विवशतामा बाँचेका बालबालिका
निशा चौधरी
बाल अधिकार भन्नाले बालबालिकाले प्राप्त गर्ने जन्मसिद्ध अधिकार वा मौलिक अधिकार भन्ने बुझिन्छ । बालबालिकालाई सामाजिक असुरक्षा, अशिक्षा, अवहेलना, तिरस्कार, शोषण र उत्पीडनविरुद्ध बाल संरक्षण, स्याहार तथा बालजीवनको सुनिश्चितता प्रदान गर्नु बाल अधिकार हो । बालबालिकाको हकहित तथा संरक्षणका निम्ति नेपालमा हरेक वर्ष भदौ २९ गते बाल दिवस पनि मनाइने गरेको छ । यद्यपि बाल दिवस विभिन्न देशमा भिन्दाभिन्दै मितिमा मनाउँदै आएको भए पनि अन्तर्राष्ट्रिय रूपमा भने प्रत्येक वर्ष नोभेम्बर २० तारिखमा मनाइन्छ ।
संयुक्त राष्ट्रसङ्घद्वारा सन् १९५४ नोभेम्बर २० तारिखमा विश्वभरका बालबालिकाको आधारभूत आवश्यकता पूरा गरी उनीहरूमा खुसियाली, शान्ति र राहत उपलब्ध गराउने उद्देश्यले यो दिवस मनाउन सुरु गरिएको हो । अन्तर्राष्ट्रिय बाल दिवसको मुख्य उद्देश्य भनेकै बालबालिकामाथि भइरहेको हिंसा र दुव्र्यवहारको निराकरण गरी उनीहरूको व्यक्तित्वको विकास नरोकिने खालको सहज अनि सरल परिस्थितिको वातावरण सिर्जना गर्नु हो ।
नेपालको परिप्रेक्ष्यबाट हेर्ने हो भने बालबालिकामध्ये आधाजति बालबालिका बाल अधिकारबाट वञ्चित छन् । चाहे देशको सुगम होस् या दुर्गम क्षेत्रमा बसोबास गर्ने बालबालिका हुन्, तिनीहरू कलिलै उमेरमा परिपक्व झैँ गरेर शारीरिक तथा मानसिक श्रम गर्न बाध्य छन् । सार्वजनिक यातायातका मूलढोकामा कलिला हातको झिनो सहारा लिएर एउटा बालक ढोकामा ठटाउँदै मान्छे बोलाउँदै चालक र यात्रुबीचको दूरी तय गर्ने प्रमुख भूमिका निर्वाह गरिरहेको हुन्छ । ढोकाको ढकढक्याइले यात्रुलाई गाडी चढ्न जनाऊ त गर्छ तर आँखै अगाडि उसका बाल अधिकार हनन भइरहँदासमेत त्यो आवाज हाम्रो हृदयको ढुकढुकीहरूले किन सुनिरहेको छैन ?
अभिभावकको नाजुक आर्थिक अवस्था, विभिन्न दैवीप्रकोपबाट एक्लिएका तथा रोजगारीलगायत शिक्षादीक्षाको आकर्षणमा परेर सहर भित्रिएका बालबालिका फोहोर सङ्कलनका लागि बोरा बोकेर कहिले सडकको पेटीमा भोको पेट भर्नका लागि हात फैलाएर मागिरहँदा, कहिले यताबाट खेदिन्छन्, कहिले उताबाट हपारिन्छन् त कहिले अर्कैबाट पछारिन्छन् । यसरी कलिला मुनाहरू हाम्रो सभ्य समाजको तुच्छताको सामना गर्न विवश छन् । बालबालिकालाई घरेलु कामदारका रूपमा जोखिमयुक्त कार्यमा लगाउने, पढ्न नपठाउने र पठाइएमा पनि पर्याप्त पढ्न समय नदिने, यातना दिने, गालीगलौज तथा अनावश्यक लाञ्छना, आक्षेप लगाई आफू भलाद्मी पल्टिने क्रम हाम्रो समाजमा अझै जीवितै छ । विद्यालयबाहिर पर्खाल समातेर टोलाइरहेका बालबालिकालाई देख्दा मन कटक्क खान्छ । विद्यालयको पोसाकमा झोला बोकेर आइरहेका विद्यार्थी देखे आफूलाई पनि त्यस्तैगरी विद्यालय जान मन किन नहुँदो हो विद्यालयबाहिरका बालबालिकालाई ।
