विचार/दृष्टिकोण |

नेतृत्व विकासका आयाम

दीपक चौधरी

नेपालमा हालैका दिनमा राजनीतिक, सामाजिक तथा आर्थिक क्षेत्रका विसङ्गति तथा समस्याहरूको सम्बन्धमा बढी सुनिने र उठान हुने शब्दमा नेतृत्व पनि एक हो । यो विषय महìवपूर्ण हुँदाहुँदै पनि तुलनात्मक रूपमा नेपालमा सबैभन्दा कम अध्ययन र बहस भएको विषय पनि सम्भवतः यही नै हो । विकसित देशहरूमा नेतृत्वको विकास तथा अध्ययन अनुसन्धानमा ठूलो लगानी भएको पाइन्छ । सिद्धान्ततः देशमा कुशल नेतृत्व वा सार्वजनिक संस्थाहरूको प्रभावकारिताका लागि होस् वा निजी कम्पनीहरूको विस्तार तथा प्रभावकारिताका लागि, नेतृत्वको भूमिका महìवपूर्ण रहने गर्दछ ।

विश्वमा नेतृत्व विकासका सम्बन्धमा सबैभन्दा बढी अध्ययन, अनुसन्धान र सर्वेक्षण हुने देशमा अमेरिका अग्रपङ्क्तिमा देखिन्छ । संसारको नेतृत्व गर्नुपर्ने भएकोले यसमा विशेष ध्यान दिइएको हुनुपर्छ । विश्वव्यापी रूपमा सामाजिक नेटवर्क बनाउन अमेरिकामा थुप्रै क्लब खोलिएका छन् । यसको उद्देश्य सामाजिक स्तरमा नेतृत्वको विकास गर्नु नै हो । अमेरिकाको लाइन्स क्लब होस् वा जापानको रेयुकाई, यी सबै यसै सन्दर्भसँग जोडिएका छन् । लाइन्स क्लबमा अमेरिकाका राष्ट्रपतिको जस्तै अध्यक्षको भूमिका सर्वेसर्वा हुन्छ । राष्ट्रपतिले ‘टेबल’ गरिसकेपछि यसको पालना सबैले गर्नैपर्छ । अध्यक्ष एक पटकलाई हुने गर्दछ र उपाध्यक्ष अध्यक्ष नहुँदा वा अध्यक्षको कार्यकाल सकिएपछि नेतृत्वका लागि तयारी अवस्थामा राख्ने गरिन्छ । नियम, कानुन र परिधिभित्र उसले आफ्नो अधिकारको प्रयोग गर्ने हो । तसर्थ यसबाट केही मात्रामा नेतृत्व विकास तथा हस्तान्तरण सिक्न सकिन्छ । हालैका दिनमा चीनले पनि व्यवस्थापकीय नेतृत्वको विकासमा ठूलो लगानी गर्दै आएको छ । नेतृत्वलाई विभिन्न दृष्टिकोणबाट बुझ्न सकिन्छ । पहिले नेतृत्व मूलतः महान् व्यक्तित्व तथा आदर्शवादसँग जोडिन्थ्यो । गीतामा कृष्णले कर्मवादी र अवस्थालाई बुझेर अघि बढ्ने नेतृत्वको कुरा गरेको प्रतित हुन्छ भने बुद्धले संस्थागत नेतृत्वमा जोड दिएका छन् । जहाँ व्यक्ति र संस्थाले प्रभावकारी रूपमा परिवर्तन ल्याउन सक्दछ भन्ने हो । उदाहरणका लागि सङ्घलाई लिन सकिन्छ । प्रसिद्ध जर्मन दार्शनिक म्याक्स वेवरले प्रतिभामा, आर्दशवादी तथा दूरदर्शितायुक्त नेतृत्वको चर्चा गरेका छन् । अमेरिकी शोधकर्मी स्टकडिलले नेतृत्वको परिभाषा जनतामा भरपर्ने बताएका छन् भने । विकासक्रमसँगै नेतृत्वको परिभाषा पनि समयमानुकूल बन्दै आएको छ 

