विद्यार्थीलाई लयमा फर्काऊँ
प्रेमनारायण भुसाल
कोरोना महामारीले अस्तव्यस्त शिक्षा क्षेत्र बिस्तारै तङ्ग्रिन थालेको छ । नियमित पठनपाठन क्रियाकलापका लागि सबैजसो ठाउँका विद्यालय खुलेका छन् । लामो समयसम्म पठनपाठनबाट वञ्चित रहेका र अनलाइनका माध्यमबाट आंशिक रूपमा पठनपाठनमा संलग्न दुवैथरी विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन हुन थालेपछि शैक्षिक जनजीवन लयमा फर्केको छ ।
शिक्षण सिकाइ क्रियाकलाप शारीरिक तथा मानसिक सक्रियतामा सम्पन्न हुने गर्छ । लामो समयसम्म सिकाइ क्रियाकलापबाट अलग भएका बालबालिकामा यस बीचमा फरक किसिमको आदत विकास भएको छ । सामान्य स्थितिमा भन्दा महामारीपछिको अवस्थामा विद्यार्थीको मानसिक अवस्था भिन्न हुन्छ । उनीहरूको आनिबानी र व्यवहारमा आएको परिवर्तन परिवार र समाजबाट स्वीकृत नभएमा मनोसामाजिक समस्या उत्पन्न हुने सम्भावना बढ्छ । पठन संस्कृतिलाई बढावा दिन तथा शिक्षण सिकाइ क्रियाकलापमा शारीरिक र मानसिक रूपमा संलग्न गराउन विद्यार्थीको गुमेको आदतलाई पुनर्जागरण गराउनु आवश्यक हुन्छ ।
नियमित तालिकाबाट बाहिर रहेको असामान्य अवस्थामा बालबालिकाले अनुभव गरेका, भोगेका वा अभिभावकबाट स्थानान्तरण भएका विभिन्न किसिमका अनुभव र अनुभूतिका कारण उनीहरूको सोच्ने र व्यवहार गर्ने तौरतरिकामा परिवर्तन आएको हुन्छ । बालबालिकाको मानसिक परिवर्तन, चाहना र आवश्यकतालाई शिक्षकले बुझ्न नसकेमा शिक्षण सिकाइ क्रियाकलाप झनै जटिल बन्ने सम्भावना रहन्छ । महामारीपछिको वर्तमान अवस्था लामो समयको असामान्य अवस्था पार गरी सामान्यीकरण हुँदै गएको छ । अन्य सामान्य अवस्थामा जस्तै विद्यालयमा बालबालिकालाई पठनपाठनमा सामान्य किसिमले संलग्न नगराएर उनीहरूको मनोसामाजिक स्वास्थ्यलाई विशेष ध्यान दिनु आवश्यक हुन्छ । बालबालिकालाई मानसिक रूपमा तयार गरे मात्र पठनपाठन प्रभावकारी हुने भएकाले महामारीपछिको यस अवस्थामा शैक्षणिक क्रियाकलापका पूर्वसर्तका रूपमा उनीहरूको मनोरचना र सामान्यीकरणका उपक्रमको भूमिका रहन्छ ।
á विद्यार्थीको मनोविज्ञान
लामो समयसम्म बाह्य सम्पर्कविहीन भई घरपरिवारसँगको बसाइले विद्यार्थीको मनोरचनामा प्रभाव परेको छ । राम्रो घरायसी वातावरण भएका विद्यार्थीमा पारिवारिक वातावरणको सकारात्मक प्रभाव पर्छ । तनावपूर्ण पारिवारिक संरचनामा गुज्रेका बालबालिकामा भने घरपरिवारको नकारात्मक र प्रतिकूल प्रभाव परेको छ । घरमा बस्दा व्यावहारिक र प्रयोगात्मक सीपका साथै सामाजिक र सांस्कृतिक मूल्यबोध गरेका बालबालिकालाई र अभिभावकको पेसा व्यवसायमा आएको विचलन एवं आर्थिक समस्याले सिर्जना गरेका अभाव, समस्या र असमझदारीमा हुर्केका बालबालिकालाई समान किसिमको वातावरणमा पठनपाठन गराउनु चुनौतीपूर्ण कार्य हो ।
साथीबाट भिन्न भएर एकान्तवासमा रहँदा बालबालिकामा एकलकाँटे प्रवृत्ति र मोबाइल ग्याजेट तथा अन्य माध्यममा रमाउने बानी विकास भएको हुनसक्छ । अर्काथरी बालबालिकालाई पठनपाठनप्रतिको अरुचि र नियमित तालिकामा चल्न अप्ठेरो महसुस हुन सक्छ । पहिले पढेका विषयको विस्मृतिका कारण मनोबल कमजोर भई पठनपाठनलाई निरन्तरता दिन नसकिने मानसिकतामा विद्यार्थी रहेका हुन सक्छन् । कक्षाकोठामा उनीहरूलाई एउटै किसिमले पाठ्यवस्तु पढ्न मात्र लगाउने हो भने उनीहरूको आवश्यकता, अवस्था, रुचि र मानसिकता सम्बोधन हुन नसकेका कारण पठनपाठन क्रियाकलाप अर्थहीन बन्छ । महामारीपछि सामान्यीकरणको यस अवस्थामा पाठ्यवस्तुको अध्यापनभन्दा विद्यार्थीको मनोविज्ञान बुझ्नु महìवपूर्ण कार्य हो ।