नेपालको संविधान २०७२ को धारा ३९ मा बालबालिकाको हकको व्यवस्था गरेको र धारा ४३ मा राज्यले बालबालिकाको उन्नतिका लागि सामाजिक सुरक्षाको विशेष व्यवस्था गरेकोे छ तर त्यो सामाजिक सुरक्षाको अवसरबाट अझै पनि कतिपय बालबालिका वञ्चित छन् । त्यस्तै तीन वर्षअघि विश्वका देशले संयुक्त राष्ट्रसङ्घको बाल अधिकारसम्बन्धी महासन्धिलाई समर्थन गरी प्रत्येक बालबालिकालाई उनीहरूको अधिकारको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यो महासन्धि इतिहासको सबैभन्दा व्यापक मानव अधिकार सन्धि बन्न गयो, जसलाई सबैले स्वीकार पनि गरे । विभिन्न देशका सरकारले धेरैभन्दा धेरै बालबालिका बाँच्न, विकास गर्न र उनीहरूको हितबारे निर्णय लिने कार्य गरेका छन् । पहिलेको तुलनामा थोरै बालबालिका भेदभाव भोग्न बाध्य छन् र केही समाजमा घुलमिल हुँदैछन् तर अझै पनि बालबालिकाको अधिकारका मुद्दा दिनहुँ खतरामा परिरहेका छन् । बालबालिका बालविकासको अधिकारबाट वञ्चित छन् । खेल्न, मनोरञ्जन र आराम गर्न पाएका छैनन् । उचित स्वास्थ्य उपचार तथा पोषण नपाएर अकालमा मृत्युको सिकार हुनसमेत बाध्य छन् । बाल संरक्षणको अधिकार तथा कर्तव्यबाट वञ्चित छन् ।
कमलका फूलजस्तै कैयन् बालबालिका अझै पनि कमलरीजस्तो कुप्रथामा बन्धक छन् । बाबुआमासँगै इँटाभट्टामा जोखिमपूर्ण काम गर्न बाध्य छन् । परिवारबाट माया–ममता पाउनुपर्ने अवस्थामा कैयौँ बालबालिका परिवारभित्रै दुव्र्यवहार, उत्पीडन, हेला, अपमान, गालीगलौज, कुटपिट र यातना पाइरहेका छन् । बेलाबेलामा समाचार आउने गर्छ, आफ्नै बाबु, दाइ, काकाद्वारा छोरी, बहिनी बलात्कृत भन्ने । कति दुःखको कुरा, बालबालिका आफ्नै घरभित्र असुरक्षित छन् भने बाहिरको त के कुरा गर्नु ! परिवारभित्र बालबालिका सुरक्षित हुनुपर्ने ठाउँमा झन् आफ्नै परिवार तथा नातेदारबाट यस्तो सोच्नै नसकिने यौन शोषणबाट गुज्रिनुपरेको छ ।
हानिकारक काम तथा युद्धमा समेत बालबालिकालाई प्रयोग गरिएको अवस्था छ । बेचिनु, लागूपदार्थ तथा नशालु पदार्थमा फँसाइएको छ । कैयौँ बालबालिका बेपत्ता पारिएका छन्, हराएका छन् । निर्दोष कलिला मुनाको हत्या गरिएको छ । कलिला हातले कपिकलम समाउनुपर्ने अवस्थामा धारिला हातहतियार समात्नुपरेको छ । फल्नुपर्ने, फुल्नुपर्ने उमेरमा कोपिलामै चुँडिनुपरेको छ । भित्रभित्रै कलिला मुना कति चुँडिएका, कति कुटिएका र कति लुटिएका छन् । प्रत्येक होटलमा ग्राहकलाई खाना पस्किँदै, जुठो कटकटिएको भाँडा माझ्दैछन् । त्यही कटकटिएको भाँडामा आफ्नो भविष्यको धमिलो छायाँ खोज्दैछन् उनीहरू । उनीहरूसम्म कानुन र समानताका कुरा पुग्न सकेकै छैनन् ।
दुई छाक खान नसक्ने परिवारका बालसदस्य श्रममा जानुपर्ने बाध्यता आखिर कहिलेसम्म हुन्छ त नेपालमा ? विभिन्न बहानामा दास बनाइएका त्यस्ता अबोध बालबालिकालाई छुटकारा दिनलाई तिनको जीवनमा शिक्षाको ज्योति फैलाउन सक्ने सामथ्र्य हामीमा छ त ? परिवारभित्रै पनि बालबालिकाको उचित संरक्षण हुन सकिरहेको छैन । यी सबै कुरा बालश्रम तथा बालशोषण हुन् भनेर परिवारका सदस्यले पनि बुझ्नुपर्छ । यी सबै कुरा हेरेर पनि पीडकझैँ समाज अझै मौन छ र कतिपय यस्ता पीडा सार्वजनिक नभएका
