएको छ । पहिलो चरणको गणनामा सुपरिवेक्षक सम्बन्धित घरमै नपुग्ने, बीसको सङ्ख्यामा रहेको प्रश्नावलीमध्ये पूरै प्रश्न नसोध्ने, घरमुली÷परिवारमुलीको निर्णय सुपरिवेक्षक आफैँले गरिदिने, स्थानीय भाषाको प्रयोग नगर्नेजस्ता अनेकौँ त्रुटि फेला परेका छन् । दोस्रो चरणअन्तर्गत गणक र उत्तरदाता स्वयंले त कुनै त्रुटि गर्नु हुने छैन नै, पहिलो चरणमा भएका त्रुटि सच्याउन पनि उहाँहरूको भूमिका महìवपूर्ण हुनेछ । यस पटक गणकहरू सम्बन्धित टोल र वडाकै हुनुहुने भएकाले विगतको तुलनामा तथ्याङ्क सङ्कलनमा सहजता हुने विश्वास गर्न सकिन्छ । गणक र उत्तरदाता पूर्वपरिचित हुने सम्भावनाको उपस्थितिमा दुवैले खुलेर कुराकानी गर्न सक्ने उपयुक्त वातावरण उपलब्ध हुनेछ र यस आधारमा सङ्कलित तथ्याङ्क शुद्ध हुने अपेक्षा गर्न सकिन्छ ।
यस पटकको जनगणना पहिलेको भन्दा पृथक छ । यो जनगणनामार्र्फत थुप्रै प्रकारका तथ्याङ्क सङ्कलनको अपेक्षा गरिएको छ । यस अर्थमा यो निकै महìवाकाङ्क्षी छ र चुनौतीपूर्ण पनि । निश्चय पनि महìवाकाङ्क्षामाथिको विजय र चुनौतीको सामना गणक र उत्तरदातामा निर्भर गर्छ । यस पटक हरेक परिवारलाई ८० वटा प्रश्‍न सोधिने छ । एक परिवारलाई प्रश्नावली भर्न औसतमा २० मिनेट समय लाग्ने जनाइएको छ । प्रश्नको अधिक सङ्ख्या स्वयंमा चुनौती हो । यो चुनौतीको सामना गर्न गणक र उत्तरदाता दुवैले इमानदार र धैर्यशाली हुनु जरुरी छ । दुवैमध्ये कसैले पनि धैर्य गुमाएको अवस्थामा उचित तथ्याङ्क प्राप्तिमा समस्या उत्पन्न हुने र जनगणनाको मूल उद्देश्य प्रभावित हुनसक्ने सम्भावनालाई नकार्न सकिँदैन ।
प्रश्न उठ्न सक्छ, यति धेरै आर्थिक र जनशक्तिको व्यय हुने जनगणनाको कार्य सम्पन्न गर्न किन आवश्यक छ ? यस सन्दर्भमा भन्नुपर्दा, जनगणनाबाट देशको विद्यमान अवस्था छर्लङ्ग हुन्छ भन्ने विश्वास गरिन्छ । यसबाट सम्बन्धित देशको भूगोलमा बसोवास गर्ने व्यक्तिको अवस्था बुझिन्छ । यसअन्तर्गत जनसाङ्ख्यिकी अवस्था (महिला, पुरुष, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका, अल्पसङ्ख्यक, आदिवासी, जनजाति, आदि क्षेत्रको सङ्ख्या) बुझ्ने काम गरिन्छ । यस्तै, जनगणनाका माध्यमबाट भौगोलिक जनघनत्व बुझ्ने कार्य पनि गरिन्छ । देशको शैक्षिक अवस्था (निरक्षर र साक्षर), आर्थिक अवस्था (रोजगारी, प्रतिव्यक्ति आय, आदि), भाषिक अवस्था र धार्मिक र सांस्कृतिक अवस्था बुझ्न सकिन्छ । सजिलो गरी बुझ्ने प्रयत्न गर्ने हो भने, जनगणनाबाट जनसङ्ख्यासम्बन्धी