पर्यटनमा बढ्दो उत्साह
विनोद नेपाल
अनुपम प्राकृतिक सौन्दर्य, प्रचुर जैविक विविधता, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण नेपाल विश्व पर्यटन मानचित्रमा प्रमुख पर्यटकीय गन्तव्य स्थलका रूपमा परिचित छ । हाम्रो भौगोलिक बनोट र अवस्थिति, जलवायु, वनस्पति र वातावरण विशिष्ट खालको छ ।
हामीसँग अनुपम तथा अद्वितीय प्राकृतिक सम्पदा नदी, तालतलैया, वन र वन्यजन्तु छन् । विश्व सम्पदा सूचीमा समावेश थुप्रै सम्पदा छन् । भगवान् गौतम बुद्धको जन्मभूमि तथा सर्वोच्च शिखर सगरमाथा लगायतका उच्च हिमाल छन् भने अन्य थुप्रै सम्पदाले विश्वलाई नै आकर्षित गरेका छन् । यहाँको सामाजिक संरचना तथा विविधताबीचको धार्मिक तथा सांस्कृतिक सहिष्णुता र एकता उदाहरणीय छ । जसका कारण विदेशी पर्यटक नेपालप्रति आकर्षित हुँदै आएका छन् । त्यसैले पर्यटन क्षेत्रलाई आर्थिक विकासको मूल आधार मानिन्छ ।
रोजगारीका अवसर वृद्धि, गरिबी निवारण र नागरिकको जीवनस्तरमा सुधार ल्याई आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न पर्यटन क्षेत्रको महìवपूर्ण योगदान छ । अद्वितीय प्राकृतिक एवं सांस्कृतिक सम्पदा र विविधताका कारण यस क्षेत्रमा तुलनात्मक लाभको सम्भावना पनि बढी छ । खासगरी हिमाली प्राकृतिक सुन्दरता, महìवपूर्ण धार्मिक पर्यटकीय गन्तव्य तथा मौलिक सांंस्कृतिक एवं पुराताìिवक सम्पदा पर्यटन क्षेत्रमा प्रचुर सम्भावना बोकेका निधि हुन् ।
पर्यटनले रोजगारी सिर्जना, गरिबी निवारण, वैदेशिक मुद्रा आर्जनका अतिरिक्त मुलुकको पहिचान अभिवृद्धिमा सहयोग पु¥याउँदै आएको छ । पर्यटन प्रवद्र्धनको माध्यमद्वारा विश्व बजार र खासगरी छिमेकी मुलुकको ठूलो जनसङ्ख्याबाट लाभ लिन सकिने प्रशस्त सम्भावना पनि उत्तिकै छ । पर्यटन क्रियाकलापको अपेक्षित विकास र विविधीकरण हुन नसक्नु, अन्तर्राष्ट्रिय स्तरमा अपेक्षित रूपमा पर्यटन प्रवद्र्धन गर्न नसकिनु, पर्यटन पूर्वाधारको कमी, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन विकासमा निजी क्षेत्रलाई पर्याप्त सहभागी गराउन नसक्नु, पर्यटन क्षेत्रको विकासमा उद्यमशीलता विकासलाई जोड्न नसकिनु, पर्यटन क्षेत्रबाट प्राप्त लाभको न्यायोचित वितरण हुन नसक्नु र पर्यटकीय गतिविधि प्रविधिमैत्री नहुनुजस्ता समस्याका कारण हामीले यसबाट वाञ्छित लाभ लिन सकिरहेका छैनौँ ।
पर्यटनमा चुनौतीसँगै अवसर पनि छन् । विश्व पर्यटन बजारमा नेपाललाई प्रमुख आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्नु, हवाई सेवाको सुरक्षा, विश्वसनीयता अभिवृद्धि र विस्तार गर्नु, पर्यटकीय सेवा सुविधाको गुणस्तर वृद्धि गर्नु, नयाँ गन्तव्य स्थलको पहिचान र विविधीकरण गर्नु आवश्यक छ । पर्यटकीय पूर्वाधार विकासमा निजी क्षेत्रको लगानी आकर्षित गर्नु, पर्यटन उद्योग र पर्यटन अर्थतन्त्रका रूपमा नेपाललाई विकास गर्ने सोच तयार गर्नु र यस क्षेत्रमा आवश्यक जनशक्तिको पर्याप्तता कायम राख्नु, यस क्षेत्रमा