á पाठ्यवस्तुको पुनर्संरचना
विद्यालय खुलेपछि बाँकी रहेको चार पाँच महिनाको अवधिमा वर्ष दिनका लागि छुट्याइएको पाठ्यवस्तु पढाउने होडमा केही विद्यालयले नियमित समयका अलावा अतिरिक्त समयमा पनि विशेष कक्षाको व्यवस्था गरी पठनपाठन सुरु गरेका छन् । पढ्नका लागि विद्यार्थी मानसिक रूपले तयार नभइसकेको वर्तमान अवस्थामा उनीहरूलाई सामान्यीकरणका लागि सहयोग गर्नुको सट्टा बलपूर्वक लामो समयसम्म विद्यालयमा राखी पढाउन थाल्ने हो भने विद्यार्थीको पठनपाठनप्रतिको बाँकी रहेको रुचिसमेत हराएर जान्छ ।
पाठ्यपुस्तकका सबै विषयवस्तुलाई पढाउने भन्दा पाठ्यक्रमको उद्देश्य पूर्ति गर्ने गरी पाठ्यपुस्तक र पाठ्यवस्तुको पुनर्संरचना, सङ्क्षेपीकरण र पुनर्योजना गर्नु आवश्यक हुन्छ । पाठ्यक्रमको उद्देश्य पूरा गर्न धेरै विषयवस्तु समेट्ने भन्दा विषयवस्तुगत विविधतालाई आत्मसात गरी पाठ्यवस्तुको सङ्क्षेपीकरण गर्नुपर्छ । यसका लागि विषय तथा पाठ्यक्रम विज्ञको सहयोग लिई पाठ्यवस्तुलाई प्रभावकारी, छरितो र विद्यार्थीमैत्री बनाउनु अति आवश्यक छ । स्थानीय निकायमा रहेका शिक्षा शाखाले अग्रसरता लिई स्थानीय आवश्यकता र स्रोतसाधनको उपलब्धताका आधारमा आफ्नो क्षेत्रका विद्यालयको पाठ्यवस्तु तथा पाठ्यक्रमको पुनर्संयोजन गर्न ढिलाइ गर्नुहुँदैन ।
á पठन संस्कृतिको पुनर्जागरण
सहरी र सुविधासम्पन्न क्षेत्रका बालबालिका महामारीको समयमा मोबाइल, ल्यापटपलगायतका विभिन्न ग्याजेटमा झुम्मिएका थिए । ग्याजेटको लतका कारणले गर्दा उनीहरूको चिन्तन र व्यवहारगत आचरणमा परिवर्तन आएको छ । कम उमेरमै प्रौढ किसिमको व्यवहार गर्ने प्रवृत्तिसमेत केही बालबालिकामा देखापरेको छ भने अनलाइन हिंस्रक गेमको कुलतका कारण एकाग्रतामा कमी, उदण्डता, आक्रामक र अस्थिर व्यवहारका साथै प्रोनोग्राफीको कुचक्रमा समेत केही बालबालिका फसेका छन् ।
अर्कोतिर ग्रामीण क्षेत्रका सुविधाविहीन बालबालिका लामो समयसम्म शिक्षण सिकाइ क्रियाकलापबाट वञ्चित रहेकाले उनीहरूको पठन संस्कृति पूर्ण रूपमा विस्मृतिमा पुगेको छ । विद्यालय जानुभन्दा घरायसी काम गर्न सहज महसुस गर्ने भएकाले उनीहरूलाई पुनर्नियमित पठनपाठन क्रियाकलापमा जोडिन अप्ठेरो महसुस भएको छ । यसैले ग्रामीण क्षेत्रमा बीचैमा विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्या बढ्ने आकलन गरिएको छ ।