आधारभूत तथ्याङ्क (जनसङ्ख्याको आकार, बनावट, वितरण र वृद्धि) प्राप्त हुन्छ । यस्तै, विभिन्न तथ्याङ्कीय सर्वेक्षणका लागि सूची वा फ्रेम प्राप्त गर्न पनि जनगणना सहयोगी हुने विश्वास गरिन्छ । निर्वाचन क्षेत्र र प्रतिनिधि सङ्ख्या निर्धारण, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका आदिको क्षेत्र निर्धारण गर्न पनि जनगणनाबाट प्राप्त तथ्याङ्क उपयोगी हुन्छ । जनगणनाबाट लैङ्गिक उत्तरदायी तथा सामाजिक समावेशी विकासका लागि आवश्यक सूचना उपलब्ध हुने अपेक्षा पनि गरिन्छ । जनगणनाबाट प्राप्त तथ्याङ्कले संविधानमा व्यवस्था भएका मौलिक हकअधिकार कार्यान्वयनको मूल्याङ्कन गर्न र लोककल्याणकारी कार्यक्रम सञ्‍चालन गर्न मद्दत पुग्दछ ।
जनगणनाका आधारमा राज्यले जनताका पक्षमा आवश्यक योजना निर्माण गर्न सक्छ भने राष्ट्रिय स्तरमा कार्यक्रमहरूको निर्माण गरी लागू गर्न पनि सहज हुन्छ । देशको आर्थिक विकासको खाका तयार गर्न, जनताको अवस्था र स्तरको बारेमा जानकारी प्राप्त गरी विशेष कार्यक्रमहरूको तर्जुमा गर्न, पूर्वाधार विकासमा सहयोग जुटाउन, नयाँ ढङ्गले समाज निर्माणमा योगदान पु-याउन, रोजगारी सिर्जना र गरिबी निवारणका दिशामा कार्य गर्न, नीतिहरूको प्रभावकारिताको अनुगमन गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकासका लक्ष्यहरूको प्रगति मापन गर्न पनि जनगणना महìवपूर्ण हुन्छ । समग्रमा भन्नुपर्दा राज्यले तयार गर्ने नीतिको मूल आधार नै जनगणना हो ।
माथिका उद्देश्य प्राप्त गर्न यस पटकको जनगणनाबाट घरको विस्तृत विवरण, प्रत्येक घरपरिवारको आर्थिक विवरण र प्राविधिक शिक्षाको विवरण प्राप्त गर्ने लक्ष्य राखिएको छ । यस्तै, मृत्युदरको जानकारी, भाषागत विवरण (पुर्खाले बोल्ने भाषा, मातृभाषा, दोस्रो भाषा), विदेश गएका व्यक्तिको जानकारी प्राप्त गर्ने लक्ष्य पनि राखिएको छ । यिनै आधारहरूले यस पटकको जनगणनालाई पहिलेको भन्दा फरक बनाएको छ । विगतको जनगणनामा माथि उल्लिखित अधिकांश विवरण सङ्कलनको उद्देश्य राखिँदैनथ्यो । यही कारणले राज्यले नीति निर्माणका सन्दर्भमा जहिले पनि उचित र आवश्यक तथ्याङ्कको अभाव महसुस गरिरह्यो । विगतका यिनै समस्याबाट सिकाइका आधारमा राज्यले अनेक प्रकारका तथ्याङ्क प्राप्तिको उद्देश्यले यस पटकको जनगणना सञ्चालन गरिरहेको छ । यस आधारमा हेर्ने हो भने यस पटकको जनगणनाको प्रक्रिया महìवाकाङ्क्षी छ र यसको सफलता मूलतः गणक र उत्तरदातामै निर्भर रहने निश्चित छ ।