डेङ्गुका लक्षण तथा बच्ने उपाय
डा. केदार कार्की
डेङ्गु दोस्रो विश्वयुद्धको समयदेखि विश्वव्यापी रूपमा समस्या बनेको हो । हाल यो रोग विश्वका एक सय १० देशमा व्याप्त छ । प्रत्येक वर्ष यो रोगका कारण पाँच करोडभन्दा बढी मानिस बिरामी पर्ने गरेका छन् । जसमध्ये करिब १० देखि २० हजार मानिसको मृत्युसमेत हुने गरेको छ । डेङ्गुको महामारीका बारेमा सन् १७७५ मा लिखित तथ्य भेटिएको थियो । यो रोग भाइरसका कारण लाग्ने र लामखुट्टेका कारणले सर्ने गरेको तथ्य बीसौँ शताब्दीमै पत्ता लागेको हो । लामखुट्टेलाई निर्मूल पार्न असम्भवजस्तै भएकाले सीधै भाइरसलाई नियन्त्रण गर्न औषधिहरूका बारेमा पनि अध्ययन भइरहेको छ ।
डेङ्गु एक प्रकारको ज्वरो हो र लामखुट्टेको टोकाइबाट एकअर्कामा सर्ने सङ्क्रामक रोग हो । डेङ्गुको भाइरसबाट सङ्क्रमित भएको एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेले यो रोग सार्छ । रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी पाइने गर्दछ । यसले स–साना पानी जमेका स्थानमा फूल पार्ने गर्दछ । खासगरी वर्षाको पानी टिनका डब्बा, थोत्रा टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, फूलदानी गमला, पानीका ट्याङ्की आदिमा रहँदा यसले फुल पार्दछ । सहरी क्षेत्रमा यस्ता वस्तु पर्याप्त मात्रामा हुने भएकाले पनि यो लामखुट्टे सहरमा बढी देखिने गरेको पाइन्छ । डेङ्गु एडिस एजिप्टाइ र एडिस एल्वोपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरस सङ्क्रमण हो । यो भाइरस डेङ्गु–१, डेङ्गु–२, डेङ्गु–३ र डेङ्गु–४ गरी चार प्रकारका हुन्छन् । एडिस लामखुट्टे कालो रङको हुन्छ, जसमा सेतो थोप्ला पनि देखिन्छ । यो लामखुट्टेले विशेष गरी दिउँसो टोक्ने गर्दछ । औलो उत्पादन गर्ने लामखुट्टे फोहोर पानीमा पाइने भए पनि डेङ्गु सार्ने लामखुट्टेले भने थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ ।
डेङ्गु रोग क्लासिक डेङ्गु हेमोरहेजिक र सोके सिन्ड्रोम गरी तीन प्रकारका छन् । खासमा डेङ्गी भए पनि लेखिँदा भने चलनचल्तीमा डेङ्गु भनिन्छ र यो ज्वरो लामखुट्टेको टोकाइले सर्ने र शीतोष्ण र समशीतोष्ण भू–भागमा फैलिने रोग हो । यो रोगको भाइरसलाई डेङ्गी भनिन्छ र यसको सङ्क्रमण भएको तीन दिनदेखि १४ दिनपछि यसका लक्षण देखिन्छन् । प्रमुख लक्षणहरूमा– ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, मांसपेसी तथा जोर्नीमा पीडा हुने र छालामा एक प्रकारको रातो दाग देखिने आदि हुन्छन् । यो रोग निको हुन दुईदेखि सात दिनसम्म लाग्छ । केही बिरामीमा यो रोग डेङ्गी हेमोरेजिक फिवर विकसित भएर रक्तश्राव हुन्छ र ज्यान नै जोखिममा पर्न सक्छ ।
यो अवस्थामा रक्तश्राव मात्र हुने नभई रगतमा प्लेटलेट्सको मात्रा कम हुने तथा रगतको प्लाज्मा खेर जाने हुन सक्दछ । त्यस्तै डेङ्गुको अर्को विकसित रूप डेङ्गु सक सिन्ड्रोम पनि हो । यो अवस्थामा बिरामीको रक्तचाप घटेर खतरनाक अवस्थामा पुग्छ । यो रोगका भाइरसहरू चार प्रकारका छन् । यीमध्ये कुनै एकको सङ्क्रमण भएमा हाम्रो शरीरले जीवनभरका लागि त्यस प्रजातिको भाइरसका विरुद्ध प्रतिरोध क्षमता प्राप्त गर्छ तर यस्तो प्रतिरोध क्षमताले अन्य प्रजातिको भाइरसविरुद्ध छोटो अवधिका लागि मात्र काम गर्छ । एकपछि अर्को गरी लगातार हुने सङ्क्रमणले गम्भीर खतरालाई बढावा दिन्छ ।
डेङ्गु पहिचानको टुङ्गो लगाउन धेरै परीक्षण उपलब्ध छन् । यस्ता परीक्षणमा बिरामीको रगतमा डेङ्गुको भाइरसविरुद्ध शरीरले पैदा गर्ने ‘एन्टीबडी’ वा उक्त भाइरसको आरएनए पत्ता लगाउने गरिन्छ । केही देशमा डेङ्गुको सङ्क्रमणबाट बचाउनका लागि खोपलाई मान्यता दिइएको छ तर अहिलेसम्म यसको व्यापारिक उत्पादन भने गरिएको छैन । डेङ्गुबाट बच्न लामखुट्टेको बासस्थान नष्ट गर्ने तथा लामखुट्टेको टोकाइबाट जोगिनु नै मूल कुरा हो । यसका लागि मानिसको बसोबास क्षेत्रमा अनावश्यक रूपमा पानी जम्न नदिने वा जमेको पानीलाई ढाकेर राख्ने तथा शरीरका सबै भाग छोप्ने कपडा लगाउने गर्न सकिन्छ । भर्खरै देखापरेको मन्द वा मध्यम खालको डेङ्गु छ भने मुखबाट वा नसाबाट तरल पदार्थ दिएर उपचार गरिन्छ । गम्भीर खालको डेङ्गुको उपचार गर्न बिरामीलाई रगत दिनु आवश्यक हुन्छ । यो रोगको कारणले प्रत्येक वर्ष विश्वमा पाँच लाख मानिस अस्पताल भर्ना हुने गरेका छन् । डेङ्गु लागेको बेला माइबुप्रोफिनजस्ता नन्स्टेरोइडल एन्टी इन्फ्लामेन्टरी औषधि प्रयोग गर्नु हुँदैन ।