युनिसेफले पनि संसारभर स्कुल छोड्ने बच्चाको सङ्ख्या बढ्ने र गरिब राष्ट्रमा यस्तो दर अत्यधिक हुने प्रक्षेपण गरेको छ । सहरी सुविधासम्पन्न तथा ग्रामीण सुविधाविहीन दुवैथरी विद्यार्थीलाई उमेरअनुकूल नियमित पठनपाठन क्रियाकलापमा संलग्न गराउन सर्वप्रथम उनीहरूको पढाइ लेखाइप्रति रुचि जगाउने काम गर्नुपर्छ । सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रमलाई अझ बढी प्रभावकारी बनाउनुपर्छ । शैक्षिक सामग्रीको व्यवस्थापनमा सरकारी तथा गैरसरकारी क्षेत्रले हातेमालो गर्नुपर्छ । विद्यार्थीलाई हतोत्साही गराउनुभन्दा आत्मबल प्रदान गरी उनीहरूको पठन संस्कृतिलाई पुनर्जागरण गराउनु आवश्यक छ । यसका लागि विद्यालयमा शिक्षक तथा घरमा अभिभावकको पठनपाठनप्रतिको दृष्टिकोण र भूमिकाले ठूलो प्रभाव पार्छ । विद्यार्थीमैत्री वातावरण निर्माण गरी निर्धक्क विद्यार्थीले आफ्ना समस्या प्रस्तुत गर्न सक्ने अवस्था सिर्जना भएमा मात्र उनीहरूको विस्मृतिमा पुगेको पढ्ने र सिक्ने आदत पुनर्जागृत हुनेछ ।
á स्वास्थ्य सावधानी स्वस्थ–जीवनशैली
विश्व स्वास्थ्य सङ्गठनले भनेझैँ कोरोना तथा यस्तै प्रकृतिका अन्य महामारीले मानव समाजलाई जुनसुकै बेला आक्रमण गर्न सक्छ । महामारी साम्य भयो भनेर ढुक्क बस्न सकिने अवस्था रहँदैन । अस्तित्वमा रहेका र भविष्यमा देखा पर्नसक्ने महामारीजन्य दुर्घटनाबाट बच्न मानव मात्रले आफ्नो जीवनशैलीमा परिवर्तन ल्याई स्वस्थ र प्राकृतिक वातावरण सिर्जना गर्नुपर्छ । स्वास्थ्य सावधानी अपनाई आफू र समाजलाई सुरक्षित राख्ने दिशामा सबै सतर्क हुनु आवश्यक छ ।
अप्ठेरो अवस्थामा भयभित हुनुभन्दा संयमित भई भविष्यमा देखा पर्न सक्ने रोगव्याधि तथा समस्या सामना गर्न तयार हुनैपर्छ । कोरोना महामारीबाट पाठ सिकी स्वास्थ्य सावधानी अपनाउँदै दैनिक जीवनका हरेक क्रियाकलापमा अघि बढ्नुपर्छ ।
á निष्कर्ष
महामारीपछिको वर्तमान अवस्था अझै पूर्ण सामान्य नभइसकेकाले र महामारीको समस्याले बालबालिकासमेत प्रत्यक्ष÷अप्रत्यक्ष प्रभावित रहेकाले उनीहरूको मनोसामाजिक स्वास्थ्यलाई ख्याल गरेर सामाजिकीकरण र सामान्यीकरण प्रक्रियामा सहयोग पु¥याउनुपर्छ । मानसिक रूपमा तयार नभई गरिएको पठनपाठनले बालबालिकालाई सकारात्मकभन्दा नकारात्मक प्रभाव नै पार्नेगर्छ । एक वर्षको पठनपाठन क्रियाकलाप रोकियो वा पाठ्यपुस्तक पढाएर नसकिने भो भन्ने चिन्ताले बालमनोविज्ञानलाई बेवास्ता गरी छिटो कोर्स सक्ने हो भने बालबालिकालाई दीर्घकालीन रूपमै असर पार्ने तथा पढाइप्रति अरुचि सिर्जना गराउन सक्छ ।
आफन्त गुमाएका, आफँै सङ्क्रमित भएका, परिवारको आर्थिक स्थितिमा आएको विचलनले गर्दा आमाबुबाका निराशा र विशृङ्खल व्यवहारको असर बेहोरेका बालबालिकासमेत विद्यालयमा आउने भएकाले उनीहरूको वैयक्तिक विशेषतालाई ध्यान दिँदै मनोपरामर्शलाई जोड दिनु आवश्यक छ । हरेक विद्यालयमा कम्तीमा एक जना परामर्शदाताको व्यवस्था गर्नसके बालबालिकाको पढाइमा निरन्तरता तथा मनोसामाजिक समस्या समाधानमा सहयोग हुनेछ । यसका लागि कम्तीमा हरेक स्थानीय निकायले आफ्नो क्षेत्रका प्रत्येक विद्यालयका केही शिक्षकलाई मनोसामाजिक परामर्श तालिमको व्यवस्था गर्नुपर्छ । एक विद्यालयबाट एक शिक्षक मात्र पनि मनोपरामर्श तालिममा संलग्न भएमा विद्यार्थीका भावनाजन्य मानसिक उल्झनको सम्बोधन हुनेछ । हरेक शिक्षक आफूलाई बालबालिकाको अप्ठ्यारोमा सहजीकरण गर्ने, समाजलाई नै नेतृत्व गर्ने जिम्मेवार नागरिकका रूपमा लिई न्यु नर्मल अवस्थामा पाठ घोकाउने होइन, पठनपाठन कार्यमा सहजीकरण गर्न अग्रसर हुनुपर्छ । á