जलवायु परिवर्तनजन्य जोखिमबाट आउने असर कम गर्नु आदि चुनौती रहेको पन्धौँ योजनाले स्वीकार गरेको छ । यसैगरी पर्यटकको खर्च र बसाइ अवधि लम्ब्याई पर्यटन उपजको विविधीकरण गर्नु, गुणस्तरीय पर्यटक आगमन वृद्धि गर्नु, पर्यटन सेवालाई छरितो, पर्यटकमैत्री सुरक्षित र विश्वासिलो बनाउनुलाई चुनौतीका रूपमा स्वीकार गरिएको छ । अवसरका हकमा सङ्घीय संरचनाअनुसार तीन तहका सरकारबाट पर्यटन क्षेत्रमा उत्साहजनक काम गर्ने वातावरण तयार हुनु, नयाँनयाँ पर्यटकीय गन्तव्यको पहिचान र विकास गर्ने नीति अवलम्बन गरिनु, पूर्वाधार निर्माण हुँदै जानु तथा ठूला र बढी जनसङ्ख्या भएका मुलुक छिमेकमा हुनु हाम्रा लागि ठूला अवसर हुन् ।
पर्यटन क्षेत्रको उन्नतिका लागि हामीले केही प्रयास अवश्य गरेका छौँ तर भनाइ र गराइमा बेमेल हुनु, राजनीतिक र प्रशासनिक अस्थिरता तथा नीतिगत अस्पष्टतालगायत विभिन्न बाधा अवरोधका कारण त्यस क्षेत्रबाट अपेक्षाअनुरूप लाभ लिन भने सकिरहेका छैनौँ । सन् २०१९ को अन्त्यतिर देखापरेको कोरोना भाइरसले संसारकै पर्यटन क्षेत्रलाई तहसनहस पारेको छ । यसले नेपालको पर्यटन क्षेत्रमा पनि ठूलो धक्का लगाएको छ । पर्यटन व्यवसायमा धक्का पुग्दा एकातिर लाखौँको प्रत्यक्ष–अप्रत्यक्ष रोजगारी गुम्यो भने अर्कोतिर अर्बाैंको लगानी र कारोबार प्रभावित भयो । यसबाट निराश भइहाल्नुपर्ने अवस्था भने होइन । महामारीका कारण हाम्रा आकर्षित गन्तव्य र सम्पदाको महìवमा कमी आएको छैन ।
कोरोना महामारीबाट जोगिनुपर्ने बाध्यतासँगै जुधेर अघि बढ्नुको विकल्प छैन । यस्तो अवस्थामा एकातिर व्यवसायीले आफ्नो व्यवसायलाई नयाँ ढङ्गमा सञ्चालन गर्नेतर्फ ध्यान दिनु आवश्यक छ भने अर्कोतिर राज्यले व्यवसायीलाई प्रोत्साहित गर्ने नीति लिनु अपरिहार्य छ । यसै आवश्यकतालाई ध्यानमा राख्दै चालू आर्थिक वर्षको बजेट वक्तव्यमा कोभिड–१९ बाट अति प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न छुट तथा सहुलियतसहित विभिन्न किसिमका पूर्वाधार निर्माण तथा प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाइएको तथा पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योग वा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने हवाई कम्पनीलाई लगानीका आधारमा आयकरमा विशेष छुट सहुलियत प्रदान गर्ने व्यवस्था मिलाइनुलाई सकारात्मक रूपमा लिन सकिन्छ ।
हालै सन् २०२१ को अक्टोबर महिनामा मात्रै कोभिड महामारी प्रारम्भ भएयताकै सबैभन्दा धेरै सङ्ख्या २३ हजार २८४ पर्यटक नेपाल प्रवेश गरेको तथ्याङ्क सार्वजनिक भएको छ । यसअघि सेप्टेम्बर महिनामा केवल नौ हजार ९८९ पर्यटक नेपाल आएका थिए । यो आगमनले कोभिडका कारण ठूलो क्षति बेहोर्नुपरेको पर्यटन क्षेत्रमा उत्साह थपेको छ । कोभिडविरुद्धका खोपको व्यापकतापछि विश्वका अधिकांश मुलुकले विदेशी यात्रुका लागि लगाएको प्रतिबन्ध र अन्तर्राष्ट्रिय हवाई उडान खुकुलो बनाउँदै लगेका र नेपालले पनि निर्धारित मापदण्ड