विचार/दृष्टिकोण |

रामधुनीमा बालाचतुदर्शी मेला

जयकृष्ण यादव

नेपालको पर्यटकीय क्षेत्रका रूपमा परिचित रामधुनी वन क्षेत्रमा बालाचतुर्दशी मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । रामायण र भगवान् रामको कथा कहानीसँग जोडिएको क्षेत्र भएकाले रामधुनीको बालाचतुदर्शी मेलालाई भारतीय भक्तजन र धार्मिक पर्यटकले समेत महìवका साथ हेर्ने गर्छन् । सुनसरीको रामधुनी नगरपालिकास्थित रामधुनी मन्दिरमा यस वर्ष मङ्सिर १७ गते बालाचतुदर्शीका दिन धुमधामका साथ मेला लाग्दै छ । मेलाको पूर्वसन्ध्यामा मन्दिर क्षेत्रको सरसफाइ, धर्मशाला र पर्यटक बस्ने क्षेत्रलाई सरसफाइ गरिएको छ । विगतको तुलनामा मन्दिर क्षेत्र अहिले आकर्षक बनाइएको छ ।

जिल्लाको रामधुनी नगरपालिकास्थित सिङ्गिया, बराहक्षेत्र नगरपालिकाको प्रकाशपुर र भोक्राहा नरसिंह गाउँपालिकाको मध्य भागमा पर्ने भए पनि जङ्गलको मध्य क्षेत्रको प्रख्यात धार्मिक स्थलको नाम हो– रामधुनी । जहाँ प्रत्येक वर्ष बालाचतुदर्शी, विवाह पञ्चमी तथा रामनवमीको दिन ठूलो मेला लाग्ने गर्छ । गत वर्ष कोरोनाका कारणले प्रभावित बनेको मेला यस वर्ष भव्यताका साथ लाग्दै छ । बन्द, हडताल र निषेधाज्ञा खुलेको र सीमामा लगाइएको प्रतिबन्धसमेत खुला भएकाले मेला भव्य हुने अपेक्षा गरिएको छ । यहाँको धुनी मन्दिर, राममन्दिर, हनुमान मन्दिरसहितका मन्दिर र विश्रामस्थल तथा पोखरीको सरसफाइ र रङरोगनको कामसमेत भइरहेको छ । केही बाबा र मजदुर दिनभर मन्दिर क्षेत्रको सरसफाइ र रङरोगनको काममा खटिरहेको दृश्य देखिन्छ । भगवान् राम १४ वर्ष वनवासको समयमा आएको बेला रामधुनीको बीचमा रहेको पोखरी अझै छ । जुन पोखरीमा सीताले नुहाएको स्थानीयको दाबी छ । साढे तीन सय वर्षअगाडि नै जङ्गलमा रहेको तर केही वर्ष अघिसम्म जीर्ण अवस्थामा पुगेको उक्त पोखरीको गत वर्ष पनि सफाइ गरिएको थियो ।

पूर्वी नेपालमा मात्रै होइन, देशभर र भारतको विशेषगरी अयोधिया नगरी तथा राजधानी नयाँदिल्ली, गुजरात, विहार, सहर्सालगायत क्षेत्रका महात्मा र बाबाहरूको रोजाइमा पर्ने सुनसरीको रामधुनीमा मेला हुनुअघि दर्जनौँ बाबा आइसकेको दृश्य पनि मन्दिर परिसरमा देखिन्छ । बाबाहरूको दृश्यले रामधुनी मेला भव्य र सभ्य तरिकाबाट सम्पन्न हुने सङ्केत देखिन्छ । खासमा जिल्लाको सदरमुकाम इनरुवाबाट करिब १७ किलोमिटर उत्तरमा रहेको यस रामधुनी स्थानमा चारैतिर घना जङ्गल र सुन्दर फूलबारीका बीचमा धुनीस्थल रहेकोमा हाल फूलबारी छैन तर त्रेतायुगदेखि जल्न सुरु गरेको अखण्ड धुनी आजसम्म पनि निरन्तर बलिरहेको अचम्मलाग्दो मन्दिरमा धुवाँ र धूप अनि विभूत लिएर फर्कन पाइन्छ । किम्बदन्तीमा आधारित यो स्थान प्रदेश एककै प्रसिद्ध धार्मिक तीर्थस्थलका रूपमा परिचित छ । रामनवमी, विवाहपञ्चमी र बालाचतुर्दशीमा लाग्ने मेलामा लाखौँको सङ्ख्यामा भक्तजन आउने गरे पनि कोरोना महामारीपछि घट्दो क्रममा रहेको बताइन्छ । रामधुनी संरक्षित वन क्षेत्र कार्यक्रम र रामधुनी क्षेत्र संरक्षण विकास समितिले पनि तयारी गरेका छन् । यहाँ नेपाल, भारत तथा भुटानका हिन्दुधर्मावलम्बी आउने गर्छन् । यस पवित्रस्थलमा त्रेतायुगमा रामचन्द्रले बास बस्दा बालेको धुनी निरन्तर जलिरहेको छ । रामले लगाएको खराउ चोरी भइसकेको छ । बनबासका क्रममा रामले छाडेको खराउ केही वर्षअघि चोरी भएको थियो । उक्त स्थलमा हाल कृत्रिम खराउ बनाएर राखिएको छ । आन्तरिक तथा बाह्य पर्यटक उक्त खराउ हेर्न त्यहाँ जाने गर्छन् ।
यस पवित्रस्थलमा त्रेतायुगमा रामचन्द्रले बास बस्दा बालेको धुनी निरन्तर जलिरहेको र कथंकदाचित निभेमा धरानस्थित पिण्डेश्वरमा रहेको अखण्डदीपबाट प्रज्वलित गर्नुपर्ने र पिण्डेश्वरको अखण्डदीप निभेमा रामधुनीको धुनीबाट आगो लगी सल्काउनुपर्ने परम्परा विद्यमान छ । मन्दिरमा वि.सं. २०२५ देखि निरन्तर पूजापाठ र रेखदेखसमेत गर्दै आउनुभएका काशीदास उदासीको भनाइ छ । आन्तरिक पर्यटकले यो भूमिलाई महìवका साथ हेर्ने गर्छन् । खराउ चोरी भए पनि त्यस बेलामा छाडिएको फलामको रथका पाङ्ग्रा भने मन्दिरबाहिर तुलसीको बोटले घेरेको अवस्थामा देखिन्छ । त्यसलाई १० जनाले समेत उचाल्न सक्दैनन् ।