सन् १९७८ मा अमेरिकी शोधकर्मी जेम्स बर्नले परिवर्तनशील नेतृत्व सिद्धान्त प्रतिपादन गरे । यसले नेतृत्वलाई समाज परिवर्तनको एजेन्टको रूपमा मान्दछ । साथै, नेतृत्वमा विशिष्ट प्रभाव पार्नसक्ने गुण हुन्छ, जसले समकक्षी तथा कार्यकर्ता र आफ्नो मातहातका मानिसलाई कुनै पनि काम फत्ते गर्न उत्प्रेरणा दिन्छ र समकक्षी तथा कार्यकर्तालाई पनि आफूसँगै अगाडि लानुपर्छ भन्ने मान्यता राख्दछ । यसले नेतृत्वको आवश्यकताभन्दा जनताको आवश्यकतामा जोड दिन्छ । राजनीतिक नेतृत्व राजनीतिक निर्णय प्रक्रिया र राजनीतिक परिणामसँग सम्बन्धित मानिन्छ । व्यवस्थापकीय नेतृत्व कुनै पनि संस्थाको परिणामसँग सम्बन्धित हुने गर्दछ र यो ठाडो तहगत प्रक्रियासँग जोडिएको हुन्छ । नैतिकता सबै नेतृत्व परिभाषाको केन्द्रबिन्दुमा रहँदै आएको छ ।
यद्यपि, अध्ययनले नेपालमा राजनीतिक नेतृत्वप्रति आममानिसमा सकारात्मक धारणा कम रहेको देखाउँछ । नेतृत्व जनताभन्दा गुटगत नेताको नेतृत्वमा सीमित बन्न पुगेको आरोप लाग्ने गरेको छ । यस सन्दर्भमा भने कुनै किसिमको सर्वेक्षण भएको छैन । बहुमत प्राप्त दलहरू स–साना गुटमा विभाजित हुँदा पार्टी फुट्नु र राजनीतिक नेतृत्व जनताभन्दा आफ्नै दल तथा गुटमा व्यस्त रहनु स्वाभाविक छ । बाँचुञ्जेल नेतृत्व गरिरहने प्रवृत्ति र जनताको नेतृत्वप्रतिको नकारात्मकतालाई हेर्दा नेतृत्व विकासप्रति प्रश्न उठ्नु स्वाभाविक छ । जनताका लागि भन्ने नेतृत्वको परिभाषा नेपालको सन्दर्भमा अमिल्दो भएको हो कि भन्ने भान पर्न सक्छ ।

प्राध्यापक लोकराज बरालको नेतृत्व शोधमा नेपालको नेतृत्वले जनताको आकाङ्क्षा पूरा गर्न नसकेको ठम्याइ छ । नेपालको नेतत्वको चरित्र प्रतिभावान तथा आदर्शवादको सन्दर्भमा भए तापनि यसमा गुट तथा ‘एलिटिज्म’को प्रभावको कुरा पनि आउने गर्छ । प्रविधिले सामाजिक–आर्थिक पक्षमा घुलमेल बढाउँदै लगेकोले समयानुकूल नीतिहरू प्रभावी हुन जरुरी मानिन्छ । नीति ल्याएर मात्र भएन, यसको सही कार्यान्वयन तथा यसको संस्थागत विकास झनै महìवपूर्ण मानिन्छ । सिङ्गापुर तथा मलेसियाको आधुनिकता र विकासको कुरा गर्दा स्वतः त्यहाँको नेतृत्वको कुरा आउने गर्दछ ।

