विचार/दृष्टिकोण |

महाधिवेशनमा होमिएको काँग्रेस(सम्पादकीय)

सत्तारूढ नेपाली काँग्रेस पार्टी यतिबेला महाधिवेशन प्रक्रियामा होमिएको छ । महाधिवेशन आउन एक महिनाभन्दा कम समय बाँकी रहेको अवस्थामा पार्टी नेता, कार्यकर्ताबीच आगामी नेतृत्व कस्तो हुनेबारे गम्भीर छलफल र घम्साघम्सी हुने देखिएको छ । मुलुक र जनताको समृद्धिका लागि पार्टीले लिनुपर्ने नीति, कार्यक्रम, दृष्टिकोण र भावी कार्ययोजना तथा त्यसलाई कार्यान्वयन गर्न सक्ने नेतृत्व छनोट गर्ने अवसर भएकाले नेपाली काँग्रेसका लागि यो महìवपूर्ण अवसर पनि हो ।

२०७२ फागुनमा १३आँै महाधिवेशन गरेको नेपाली काँग्रेसको १४औँ महाधिवेशन गत वर्षको फागुन ७ देखि १० गतेसम्म हुने तय भएको थियो । कोरोना महामारीका कारण उक्त मितिमा महाधिवेशन हुन सकेन । कोरोना महामारी नियन्त्रणमा आउन नसकेको, संसद् विघटन र क्रियाशील सदस्य विवादलगायतका कारण महाधिवेशन मिति पुनः २०७८ भदौ ७ गतेदेखि १० गतेका लागि निर्धारण गरियो । यसलाई पनि परिमार्जन गरी मङ्सिर ९ गतेदेखि १३ गतेसम्मको मिति तय भयो । पछिल्लो पटक नेपाली काँग्रेसको महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा गर्ने तय भएको छ । पछिल्लो कार्यतालिकाअनुसार बाँकी रहेका गाउँ÷नगरपालिका अधिवेशन कात्तिक ३० गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन मङ्सिर ३ गते, एक क्षेत्र मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन मङ्सिर ६ गते, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको जिल्ला अधिवेशन मङ्सिर १० गते हुनेछ । प्रदेश अधिवेशन मङ्सिर १६ र १७ गतेका लागि निर्धारण गरिएको छ ।
भदौ १८ गतेदेखि प्रारम्भ भएको वडा अधिवेशन धेरै जिल्लामा सम्पन्न भइसकेको छ । क्रियाशील सदस्यता विवादका कारण हुन नसकेको प्रदेश २ का आठ जिल्ला तथा कैलाली, बाँके, सुर्खेत, डोल्पा र रसुवा गरी १३ जिल्लामा पनि शनिबारदेखि वडा अधिवेशन सुरु भएको छ । संवैधानिक प्रावधानका कारण जतिसक्दो चाँडो महाधिवेशन गर्नुपर्ने बाध्यता नेपाली काँग्रेस पार्टीलाई छ । नेपालको संविधानको धारा २६९ (४) मा राजनीतिक दलले कम्तीमा पाँच वर्षमा एक पटक सङ्घीय र प्रदेश तहका पदाधिकारीको निर्वाचन हुने व्यवस्था छ । विशेष परिस्थितिमा तोकिएको अवधिमा निर्वाचन सम्पन्न नभए थप छ महिनामा निर्वाचन गर्न सकिने व्यवस्था छ । यही संवैधानिक प्रावधानबमोजिम पनि नेपाली काँग्रेसको वर्तमान कार्यसमितिको कार्यावधि भदौ २३ गतेसम्म मात्र थियो तर त्यसअघि नै महाधिवेशन प्रत्रिया सुरु भइसकेको छ । यो प्रक्रियालाई पूरा गरी पार्टीको नयाँ नीति तथा नेतृत्व तय गर्न महाधिवेशन गर्नैपर्ने अवस्था सिर्जना भएको छ ।

राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई मूल आदर्श मानेको नेपाली काँग्रेस प्रजातन्त्रको स्थापना र पुनस्र्थापनाका लागि भएका हरेक आन्दोलनमा नेतृत्वदायी भूमिकामा रह्यो । मुलुक र जनताको समृद्धिका लागि लामो समयदेखि क्रियाशील यो पार्टीप्रति राष्ट्रिय अन्तर्राष्ट्रिय जगत्ले भरोसा गरेको छ । लोकतन्त्र र आवधिक निर्वाचनका लागि तत्पर नेपाली काँग्रेसले आगामी एक वर्षभित्र सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचन गराउनुपर्ने दायित्वसमेत निर्वाह गर्नुपरेको छ । नेपाली काँग्रेसका नेता, कार्यकर्ताका लागि यो थप चुनौती पनि हो । त्यसैले अब महाधिवेशन र निर्वाचन काँग्रेसको लक्ष्य पनि हो । पटकपटक परिमार्जन गरिएको भए पनि अब भने तोकिएको मितिमा पार्टी महावधिवेशन सम्पन्न गरी मुलुकका लागि सुहाउँदो नीति तथा नेतृत्व चयन गर्नुको विकल्प छैन । वडा तहदेखिका कार्यकर्ताको सहभागितामा बन्ने नीति र नेतृत्वले मात्रै मुलुकका समस्यासँग जुध्नसक्ने नीति र कार्यक्रम ल्याउन र त्यसलाई कार्यान्वयन गर्न सक्छन् । यो नेपाली काँग्रेसका अगाडि चुनौती र अवसर हो । सङ्घीय संरचनालाई आत्मसात् गरिसकेको नेपाली काँग्रेस पार्टीको सङ्गठन र समावेशी नेतृत्वले देश निर्माणको नेतृत्व लिनसक्छ । महाधिवेशनले पार्टीको स्पष्ट र कार्यान्वयन गर्नसक्ने गरी राजनीतिक, आर्थिक, साङ्गठनिक नीति र कार्यक्रम तय गर्नुपर्छ । महाधिवेशन सम्पन्न गरी त्यसबाट आउने नीतिगत मार्गदर्शन र त्यसलाई कार्यान्वयन गर्ने सबल नेतृत्वले मुलुकलाई अगाडि बढाउन सक्छ । दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि सहयोगी नीति तथा कार्यक्रमको जनताको आकाङ्क्षालाई नेपाली काँग्रेसले पूरा गर्नुपर्छ ।