सामान्यतया डेङ्गु भाइरसको सङ्क्रमण भएका करिब ८० प्रतिशत मानिसमा रोगको कुनै लक्षण देखिँदैन वा देखिए पनि हल्का ज्वरोजस्ता सामान्य खालका लक्षण मात्र देखिन्छ । सङ्क्रमितमध्ये पाँच प्रतिशत मानिसमा गम्भीर प्रकारको डेङ्गु लाग्ने गर्छ भने तीमध्ये पनि निकै कम मानिस यस रोगका कारण मृत्युको मुखमा पुग्ने गर्छन् । यो रोग छिप्पिन तीनदेखि १४ दिन लाग्ने भए पनि धेरैजसो बिरामीमा यो रोगले चारदेखि सात दिनमा नै पूर्णता पाउँछ । त्यसैले डेङ्गुको जोखिममा रहेका स्थानमा गएर फर्किएका मानिसमा घर पुगेको १४ दिनपछि डेङ्गु वा अन्य लक्षण देखापर्ने सम्भावना हुँदैन ।
प्रायःजसो बालबालिकामा डेङ्गुको सङ्क्रमण हुँदा सामान्य रुघा तथा सङ्क्रामक पखाला भएकोजस्तै लक्षणहरू देखिने गर्छन् । त्यस्तै बालबालिकामा विभिन्न जटिलता देखापर्ने जोखिम पनि तुलनात्मक रूपमा बढी नै हुन्छ । सुरुवातमा यसका अन्य लक्षण मन्द खालका भए पनि उच्च ज्वरो देखा पर्दछ । डेङ्गुको पहिचानका लागि मुख्य लक्षणमा अचानक ज्वरो आउने, टाउको दुख्ने, आँखाको पछाडि दुख्ने, मांसपेसी दुख्ने, जोर्नी दुख्ने आदि हुन् । डेङ्गुका रोगीको मांसपेसी तथा जोर्नी दुख्ने हुनाले यसलाई हड्डीतोड ज्वरो पनि भनिन्छ । यो रोग लागेको अवधिलाई तीन चरणमा विभाजन गरिएको छ– लक्षण सुरु हुने अवस्था फेब्राइल, गम्भीर अवस्था क्रिटिकल तथा निको हुने अवस्था रिकभरी । लक्षण सुरु हुने अवस्थामा ४० डिग्री सेल्सियसभन्दा पनि उच्च ज्वरो आउने, शरीरमा पीडा महसुस हुने तथा टाउको दुख्नेजस्तो लक्षण देखिन्छन् । यो अवस्था प्रायःजसो दुई दिनदेखि सात दिनसम्म रहने गर्दछ । वाकवाकी लाग्ने तथा बान्ता हुने पनि हुन सक्दछ ।
डेङ्गुको सङ्क्रमण भएका ५०–८० प्रतिशत बिरामीमा लक्षण देखिन सुरु भएको पहिलो वा दोस्रो दिनमा छाला रातो तथा तातो हुने समस्या देखापर्न सक्छ । पछि बढ्दै गएर दादुरा लागेको जस्तो स–साना फोका देखा पर्छन् । रातोको बीचमा सेतो हुने फोका पनि देखिन सक्दछ । यस्ता फोकालाई अङ्ग्रेजीमा ‘आइसल्यान्ड अफ ह्वाइट इन अ सी अफ रेड’ (रातो समुद्रमा गोराहरूको टापु) भन्ने गरिन्छ । यो अवस्थामा शरीरमा हुने कोशिकाहरू फुटेर छालामा स–साना थोप्ला देखापर्ने र मुख र नाकका म्युकस मेम्बे्रनबाट सामान्य रक्तश्राव हुने लक्षण पनि देखा पर्छन् ।
डेङ्गुको ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु तथा लामखुट्टेको वृद्धि रोक्नु पहिलो सर्त हो । पानी जम्न सक्ने भाँडाहरू जस्तै– गमला, फूलदानी, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरमा पानी जम्न नदिने । पानीका ट्याङ्कीमा लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्ने । कुलरको पानीमा प्रत्येक हप्ता एक÷दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने । फूलदानीमा भएको पानी हप्तामा दुई पटक फेर्ने । यो लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरीर ढाक्ने लुगा लगाउनुपर्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्दछ । साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्दछ । लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलम दल्न पनि सकिन्छ । घरका झ्यालढोकामा जाली लगाउन उपयुक्त हुन्छ । घरवरिपरि सफासुग्घर राख्ने, पानी जम्ने खाल्टाखुल्टी पुर्ने गर्नुपर्छ ।
स्वास्थ्य संस्थामा यसको लक्षणअनुसार उपचार गरिन्छ । डेङ्गु ज्वरोविरुद्धको खोप र खास उपचारसमेत नभएको हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगको बचावटको मुख्य उपाय हो । डेङ्गु ज्वरोको शङ्का लागेमा हुनसक्ने जटिलताबाट जोगिन तत्काल नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नु उचित हुन्छ ।