कृष्णराज उदासीले रामचन्द्रको पाऊ स्पर्श भएको यस पवित्र भूमिमा आफ्नो ध्यानलाई पूर्ण गर्न बसेका बाबा वनस्खण्डी नाम गरेका योगी रामचन्द्रले जगाएका अग्निलाई निभ्न नदिई राखेर त्यसबाट प्राप्त भएको विभूत (खरानी) प्रसादका रूपमा वितरण गर्ने प्रचलन सुरु भएको जानकारी दिनुहुन्छ । रामधुनी मन्दिरमा गएर पूजाआजा गर्ने र त्यहाँ उत्पादित विभूत लगाएमा चिताएको पूरा हुने जनविश्वास कायम छ । यसदेखिबाहेक रामचन्द्रले किशोर अवस्थामा राजकुमारी विदिन्युलाई भेट्न आउँदा रामधुनी वनमा ती राजकुमारी धुनीवाली बसेको जनश्रुति पनि छ । सुनसरीको रामधुनी नगरपालिकाकै झुम्का बजारदेखि करिब सात किलोमिटर उत्तर पश्चिममा पर्ने धुनीवनमा अवस्थित रामधुनीमा भगवान् रामले धुनी जगाएको भन्ने धार्मिक विश्वास छ । ऐतिहासिक खोजीका आधारमा त्यस स्थानमा सर्वप्रथम वनखण्डी बाबाले धुनी जगाएर साधना गरेका थिए ।

उहाँको समय करिब साढे तीन सय वर्ष अगाडितिरको मानिएको छ । रामधुनीमा धुनी मन्दिर तथा दरबार मन्दिर, हनुमान, परेवा, हरिण, गौशाला, पोखरीलगायत छन । मन्दिरमा सधैँ एउटा साजको मुढो सल्काएर राखिन्छ र उक्त मुढो जलिरहेको हुन्छ, जसको खरानी नै त्यहाँको देवप्रसाद मानिन्छ । यसैगरी दरबार मन्दिरलाई लङ्गौट मन्दिर पनि भनिन्छ । त्यसभित्र चन्द्र, शिवलिङ्ग, दुर्गा र सिंहका मूर्ति तथा नयाँ एक जोर खराउ पनि राखिएका छन् । वनखण्डी बाबाले बोकेर हिँड्ने मनचिन्ते चिम्टा पनि त्यसै मन्दिरमा राखिएको छ । त्यस्तै यहाँ एउटा किम्बदन्तीमा वनखण्डी बाबाले यहाँका सखुवाको बोटमा चिम्टा रोपेर आँपका वृक्ष बनाएका थिए भनिन्छ । त्यो रुखको आँप खाँदा सखुवाको गन्ध आउने गरेको उदासीको भनाइ छ । उदासीले अहिले पनि एक दर्जन आपँको रुख रहेको तर तल सखुवाको र माथि आँपको जस्तो रहेको जानकारी दिनुभयो ।

यहाँ पहिलापहिला साजको मुढा आफैँ सरेर धुनीमा आउने गरेको बताइन्थ्यो । केही समयअगाडि एक बाबाले साजको मुढा ल्याउने क्रममा हानेको र आफँै सरेर धुनीमा आउने क्रममा आफू पनि सोही साजको मुढामा बसेकाले सो समयदेखि साजको मुढा समिति वा पुजारीले ल्याउनु परेको छ । पिण्डेश्वरका बाघम्बर र चिताम्बर, रामधुनीका बलखण्डी तथा चतराका औलियाबाबा समकालीन थिए भनिन्छ । उनीहरूका बारेमा कैयौँ प्रकारका चमत्कारी कथा प्रसङ्गसमेत जोडिएका छन् । रामधुनी धार्मिक पर्यटन क्षेत्र मात्र नभएर फिसिङ, जङ्गल सफारी, नौका सयर, वर्ड वाचिङ र जलक्रीडाका लागिसमेत महìवपूर्ण मानिन्छ । कोसी नदी, कोसीटप्पु वन्यजन्तु आरक्ष चतरा र वराहक्षेत्र यस स्थानबाट नजिकै पर्छन् । रामधुनीलाई एउटा पार्कका रूपमा समेत विकास गर्न सकिने सम्भावना छ । शौचालय, खानेपानी, विद्युत् र कालोपत्रे सडकको सुविधासमेत पुगेकाले त्यहाँ विकासको नमुना देख्न सकिन्छ । रामधुनीको प्रवेशद्वारमा आकर्षक गेट निर्माण भइरहेको छ ।