जे भने पनि देश चलाउने राजनीतिक नेतृत्वले नै हो । तसर्थ नेतृत्व विकास तथा हस्तान्तरण नेपालको महìवपूर्ण मुद्दा रहेकोमा दुईमत छैन । अब पुरानो हिसाबले नेतृत्वको रथ अगाडि बढ्न नसक्ने कुरा विभिन्न घटनाक्रमले पुष्टि गरिसकेको छ । विकासको सन्दर्भमा दुई तìव अनिवार्य मानिन्छ, जस्तो कि– व्यावसायिकता र संस्थागत । व्यावसायिकता र संस्थागतकरणको सफलताका पछाडि नेतृत्वको भूमिका महìवपूर्ण मानिन्छ । अहिलेको यस प्रविधियुक्त संसार र मानिसमा चेतनाको स्तर बढेको विश्व सन्दर्भमा नेतृत्वमा व्यावसायिक चरित्र हुन अनिवार्य मानिन्छ । यहाँनेर शिक्षा, ज्ञान, तालिम, सकारात्मक सिर्जनशीलता तथा अनुशासनका कुराहरू स्वतः आउने गर्दछन् । विकसित देशहरू तथा पूर्वी एसियाका देशहरूबाट यो बुझ्न सकिन्छ ।
त्यसैगरी, नेतृत्व एक्लै मजबुत भएर पनि नहुने देखिएको छ । संस्था मजबुत हुन जरुरी मानिन्छ अन्यथा तानाशाह वा नेतृत्वको अवसानपछि अराजकता उत्पन्न हुने सम्भावना रहन्छ भन्ने कुरा विश्व परिवेश तथा हाम्रा आफ्नै केही राजनीतिक घटनाकक्रमबाट बुझ्न नसकिने होइन । नेपालको अहिले राजनीतिक तथा न्यायिक संस्थाहरूको प्रभावकारिता तथा प्रजातन्त्रको सन्दर्भमा प्रशस्तै प्रश्न तेर्सिदै आएका छन् । यहाँनेर नेतृत्वको भूमिकाको कुरा आउने गर्दछ । अध्ययनले अहिलेको सहकार्ययुक्त वैश्विक संसारमा सङ्घीय राजनीतिक व्यवस्थाका लागि मजबुत नेतृत्वको उपादेयता रहेको देखाउँछ र यो नेपालको सन्दर्भमा पनि लागू हुन्छ । सन् १९९० यता धेरै पटक फेरबदल भएका सरकार र व्यवस्थाबाट नेपाल अघि बढेको अवस्था छ । परिवर्तनहरू संस्थागत हुन अलि हम्मे परिरहेको अवस्था पनि कसैबाट छिपेको छैन । सुशासनको विश्व सूचकाङ्कमा नेपाल पुछारमा रहेको तथ्याङ्कले कमजोर व्यावसायिकता र संस्थागत अवस्थाको सङ्केत गरिहेको छ ।

अहिलेको नेतृत्व व्यवस्थापकीय रूपमा प्रभावी हुन जरुरी देखिन्छ, ताकि यसले सेवा प्रवाह गर्ने कर्मचारीतन्त्र र स्रोतसाधनको सही व्यवस्थापन तथा सञ्चालन गर्न सकोस् । अहिलेको समयमा प्रविधिको प्रयोगबिना प्रभावी व्यवस्थापनको कल्पना गर्न सकिन्न । तसर्थ राजनीतिक नेतृत्वमा प्रतिभामान–आदर्शवादसँगै व्यवस्थापकीय गुण हुन पनि नितान्त आवश्यक छ । दल तथा गुटको नेतृत्व गर्नु र देश तथा सरकारको नेतृत्व गर्नु पक्कै पनि एउटै हुन सक्दैन ।
अन्ततः नेपालको राजनीतिक नेतृत्वको मुख्यस्रोत राजनीतिक दल देखिएकाले राजनीतिक दलहरूमा नेतृत्वको विकास सबैभन्दा महìवपूर्ण मान्नुपर्छ । राजनीतिक दलहरूमा नेतृत्वको उच्च सम्भावना नभएका होइनन् । यहाँनेर सही पद, सही नेतृत्व सिद्धान्तले काम नगरेको कुरा आउने गर्दछ । प्रविधिमैत्री र सकारात्मक नवीन सोच राख्ने नेतृत्व अहिलेको आवश्यकता हो । यहाँनेर नैतिकतासहितको स्मार्ट नेतृत्वको अपरिहार्यताको कुरा भनिरहनै पर्दैन ।