पूरा गरी हुने सुरक्षित आवागमनलाई अनुमति प्रदान गर्न थालेपछि पर्यटक आगमनमा सकारात्मक प्रभाव परेको हो । अर्को खुसीको कुरा, हालै मात्र विश्वप्रसिद्ध पर्यटन सम्बन्धित संस्था ‘लोन्ली प्लानेट’ले नेपाललाई सन् २०२२ मा घुम्नैपर्ने मुलुकको सूचीमा समावेश गरेको छ । यसले पनि नेपालको पर्यटनमा आगामी वर्ष राम्रो सुधार हुने अपेक्षा गर्न सकिन्छ । स्मरणीय छ, चालू वर्षको जनवरी महिनादेखि अक्टोबरसम्म नेपाल आएका कुल पर्यटक सङ्ख्या एक लाख १४८ रहेको छ । पछिल्ला महिनामा पर्यटक आगमनमा क्रमिक सुधार आइरहेको छ । स्मरणीय छ, सन् २०२० मा नेपाल आउने पर्यटकको सङ्ख्याामा ८१ प्रतिशतले ह्रास आएको थियो भने सन् २०१९ मा कीर्तिमानी पर्यटक आगमन भएको थियो ।
पर्यटन यसै पनि संवेदनशील हुन्छ । त्यसमा पनि अबको पर्यटनको हकमा पाहुनाको सुरक्षाप्रति सजगता र त्यसप्रति आश्वस्त पार्नुपर्नेमा दुईमत हुन सक्दैन । त्यसका लागि आवश्यक पूर्वाधारको व्यवस्था र त्यसमा आवश्यक पर्ने थप लगानी जुटाउन व्यवसायीलाई सहयोग गर्ने नीति राज्यले लिनु आवश्यक छ । पर्यटनको स्वरूपमा पनि केही सुधार गर्दै सहरी भीडभाडमा रम्नेभन्दा पनि सम्पदाको अवलोकन, प्राकृतिक दृश्यावलोकन तथा पदयात्रा र पर्वतारोहण एवं साहसिक पर्यटनमा रुचि राख्ने पर्यटकलाई आकर्षित गर्ने नीति अवलम्बन गर्नु उचित हुन्छ । यसो गर्दा बसाइ अवधि लम्ब्याउन मात्र सकिँदैन, पर्यटकको दैनिक खर्चसमेत बढाउन सकिन्छ । पर्यटन क्षेत्रबाट रोजगारी सिर्जना गरी आयआर्जनका माध्यमबाट जनताको जीवनस्तर उकास्ने नीति रहेको सन्दर्भमा सुरक्षित पर्वतीय पर्यटन, साहसिक तथा मनोरञ्जनात्मक पर्यटन, सामाजिक, सांस्कृतिक पर्यटन तथा पर्यापर्यटनको अधिकतम उपयोग गर्दै यसको संरक्षण, विकास र प्रवद्र्धन गर्न सरकारले सम्बद्ध सरोकारवालासँग सहकार्य गर्नु आवश्यक छ ।
अन्त्यमा नेपाल प्रचुर पर्यटकीय सम्भावना भएको मुलुक हो । पर्यटन हाम्रो अर्थतन्त्रको एक प्रमुख सहयोगी र अझ धेरै सम्भावना भएको क्षेत्र हो । नेपालको अर्थतन्त्रमा रोजगारी, विदेशी मुद्रा आर्जन तथा अन्य विभिन्न दृष्टिकोणले यसको ठूलो महìव छ । यसका लागि हामीले धेरै काम गर्नुपर्छ । पर्यटकको रुचिअनुसारका पूर्वाधार निर्माण, सम्भावित पर्यटकीय गन्तव्यको पहिचान र विकास, पर्यटकीय गन्तव्यसम्मको पहुँच एवं भौतिक सुविधामा सुधारजस्ता पक्ष प्राथमिकतामा पर्न सकेमा त्यसबाट पर्यटकको बसाइ अवधि लम्ब्याउन र खर्च प्रवृत्तिमा सुधार ल्याउन सकिन्छ । पछिल्लो पर्यटक आगमन तथ्याङ्कले सुस्ताएको र निराश पर्यटन क्षेत्रमा आशाको दियो बलेको छ । यसको उज्यालो सबैतिर फैलाउनु आजको आवश्यकता हो । महामारीले थलिएको पर्यटन क्षेत्रलाई पुनः चलायमान बनाउन आवश्यक सुरक्षा व्यवस्था मिलाई सीमित सङ्ख्यामै भए पनि गुणस्तरीय पर्यटक भिœयाउने नीति अवलम्बन गर्नु उचित हुनेछ । यसो गर्न सकिएमा महामारीको चपेटामा परेको पर्यटन क्षेत्रले पुनः गति लिन सक्नेमा आशावादी हुन सकिन्छ ।