पनि हुनसक्छन् ।
बालश्रमले बालबालिकाको सुनौलो भनिष्यका लागि आवश्यक शिक्षादीक्षा तथा उसको शारीरिक वा मानसिक तथा प्राकृतिक विकासको अवसरबाट वञ्चित गराउँछ । कुनै पनि देशको बालश्रमको अवस्था कायम हुनु भनेको उक्त देश अल्पविकसित हुनुको प्रतिविम्ब हो । जसरी सबै देशको विकासमा सबै नागरिकको भूमिका महìवपूर्ण हुन्छ, त्यसरी नै बालबालिकाको भूमिका पनि त्यति नै महìवपूर्ण हुन्छ । बालबालिका भनेका परिवार, समाज अनि देशका धरोहर हुन् । उनीहरू देश विकासका अति आवश्यक तìव हुन् । एक कुशल नेता, पाइलट, इन्जिनियर, डाक्टर, शिक्षक, समाजसेवी बन्नका लागि निर्विकल्प ऊर्जाका साथै वर्तमानका प्रतीक पनि हुन् ।
नेपाल अल्पविकसित तथा विश्वमा गरिब राष्ट्रहरूको सूचीमा सूचीकृत देश त हो नै तर हामी नेपाली अवश्य पनि माया र सद्भावमा गरिब छैनौँ । बालबालिकाप्रति जिम्मेवार संस्था होस् या हामी केवल समाज, स्टिकर, पोस्टर, पम्प्लेट, प्रस्तावनापत्रमा मात्र होइन, हामी सबैले आ–आफ्नो ठाउँबाट बालश्रममुक्त समाज निर्माणको प्रयास गर्नुपर्छ । बालबालिकाको पहुँच श्रममा भन्दा शिक्षामा बढाउन सक्नुपर्छ । सडकका गल्लीगल्लीमा फोहोर सङ्कलनका लागि कुदिरहेका बालबालिका हुन् या सार्वजनिक यातायातको ढोकामा झुण्डिएका बालबालिका, या त सडकका गल्लीभित्रका होटलमा जुठा कटकटिएका भाँडा माझिरहेका बालबालिका हुन्, उनीहरू पनि हाम्रा छोराछोरी, भाइबहिना हुन् भनी कहिल्यै बिर्सनु हुँदैन । हरेक बालकले स्वतन्त्रतापूर्वक खेल्न, पढ्न र बाँच्न पाउनुपर्छ । गरिबीकै कारण कुनै पनि बालबालिकालाई बन्धक बस्न विवश पार्नु हुँदैन । आफ्ना आमाबाबुको स्नेहशील छहारीमा रही हरेक बालकले हुर्कने अवसर पाउनुपर्छ । अभिभावकको न्यानो काखमा बस्न पाउने अधिकार कुनै बालबालिकाबाट खोसिनु हुँदैन । आजको नेपाल शिक्षित नेपालीको सभ्य देश कहलिन्छ । बालसुलभ कार्य र बालसंरक्षण अभियान हरेक क्षेत्रमा प्रभावकारी रूपमा लागू होस् । बालबालिकालाई अधिकार दिलाउन बाल दिवसको दिन कुर्न जरुरी छैन । हरेक दिन उनीहरूको व्यक्तित्वको विकासका लागि, मनोरञ्जनका लागि, खुसीका लागि, सुरक्षाका लागि, स्वतन्त्रताका लागि, पहिचानका लागि र अधिकारका लागि सदैव परिवार, समाज र राष्ट्रको बलियो साथ र सहयोग हुन आवश्यक छ ।
बालबालिकाका लागि काम गर्ने थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय छन् । ती निकायको तालमेलमा विश्वका प्रत्येक नागरिकले आ–आफ्नो तर्फबाट सामाजिक, नैतिक, मानसिक वा आर्थिक तवरले सानो सहयोग मात्र पनि गर्न सकेको खण्डमा थुप्रै बालबालिकाले फुल्ने र फक्रिने अवसर प्राप्त गर्न सक्छन् । अभिभावकत्वको नाताले बालबालिकाको प्रत्येक अधिकार सुनिश्चित गर्न हामी सबै सक्षम हुनुपर्छ । हामी आफैँमा बालश्रमलाई बहिष्कार गर्ने सामथ्र्य हुनुपर्छ । आजका कलिला बालबालिका नै भोलिका लागि देशका कर्णाधार हुन् भन्ने कुरा हामीले बिर्सनु हुँदैन ।