विचार/दृष्टिकोण |

स्वच्छ ऊर्जा प्रवद्र्धन (सम्पादकीय)

प्रधानमन्त्री शेरबहादुर देउवाले मङ्गलबार राजधानीमा आयोजित एक कार्यक्रममा जलवायु परिवर्तनका कारण सिर्जित समस्याबाट मुक्ति पाउन स्वच्छ ऊर्जाको विकास आवश्यक भएको धारणा व्यक्त गर्नुभयो । उहाँले बढ्दो जलवायु परिवर्तका कारण सिर्जित समस्याको समाधानका लागि स्वच्छ ऊर्जाको विकास र प्रवद्र्धनमा सरकारले ध्यान केन्द्रित गरेको जानकारी गराउनुभयो ।

प्रधानमन्त्री देउवा एक साताअघि स्कटल्यान्डको ग्लास्गोमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा सहभागी हुनुभएको थियो । यो सम्मेलनमा सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तन नियन्त्रण र त्यसका असर न्यूनीकरण गर्न नेपालले गरिरहेका काम र प्रतिबद्धताबारे विश्व समुदायलाई जानकारी गराउनुभएको थियो । उहाँले बेलायती सरकार र लगानीकर्तासँग नेपालमा स्वच्छ ऊर्जा उत्पादनमा नवीन प्रविधि र लगानी भिœयाउन सहयोग गर्न आग्रह गर्नुुभएको थियो । सम्मेलनकै क्रममा विकसित राष्ट्रले स्वच्छ ऊर्जा विकासमा सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

नेपालले वातावरण प्रदूषणलाई न्यूनीकरण गर्नेतर्फ धेरै प्रयास गरिरहेको छ । शून्य कार्बन उत्सर्जन नीतिको प्रतिबद्धता अन्तर्राष्ट्रिय मञ्चमै जनाइएको छ । नेपालले सन् २०४५ भित्र शून्य उत्सर्जनमा पुग्ने लक्ष्यसमेत राखेको छ भने वन क्षेत्र ४५ प्रतिशत कायम गर्ने योजना छ । स्वच्छ ऊर्जामा आधारित खाना पकाउने, इँटा तथा विद्युत् उत्पादन गर्ने प्रविधिका साथै वातावरणमैत्री यातायात प्रणालीलाई सन् २०३० सम्ममा पूर्ण रूपमा अवलम्बन गर्ने प्रतिबद्धता जनाइएको छ । नेपाल कुल ऊर्जा मागको १५ प्रतिशत स्वच्छ ऊर्जाबाट पूर्ति गर्नतर्फ अगाडि बढेको छ । हाल जलविद्युत् उत्पादन आन्तरिक मागभन्दा बढी भइसकेको छ भने सौर्य ऊर्जा विकासमा पनि प्रयास भइरहेको छ ।

जलवायु परिवर्तन विश्वव्यापी समस्या हो । जैविक इन्धनको प्रयोगका कारण बढेको यो समस्या विश्वव्यापी रूपमै विकराल बन्दै गएको छ । यसले मानव सभ्यता र विकास जोखिममा परेको छ । अवस्था जटिल बन्नुअघि नै सबैले सचेत हुँदै जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बेला आइसकेको छ । जलवायु परिवर्तन र त्यसका कारण हुने प्राकृतिक विपद्को मुख्य जिम्मेवार अरू देश नै हुन् । तर समस्या हामीले पनि भोग्नुपरेको छ । मुलुकभित्र पनि खाना पकाउँदा प्रयोग हुने जैविक र परम्परागत इन्धन, पेट्रोलियम पदार्थको प्रयोग गरी सवारी साधन र मेसिन उपकरण चलाउँदा केही मात्रामा वायुमण्डल प्रदूषणमा सहयोग गरेको छ । यसलाई घटाउनु हाम्रो जिम्मेवारी हो । स्वच्छ ऊर्जा उत्पादन र प्रयोगले हरितगृह ग्यास उत्सर्जनमा न्यूनीकरण गर्न सहयोग गर्छ । नेपालले जलविद्युत् तथा नवीकरणीय ऊर्जाको उत्पादन र उपयोग गरी देशभित्र परम्पारगत र जैविक इन्धनको खपत घटाउनुका साथै छिमेकी मुलुकहरूमा निर्यात गरी त्यहाँको कोइला र प्राकृतिक ग्यासको खपत घटाई हरित गृह ग्यासको उत्सर्जनलाई न्यूनीकरण गराउन सहयोग गर्न सक्छ ।

जैविक इन्धनको विकल्पका रूपमा जलविद्युत्, सौर्य र वायु ऊर्जा छन् । यी ऊर्जा सस्तो, भरपर्दाे र सर्वसुलभ पनि छन् । त्यसैले जलवायु परिवर्तनलाई नियन्त्रण गर्न र यसको असरलाई न्यूनीकरण गर्न जैविक इन्धनको प्रयोग घटाउनुको विकल्प छैन । यसका लागि वैकल्पिक ऊर्जाका रूपमा जलविद्युत्, सौर्य, वायु ऊर्जा उत्पादनमा जोड दिनुपर्छ । यसको साथसाथै स्वच्छ ऊर्जाको प्रयोग गर्न प्रोत्साहन गर्नु जरुरी छ । सस्तो र छिटो हुँदाहुँदै पनि आयातित एलपी ग्यासको सट्टामा बिजुलीको प्रयोग गरी इन्डक्सन चुलोको प्रयोग कम छ । पर्याप्त मात्रामा जलविद्युत् उत्पादन भइरहे पनि कलकारखानाले चाहिए जति बिजुली पाउन सकेका छैनन् र वातावरणमैत्री सवारी साधन कम छन् । त्यसैले वैकल्पिक ऊर्जाको उत्पादनका साथसाथै वितरण र प्रयोगमा पनि जोड दिनुपर्छ । पेट्रोलियम पदार्थको प्रयोग गरी सञ्चालन हुने सवारी साधन र यन्त्र उपकरणलाई विद्युतीय उपकरणले प्रतिस्थापन गर्न आवश्यक छ । यसका लागि बिजुली सस्तो र भरपर्दो बनाउनुका साथै पूर्वाधार विकास अपरिहार्य छ । अनुदान, सहुलियतका माध्यमबाट प्रयोगकर्तालाई प्रोत्साहन गर्नुपर्छ ।